१२ बजे, १२ समाचार : सरकारविरुद्ध सशक्त विरोध गर्ने विपक्षी दलको तयारीदेखि वकिललाई आक्रमण गरेको अपजस खेप्दै रास्वपासम्म
काठमाडौं । वितेका २४ घण्टाको अवधिमा विकसित मुख्यमुख्य घटनाक्रमहरूको संगालोसहित रातोपाटी डटकम राति १२ बजे ‘रातोपाटी ब्रिफिङ’ लिएको उपस्थित भएको छ–
१. कांग्रेस बैठक
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस (एमालेबीच) भएको गठबन्धनमा कुनै समस्या नभएको बताएका छन् । आफ्नै निवासमा दलबाट प्रतिनिधित्व गरेर सरकारमा गएका मन्त्रीहरूको ब्रिफिङ सुनेपछि देउवाले सात बुँदे सहमति सफल बनाउने गरी काम गर्न निर्देशन दिएका छन् ।
२. गृहमन्त्री लेखक
गृहमन्त्री रमेश लेखकले वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि भएको घटना दुःखद भएको भन्दै घटनामा संलग्न जोसुकैलाई कारबाही गर्ने जानकारी दिएका छन् । बिहीबार सभापति देउवा निवासमा भएको बैठकबाट बाहिरिने क्रममा उनले सो कुरा बताएका हुन् ।
३. गठबन्धन थप कसिलो
सरकारले संसदको हिउँदे अधिवेशन धकेलेर पाँच वटा अध्यादेश राष्ट्रपति समक्ष सिफारिस गरेपछि राजनीतिमा एउटा तरङ्ग आएको थियो । अध्यादेशकै कारण कतै सत्ता गठबन्धनमा अविश्वास बढ्ने पो हो कि भन्ने आशंका स्वाभाविक रूपमा उब्जिएको थियो । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारद्वारा सिफारिस पाँचमध्ये चार वटा अध्यादेश मात्र जारी गरेपछि यस्तो आशंकाले अझ फराकिलो दायरा बनाएको थियो । कांग्रेसकै सुझावमा राष्ट्रपति पौडेलले भूमि सम्बन्धी अध्यादेश रोकेका हुन् कि भन्ने आशंका बढ्यो ।
तर, राष्ट्रपति पौडेलले केही समय ‘होल्ड’ गरेको सो अध्यादेश पनि जारी गरिदिए । अध्यादेशबारे असन्तुष्टि छ कि भनेको कांग्रेसले पनि आफ्नो सहमतिमै अध्यादेश आएको भनेर प्रस्ट पारेपछि सरकारको भविष्यमाथि उठेका तमाम प्रश्न साम्य भएका छन् ।
४. सरकारविरुद्ध सशक्त प्रतिरोध गर्ने तयारी
प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रसहित विपक्षी दलहरू केपी शर्मा ओली नेतृत्वको गठबन्धन सरकारविरुद्ध सशक्त प्रतिरोध गर्ने तयारीमा जुटेका छन् । माओवादी संसदीय दलको कार्यालय सिंहदरबारमा बुधबार बसेको विपक्षी दलहरूको बैठकले ओली सरकारविरुद्ध कडा रूपमा उत्रिने सङ्केत दिएको हो ।
५. वकिलमाथि आक्रमणको विरोध
सहकारी पीडितका तर्फबाट काठमाडौँ जिल्ला अदालतमा बहस गरेकै कारण वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि बुधबार आक्रमण भएको घटनालाई लिएर सर्वत्र निन्दा भइरहेको छ । यो घटनालाई स्वतन्त्र न्यायपालिकामाथिकै हमलाका रूपमा हेरिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध दर्ता भएको मुद्दामा त्रिपाठीले सहकारी पीडितको पक्षबाट बहस गरेकै कारण दुव्र्यवहार खेप्नु परेको हो । त्यसैले यो घटनाको अपजस यतिबेला रास्वपाको टाउकोमा परेको छ ।
६. पार्टी निर्माणमा लागे रावल
एमालेबाट निष्कासित डा भीम रावलले पार्टी गठन प्रक्रिया सुरु गरेका छन् । बिहीबार सामाजिक सञ्जालमा रावलले पार्टीको नाम मातृभूमि जागरण अभियान नेपाल प्रस्ताव गर्दै पार्टीको अवधारणा र संरचना समेत सार्वजनिक गरेका छन् ।
७. अध्यादेश सार्वजनिक
सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले जारी गरेका चार अध्यादेश राजपत्रमा प्रकाशित भएका छन् । ती अध्यादेश बिहीबार राजपत्रमा प्रकाशित भएका हुन् ।
८. आशिका तामाङ पक्राउ प्रकरण
स्वयम्भूबाट पक्राउ परेकी आशिका तामाङलाई प्रहरीले अभद्र व्यवहार सम्बन्धी कसुरमा अनुसन्धान थालेको छ । उनलाई प्रहरी वृत्त गौशालामा राखिएको छ ।
९. सुनुवाइ प्रक्रिया
न्याय परिषद् सदस्यमा प्रस्तावित दामोदर खड्काको संसदीय सुनुवाइ सुरु भएको छ । बिहीबार सिंहदरबारमा बसेको संसदीय सुनुवाइ समितिले न्याय परिषद् सदस्यमा प्रस्तावित खड्काको संसदीय सुनुवाइ प्रारम्भ गरेको हो ।
१०. रविविरुद्ध अर्को मुद्दा
बुटवलस्थित सुप्रिम सहकारीको रकम अपचलन प्रकरणमा रवि लामिछाने र छविलाल जोशीसहित प्रतिवादीविरुद्ध शुक्रबार मात्र मुद्दा चलाइने भएको छ । बिहीबार समय अभाव भएपछि शुक्रबारलाई धकेलिएको हो । पूरक अभियोजनअन्तर्गत शुक्रबार अभियोगपत्र दर्ता गरिने जिल्ला सरकारी वकिल कार्यालय रूपन्देहीका प्रमुख प्रेमराज पौडेलले बताए । उनका अनुसार बिहीबार नै मुद्दा दर्ताको तयारी गरिए पनि समय अभावले हुन नसकेको हो ।
११. बजेटका लागि नयाँ क्यालेन्डर लागू हुने
सरकारले अध्यादेशमार्फत् आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन संशोधन गरेको छ । यो ऐन संशोधनसँगै बजेटका लागि नयाँ क्यालेन्डर लागू हुने भएको छ । गत आर्थिक वर्षमा पनि सरकारले अध्यादेशबाटै बजेट क्यालेन्डर संशोधन गरेको थियो । सरकारले गतवर्ष पनि सोही अध्यादेश जारी गरेको थियो तर त्यो संसदबाट पारित नभएपछि स्वतः खारेज भएको थियो ।
१२. प्रेम घलेको निधन
पर्यटन व्यवसायी प्रेम घलेको अल्पायूमै निधन भएको छ । ४८ वर्षीय उनको बिहीबार उपचारको क्रममा राजधानीको हेम्स अस्पतालमा निधन भएको हो । ब्लड क्यान्सर पुष्टि भएसँगै मनाङ स्थायी घर भएका घले केही महिनादेखि उपचाररत थिए । घलेको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि उनको निवासमा राखिएको छ भने दाहसंस्कार गुरुङ संस्कारअनुसार सोमबार गरिने पारिवारिक स्रोतले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यातायात व्यवसायीले भने-काठमाडौंको ट्राफिक व्यवस्थापन प्रभावकारी भएन
-
हर्क साम्पाङको उपमहानगर धरानमा सुर्तीजन्य वस्तु किन्न र बेच्न प्रतिबन्ध
-
१२ बजे, १२ समाचार : सरकारविरुद्ध सशक्त विरोध गर्ने विपक्षी दलको तयारीदेखि वकिललाई आक्रमण गरेको अपजस खेप्दै रास्वपासम्म
-
लुम्बिनीमा बन्ने युनिभर्सल पिस सेन्चुरीबारे विश्वलाई जानकारी दिँदै नेपाली धर्मगुरु
-
किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा युवक पक्राउ
-
छरिएर रहेका वामपन्थी शक्तिलाई एकै ठाउँमा ल्याउने प्रयास भइरहेको छ : अध्यक्ष नेपाल