बिहीबार, ०३ माघ २०८१
ताजा लोकप्रिय
ठमेलबाट चिनियाँ अपहरण प्रकरण

६ महिनादेखि काठमाडौँमा थिए चिनियाँ, भारतबाटै आए आरोपीहरू

अनलाइन स्क्याममा फसाएपछि अपहरणको योजना
बिहीबार, ०३ माघ २०८१, १७ : ४६
बिहीबार, ०३ माघ २०८१

काठमाडौँ । प्रहरीको कन्ट्रोल रुममा खबर आयो, ‘ठमेलबाट एक जना चिनियाँ नागरिकलाई ४ जनाले जबरजस्ती गाडीमा राखेर लगेका छन् ।’ माघ १ मा मध्यान्ह अपहरणको गम्भीर सूचना आएपछि सीआईबी, उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसन्धान अधिकृतहरू अपहरणकारीको खोजीमा जुटे ।

होटल काठमाडौँ स्क्वायरबाट हिँडेको एमएच–१६ डीजी ४९०४ नम्बरको जिप फर्पिङ हुँदै भिमफेदीतिर ओरालो लाग्दै थियो । इलाका प्रहरी कार्यालय भिमफेदीकी इन्स्पेक्टर ललिता ढकाल आफ्नो टिम लिएर जिपको पर्खाइमा थिइन् । फर्पिङमा सिसिटिभीको दृश्यमा कैद भएको जिप अनुमानित समयमा भिमफेदी पुगेन । जिप बिचमै हराएपछि प्रहरी भिमफेदीबाट उकालो लाग्यो । भिमफेदी भन्दा माथिल्लो बिसौनीमा (भिमफेदी गाउँपालिका वडा नम्बर–३) जिप रोकेर अपहरणकारीहरू चिनियाँलाई फोनमा कुरा गराउँदै थिए ।

इन्स्पेक्टर नेतृत्वको टिम पुगेपछि चिनियाँ र अपहरणकारी फरार भए । अपहरणमा संलग्न चालकसहित ३ जना पक्राउ परे । दुई अपहरणकारी र चिनियाँ जङ्गलतिर भागे । प्रहरीले जङ्गलमा ‘सर्च अपरेसन’ चलाएर थप दुई जनालाई नियन्त्रणमा लियो । चिनियाँ नागरिक भाग्दै फर्पिङमा आइपुगे । फर्पिङबाट उनलाई उद्धार गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले रातोपाटीलाई बताए ।

अपहरणमा संलग्न आरोपमा पक्राउ पर्नेमा महाराष्ट्र घर भएका ३३ वर्षीय आशुतोष दत्तात्रय थोरात, ३० वर्षीय अनमोल खरमाटे, ४० वर्षीय अफसर युनुश शेख र ३० वर्षीय अमोल भन्ने अम्बादास जगन्नाथ शिर्षात छन् । उनीहरू विरुद्ध अपहरण तथा शरीर बन्धक कसुरमा ५ दिनको म्याद लिएर अनुसन्धान भइरहेको एसपी अधिकारीले बताए । उनले भने– ‘माघ १ बाट लागू हुनेगरी अदालतबाट म्याद लिएर अनुसन्धान गरिरहेका छौँ ।’

स्क्याममा फसेपछि चिनियाँ खोज्दै काठमाडौँमा

अनलाइन स्क्याममा संलग्न भेटिएपछि भारतीय प्रहरीले महाराष्ट्रका ४ भारतीय माथि अनुसन्धान थाल्छ । अनुसन्धान गर्दै जाँदा उनीहरूलाई पनि चिनियाँ नागरिकको समूहले फसाएको देखिन्छ । जिल्ला प्रहरी परिसर काठमाडौँका एक जना अधिकृत भन्छन्, ‘अहिले पक्राउ परेका ४ जनाको कागजात प्रयोग गरेर बैङ्क खाता सञ्चालन र ठगी भएको र त्यसको सुई चिनियाँतर्फ सोझिएपछि अपहरणको योजना बनेको देखिन्छ ।’

चिनियाँले टेलिग्राम मार्फत टास्क दिएर भारतीयलाई ठगीमा प्रयोग गरेका हुन् । भारतीयको नामबाट खाता सञ्चालन भएको र ती खातामा सर्वसाधारणबाट ठगेको रकम जम्मा भएको भेटिएपछि भारतीयहरू चिनियाँ खोज्दै काठमाडौँ आए । अनुसन्धानमा संलग्न एक जना अधिकृत भन्छन्, ‘चिनियाँले टेलिग्राममार्फत दिएको टास्क मार्फत नै उनीहरू ठमेलमा आए ।’   

रक्सौल हुँदै पुस २९ मा उनीहरू ठमेलमा आएर होटल काठमाडौँ स्क्वायरमा बसे । सो होटल चिनियाँले अनलाइनमार्फत बुक गरिदिएका थिए । भोलिपल्ट चिनियाँ नागरिक उ हुआन हुआनलाई होटलको पैसा तिर्न भनेर बोलाए । अनि, समातेर गाडीमा राखेर हिँडे । अनुसन्धानमा संलग्न एक जना अधिकृत भन्छन्– ‘चिनियाँलाई उनीहरूले भारत लाँदै थिए ।’

उ हुआन हुआन पनि ठगीमा संलग्न मुख्य व्यक्ति होइनन् । उनीभन्दा माथि मुख्य व्यक्ति अर्कै रहेको प्रहरी अधिकृतहरू बताउँछन् । हुनान प्रान्त घर भएका चिनियाँ उ हुआन हुआन ६ महिनादेखि काठमाडौँमा छन् । उनी बिजनेस भिसामा काठमाडौँमा बसेको एसपी अधिकारीले बताए । उनले भने, ‘चिनियाँ ६ महिनादेखि नेपालमा बसेको देखिन्छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप