‘नेपालको हिरो, अमेरिकामा जिरो’
एक समयका चर्चित अभिनेता हुन्, सरोज खनाल । अभिनयमा चर्चा र सफल दुवै भएकै समय अमेरिका पलायन भएका उनी १७ वर्ष उतै रमाए । पछिल्लो समय भने नेपाल फर्किएर अभिनयमा पुनः सक्रिय छन् ।
२०४४ सालदेखि रंगमञ्च हुँदै अभिनयमा प्रवेश गरेका खनाल करिब एक दशकअघि ‘नाइँ नभन्नु ल २’बाट कमब्याक गरेका हुन् । उनी अमेरिका जानुअघि फिल्ममा हिरोको भूमिका निर्वाह गर्थे । कमब्याकपछि चरित्र अभिनेताका रूपमा देखिँदै आएका छन् । उनी पहिलेझैँ अभिनयमा व्यस्त रहेकाले आफ्नो कमब्याकलाई सफल मान्छन् । उनै अभिनेता खनालसँग फिल्ममा कमब्याकको विषयमा रातोपाटीकर्मी कुवेर गिरीले कुराकानी गरेका छन् ।
- तपाईंले १७ वर्षपछि अभिनयमा कमब्याक गर्नुभयो । त्यो कति सहज थियो ?
सहज हुने कुरै भएन । किनभने, धेरै ग्याप भइसकेको थियो । म पहिले जुन चरित्रमा देखिन्थेँ त्यसबाट टाढा पुगिसकेको थिएँ । उमेर र समय दुवैका हिसाबले । त्यसलै कमब्याक गर्दा पनि पहिलेझैँ हिरोको भूमिका पाउने कुरो भएन । मैले आफूलाई समयअनुसार परिमार्जन गर्दै ‘नाइँ नभन्नु ल २’बाट चरित्र अभिनेताका रूपमा कमब्याक गरेँ । त्यसपछि ‘प्रेमगीत’मा पनि त्यस्तै भूमिका गरेँ । मेरो भाग्य राम्रो भन्नुपर्छ, यी दुवै फिल्म सफल भए । मेरो कमब्याक सफल ठहरियो ।
- तपाईंले अभिनयमा फर्किँदै गर्दा के चुनौती देख्नुभएको थियो ?
म अमेरिका रहँदा जुन जेनरेसन नेपाली फिल्ममा हुर्किएको थियो त्योसँग न परिचित थिएँ न त उनीहरूले चिन्थे । उनीहरूसँग भिज्नु, चिनिनु चुनौती थियो । त्यसैले मैले सुरुमा ‘नाइँ नभन्नु ल २’ रोजेको हो । म त्यो फिल्मका निर्देशक विकास आचार्यसँग पहिले नै परिचित थिएँ ।
यो फिल्मबाट नयाँ पुस्तामाझ म नोटिसमा परेँ । ‘प्रेमगीत’ले युवा पुस्तामा पनि चिनायो । पहिले मेरो फिल्म हेर्ने फ्यानले बिर्सिनुभएको रहेनछ । म फिल्मबाट हराए पनि उहाँहरूको मस्तिष्कबाट हराएको रहेनछु । मेरो चुनौती भनेको १७ वर्षको ग्यापमा हुर्किएको जेनरेसन थियो । दुई फिल्मले मद्दत गर्यो ।
- अमेरिका पलायन हुँदा तपाईंको परिचय फिल्म उद्योगमा हिरोको थियो । नाम, दाम र काम सबथोक थियो । फिल्म छाडेर अमेरिका किन जानुभयो ?
म मेरा लागि होइन कि छोराहरूको भविष्यको चिन्ताले अमेरिका गएको थिएँ । त्यो समय नेपालमा सशस्त्र जनयुद्ध जारी थियो । मेरो घरमा पनि अज्ञात व्यक्तिको धम्कीपूर्ण फोन बेला–बेला आउँथ्यो । तपाईंको छोरा यहाँ पढ्छ हैन ! कति पैसा दिनुहुन्छ ? पैसा नदिए छोरा सुरक्षित नहोला नि ! आदि धम्की आउँथ्यो ।
पहिले मेरो फिल्म हेर्ने फ्यानले बिर्सिनुभएको रहेनछ । म फिल्मबाट हराए पनि उहाँहरूको मस्तिष्कबाट हराएको रहेनछु । मेरो चुनौती भनेको १७ वर्षको ग्यापमा हुर्किएको जेनरेसन थियो । दुई फिल्मले मद्दत गर्यो ।
छोराहरूलाई स्कुल पठाउनै डर भयो । त्यसैले अब यो देशमा बच्चाहरूको भविष्य सुरक्षित छैन भनेर बिदेसिएँ । म त एउटा पपुलर हिरो थिएँ । कतिपयले मलाई पैसा कमाउन गयो भने । त्यो होइन । पैसाको समस्या थिएन । किनभने, मसँग बुबा– बाजेले कमाएको सम्पत्ति टन्नै थियो । फिल्मबाट पनि राम्रो कमाउँथेँ ।
- के अमेरिकामा रहँदा अभिनयको याद आएन ?
त्यो कुरै नगर्नुस् । कति बेला बिर्सिनुहुन्थ्यो भनेर सोध्नु न बरु । म धेरै समय त बिहान उठेदेखि बेलुकासम्मै फिल्म सम्झन्थेँ । अमेरिका पुगेपछि सुरुमा एउटा स्टोरमा काम गर्थेँ । त्यहाँ फिल्मको सम्झनाले टोलाएर बकेको देख्दा म्यानेजरले के भयो भनेर सोध्थे । मैले उसलाई म नेपालको अभिनेता भनेको थिइनँ । पछि आफैँ थाहा पाएछ । अमेरिकामा रहँदा त्यो क्षण थिएन होला मैले फिल्म नसम्झिएको ।
मपछि केही कलाकार पनि अमेरिका आउनुभयो । बिस्तारै नेपालीको संख्या पनि बढ्दै गयो । कलाकारिताको भोक मेट्न स्टेज सो गर्न र नेपालबाट पठाउने फिल्म हेर्न थालेँ ।
- नेपाल फर्किएर फिल्ममा कमब्याक गर्छु भन्दा विवादित हुनभयो किन ?
हो । म फर्किएपछि अभिनयमा कमब्याक गर्छु भन्दा धेरै पेपर मिडियाले नराम्रो लेखे । म त्यो समय एकदमै फ्रस्टेटेड भएको थिएँ ।
मैले मिडियाले नराम्रो गर्नुपर्ने केही पाप गरेको थिइनँ । कमब्याकमा सपोर्ट गर्नुपर्नेमा उल्टै खेदो खन्यो । कतिले बुढेसकाल लागेपछि स्वदेश फर्किएर वृद्धाश्रम बनाउन आयो भनेर आरोप लगाए । मैले त्यो समय कसैलाई नराम्रो भनिनँ । कामबाटै जवाफ दिनुपर्छ भन्ने ठानेर म सुरुमा नाटकमा होमिएँ । त्यसपछि फिल्म र टेलिभिजनका काम पनि गरेँ । अहिले सबैको मुख बन्द छ ।
- कमब्याकका चुनौती के कस्ता थिए ?
कमब्याक गर्दैगर्दा सबैभन्दा मलाई गाह्रो कामको भयो । पहिले म जुन निर्देशकको काम गर्थेँ उहाँहरू कोही रिटायर्ड, कोही बितिसकेका थिए । फिल्म क्षेत्रमा सबै पछिल्लो समयका निर्देशक देखिन्थे ।
हाईहाईको माहौलबाट शून्यमा पुगेँ । कोही किन बोल्दैन, हेर्दैन भन्ने लाग्थ्यो । नेपाली कलाकारिताबाट अर्बपति बन्न सकिन्न । दर्शकको माया अमूल्य छ । त्यो नपाउँदा डाह र छटपटी हुँदो रहेछ ।
म पहिले–पहिले सुटिङमा जाँदा आफैँ नमस्ते गर्थेँ । मभन्दा सबै सिनियर हुन्थे । कमब्याकपछि सुटिङमा सबैभन्दा सिनियर म थिएँ । त्यहाँ निर्देशकदेखि सबैको अपेक्षा मैले गरिहाल्छ नि भन्ने खालको हुन्थ्यो । तपाईंलाई के सिकाउनुपर्छ र, के भन्नुपर्छ र भन्थे । मैले १७ वर्षमा सबै बिर्सिएँ । एबीसीडीदेखि सिकाउनू भनेर काम गर्थेँ ।
अर्को कुरो कमब्याक फिल्म उद्योगले स्वीकार गर्छ कि गर्दैन भन्ने ठुलो प्रश्न थियो । १७ वर्षको ग्याप भनेको सानो समय थिएन । राजा वीरेन्द्र बित्नुभएको २०–२२ वर्ष भयो । धेरैले बिर्सिसके । म भनेको एउटा कलाकार न थिएँ ।
- तपाईं फिल्म खेल्नै भनेर नेपाल फर्किएको हो र ?
होइन । देशको अवस्था राम्रो भएको थियो । फिल्म पाए गर्ने, नपाए अन्य काम गर्ने भनेर फर्किएको थिएँ । म जुन दिन फर्किएर काठमाडौँ आएँ त्यो दिनदेखि सबैले राम्रो, राम्रो चरित्रका लागि अफर गर्नुभयो । फिल्ममा आउनुपर्छ भनेर भनिएँ ।
- के तपाईंको कमब्याक बजारले स्वीकार गर्यो त ?
म जुन रेन्जको अभिनय गर्थेँ त्यो स्पेस खाली नै रहेछ । यो देशमा अर्को सरोज खनाल जन्मिसकेको रहेनछ । पारिवारिक भूमिकाका लागि पहिले पनि मलाई सम्झन्थे । अहिले पनि सम्झन्छन् । फरक यति हो, पहिले हिरो, अहिले चरित्र अभिनेता ।
- तपाईं फर्किँदा फिल्म उद्योगमा धेरै परिवर्तन भइसकेको थियो । अभिनयको लोभ फेरि किन लाग्यो ?
कलाकारिताको किराले एक पटक टोकिसकेपछि त्यो मानिस नमरुन्जेल यो क्षेत्र छोड्न सक्दैन । म अहिले पनि एक साता क्यामेरा देख्न पाइनँ भने छटपटी हुन्छ । यो अवस्था मेरो मात्र होइन, हरेक कलाकारको हो । हरेक समय नयाँ चरित्र निर्वाह गरौँ ।
- पलायनको पीडा के रहेछ ?
अमेरिका पलायनअघि सरोज खनाल भन्ने व्यक्ति घरबाट निस्किएपछि घरमा नछिरेसम्म सिनियरले भाइ, उमेर सरहले के छ साथी र सानाले के छ दाइ भन्थे । सबैतिर हाईहाई थियो । अमेरिकामा कसैले चिन्दैन थिए । पहिचान हराएको थियो । पहिचान हराउनुको पीडा ठुलो हुँदो रहेछ । नेपालको हिरो, अमेरिकामा जिरो । हाईहाईको माहौलबाट शून्यमा पुगेँ । कोही किन बोल्दैन, हेर्दैन भन्ने लाग्थ्यो । नेपाली कलाकारिताबाट अर्बपति बन्न सकिन्न । दर्शकको माया अमूल्य छ । त्यो नपाउँदा डाह र छटपटी हुँदो रहेछ ।
- तपाईं कमब्याक गर्नेलाई के सुझाव दिनुहुन्छ ?
मेरो कारणले धेरै कलाकार अमेरिका पलायन भए । अमेरिकाको ओ–वन भिसा पाउने पहिलो नेपाली कलाकार मै थिएँ । म गएपछि धेरैले थाहा पाए । मैले धेरैलाई सहयोग पनि गरेँ । म फर्किसकेँ । बिस्तारै सबै जना फर्किँदै हुनुहुन्छ । मलाई आफू गयो, कलाकार पनि लग्यो भन्ने दोष लागेको छ । सबै धमाधम फर्किँदै हुनुहुन्छ । सबैलाई फर्किन अनुरोध गर्दै सहयोगसमेत गर्छु ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको इमरजेन्सी विभाग उद्घाटन
-
प्रधानमन्त्रीद्वारा स्वास्थ्य विज्ञान प्रतिष्ठानका भवन उद्घाटन
-
प्रधानमन्त्री ओली पोखरामा
-
संखुवासभाको बाह्रविसे बजारमा आगलागी, ५ वटा घर जलेर नष्ट
-
अध्यादेशमार्फत बजेट निर्माण प्रक्रिया संशोधन, नयाँ क्यालेन्डर लागू
-
मुआब्जा नै नदिई रेल विभागले टेन्डर गरेपछि स्थानीयको विरोध