पार्टीका मन्त्रीसँग देउवाको ब्रिफिङ : गठबन्धनमा समस्या नरहेको सन्देश
काठमाडौँ । संसदीय दल कार्यसमितिको बैठक भन्दै बिहीबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीबाट प्रतिनिधित्व गर्ने सबै मन्त्रीहरूलाई आफ्नो निवास बूढानीलकण्ठमा बोलाएर ७ बुँदे निर्देशन दिए । बिहान ९ बजेदेखि सुरु भएको शीर्ष नेतासहितको बैठक मध्याह्न २ बजेसम्म चलेको थियो ।
बैठकमा सहभागी मन्त्रीहरूले आफ्नो मन्त्रालयमा भएका काम, समस्या र गुनासोहरू राखेका थिए । त्यस क्रममा महामन्त्री गगनकुमार थापाले मन्त्रीहरूलाई परेको समस्याबारे कार्यदलमा छलफल गरेर समाधान निकालिने आश्वासन दिएका थिए ।
बैठकमा स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्य बिमा कार्यक्रममा सहजीकरण गरिदिन अनुरोध गरेका छन् । साथै उनले मन्त्रालयले स्वास्थ्य सम्बन्धी विधेयकहरू आगामी अधिवेशनका लागि तयार गरिरहेको र यसका लागि स्रोतको विषयमा पनि समन्वय गर्नुपर्ने धारणा राखेका थिए ।
‘खासगरी बिमा कार्यान्वयनमा पार्टीबाट सहयोगका लागि मैले अनुरोध गरे‚’ पौडेलले रातोपाटीसँग भने ।
बैठकमा उपप्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहले पनि मन्त्रालयले निरन्तर काम गरिरहेको बताएका थिए । तर‚ बाहिर भने सरकारले केही गर्न सकेन भन्ने भाष्य निर्माण गर्न खोजिएको भन्ने गुनासो पनि उनले राखेका थिए ।
मन्त्री सिंहले वर्तमान सरकार बनेपछि राजनीतिक स्थिरता आएको भन्ने विषय पनि बैठकमा राखेका थिए । यस्तै आफ्नो मन्त्रालयले सहरी नीति पास गरेको भन्दै उनले बागमती विकाससम्बन्धी कार्ययोजना छिट्टै आउने विषय बैठकमा राखेका थिए ।
बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेले मन्त्रालयले ६ महिनाभित्र हासिल गरेका उपलब्धिहरू सभापति देउवा सहितका पदाधिकारीहरू समक्ष प्रस्तुत गरेका थिए । यसैगरी कृषि मन्त्री रामनाथ अधिकारीले रासायनिक मलको सहजताका लागि बजेट अभाव हुने भएकाले यसमा समन्वय गरिदिन अनुरोध गरे ।
युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले भने काम गर्न स्रोत साधनको अभावका कारण समस्या पर्दै गएको बताएका थिए । अन्य मन्त्रीको तुलनामा चौधरीले अलि बढी नै गुनासो गरेको बैठकमा सहभागी एक नेताले जानकारी दिए । उनले स्रोत साधन समिति भएकाले मन्त्रालयको कार्यसम्पादन देखाउन समस्या भएको उल्लेख गरेको ती नेताको भनाइ थियो ।
स्वास्थ्य मन्त्री पौडेलका अनुसार मन्त्रालयहरूले गर्ने कार्यमा सहजीकरण गर्न भन्दै सभापति देउवाले बैठक बोलाएको र काम गर्दा आइपरेका समस्याहरू बारे ब्रिफिङ लिएका हुन् । साथै देउवाले परेका समस्याहरूको विषयमा कार्यदलमा छलफल गर्ने आश्वासन दिएको मन्त्री पौडेलले जानकारी दिए ।
सोचे अनुसार काम हुन नसकेको स्वीकार
मन्त्रीहरूले आफूहरूले काम गर्न चाहे पनि सोच र योजना अनुसार काम गर्न नसकेको स्वीकार गरेका छन् । यसका लागि स्रोत साधनको अभाव भएको तथा कतिपय कानुनी जटिलताहरूले पनि समस्या सिर्जना गरेको ब्रिफिङ उनीहरूले नेतृत्वलाई गरेका छन् ।
बैठकपछि खेलकुद मन्त्री चौधरीले मन्त्रीहरूबाट प्रत्येक मन्त्रालयको विस्तृत जानकारी गराउने काम भएको बताए । मन्त्रीहरू काम गर्ने सोचका साथ अघि बढे पनि अझै पनि यसमा समस्या रहेको ब्रिफिङ गरेको उनले बताए । नेताहरूले पनि यसका लागि कसरी समाधान गर्न सकिन्छ भनेर उपाय दिएको उनले जानकारी दिए ।
‘सिधै अप्ठ्यारो भएको जस्तो लाग्दैन । तर सोचे अनुसारको काममा जति चाँडो हुनुपर्ने हो त्यो नहुँदा कहीँ न कहीँबाट समस्या भएको महसुस भएको छ‚’ उनले भने‚ ‘तर‚ हाम्रा नेताहरू मिलेर त्यसलाई समाधान गर्ने उपायहरू बताइरहनुभएको छ ।’
देउवाको निर्देशनः गठबन्धनमा समस्या छैन‚ एमालेसँगको सहमति अनुसार काम गर्नू
गृहमन्त्री रमेश लेखकले सभापति देउवाले कांग्रेस-एमालेबिच भएको गठबन्धनमा कुनै समस्या नभएको स्पष्ट पारेको बताए । मन्त्रीहरूको ब्रिफिङ सुनेपछि देउवाले सात बुँदे सहमति सफल बनाउने गरी काम गर्न निर्देशन पनि दिएको उनको भनाइ छ ।
‘सभापतिज्यूले कांग्रेस र एमालेबिचको सहमति अनुसार अघि बढ्ने हो । यसै विषयमा केन्द्रित भएर काम गर्नु भन्नुभयो‚’ उनले भने ।
बैठकमा दुई दल मिलेर सरकार बनेको र गठबन्धनमा कुनै समस्या तथा बाधा अप्ठ्यारा नभएको भन्दै छलफल भएको उनको दाबी छ ।
‘हामीबिच भएका सात बुँदे सहमति अनुसार यो समीकरण लाई अघि लाने गरेर काम गर्ने तथा सेवा प्रवाहको क्षेत्रमा नागरिकलाई बढी भन्दा बढी सेवा प्रवाह गर्ने र मुलुकमा आर्थिक समृद्धि र सुशासन कायम गर्ने विषयमा छलफल भएको छ‚’ उनले भने ।
हप्ताको दुई दिन मन्त्री कार्यालय जानुपर्ने
पार्टीको प्रतिनिधित्व गर्दै बनेका मन्त्री र कार्यकर्ता तथा नेताबिच सुमधुर सम्बन्ध बनाउनुपर्ने भएकाले बैठकले मन्त्रीहरूलाई हप्ताको दुई दिन अनिवार्य पार्टी कार्यालय जान निर्देशन दिएको छ ।
पार्टी प्रमुख सचेतक श्यामकुमार घिमिरेका अनुसार सबै मन्त्रीहरूले पालैपालो हप्ताको ५ दिन मन्त्रालय र २ दिन पार्टी अफिस पुगेर जनगुनासो सुन्नैपर्ने अनिवार्य गरिएको छ ।
‘हप्तामा २ निश्चित दिन खुला भेटघाट गर्ने, नागरिकको गुनासो सुन्ने, सुझाव लिने बाँकी ५ दिन सम्पूर्ण रूपले मन्त्रालयको काममा केन्द्रित हुने निर्देशन दिएका छौँ‚’ उनले भने ।
कांग्रेसबाट केपी ओली नेतृत्वको सरकारमा प्रकाशमान सिंह, रमेश लेखक, डा. आरजु राणा देउवा, तेजुलाल चौधरी, बद्रीप्रसाद पाण्डे, प्रदीप पौडेल, रामनाथ अधिकारी, दिपक खड्का र ऐनबहादुर शाही ठकुरी मन्त्री रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कौशी थिएटरमा नियमित ‘महासत्त्व’
-
पाँच वर्षपछि नागरिक एपले ऐनमा पायो ठाउँ
-
माफी माग्दै ‘द कार्टुन्ज क्रु’ले हटायो वेब–सिरिज
-
‘आफ्नै नागरिकलाई भिसा दिनेʼ विरोधाभाषपूर्ण व्यवस्था अध्यादेशमा आयोः एनआरएनए
-
राप्रपा नेता पाण्डे जोडिएको भ्रष्टाचार मुद्दामा विपक्षी झिकाउन सर्वोच्चको आदेश
-
अध्यादेशले कांग्रेस–एमाले गठबन्धन झन् कसिलो, अब विपक्षीको रणनीति के ?