शुक्रबार, ०४ माघ २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

बागमती प्रदेश समन्वय परिषद्को बैठक : ‘डोजरे विकास बढी भयो’

बिहीबार, ०३ माघ २०८१, २१ : २०
बिहीबार, ०३ माघ २०८१

मकवानपुर । बागमती प्रदेशमा डोजरे विकासले विपद्का घटना बढेको बताइएको छ । प्रदेशका स्थानीय तहका प्रतिनिधिहरूले डोजरे विकासले समस्या भएको बताएका हुन् ।

बागमती प्रदेश समन्वय परिषद्को बैठकमा सहभागी स्थानीय तहका प्रतिनिधिहरूले असन्तुलित विकासको कामले प्राकृतिक विपत्तिलाई बढाइरहेको बताए । अस्वाभाविक रूपमा भएका सडक पूर्वाधार निर्माण, प्लटिङका कामले समस्या बनाएको उनीहरूको भनाई छ ।

जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दीपक कुमार गौतमले प्राकृतिक स्रोतहरूको दोहन बढ्दा विपद् जन्य घटनाहरू बढेको बताए । उनले प्राकृतिक स्रोतहरूको उचित व्यवस्थापन र प्रयोगको विधि अपनाउन नसक्दा प्रदेशमा विपद्को घटनामा क्षति बढेको बताए । स्थानीय तहमा योजनाबद्ध रूपमा विकास आयोजनाहरू सञ्चालन नहुँदा विपद्का घटना बढेको उनको भनाई छ ।

‘डोजरे विकास बढी भयो । अस्वाभाविक रूपमा उत्खनन र पूर्वाधार निर्माणलाई रोक्नुपर्छ । प्राकृतिक स्रोतको दुरुपयोग समेत चरम स्थानमा पुगेको छ । राजस्व सङ्कलनको नाममा भएको प्राकृतिक स्रोतको दोहन भइरहेको छ । प्राकृतिक स्रोतको उचित प्रयोग र व्यवस्थापन गरिनुपर्छ,’ उनले भने, ‘जलवायु परिवर्तनको प्रभावको बारेमा ध्यान जान सकेन । नागरिकहरूले निर्माण गरेका संरचनाहरू समेत मापदण्ड अनुसार हुन सकेको छैन । भौगोलिक अवस्था अनुसारको निर्धारित मापदण्डको पूर्वाधार निर्माणमा जोड दिन जरुरी छ ।’

उनका अनुसार विपद् प्रतिकार्यका लागि वडा स्तरमा नै डिजास्टर फोर्स निर्माण गरेर काम गर्नुपर्छ । विपद् जोखिम मुल्यांकन र सो अनुसार प्रविधि निर्माण गरेर नागरिक तथा संरचनालाई अलर्ट राख्न जरुरी रहेको उनको भनाई छ । नागरिकको माग अनुसार विपद् प्रभावित क्षेत्रको पुनःनिर्माणको काम गर्नुपर्ने उनले बताए ।

बैठकमा रामेछाप नगरपालिकाका प्रमुख लवश्री न्यौपानेले डोजर आतंकले प्राकृतिक विपत्तिलाई बढाएको बताए । उनले प्राकृतिसँग जुध्ने सामर्थ्य नरहेको बताए । विपद्का कारण नागरिकको जीवनदेखि भौतिक संरचनामा समेत क्षति पुगेको उनले बताए । उनले विनाश रहित तवरले विकासका काम सञ्चालन गर्नुपर्ने धारणा व्यक्त गरे । आधारभूत आवश्यकता र मौलिक हकका क्षेत्रलाई प्राथमिकीकरण गरेर विपद् प्रभावित आयोजनाको पुनः निर्माणको काम गर्नुपर्नेमा उनले जोड दिए ।

विगु गाउँपालिकाका प्रमुख संजिव ओलीले निर्वाचनको समयमा गरेको प्रतिबद्धताका लागि मात्र भएपनि डोजर गाउँमा पुर्याउनु पर्ने अवस्था रहेको बताए । निर्वाचनको समयमा नागरिकलाई सडक पूर्वाधार पुर्याउँछु भनेर गरेको प्रतिबद्धताको बिचमा डोजरे विकासको विकल्प नरहेको उनले टिप्पणी गरे । उनले अव्यवस्थित बसोबासका कारण विपद्जन्य घटनाहरू बढेको बताए । गाउँ खाली गरेर सहरमा बसाई सर्ने प्रवृत्तिले प्राकृतिक स्रोतको सन्तुलित प्रयोग हुन नसक्दा समस्या भएको उनको भनाई छ ।

उनका अनुसार तीन तहका सरकारले अर्वौ खर्च गरेर सीमित नागरिकको लागि सडक पूर्वाधार सहित अन्य विकास आयोजना सञ्चालन गर्नुभन्दा एकीकृत बस्ती विकासको योजनामा काम गर्नुपर्छ । विपद् जोखिम क्षेत्रका बस्ती स्थानान्तरण गर्न नसक्दा क्षति बढिरहेको उनले बताए । विपद् प्रभावित क्षेत्रको बस्तीलाई स्थानान्तरण गर्दा सरकारको विकास खर्च समेत व्यवस्थापन र प्रभावकारी हुने उनले बताए । विपद् व्यवस्थापनको दीर्घकालीन समाधानको उपाय अहिलेको आवश्यकता रहेको उनले बताए ।

बैठकमा रसुवाको उत्तरगया गाउँपालिकाकी उपाध्यक्ष चमेली गुरुङले विपद् प्रभावित पूर्वाधारको पुनर्निर्माण चुनौतीपूर्ण रहेको बताइन् । उनले नागरिकको अवस्था कमजोर बनिरहँदा समेत व्यवस्थापनको काम गर्न कठिन भएको बताइन् । विपद्का घटना न्यूनीकरणका लागि बायो इन्जिनियरिङ प्रविधिको प्रयोगमा जोड दिनुपर्ने उनको भनाई छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप