बिहीबार, ०३ माघ २०८१
ताजा लोकप्रिय
समर्थकको अराजकता

वकिलमाथिको आक्रमणले रास्वपासहित नयाँ राजनीतिक शक्तिमाथि गम्भीर प्रश्न

‘मिडिया क्रेजी’ नेता र उद्दण्ड समर्थकको भर कहिलेसम्म ?
बिहीबार, ०३ माघ २०८१, १५ : ३६
बिहीबार, ०३ माघ २०८१

काठमाडौँ । सहकारी पीडितका तर्फबाट काठमाडौँ जिल्ला अदालतमा बहस गरेकै कारण वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि बुधबार आक्रमण भएको घटनालाई लिएर सर्वत्र निन्दा भइरहेको छ । यो घटनालाई स्वतन्त्र न्यायपालिकामाथिकै हमलाका रूपमा हेरिएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध दर्ता भएको मुद्दामा त्रिपाठीले सहकारी पीडितको पक्षबाट बहस गरेकै कारण दुर्व्यवहार खेप्नु परेको हो । त्यसैले यो घटनाको अपजस यतिबेला रास्वपाको टाउकोमा परेको छ ।

अदालतबाट बाहिरिने क्रममा त्रिपाठीमाथि हातपात तथा दुर्व्यवहार भएको थियो । उनीमाथि आक्रमणमा संलग्न रहेको आरोपमा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ ।

संविधानको भाग ३ मा मौलिक हक र कर्तव्यबारे उल्लेख छ । संविधानको धारा १६ को उपधारा (१) मा ‘प्रत्येक व्यक्तिलाई सम्मानपूर्वक बाँच्न पाउने हक हुनेछ’ भनिएको छ । अदालत परिसरबाट बाहिरिँदै गर्दा वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि भएको आक्रमण संविधानको धारा १६ को उपधारा (१) विपरीत हो । संविधानको धारा १७ को उपधारा (२) को खण्ड (च) मा नेपालको कुनै पनि भागमा पेसा, रोजगार गर्ने, उद्योग, व्यापार तथा व्यवसायको स्थापना र सञ्चालन गर्ने स्वतन्त्रता सुनिश्चित गरिएको छ । आफ्नो पेसागत धर्म निर्वाह गरेकै आधारमा त्रिपाठीमाथि भएको आक्रमण उल्लिखित संवैधानिक व्यवस्थाको विपरीत समेत हो ।

संविधानको धारा १८ मा समानताको हक सुनिश्चित गरिएको छ । धारा १८ को उपधारा (१)मा भनिएको छ, ‘सबै नागरिक कानुनको दृष्टिमा समान हुनेछन् । कसैलाई पनि कानुनको समान संरक्षणबाट वञ्चित गरिनेछैन ।’ वरिष्ठ अधिवक्ता त्रिपाठीले संविधानको सोही व्यवस्था बमोजिम सहकारी पीडितका तर्फबाट अदालतमा वकालत गरेका हुन् ।

  • रास्वपामाथि प्रश्न

रास्वपाले उक्त घटनामा पार्टीको संलग्नता नरहेको दाबी गरेको छ । ‘यस किसिमको व्यवहार कानुनी शासन, सुदृढ राजनीतिक अभ्यास र न्यायप्रति विश्वास राख्ने राजनीतिक दलका लागि कदापि स्वीकार्य छैन,’ रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यस विषयमा राष्ट्रिय स्वतन्त्र पार्टीको सम्बन्धित अनुशासन आयोगको समेत ध्यानाकर्षण भएको छ र सो घटनामा यदि पार्टीको कुनै पनि सदस्यको संलग्नता भेटिएमा पार्टी विधान बमोजिम कारबाही हुने स्पष्ट पार्न चाहन्छौँ ।’

सो घटनामा दोषी जो कोही भए पनि निजलाई कानुन बमोजिम कारबाहीका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराइएको पनि रास्वपाले प्रस्ट पारेको छ ।

तर, रवि लामिछानेविरुद्ध मुद्दाको बहस भइरहेको समयमा अदालत परिसर बाहिर नारा जुलुस गर्ने भिड रास्वपाका नेता–कार्यकर्ताको हो कि होइन ? अदालत बाहिर त्यत्रो भिड जम्मा हुँदा त्यसबाट निम्तिन सक्ने दुर्घटनाबारे रास्वपा जानकार थियो कि थिएन वा केही भइहालेको अवस्थामा त्यसको अपजस आफ्नो टाउकोमा पर्नसक्ने तर्फ सचेत थियो कि थिएन भन्ने प्रश्न अनुत्तरित नै छन् ।

वरिष्ठ अधिवक्ता सतिषकृष्ण खरेल बुधबार भएको उक्त घटना स्वतन्त्र न्यायपालिकाको मूल्य–मान्यतामाथिकै प्रहार भएको बताउँछन् ।

‘सैद्धान्तिक रूपमा हामी न्यायपालिकाको स्वतन्त्रता भन्छौँ, त्यो स्वतन्त्रताको तीन वटा पाटो हुन्छ,’ उनले भने, ‘न्यायाधीशले स्वतन्त्र रूपमा आफ्नो विवेक प्रयोग गर्न पाउने, कानुन व्यवसायीले स्वतन्त्र रूपमा आफ्नो ड्युटी गर्न पाउने, साक्षीहरूले पनि स्वतन्त्रतापूर्वक आफ्नो कुरा राख्न पाउने भन्ने नै स्वतन्त्र न्यायपालिकाको आधार हो ।’

न्यायाधीश तर्सिएर उचित आदेश गर्न नसक्ने परिस्थिति, वकिल तर्सिएर आफ्नो ड्युटी गर्न नसक्ने परिस्थिति, साक्षीले पनि तर्सिएर आफूले देखे–बुझेको बयान दिन नसक्ने परिस्थिति हुन्छ भने त्यो समग्रमा न्यायपालिकाको स्वतन्त्रता विरुद्धको प्रहार हुने वरिष्ठ अधिवक्ता खरेल बताउँछन् ।

खरेलका अनुसार जेनेभामा ‘इन्टरनेशनल कमिशन अफ जुरिस्ट’ अन्तर्गत ‘सेन्टर फर इन्डिपेन्डेन्टस् अफ जजेज एन्ड लयर्स’ छ । ‘त्यसले कानुन व्यवसायी र न्यायाधीशले स्वतन्त्रतापूर्वक काम गर्न पाउनु पर्छ भनेर यस्ता घटनाका विरुद्ध संयुक्त राष्ट्र संघमा प्रतिवेदन दिइरहने गर्दछ,’ उनले भने ।

खरेलका अनुसार एउटा व्यक्तिले न्याय पाउने वा नपाउने भन्दा पनि यो घटनाको मूल सारांश भनेकै न्यायपालिकाको स्वतन्त्रतामाथिको आक्रमण हो । ‘यो आक्रमण कुनै व्यक्ति विशेषले गरेको हो भने त्यो दण्डित हुनुपर्छ,’ उनले भने, ‘यो आक्रमणमा रास्वपाका कार्यकर्ता संलग्न थिए भन्ने कुरा मिडियामा आएको छ । रास्वपाजस्तो संवेदनशील पार्टी हो भने त्यसको जिम्मेवारी झन् गहन हुन्छ । आफ्नो कार्यकर्ता थिएनन् भने उसले राजनीतिक रूपमा पुष्टि गर्नुपर्ने हुन्छ ।’

 खरेलका अनुसार कानुन व्यवसायीमाथिको आक्रमणमा पार्टीको संलग्नता छैन भने ‘यो आक्रमण व्यक्ति विशेषले गरेका हुन्, तिनीहरूविरुद्ध कारबाही गर्न हामीले नै पुलिसलाई उजुरी दिइरहेका छौँ । यो हाम्रो पार्टीको संस्थागत र संरचनागत क्रियाकलाप होइन’ भनेर रास्वपाले पुष्टि गर्नुपर्ने हुन्छ ।

अन्यथा यसले रास्वपा भनेको न्यायपालिकाको स्वतन्त्रता पक्षधर पार्टी होइन भन्ने प्रमाणित हुने खरेलको भनाइ छ ।

‘दलले न्यायपालिका र कानुन व्यवसायीलाई तर्साउन अदालत परिसरमा भिड जम्मा गरेको भन्ने अर्थ लागिरहेको छ,’ उनले भने, ‘दलले यस्तो काम गरेको हो कि होइन भनेर म भन्न सक्दिनँ तर समाचारमा दलले गरेको भन्ने कुरा आएको छ । यदि त्यो समाचार सही हो भने निकै गम्भीर कुरा हो ।’

दलले गरेको होइन भन्ने प्रमाणित गर्ने दायित्व त्यही दलका मान्छेको हुने पनि वरिष्ठ अधिवक्ता खरेलले प्रस्ट पारे ।

अदालतबाट बाहिरिँदै गरेको अवस्थामा कानुन व्यवसायीमाथि आक्रमण भएको घटनामा प्रहरी–प्रशासनको कतै कमजोरी पो देखियो कि भन्ने प्रश्नमा वरिष्ठ अधिवक्ता खरेलले भने, ‘एउटा जिम्मेवार राजनीतिक दलले यस प्रकारको काम गर्ला भनेर प्रशासनले सोचेको हुँदैन ।’

प्रहरीले वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि आक्रमण भएको थाहा पाउनासाथ उनलाई उद्धार गरेको भिडियो फुटेजमा देखिएको भन्दै उनले यस्ता घटनाको पूर्वानुमान गर्न नसकिने प्रस्ट पारे ।

‘यो घटनापछि प्रशासनले लिनुपर्ने सतर्कता बेग्लै हो, रास्वपाका कस्ता–कस्ता कार्यकर्तालाई निगरानीमा राख्नुपर्छ भन्ने त अबको कुरा भयो,’ उनले भने, ‘हिजोको दिनसम्म प्रहरी–प्रशासनले रास्वपाजस्तो जिम्मेवार दलबाट यस्ता गतिविधि होला भनेर सोचेकै थिएन । यो पार्टी हिंसामा विश्वास गर्छ भन्ने पनि थिएन । त्यसैले यसमा प्रशासनको पाटोमा म खासै कमजोरी देख्दिनँ ।’

आक्रमणमा संलग्न मानिस को–को हुन्, पार्टीसँग तिनीहरूको सम्बन्ध के छ ? तिनीहरूविरुद्ध के कारबाही भयो भन्ने कुरा रास्वपाले नै प्रस्ट पार्न सक्नुपर्ने वरिष्ठ अधिवक्ता खरेलको भनाइ छ ।

  • मुद्दा लड्नु कानुन व्यवसायीको पेसागत धर्म

त्यसो त, कानुन व्यवसायीहरू पैसाका लागि मुद्दा लड्छन् भनेर पनि भनिन्छ । काम गरेपछि पारिश्रमिकको अपेक्षा गर्नुलाई अस्वाभाविक मानिँदैन । तर, कतिपय अवस्थामा कानुन व्यवसायीले पारिश्रमिकविना पनि मुद्दा लड्ने गर्दछन् ।

संविधान विपरीतका काम हुन लागेको अवस्थामा उच्च अदालत, सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गर्नेदेखि लिएर गम्भीर प्रकृतिका सार्वजनिक अपराधमा कानुन व्यवसायीले पारिश्रमिकभन्दा पनि विषयवस्तुलाई महत्त्वपूर्ण ठानेर मुद्दा लडेका उदाहरण प्रशस्त छन् ।

त्यसो त, कानुन व्यवसायीको छाता संगठन नेपाल बार एसोसिएसनले कानुन व्यवसायीमाथि आक्रमणमा संलग्न व्यक्तिका लागिसमेत वकिलविहीन नबनाउने प्रतिबद्धता जाहेर गरेको इतिहास छ ।

वरिष्ठ अधिवक्ता खरेलका अनुसार कृष्णप्रसाद पन्त बार एशोसिएशनको अध्यक्ष हुँदा राजेन्द्र नाम गरेका एक कानुन व्यवसायीमाथि मुद्दाकै पक्ष रहेका व्यक्तिले छुरा प्रहार गरेका थिए । ‘त्यतिबेला बार एसोसिएसनले कानुन व्यवसायीमाथि भएको आक्रमणप्रति खेद प्रकटमात्र गरेन,’ उनले भने, ‘छुरा प्रहार गर्ने व्यक्तिको पक्षबाट अदालतमा बहस गर्न कुनै वकिल तयार नभए बार आफैँले वकिल उपलब्ध गराउने निर्णयसमेत गरेको थियो ।’

वरिष्ठ अधिवक्ता खरेलका अनुसार कृष्णप्रसाद पन्त बार एशोसिएशनको अध्यक्ष हुँदा राजेन्द्र नाम गरेका एक कानुन व्यवसायीमाथि मुद्दाकै पक्ष रहेका व्यक्तिले छुरा प्रहार गरेका थिए । ‘त्यतिबेला बार एसोसिएसनले कानुन व्यवसायीमाथि भएको आक्रमणप्रति खेद प्रकटमात्र गरेन,’ उनले भने, ‘छुरा प्रहार गर्ने व्यक्तिको पक्षबाट अदालतमा बहस गर्न कुनै वकिल तयार नभए बार आफैँले वकिल उपलब्ध गराउने निर्णयसमेत गरेको थियो ।’

उनले स्वतन्त्र न्यायपालिकाको मर्म अनुसार नै बारले त्यतिबेला यस्तो निर्णय गरेको खरेलको भनाइ छ । आरोपितले पनि कानुन व्यवसायीमार्फत आफ्नो मुद्दाबारे अदालतमा प्रतिवाद गर्ने अधिकार उपभोग गर्न सकोस् भनेर नै बारले वकिल उपलब्ध गराउने प्रतिबद्धता जनाएको उनले बताए ।

अदालतमा मुद्दा पुगिसकेपछि न्याय सम्पादनका क्रममा पक्ष र विपक्षमा हुने बहस न्यायाधीशले सुन्ने, प्रचलित कानुनका साथै तथ्य र प्रमाणका आधारमा फैसला गर्ने परिपाटी नै स्वतन्त्र न्यायपालिकाको अभ्यास रहेको वरिष्ठ अधिवक्ता खरेलले प्रस्ट पारे । त्यसैले पेसागत धर्म निर्वाह गरेका कानुन व्यवसायीमाथि हमला हुनु निन्दनीय रहेको उनको भनाइ छ ।

अधिवक्ता सरोज घिमिरे पनि कानुन व्यवसायीमाथिको आक्रमण निन्दनीय रहेको बताउँछन् । ‘यस्ता प्रयासले कानुन व्यवसायीलाई कमजोर बनाउँछ भन्ने कसैलाई लागेको होला,’ उनले भने, ‘त्यो गलत हो । कानुन व्यवसायी भनेको अरूको न्यायका लागि लड्ने हो । आफैँमाथि घट्ने यस्ता घटनाले समग्र कानुन व्यवसायीलाई झन् बलियो, निडर, आँटिलो र मजबुत बनाउँछ ।’

saroj-krishna-ghimire

आफूले फौजदारी अभियोग लागेका एक व्यक्तिको तर्फबाट वकालत गर्दा कयौँबाट ‘घृणाजन्य गाली’ खेपेको पनि उनले सुनाए ।

सामाजिक सञ्जालमा यतिबेला रवि लामिछाने, बानेन शाह लगायतको ठुलो ‘फ्यान फलोअर’ छन् । उनीहरूका विरुद्ध आएका समाचारमा तिनका समर्थक उग्र भएर खनिने गर्दछन् । त्यस्ता भिडलाई कानुन, विधि र लोकतान्त्रिक मूल्य र मान्यताको हेक्कासमेत नहुने गरेको पाइन्छ ।

उसो त, शान्ति प्रक्रियामा आएको केही वर्षसम्म माओवादीका कार्यकर्तामा पनि यस्तै प्रवृत्ति थियो ।

राप्रपाका महामन्त्री शरदराज पाठकले कुनैबेला माओवादी कार्यकर्ताको व्यवहार अहिले रास्वापाकै कार्यकर्ताको जस्तो उद्दण्ड रहेको स्मरण गरेका छन् । सामाजिक सञ्जाल ‘एक्स’ मा उनले लेखेका छन्, ‘वाइसीएलका सागर भन्ने इन्चार्जले उनका नेतासँगको अन्तरवार्तामा म अलि कठोर भएको र उनीहरूको जनयुद्धको आलोचना गरेको भन्दै मलाई बाटो छेकेर हातखुट्टा भाँचिदिने धम्की फोनबाट दिएका थिए ।’

सो धम्कीले आफूलाई केही नभए पनि परिवारमा केही चिन्ता थपिएको जिकिर गर्दै उनले प्रश्न गरेका छन्– अहिले कता पो छन् कुन्नि ?

केही साता अघि पनि राप्रपा महामन्त्री पाठकले रास्वपाको नाम नलिई ‘नयाँ दल’लाई तिनका उद्दण्ड कार्यकर्ता भारी पर्ने चेतावनी दिएका थिए । ‘नयाँ राजनीतिक दलका लागि बाह्य चुनौतीभन्दा आफ्नै अति मिडियाक्रेजी नेता र उद्दण्ड समर्थक बढी भारी हुन्छन् । सुरुवातदेखि नै त्यसको यथोचित व्यवस्थापनमा काम गरिएन भने अरुले हैन, तिनैले सक्छन् ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुदर्शन आचार्य
सुदर्शन आचार्य

आचार्य रातोपाटीका वरिष्ठ उपसम्पादक हुन् ।

लेखकबाट थप