बिहीबार, ०३ माघ २०८१
ताजा लोकप्रिय

अस्ट्रेलियाको न्यू क्यासलमा नेपालीहरूबिच अन्तर्क्रिया कार्यक्रम

बिहीबार, ०३ माघ २०८१, १२ : ३८
बिहीबार, ०३ माघ २०८१

न्यू क्यासल । अस्ट्रेलियाको न्यू साउथ वेल्स अन्तर्गतको ग्रामीण भूभाग न्यू क्यासलमा नेपालीहरूबिच अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ ।  स्पीयर्स पोइन्ट पार्कमा नेपाली जनप्रगतिशील मञ्च न्यू साउथ वेल्स राज्य समितिद्वारा आयोजित उक्त भेटघाट र अभिवादन अन्तर्क्रिया कार्यक्रममा न्यु साउथ वेल्सको मुख्य सहर सिड्नीलगायत अस्ट्रेलियाको राजधानी क्यानबेराबाट ठुलो संख्यामा नेपाली समुदायका अगुवाहरूको जमघट भएको थियो ।

नेपाली जनप्रगतिशील मञ्च ओसियाना क्षेत्रका इन्चार्ज शेषमणि शर्माको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा अस्ष्ट्रेलियामा भएका नेपालीहरूको समस्याहरूको बारेमा छलफल भएको थियो । अङ्ग्रेजी नयाँ वर्षलगायत नेपाली समुदायका विभिन्न चाडपर्वहरूको सन्दर्भमा शुभकामना आदान–प्रदानसहित सम्पन्न कार्यक्रममा अस्ट्रेलियाका लागि नेपालका पूर्व राजदूत महेशराज दाहालको पनि उपस्थिति थियो । 

नेपाली जनप्रगतिशील मञ्चका पब्लिक अफिसर सन्तोष कँडेलको उद्घोशनमा आयोजित कार्यक्रम भव्य रूपमा सफल भएको र नेपाली समुदायका सदस्यहरूलाई उक्त दिन एकआपसमा सम्पर्क विस्तार र शुभकामना आदान–प्रदानमा उपलब्धिमूलक रहेको सहभागी एक सदस्यले बताए ।

कार्यक्रममा नेपाली जनप्रगतिशील मञ्च अष्ट्रेलियाका अध्यक्ष दीपक पाण्डे, न्यू साउथ वेल्स राज्यका  अध्यक्ष जीवलाल न्यौपाने र पूर्व अध्यक्षहरू झलक ढुङ्गाना र प्रबिन कँडेल लगायतका प्रमुख नेताहरूको सहभागिता थियो । उक्त भेला नेपाली डायस्पोरा भित्र एकता र सहकार्यलाई बढावा दिने महत्त्वपूर्ण भएकोमा जोड दिइयो ।

कार्यक्रममा बोल्दै नेता शेषमणि शर्माले सहभागी सबैप्रति कृतज्ञता व्यक्त गरे । ‘यो कार्यक्रमले हाम्रो समुदायको शक्ति र एकतालाई प्रतिबिम्बित गर्दछ । हाम्रा साझा मूल्यमान्यता र संस्कृति मनाउन धेरै परिचित र नयाँ अनुहारहरू एकसाथ आएको देख्न पाउनु उत्साहजनक छ,’ उनले भने । नेता पाण्डेले आगामी दिनमा पनि अस्ट्रेलियका दुर्गम गाउँमा यस्ता कार्यक्रम गरिने बताए ।

समुदायका नेताहरूले भविष्यका पहलहरूबारे छलफल गर्ने र नेपाली–अष्ट्रेलियाली समुदाय भित्र थप संलग्नतालाई प्रोत्साहित गर्ने अवसर पनि लिए। उनीहरूले बहुसांस्कृतिक समाजमा आफ्नोपनको भावना जगाउँदै सांस्कृतिक सम्पदाको संरक्षणमा यस्ता कार्यक्रमहरूको महत्वमा जोड दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप