पहिले हिरो–हिरोइन, अहिले के ?
पात्र १ : अभिनेता राजेश हमाल आठ वर्षको ‘ग्याप’पछि फिल्ममा फर्किएका छन् । उनी कमब्याक भएको ‘नरसिंहाः अवतार’ पोस्ट प्रोडक्सनमा छ । महानायक भनेर चर्चित कलाकार लामो समय फिल्मविहीन बस्दा उनको उक्त उपाधिमा नै प्रश्न उब्जियो ।
आफ्नो चर्चासमेत बिस्तारै सेलाउँदै जान थाल्यो । उनको अन्ततः फिल्ममा कमब्याक (पुनरागमन) भएको हो ।
पात्र २ : अभिनेत्री करिश्मा मानन्धर लामो समय अमेरिका बसिन् । त्यताबाट फर्किएपछि ‘वान वे’मार्फत अभिनयमा उनको कमब्याक भयो । करिश्मा उक्त फिल्ममा आमाको भूमिकामा देखिएकी थिइन् । त्यसयता कलाकारितामा सक्रिय रहे पनि पहिलाजस्तो मुख्य भूमिकामा भने देख्न पाइँदैन ।
पात्र ३ : अभिनेता सरोज खनाल एकाएक अमेरिका पलायन भए । यता हुँदा सबैतिर हाईहाई थियो । उता त कसैले चिन्दैनथे । एकप्रकार पहिचान नै हराएको थियो । उनले अन्ततः १७ वर्षपछि फिल्ममा कमब्याक गरे, ‘नाइँ नभन्नु ल २’मार्फत । भन्छन्, ‘म जुन रेन्चको अभिनय गर्थें त्यो स्पेस खाली नै रहेछ । यो देशमा अर्काे सरोज खनाल जन्मिसकेको रहेनछ ।’
पात्र ४ : अभिनेत्री बिपना थापा पनि कुनै समय स्टार थिइन् । तर, विवाह गरी भारतमा घरजम बसालेपछि अभिनयबाट टाढा रहिन् । उनले १६ वर्षपछि ‘ह्रस्व–दीर्घ’मार्फत ‘कमब्याक’ गरेकी छन् । उनी उक्त फिल्ममा नेता र आमाको भूमिकामा देखिइन् ।
‘अब योभन्दा फरक–फरक भूमिका गर्ने इच्छा छ,’ उनी भन्छिन्, ‘आफूले काम गर्ने फिल्म मनोरञ्जनको अलावा सन्देशमूलक पनि होस् भन्ने मेरो चाहना हो । मेरो एउटा सपना पनि छ । त्यो हो, सीताको भूमिकामा अभिनय गर्ने ।’
कमब्याक भनेको एउटा ठूलो सुखद कुरो हो । आउनेबित्तिकै एउटा वा दुईवटा फिल्मबाट सुपरडुपर हिट हुनुपर्छ भन्ने छैन । कलाकार हुनु नै सबैभन्दा ठूलो कुरो हो । कलाकार भएर पात्र निर्वाह गर्नु नै महत्त्वपूर्ण उपलब्धि हो । कमब्याकको आँट नै सबैभन्दा ठूलो सफलता हो ।
मनोज पण्डित, निर्देशक तथा लेखक
यी चार जना त फिल्ममा कमब्याक गर्ने प्रतिनिधि कलाकार हुन् । जसले पहिला हिरो–हिरोइनका रूपमा ख्याति कमाएका थिए । तर, बिचमा फिल्म उद्योगबाट हराए भनौँ या त ग्याप बसे । उनीहरूको कमब्याक सिलसिला जारी छ । जुन लहरमा रमेश उप्रेती, दिलीप रायमाझी, निरुता सिंह, निखिल उप्रेती, विराज भट्ट, रेजिना उप्रेती, ऋचा घिमिरे, पूजा चन्द, राजवल्लभ कोइरालालगायत पनि देखिएका छन् ।
रमेश ‘ब्रासलेट’, दिलीप ‘लक्का जवान’, निरुता ‘दालभात तरकारी’, निखिल ‘भैरव’, विराज ‘जय पशुराम’, रेजिना ‘मोदिबेनी’, ऋचा ‘तेल भिसा’, राजवल्लभ ‘एक्टोर टेक १’बाट अभिनयमा फर्किएका हुन् । सलिनमान बानियाँ, उत्तम प्रधानलगायत कमब्याक तरखरमा छन् ।
कलाकारको कमब्याकलाई सुखद मान्छन्, निर्देशक तथा लेखक मनोज पण्डित । ‘कमब्याक भनेको एउटा ठूलो सुखद कुरो हो । आउनेबित्तिकै एउटा वा दुईवटा फिल्मबाट सुपरडुपर हिट हुनुपर्छ भन्ने छैन,’ उनी भन्छन्, ‘कलाकार हुनु नै सबैभन्दा ठूलो कुरो हो । कलाकार भएर पात्र निर्वाह गर्नु नै महत्त्वपूर्ण उपलब्धि हो । कमब्याकको आँट नै सबैभन्दा ठूलो सफलता हो ।’
- कमब्याक रहर कि बाध्यता ?
राजेशको कमब्याकलाई कतिपयले बाध्यता भनी टिप्पणी गरेका छन् । उनलाई कमब्याक गराउने निर्देशक दिवाकर भट्टराई भने अभिनयप्रतिको लगावका कारण फिल्ममा फर्किएको बताउँछन् ।
‘राजेश दाइको फिल्ममा कमब्याक बाध्यता त होइन । उहाँले फिल्म खेले पनि नखेले पनि एउटा इमेज भइरहेको व्यक्ति हो,’ उनी भन्छन्, ‘उहाँको एउटा लगाव हो फिल्मप्रति । फिल्मबाट आएको कारणले फिल्म नै गरौँ भन्ने हो । उहाँ आफैँ फिल्म मेकिङ गर्दै हुनुहुन्छ ।’
राजेश स्क्रिप्ट सुनेपछि अभिनय गर्न तयार भएको दिवाकर सुनाउँछन् । ‘नरसिंहाः अवतार’ राजेशको सार्थक र गर्विलो फिल्म हुने दाबी उनी गर्छन् । भन्छन्, ‘राजेशको कमब्याक रहर या बाध्यता केही नभएर लगाव भन्नुपर्छ ।’
अहिले जति पनि अभिनयमा कमब्याक गरिरहेका छन् ती सबै फेरि फिल्म उद्योगमा करिअर बनाउने उद्देश्यले प्रवेश गरेको देखिन्न । कति रहर पूरा गर्न कमब्याक गरेका छन् । कतिले लगावका कारण ।’
ज्ञानेन्द्र देउजा, निर्देशक
बिपना भने आफू रहरले गर्दा अभिनयमा फर्किएको सुनाउँछिन् । ‘म फिल्ममा फेरि एकपटक करिअर बनाउँछु भनेर आएको होइन । आफ्नो रुचिले, उद्योगको मायाले, जन्मभूमि, माइती र कर्मभूमिमा काम गर्नुपर्छ भनेर छिरेकी हो,’ उनी भन्छिन्, ‘मेरो कमब्याक सिनियरदेखि जुनियरसम्मले स्वागत गरे ।’ उनी मिलेसम्म अभिनय गर्ने सुनाउँछिन् ।
सरोज आफ्नो पुनरागमन बाध्यता भएको सुनाउँछन् । अभिनयको किराले टोकेका कारण आफू बाध्य भएर फिल्ममा फर्किएको उनको धारणा छ । ‘एकपटक कलाकारिताको किराले टोकिसकेपछि त्यो मानिस नमरुन्जेल यो क्षेत्र छाड्न सक्दैन,’ उनी भन्छन्, ‘मलाई अहिले पनि एक साता क्यामेरा देख्न पाइनँ भने छटपटी हुन्छ । यो अवस्था मेरो मात्र होइन, हरेक कलाकारको हो ।’
रमेश, निखिल, विराट, करिश्मालाई पनि बाध्यता देखिन्छ । उनीहरूको परिचय नै कलाकारिताबाट बनेको थियो । यसबाहेक अन्य पेसा/व्यवसाय पनि देखिन्न ।
रेजिनाको पनि बाध्यता नै देखिन्थ्यो । उनी कलाकार संघको अध्यक्षमा उठ्न चाहन्थिन् । जसका लागि कलाकारितामा निरन्तरता आवश्यक थियो । रेजिना संघको पछिल्लो महाधिवेशनमा अध्यक्षको उम्मेदवार बनेकी थिइन् । तर, पराजित भइन् । उनी त्यसपछि फेरि फिल्म क्षेत्रबाट हराएकी छन् ।
राजवल्लभले ‘एक्टोर टेक १’मा दबाबका कारण अभिनय गरेको देखिन्छ । धमाधम पलायन भएका अभिनेता/अभिनेत्री फिल्ममा फर्किएका कारण उनी पनि अभिनय गर्न नेपाल आए । अभिनयपछि अमेरिका फर्किए । उनी ‘पर्खी बसेँ’का कारण चिनिन्छन् ।
पूजाले ‘भुठान’मा राजवल्लभझँै दबाबमा अभिनय गरिन् । उक्त फिल्म अमेरिकामा छायांकन गरिएको हो । ‘तेल भिसा’मा पनि देखिएकी उनी अमेरिकामै छिन् । एक समयकी लोकप्रिय अभिनेत्री पूजाले ‘आवारा’, ‘वरपीपल’, ‘खेलौना’लगायत दर्जनौँ फिल्ममा काम गरेकी थिइन् ।
ऋचाले ‘तेल भिसा’मा अभिनय गर्नुलाई कलाकारिताप्रति लगाव मान्न सकिन्छ । नेपालमा रहँदा फिल्म निर्माण र अभिनय गरेकी उनले अमेरिका गएपछि ‘तेल भिसा’ बनाएकी हुन् । उनी उक्त फिल्मकी निर्मातामध्ये एक हुन् ।
कलाकारलाई कमब्याकमा चुनौती उसले रोज्ने प्रोजेक्टमा भर पर्छ । कन्टेन्ट राम्रो भएको, राम्रो प्रोजेक्टमार्फत आयो भने कसैलाई पनि चुनौती हुँदैन । दर्शकले कलाकार पुरानो र नयाँ केही हेर्दैनन् । दर्शकले हेर्ने कन्टेन्ट हो ।
दीपेन्द्र लामा, निर्देशक
उत्तम ‘म्याउँ’बाट कमब्याक गर्दै छन् । जयराज रायको निर्देशन रहने फिल्ममा उनी फेरि रहरले आउन लागेका हुन् । ‘दर्पण छायाँ’बाट डेब्यू गरेका उत्तमका ‘लहना’, ‘बसाइँ’लगायत फिल्म आएका थिए ।
सलिनमान ‘युनिभर्सिटी अफ गुन्डाज (यूओजी)’बाट कमब्याक गर्दै छन् । ‘ए मेरो हजुर २’ र ‘यात्रा’पछि डिमान्डको हिरो बनेका उनले थुप्रै अफर अस्वीकार गरे । उनमा फिल्मप्रति लगाव र बाध्यता भए ‘यात्रा’पछिका अफर स्वीकार गर्थे । जो पाँच वर्षपछि कमब्याक गर्न लागेका हुन् ।
रहर, लगाव या बाध्यता जे भए पनि अभिनयमा कलाकारको कमब्याक राम्रो मान्छन् कलाकार, निर्माता, निर्देशक अशोक शर्मा । उनी कमब्याक गर्नेले अहिलेको समय र माहोल बुझ्नु जरुरी रहेको बताउँछन् । भन्छन्, ‘अहिले धेरै कुरा पहिलेभन्दा फरक भएको छ । कमब्याक गर्नेले आफूलाई केही परिवर्तित गर्नुपर्छ ।’
कलाकार संघका अध्यक्ष मोहन निरौला कमब्याक गर्न चाहनेहरूले आफूलाई परिमार्जन गरेर फर्कनुपर्ने धारणा राख्छन् । ‘फर्किएकाहरू पेसागत रूपमा कलाकार हुन् । कलाकार फर्किएपछि अभिनय गर्न सक्छन्,’ उनी भन्छन्, ‘परिमार्जित भएर आए जम्न सक्छन् । नत्र त भन्न सकिन्न ।’
- कमब्याक कति प्रभावकारी ?
फिल्ममा भविष्य नदेखेर विदेश लागेका, कथा चित्त नबुझेर रिजर्भ बसेका, अन्य उद्योगमा छिरेकादेखि विवाह गरेर हराएका कलाकारसम्म कमब्याक गरिरहेका छन् । जो पहिले स्टारका रूपमा चिनिन्थे । दर्शकमाझ हिरो–हिराइन भनेर कहलिएका थिए । कमब्याकपछि भने पहिलेजस्तो भूमिकामा देखिँदैन । कतिपयले निरन्तरतासमेत दिन सकेको पाइँदैन ।
अभिनेता राजेश अधिकांश फिल्ममा एक्सनसहित हिरोको भूमिकामा देखिँदै आएका थिए । अभिनयबाट ग्याप बस्दा उनले भनेका थिए, ‘उस्तै भूमिका र फिल्मको अफरले फिल्म अभिनयमा ग्याप गरेको हो ।’ कमब्याक फिल्म ‘नरसिंहाः अवतार’को प्रचार हेर्दा राजेश एक्सनसहित मुख्य भूमिकामै देखिने अनुमान गर्न सकिन्छ ।
अभिनेता विराज नेपालीमा एकै खालको एक्सन र कथा भयो भनेर भोजपुरीमा छिरेका थिए । नेपालीमा कमब्याक गर्दा उनी एक्सन फिल्म ‘जय पशुराम’मा देखिए । अर्का अभिनेता निखिल पनि एक्सन फिल्म ‘भैरव’बाटै अभिनयमा फर्किए । उनी पहिला पनि एक्सन भूमिकामै देखिन्थे । अभिनेता रमेश पहिला रोमान्टिक हिरो थिए । कमब्याक फिल्म ‘ब्रासलेट’ र ‘ऐश्वर्य’मा उनी उस्तै भूमिकामा देखिए ।
कमब्याक गर्ने कलाकार प्रभावकारी रूपमा आउन नसकेको टिप्पणी गर्छन्, समीक्षक सामीप्यराज तिमल्सिना । ‘फर्केर आएपछि उनीहरूले महसुस गरे होलान् नि ! मैले कस्तो खालको फिल्म अभिनय गरेँ ? नेपालमा कस्तो खालको फिल्म चाहिन्छ ?,’ उनी भन्छन्, ‘कमब्याक गर्दा म कसरी फरक तरिकाबाट योगदान दिन सक्छु भन्ने हुनुपर्ने हो । त्यो भएजस्तो देख्दिनँ ।’ पहिले जस्तो अभिनय गर्थे कमब्याक गर्दा पनि त्यस्तै गरेको धारणा तिमल्सिनाको छ ।
निर्देशक लक्ष्मण सुवेदी कमब्याक कलाकार फरक र प्रभावकारी तरिकाबाट आउन नसकेको धारणा व्यक्त गर्छन् । ‘जो कलाकार जस्तो खेल्दा हराएका थिए । कमब्याक पनि त्यस्तै फिल्मबाट गरे,’ उनी भन्छन्, ‘कमब्याक केही फरक र दर्शक आकर्षक गर्ने हिसाबले हुनुपथ्र्याे । भूमिका र अभिनय पहिलेजस्तै रह्यो ।’
छाडेर जाँदा र कमब्याक हुँदाका दर्शक परिवर्तन भइसकेको उनको तर्क छ । त्यो बुझ्न नसक्दा कमब्याक प्रभावकारी बन्न नसकेको धारणा उनी राख्छन् ।
- कमब्याकमा कस्तो चुनौती ?
कलाकार अभिनयमा फर्किनु सकारात्मक हो । तर, कमब्याकपछि फेरि पहिलेझैँ छाउन चुनौतीपूर्ण देखिन्छ । एक त फिल्म क्षेत्र आफूले छाडेको समयभन्दा अगाडि बढिसकेको हुन्छ । नयाँ कलाकार भित्रिसकेका हुन्छन् । अर्काे कुरो विगतमा आफूलाई मन पराउने दर्शक अहिले नहुन सक्छन् । हरेक कलाकारले नयाँ दर्शकमा आफूलाई प्रमाणित गर्नुपर्ने हुन्छ ।
कमब्याक चुनौतीपूर्ण नै हुने अनुभव छ अभिनेता सरोजको । ‘कमब्याक गर्दा आफ्नो समयका निर्देशक कोही रिटायर्ड भएका थिए । कोही बितिसकेका थिए,’ उनी भन्छन्, ‘फिल्म क्षेत्रका नयाँ पुस्ता कतिले चिन्दैन थिए । कतिलाई क्षमता थाहा छैन ।’
आफूलाई फिल्म उद्योगले स्वीकार गर्छ कि गर्दैन भन्ने डरसमेत हुने उनी सुनाउँछन् । ‘कमब्याकपछि सुटिङमा सबैभन्दा सिनियर म थिएँ । त्यहाँ निर्देशकदेखि सबैको अपेक्षा मैले गरिहाल्छ नि भन्ने खालको हुन्थ्यो । तपाईंलाई के सिकाउनुपर्छ र, के भन्नुपर्छ र भन्थेँ’, उनी भन्छन् ।
अभिनेत्री बिपना अग्रजबाट चुनौतीका कुरा सुन्दै आए पनि त्यस्तो नपाएको सुनाउँछिन् । ‘त्यसैले कमब्याक गर्दैगर्दा म पनि एकदमै डराएकी थिएँ । तर, काम गर्दा केही चुनौती देखिनँ,’ उनी भन्छिन्, ‘म फिल्ममा फेरि एकपटक करिअर बनाउँछु भनेर आएकी भए सायद चुनौतीहरू देख्थेँ होला ।’
कमब्याक गर्ने कलाकारमा आफूले केही चुनौती नदेखेको निर्देशक ज्ञानेन्द्र देउजा बताउँछन् । ‘अहिले जति पनि अभिनयमा कमब्याक गरिरहेका छन् ती सबै फेरि फिल्म उद्योगमा करिअर बनाउने उद्देश्यले प्रवेश गरेको देखिन्न,’ उनी भन्छन्, ‘कति रहर पूरा गर्न कमब्याक गरेका छन् । कतिले लगावका कारण ।’ उनका अनुसार करिअर बनाउन, व्यावसायिक रुपमा निरन्तरता दिन कमब्याक नगरेपछि चुनौती भन्ने हुँदैन ।
निर्देशक दीपेन्द्र लामा भने कलाकारलाई कमब्याकमा चुनौती उसले रोज्ने प्रोजेक्टमा भर पर्ने बताउँछन् । ‘कन्टेन्ट राम्रो भएको, राम्रो प्रोजेक्टमार्फत आयो भने कसैलाई पनि चुनौती हुँदैन,’ उनी भन्छन्, ‘दर्शकले कलाकार पुरानो र नयाँ केही हेर्दैनन् । दर्शकले हेर्ने कन्टेन्ट हो ।’
उनका अनुसार कन्टेन्ट राम्रो छैन भने चलिरहेको कलाकारलाई पनि चुनौती छ । ‘कमब्याक गर्दा दर्शकले रुचाउँछ/रुचाउँदैन भन्ने सोच नै गलत छ । कन्टेन्ट राम्रो दिनुपर्छ’, लामा भन्छन् ।
- कमब्याक कति सफल ?
कमब्याक भएकाहरूको कामको चर्चा, निरन्तरता र बक्स अफिस व्यवसाय हेर्दा कसैलाई पनि सफल मान्न सकिने अवस्था छैन । पहिले हिरो भनेर चर्चित कलाकार सरोजले कमब्याकपछि थुप्रै फिल्ममा काम गरेका छन् । तर, चरित्र अभिनेताका रूपमा । उक्त चरित्रको चर्चा भएको पाइन्न । उनी अभिनयका साथै व्यवसाय र निर्देशनमा सक्रिय छन् । उनी निर्देशित ‘बगान’ गत वर्ष प्रदर्शनमा आएको थियो ।
सरोज आफूलाई भने सफल नै ठान्छन् । ‘मैले आफूलाई समयअनुसार परिमार्जन गर्दै ‘नाइँ नभन्नु ल २’बाट चरित्र अभिनेताका रूपमा कमब्याक गरँे । त्यसपछि ‘प्रेमगीत’मा पनि त्यस्तै भूमिका गरेँ,’ उनी भन्छन्, ‘मेरो भाग्य राम्रो भन्नुपर्छ । यी दुवै फिल्म सफल भए । मेरो कमब्याक सफल ठहरियो ।’
अभिनेत्री बिपना पनि आफ्नो कमब्याक सफल भएको दाबी गर्छिन् । ‘यो फिल्मले व्यवसाय सोचेजस्तो गर्न सकेन । मेरो कमब्याक भने सफल रह्यो,’ उनी भन्छिन्, ‘मैले एकदमै राम्रो प्रतिक्रिया पाएँ । पहिले जति माया पाउँथेँ अहिले त्योभन्दा बढी नै मिल्यो ।’
एक समयकी चर्चित हिरोइन करिश्मा पनि कमब्याकपछि चरित्र अभिनेत्रीको भूमिकामा देखिइन् । ‘वान वे’ र त्यसपछि अभिनय गरेको उनको भूमिकाको पनि चर्चा भएन । बरु उनी राजनीति, पढाइ र व्यवसायका कारण मिडियामा छाइन् ।
अभिनेता रमेश ‘ब्रासलेट’पछि ‘ऐश्वर्य’मा देखिए । दुवै फिल्मले व्यावसायिक असफलता भोगेपछि उनको अभिनयमा निरन्तरता छैन । उनले फिल्म बनाउने बताउँदै आएका छन् ।
अभिनेता विराज र निखिलको अवस्था पनि त्यस्तै छ । भ्याइ–नभ्याइ हुँदा हराएका उनीहरू कमब्याकपछि आफैँ निर्माता, निर्देशक भएर हिरो बनिरहेका छन् । विराज ‘जय पशुराम’ असफल भएपछि ‘साङ्लो’मार्फत निर्देशनमा डेब्यू गरे । उनकै निर्देशन र अभिनय रहेको ‘१२ गाउँ’ गत दसैंमा प्रदर्शनमा आएको थियो । उनले जसमार्फत छोरा समीरलाई एक्सन हिरोका रूपमा इन्ट्री गरे ।
निखिलले आफ्नै निर्माण र निर्देशनमा ‘भैरव’ बनाए । त्यसपछि उनको अर्काे फिल्म आएको छैन । अभिनेता दिलीपको कमब्याक फिल्म ‘लक्क जवान’पछि ‘रंगी’मा देखिँदै छ ।
निर्देशक तथा लेखक पण्डितका अनुसार सफलताको मापन एउटा–दुइटा फिल्म हिट र फ्लप होइन । कमब्याक भएर काम राम्रो गर्यो कि गरेन भन्ने कुराले हुन्छ । निरन्तरता भइरह्यो भने हामीले भनेको बजारिया सफलता पनि प्राप्त हुन्छ ।
‘हामीसँग अहिले पर्याप्त कलाकार पुग्ने अहिलेको स्थिति एकदमै खुसीको कुरो हो । बिचमा यस्तो अवस्था आइसकेको थियो कि उमेर पुगेका पात्र निभाउने मानिस थिएनन् । फरक जातजातिको भूमिका गर्ने कलाकार थिएनन्,’ उनी भन्छन्, ‘हिजोका कलाकार जो कमब्याक गर्नुभएको छ । अत्यन्तै राम्रो । यसले फिल्मको वृद्धिमा समेत योगदान दिन्छ ।’
उनी कमब्याक गर्नेलाई केही सुझाव पनि दिन्छन् । ‘उहाँहरूले आफ्नो सीपमा सुधार गर्नुपर्यो । हिजो म थिएँ । आज त्यसकारणले स्थापित हुनुपर्छ । हिजो भएको कारणले राम्रो काम गर्नसक्छु भनेर होइन,’ उनी भन्छन्, ‘हिजो म एउटा कमजोरी भएको कारणले विस्थापित भएको हो । मेरो पनि कमजोरी छ भनेर आफ्नो कमजोरी सुधार गर्नुपर्छ । अहिले नयाँ सोच बोकेका स्रष्टाहरूसँग काम गर्न त पुरानो सोचले पुग्दैन । कमब्याक विथ अपडेट हुनुपर्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अस्ट्रेलियाको न्यू क्यासलमा नेपालीहरूबिच अन्तर्क्रिया कार्यक्रम
-
बेटिसमाथि बार्साको गोल वर्षा
-
गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको काम तीव्र
-
खराब मौसमले तीन ट्रंक रुटको हवाई उडान प्रभावित
-
न्याय परिषद् सदस्यमा प्रस्तावित खड्काविरुद्ध उजुरी आह्वान
-
छात्राहरुका लागि बचत खाता खोल्दै आँबुखैरेनी गाउँपालिका