शुक्रबार, ०४ माघ २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

लुम्बिनीमा बन्ने युनिभर्सल पिस सेन्चुरीबारे विश्वलाई जानकारी दिँदै नेपाली धर्मगुरु

बिहीबार, ०३ माघ २०८१, २३ : २५
बिहीबार, ०३ माघ २०८१

काठमाडौं । लुम्बिनीमा विश्व शान्ति धामसँगै स्थापित गर्न लागिएको युनिभर्सल पिस सेन्चुरीबारे स्विजरल्याण्डको डाभोसमा हुन लागेको वृहत अन्तर्राष्ट्रिय समारोहमा जानकारी गराइने भएको छ । 

बिहीबार पत्रकार सम्मेलन गरेर बौद्ध धर्मगुरु श्याल्पा तेन्जिङ रिन्पोछेले विश्वभरबाट शान्तिको कामना गर्न आउनेहरुलाई गौतमबुद्धका बारेमा जानकारी दिन तथा व्यापक प्रचारप्रसार बढाउने उद्देश्यले लुम्बिनीमा युनिभर्सल पिस सेन्चुरी स्थापित गर्न लागिएको र यसबारे वृहत अन्तर्राष्ट्रिय फोरममा जानकारी दिइने बताए । स्विजरल्याण्डको डाभोसमा जनवरी २१-२५ सम्म आयोजना हुने वर्ल्ड इकोनोमिक फोरमबीच हुने महत्वपूर्ण समारोहमा युनिभर्सल पीस सेन्चुरीबारे जानकारी दिन लागिएको धर्मगुरु तेन्जिङ रिन्पोछेले पत्रकारहरुलाई जानकारी दिए । 

पत्रकार सम्मेलनका क्रममा धर्मगुरु तेन्जिङ रिन्पोछेले भने, ‘डाभोस समारोहमा विश्वका ठूला लिडरहरु आउँदैछन् । ७० मुलुकका एक लाख भन्दाबढी विजनेश लिडरहरु नै आउँदै छन् । वर्ल्ड पिस फोरमका लागि ठूलठूला नेताहरु र विजनेशम्यानहरुले साइन गरिसकेको अवस्था छ । दुई हप्तामा ५० जना भन्दा बढी लिडरहरुले साइन गरिसकेका छन् । र, हामी ऐतिहासिक वर्ल्ड  पिस फोरम लन्च गर्दैै छौँ । जुन नेपाल समेतका लागि ठूलो अवसर हो ।’

Rimpochhe

वर्ल्ड इकोनोमिक फोरम र वल्र्ड पिस फोरम भनेको एउटै सिक्काको दुईपाटो जस्तै हो, धर्मगुरुले अगाडि भने, ‘यसबारे अन्तर्राष्ट्रिय स्तरमा प्रेस कन्फरेन्स हुँदैछ । र, यहाँ पनि त्यसको जानकारीका लागि हामीले पत्रकार सम्मेलन गरेका हौँ ।’ 

‘लुम्बिनीमा अहिले विश्व शान्ति धाम बनिरहेको छ, जसको काम धमाधम भइरहेको छ । तर, त्यो एउटा हार्डवेयर जस्तो मात्रै भयो हामी त्यो हार्डवेयरमा सफ्टवेयरको रुपमा युनिभर्सल पिस फोरम लन्च गरेर धेरै कार्यक्रमहरु अटाउने महत्वपूर्ण प्लेटफर्म निर्माण गर्दै छौँ,’ धर्मगुरु तेन्जिङ रिम्पोछेले भने ।  

‘हजारौँ वर्षदेखि विभिन्न धार्मिक कामहरु भएका छन्, उनले अगाडि थपे, ‘विश्व शान्तिको लागि धाम बनाउने र पिस फोरम निर्माण गर्ने कुरा पहिलो पटक हुन लागेको हो । र, त्यसमा पनि हामी बुद्ध जन्मस्थल नेपालबाट डाभोस वृहत अन्तर्राष्ट्रिय समारोहमा प्रतिनिधित्व गर्दै छौँ । प्रचार-प्रसारका हिसाबले यो समारोह नेपालका लागि निकै महत्वपूर्ण छ । र, यस्तो मौका विरलै प्राप्त हुन्छ ।’

लुम्बिनीलाई आर्थिक रुपमा थप समृद्ध बनाउन विश्वभरबाट प्रतिवद्धता आउन सक्नेतर्फ संकेत गर्दै धर्मगुरु तेन्जिङ रिम्पोछेले अन्तर्राष्ट्रिय पत्रकार सम्मेलनमार्फत पनि युनिभर्सल पिस सेन्चुरीबारे थप जानकारी दिने प्रतिवद्धता जनाए ।  

स्विजरल्याण्डको फोरममा विश्वभरका व्यापारी, योजनाकार, कुटनीतिज्ञहरु आउने र उनीहरुलाई पिस सेन्चुरीबारे विस्तृत रुपमा जानकारी गराउने उनले बताए । जनवरी २९ मा पत्रकार सम्मेलन गरेर वर्ल्ड पिस फोरमको पनि घोषणा गरिने  जानकारी समेत धर्मगुरु रिम्पोछेले दिए । 

शान्ति, करुणा र मानवीय समझदारीको माध्यमबाटमात्र युद्ध र द्वन्द्वको विकल्प खोज गर्न सकिन्छ भन्ने उद्देश्यले युनिभर्सल पिस सेन्चुरी स्थापित गर्न लागिएको  पत्रकार सम्मेलनमा जानकारी दिइयो । विश्व शान्ति अभियान अन्तर्गत बुद्धजन्मस्थल लुम्बिनीमा हाल ५ अर्ब रुपैयाँ लागत अनुमान गरिएको ४४ मिटर उचाइको चार तले विश्व शान्ति धाम निर्माण भइरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप