शुक्रबार, ०४ माघ २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
रातोपाटी ब्रिफिङ

१० बजे १० समाचार : भीम रावलको पार्टी गठन प्रक्रिया सुरू, ओलीविरुद्ध विपक्षी दल आक्रामक

बिहीबार, ०३ माघ २०८१, २२ : ००
बिहीबार, ०३ माघ २०८१

काठमाडौँ । आज मिति २०८१ साल माघ महिनाको ३ गते बिहीबार । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको रात्रिकालीन प्रस्तुती ‘रातोपाटी ब्रिफिङ’ लिएर उपस्थित भएका छौँ–

१. कांग्रेस बैठक

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस(एमालेबिच भएको गठबन्धनमा कुनै समस्या नभएको बताएका छन् ।  आफ्नै निवासमा दलबाट प्रतिनिधित्व गरेर सरकारमा गएका मन्त्रीहरूको ब्रिफिङ सुनेपछि देउवाले सात बुँदे सहमति सफल बनाउने गरी काम गर्न निर्देशन दिएका छन् ।

सहकारी पीडितका तर्फबाट काठमाडौँ जिल्ला अदालतमा बहस गरेकै कारण वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि बुधबार आक्रमण भएको घटनालाई लिएर सर्वत्र निन्दा भइरहेको छ । यो घटनालाई स्वतन्त्र न्यायपालिकामाथिकै हमलाका रूपमा हेरिएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध दर्ता भएको मुद्दामा त्रिपाठीले सहकारी पीडितको पक्षबाट बहस गरेकै कारण दुव्र्यवहार खेप्नु परेको हो । त्यसैले यो घटनाको अपजस यतिबेला रास्वपाको टाउकोमा परेको छ ।

 

३. गठबन्धन थप कसिलो

सरकारले संसदको हिउँदे अधिवेशन धकेलेर पाँच वटा अध्यादेश राष्ट्रपति समक्ष सिफारिस गरेपछि राजनीतिमा एउटा तरङ्ग आएको थियो । अध्यादेशकै कारण कतै सत्ता गठबन्धनमा अविश्वास बढ्ने पो हो कि भन्ने आशंका स्वाभाविक रूपमा उब्जिएको थियो ।

राष्ट्रपति रामचन्द्र पौडेलले सरकारद्वारा सिफारिस पाँचमध्ये चार वटा अध्यादेश मात्र जारी गरेपछि यस्तो आशंकाले अझ फराकिलो दायरा बनाएको थियो । कांग्रेसकै सुझावमा राष्ट्रपति पौडेलले भूमि सम्बन्धी अध्यादेश रोकेका हुन् कि भन्ने आशंका बढ्यो ।

तर, राष्ट्रपति पौडेलले केही समय ‘होल्ड’ गरेको सो अध्यादेश पनि जारी गरिदिए । अध्यादेशबारे असन्तुष्टि छ कि भनेको कांग्रेसले पनि आफ्नो सहमतिमै अध्यादेश आएको भनेर प्रस्ट पारेपछि सरकारको भविष्यमाथि उठेका तमाम प्रश्न साम्य भएका छन् ।

४. सरकारविरुद्ध सशक्त प्रतिरोध गर्ने तयारी

प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रसहित विपक्षी दलहरू केपी शर्मा ओली नेतृत्वको गठबन्धन सरकारविरुद्ध सशक्त प्रतिरोध गर्ने तयारीमा जुटेका छन् ।

माओवादी संसदीय दलको कार्यालय सिंहदरबारमा बुधबार बसेको विपक्षी दलहरूको बैठकले ओली सरकारविरुद्ध कडा रूपमा उत्रिने सङ्केत दिएको हो ।

५. पार्टी निर्माणमा लागे रावल

एमालेबाट निष्कासित डा भीम रावलले पार्टी गठन प्रक्रिया सुरु गरेका छन् ।

बिहीबार सामाजिक सञ्जालमा रावलले पार्टीको नाम मातृभूमि जागरण अभियान नेपाल प्रस्ताव गर्दै पार्टीको अवधारणा र संरचना समेत सार्वजनिक गरेका छन् ।

६. अध्यादेश सार्वजनिक

सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले जारी गरेका चार अध्यादेश राजपत्रमा प्रकाशित भएका छन् । ती अध्यादेश बिहीबार राजपत्रमा प्रकाशित भएका हुन् ।

 

७. आशिका तामाङ पक्राउ प्रकरण

स्वयम्भूबाट पक्राउ परेकी आशिका तामाङलाई प्रहरीले अभद्र व्यवहार सम्बन्धी कसुरमा अनुसन्धान थालेको छ । उनलाई प्रहरी वृत्त गौशालामा राखिएको छ ।

८. सुनुवाइ प्रक्रिया

न्याय परिषद् सदस्यमा प्रस्तावित दामोदर खड्काको संसदीय सुनुवाइ सुरु भएको छ । बिहीबार सिंहदरबारमा बसेको संसदीय सुनुवाइ समितिले न्याय परिषद् सदस्यमा प्रस्तावित खड्काको संसदीय सुनुवाइ प्रारम्भ गरेको हो ।

९. रविविरुद्ध अर्को मुद्दा

बुटवलस्थित सुप्रिम सहकारीको रकम अपचलन प्रकरणमा रवि लामिछाने र छविलाल जोशीसहित प्रतिवादीविरुद्ध शुक्रबार मात्र मुद्दा चलाइने भएको छ । बिहीबार समय अभाव भएपछि शुक्रबारलाई धकेलिएको हो ।

पूरक अभियोजनअन्तर्गत शुक्रबार अभियोगपत्र दर्ता गरिने जिल्ला सरकारी वकिल कार्यालय रूपन्देहीका प्रमुख प्रेमराज पौडेलले बताए । उनका अनुसार बिहीबार नै मुद्दा दर्ताको तयारी गरिए पनि समय अभावले हुन नसकेको हो ।

१०. बजेटका लागि नयाँ क्यालेन्डर लागू हुने

सरकारले अध्यादेशमार्फत् आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन संशोधन गरेको छ । यो ऐन संशोधनसँगै बजेटका लागि नयाँ क्यालेन्डर लागू हुने भएको छ ।  

गत आर्थिक वर्षमा पनि सरकारले अध्यादेशबाटै बजेट क्यालेन्डर संशोधन गरेको थियो । सरकारले गतवर्ष पनि सोही अध्यादेश जारी गरेको थियो तर त्यो संसदबाट पारित नभएपछि स्वतः खारेज भएको थियो ।

थप समाचार

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप