विपन्न बालबालिकाको छात्रवृत्तिका लागि प्रवासी नेपाली मञ्च आयोवाको पाँच लाख सहयोग

काठमाडौँ । डा थोमस बास्तोलाको समन्वयमा प्रवासी नेपाली मञ्च (ओएनएफ) आयोवा राज्य कमिटी अमेरिकाले विपन्न बालबालिकाको छात्रवृत्तिका लागि पाँच लाख सहयोग गरेको छ ।
मञ्चका अध्यक्ष पुरुषोत्तम बराललगायतले तिहारमा देउसी भैलो खेलेर जम्मा भएको पाँच लाख रुपैयाँ जाजरकोटका भूकम्प, प्राकृतिक प्रकोपबाट अभिभावक गुमाएका, विपन्न परिवारका बालबालिकाको छात्रवृत्तिका लागि नेपाल राष्ट्रिय शिक्षक सङ्गठन जिल्ला कमिटी जाजरकोटको नाममा अक्षयकोष स्थापना गर्ने गरी उक्त रकम हस्तान्तरण गरिएको हो ।
अर्को वर्ष थप पाँच लाख रुपैयाँ थप जम्मा गर्ने गरी दश लाख रुपैयाँको कोष बनाउने डा बास्तोलाले घोषणा गरेका छन् । काठमाडौँको बागबजारस्थित हार्दिक होटलमा एक समारोहका बिच नेपाल राष्ट्रिय शिक्षक सङ्गठनका अध्यक्ष डा सुरेश कुमार आरसी र डा थोमस बास्तोलाबिच विद्यार्थी छात्रवृत्ति अक्षय कोष सम्बन्धी सहमति पत्रमा हस्ताक्षर आदानप्रदान गरिएको छ ।