शुक्रबार, ०४ माघ २०८१
ताजा लोकप्रिय
कृषि

लुम्बिनी प्रदेशमा बिउको गुणस्तर परीक्षण गर्ने प्राविधिकको अभाव

शुक्रबार, ०४ माघ २०८१, ०७ : १४
शुक्रबार, ०४ माघ २०८१

बुटवल । लुम्बिनी प्रदेश, कृषि निर्देशनालय बुटवलमा कार्यरत बिउ निरीक्षक तथा विश्लेषक जेदुराम घिमिरेलाई हालै भैरहवास्थित कृषि बिउ बिजन प्रयोगशालामा खटाइएको छ ।

तोरीको बिउ परीक्षण गरेर सकेका घिमिरे अब गहुँको बिउ परीक्षण गर्ने तयारीमा छन् । लुम्बिनी प्रदेशभरि उनको कार्यक्षेत्र हो । बिउ परीक्षणका लागि कम्तीमा दुई पटक फिल्डमा अनिवार्य जानुपर्ने भन्दै प्रदेशभरि एक्लै खट्नुपर्दा निकै गाह्रो हुने उनले बताए ।

खजुरा बिउ बिजन प्रयोगशाला बाँकेमा कार्यरत बिउ निरीक्षक तथा विश्लेषक अनिल चौधरीलाई पनि उस्तै समस्या छ । बिउ कम्पनीहरूले ल्याएको मूलबिउ परीक्षण तथा प्रमाणीकरणका लागि सरकारले तोकिएका बिउ बिजन अधिकारी लुम्बिनी प्रदेश सरकार मातहत जम्मा ३ जना छन् ।

बिउ बिजन प्रयोगशाला भैरहवामा घिमिरे, बिउ बिजन प्रयोगशाला खजुरा (बाँके)मा चौधरी र कृषि मन्त्रालयमा बिउ निरीक्षक तथा विश्लेषक अर्जुन प्रसाद खनाल छन् । यी तीन जनाले प्रदेश सरकार मातहत बिउ निरीक्षक तथा विश्लेषकको काम गर्नुपरेको छ ।

जनशक्ति निकै कम भएकाले प्रदेशभरि हेर्न समस्या रहेको खनाल बताउँछन् । उनले भने, ‘हामी तीन जना छौँ । संघीय सरकारबाट एक जना सुदिप देवकोटा हुनुहुन्छ । तर उहाँ परियोजना अन्तर्गत भएकाले प्रदेशले उहाँलाई आग्रह गर्नमात्र सक्छ, निर्देशन दिन सक्दैन ।’

रुपन्देहीको सियारीमा रहेको ज्ञान विज्ञान बिउ उत्पादक कृषि सहकारी संस्थाले लामो समयदेखि विभिन्न बालीका बिउ उत्पादन, प्रशोधन, बिक्री वितरण गर्दै आएको छ । सो सहकारीका अध्यक्ष डोलाराज शर्माले गहुँको बिउका लागि किसानहरूले बिउ निरीक्षक नपाउँदा समस्या भएको बताए ।

बिउ निरीक्षक र बिउ विश्लेषकहरू बिउ निरीक्षणका क्रममा खेती भएकै ठाउँमा जानुपर्ने हुन्छ । प्राविधिक जनशक्तिको अभाव  रहेकाले अहिले धेरै किसानको खेतबारीमा पुग्न नसकेको बिउ निरीक्षकहरू बताउँछन् ।

लुम्बिनी प्रदेश सरकारका प्रवक्ता एवं कृषिमन्त्री दिनेश पन्थीले उक्त विषय अध्ययन गरेको जनशक्ति कम रहेकाले समस्या भएको बताए ।

रुपन्देहीको सियारीमा रहेको ज्ञान विज्ञान बिउ उत्पादक कृषि सहकारी संस्थाले लामो समयदेखि विभिन्न बालीका बिउ उत्पादन, प्रशोधन, बिक्री वितरण गर्दै आएको छ । सो सहकारीका अध्यक्ष डोलाराज शर्माले गहुँको बिउका लागि किसानहरूले बिउ निरीक्षक नपाउँदा समस्या भएको बताए । सरकारी निरीक्षक नपाउँदा निजी निरीक्षकबाट भए पनि बिउ परीक्षण गराउनुपर्ने बाध्यता रहेको उनको भनाइ छ ।

3-Messenger_creation_C984FF6A-EA91-4BFD-8664-9700F2747433

राधाकृष्ण बिउ बिजन उत्पादक संस्थाका अध्यक्ष तथा जिल्ला बिउ उत्पादक समन्वय समिति रुपन्देहीका सचिव रमेश सिंह मिश्रले बिउ उत्पादक किसानहरूलाई सास्ती भइरहेको बताए । अधिकांश बिउ उत्पादक संस्था, सहकारी, फर्महरूले फिल्ड निरीक्षक, प्रमाणीकरण तथा प्रयोगशाला परीक्षण हुन नसक्दा समस्या झेल्नुपरेको उनको भनाइ छ ।

प्रदेशभरि निजी क्षेत्रमा ३२ जना बिउ निरीक्षक छन् । तर उनीहरू कहाँ छन् भन्नेबारे किसानलाई जानकारी नहुँदा बिउ उत्पादनमा समस्या भएको मिश्रले बताए । उनले भने, ‘बिउ उत्पादक किसानले बिउ निरीक्षक फेला पार्न सक्दैनन् । गुणस्तरीय बिउ उत्पादन हुन नसक्दा भारतबाट बिउ ल्याएर खेती गर्नुपर्ने अवस्था बढ्दो छ ।’

जिल्ला बिउ उत्पादक समन्वय समितिका अध्यक्ष शिवराम न्यौपानेका अनुसार लुम्बिनी प्रदेशका ३ वटा जिल्ला रुपन्देही, कपिलवस्तु र नवलपरासी खाद्यान्न बालीको बिउ बिजन उत्पादनको हब मानिन्छ । निरीक्षक र प्राविधिकको माग गर्दै जिल्ला बिउ उत्पादन समन्वय समिति रुपन्देहीले कृषि मन्त्रालयमा ज्ञापनपत्र समेत बुझाएको उनको भनाइ छ ।

2-IMG-20250115-WA0004

लुम्बिनी प्रदेश कृषि निर्देशनालयका वरिष्ठ कृषि प्रसार निर्देशक रामप्रसाद पाण्डेले बिउ उत्पादनका लागि लुम्बिनी प्रदशेमा केही ठुला र राम्रा कम्पनी भएको उल्लेख गर्दै अहिले भएको जनशक्तिकै अधिकतम प्रयोग गर्ने र नयाँ जनशक्ति पनि खोजी गरिने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

तेजेन्द्र के.सी.
तेजेन्द्र के.सी.

केसी रातोपाटीका प्रदेश नम्बर ५ का संयोजक हुन् । 

लेखकबाट थप