बिपनाको सपना : सीताको भूमिका
म १६ वर्षपछि ‘ह्रस्व–दीर्घ’मार्फत अभिनयमा कमब्याक गरेकी हुँ । यो फिल्म केही समयअघि प्रदर्शनमा आएको थियो । यसले सोचेजस्तो व्यवसाय गर्न सकेन । मेरो कमब्याक भने सफल रह्यो । मैले एकदमै राम्रो प्रतिक्रिया पाएँ । पहिले जति माया पाउँथेँ अहिले त्योभन्दा बढी नै मिल्यो ।
लामो समयपछि अभिनयमा फर्किँदै गर्दा सुरुमा डर लागेको थियो । अभिनय गर्न सक्दिनँ कि भन्ने लाग्थ्यो । आफूलाई नयाँ कलाकारजस्तो ठान्थेँ । यो विषय ‘ह्रस्व–दीर्घ’का निर्देशक चन्द्र पन्तसँग सेयर गरेकी थिएँ । उहाँले ‘सक्नुहुन्छ’ भनेर हौसला दिनुभयो । युनिटका सदस्यको साथ र सहयोगले सहज भयो ।
अभिनय त गरेँ । फिल्म रिलिजपछि दर्शकले कसरी लिन्छन् भन्ने अर्को चिन्ता थियो । मैले निर्वाह गरेको भूमिका दर्शकले रुचाए । कतिपयले त अभिनय पहिलेभन्दा पनि सशक्त रहेको प्रतिक्रिया दिए । यसले कमब्याक सफल भएको मानेको छु ।
मैले फिल्म उद्योगमा धेरै परिवर्तन पाएँ । कलाकारिता, व्यावसायिकता र प्राविधिक रूपमा पनि उद्योगले राम्रो फड्को मारेको देख्दा धेरै खुसी लाग्यो । कमब्याक अभिनय रमाइलो पनि भयो । मैले इन्जोय गरेँ ।
म विवाहपछि फिल्मबाट हराएकी थिएँ । हराउनुअघि ‘स्टार’ थिएँ । तर, अहिलेजस्तो सम्मान कहिल्यै पाएको थिइनँ । सबैले बिपना यसो गर, उसो गर भन्थे । अहिले फर्किँदा सबैको सम्मान पाएँ ।
पहिलेभन्दा मेरो उमेर, शरीर सबै परिवर्तन भएको छ । त्यसैले मैले ‘ह्रस्व–दीर्घ’मा हिरोइनको भूमिका पाइनँ । त्यो स्वाभाविक पनि हो । चरित्र अभिनेत्रीको भूमिका भने राम्रो पाएँ । त्यसकारण अहिले सबैले सिनियर कलाकार, लिजेन्ड, सम्मानित पर्सन भनेर व्यवहार गरे ।
म सबैको दिदी, आन्टी भएँ । म पहिले गौरी मल्ल, करिश्मा मानन्धर दिदीहरूलाई जस्तो सम्मान गर्थेँ त्यही सम्मान अहिले मैले पाइरहेकी छु । त्यो सम्मान पाउँदा रमाइलो महसुस हुन्छ । बल्ल थाहा पाएँ, म पनि लिजेन्ड भएछु ।
- विवाहअघि १११ फिल्ममा अभिनय
म विदेश पलायन भएर फिल्म उद्योगबाट हराएको थिइनँ । विवाह गरी भारतमा घरजम गर्नुपरेका कारण टाढा रहन पुगेँ । मैले विवाहअघि १११ वटा फिल्ममा अभिनय गरिसकेकी थिएँ ।
लामो समयपछि अभिनयमा फर्किँदै गर्दा सुरुमा डर लागेको थियो । अभिनय गर्न सक्दिनँ कि भन्ने लाग्थ्यो । आफूलाई नयाँ कलाकारजस्तो ठान्थेँ ।
विवाह मेरो जीवनको एउटा महत्त्वपूर्ण समय थियो । मैले आफू विवाह गरेर गएको परिवारबाट पाएको सम्मान, माया र रेस्पोन्सले अन्त समय दिन सकिनँ । फिल्म उद्योगका मानिसहरूसँग नियमित कुराकानी हुन्थ्यो । त्यसैले मिस गरिरहेको छु भन्ने फिल नै भएन ।
सँगैका साथीहरूको फिल्म देख्दा फेरि गर्नुपर्छ भन्ने लाग्थ्यो । बुहारी, श्रीमती र रियल लाइफको आमाको जिम्मेवारीसमेत मैले निर्वाह गर्नुपरेकाले कमब्याक गर्न ढिलो भयो ।
मैले कमब्याकको समय धेरै चुनौतीको सामना गर्नुपर्छ भनेर अग्रजबाट सुन्दै आएकी थिएँ । त्यसैले कमब्याक गर्दैगर्दा म पनि एकदमै डराएकी थिएँ । तर, काम गर्दा केही चुनौती देखिनँ । म फिल्ममा फेरि एकपटक करिअर बनाउँछु भनेर आएकी भए सायद चुनौतीहरू देख्थेँ होला । आफ्नो रुचिले, उद्योगको मायाले जन्मभूमि, माइती र कर्मभूमिमा काम गर्नुपर्छ भनेर छिरेकी थिएँ ।
मेरो कमब्याक सिनियरदेखि जुनियरसम्मले स्वागत नै गरेको पाएकी छु । अभिनेत्री गौरी मल्ल, रेखा थापा, सञ्चिता लुइँटेललगायत कलाकारले धेरै सहयोग गरे । त्यही कारण पनि म ‘ह्रस्व–दीर्घ’को प्रवर्द्धन गर्न दिल्लीबाट काठमाडौँ ओहोरदोहोर गर्थेँ ।
- फिल्ममा धेरै फड्को
पहिले नेपाली फिल्मको प्राविधिक पक्ष त्यति सबल थिएन । अहिले त सबैभन्दा धेरै फड्को प्राविधिक पक्षले मारेछ । जुन अन्तर्राष्ट्रिय स्तरका हुन थालेछन् ।
कलाकारमा पनि कलाकारितालाई लिएर पहिलेभन्दा धेरै गम्भीरपन देखेँ । बजेटको हिसाबले पनि धेरै राम्रो हुन थालेछ । व्यावसायिक कलाकार, निर्माता र निर्देशक थुप्रै भित्रिएका रहेछन् ।
नेपाली फिल्म विभिन्न अन्तर्राष्ट्रिय भाषामा बन्ने मात्र होइन, विदेशी कलाकारले पनि खेल्न थालेछन् । सुटिङअघि वर्कसप हुन थालेछ ।
म विवाहपछि फिल्मबाट हराएकी थिएँ । हराउनुअघि स्टार’ थिए । तर, सम्मान अहिलेजस्तो कहिल्यै पाएको थिइनँ ।
फिल्मको बजार बढेछ । डिजिटल प्लेटफर्मका अलावा विदेशका धेरै देशमा नेपाली फिल्म प्रदर्शन हुन थालेछ । फिल्म र कलाकारको आम्दानी पनि राम्रो भएछ । भर्खर कमब्याक गरेको कारण नराम्रो पक्ष नजरमा परेको छैन ।
- सीताको भूमिका गर्ने धोको
कतिपयले एउटा फिल्म खेल्छ, फेरि हराउँछ भनेका छन् । म अभिनयमा निरन्तरता दिने हिसाबले आएकी हँु । दोस्रो फिल्मका रूपमा ‘जेरी अन टप’ गर्ने कुरा थियो । छोरा १० मा पढ्ने र परीक्षाको समय भएकाले समय दिन सकिनँ । केही नयाँ फिल्मका अफर छन् । काम गर्छु ।
बिपना भारतमा बस्छिन्, नेपाली फिल्ममा निरन्तरता दिन सम्भव छैन भनेर कति अझै भन्छन् । म सुटिङ हुँदा नेपाल आउँछु । सकिएपछि भारत जान्छु । अहिले परिआए बिहान आएर दिनभरि सुटिङ गरेर बेलुका घर भारत फर्किन मिल्छ ।
मैले ‘ह्रस्व–दीर्घ’मा नेता र आमाको भूमिका निर्वाह गरेँ । अब योभन्दा फरक–फरक भूमिका गर्ने इच्छा छ । आफूले काम गर्ने फिल्म मनोरञ्जनको अलावा सन्देशमूलक पनि होस् भन्ने मेरो चाहना हो । मेरो एउटा सपना पनि छ । त्यो हो, सीताको भूमिकामा अभिनय गर्ने ।
(अभिनेत्री थापासँग रातोपाटीका कुवेर गिरीले गरेको कुराकानीमा आधारित)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘दुखी आत्मा’ले ल्यायो ‘ब्रेकअप कविता’
-
बेलायती कानुनमन्त्री र नेता कोइरालाबिच संक्रणकालीन न्याय तथा मानवअधिकारको विषयमा छलफल
-
वकिलमाथिको आक्रमणले रास्वपासहित नयाँ राजनीतिक शक्तिमाथि गम्भीर प्रश्न
-
शिक्षा र स्वास्थ्य क्षेत्रलाई अझ आधुनिक र उन्नत बनाउन सरकार प्रयासरत : प्रधानमन्त्री ओली
-
अन्तरिक्षमा डकिङ गर्ने चौथो देश बन्यो भारत
-
महालक्ष्मी विकास बैंकले सञ्चालनमा ल्यायो बचत मै मुद्दती सरहको ब्याज पाइने खाता