१२ बजे १२ समाचार : काठमाडौं जिल्ला अदालतमा ६० लाख धरौटी बुझाएर रवि रिहादेखि वकिलमाथि कार्यकर्ताको आक्रमण प्रयाससम्म
काठमाडौं । वितेका २४ घण्टाको अवधिमा विकसित मुख्यमुख्य घटनाक्रमहरूको संगालोसहित रातोपाटी डटकम राति १२ बजे ‘रातोपाटी ब्रिफिङ’ लिएको उपस्थित भएको छ–
१. रवि रिहा
स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने रिहा भएका छन् । बुधबार जिल्ला अदालत काठमाडौँमा ६० लाख धरौटी बुझाएर उनी रिहा भएका हुन् । थुनछेक बहसपछि काठमाडौँ जिल्ला अदालतका न्यायाधीश माधव अधिकारीको इजलासले उनलाई धरौटीमा रिहा गर्ने आदेश दिएको हो । योसँगै लामिछानेले अब हिरासत बाहिर बसेर नै मुद्दाको पुर्पक्ष गर्न पाउने भएका छन् ।
२. त्रिपाठीमाथि आक्रमण
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यकर्ता तथा रवि लामिछानेका समर्थकहरुले वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि आक्रमण प्रयास गरेका छन् । काठमाडौँ जिल्ला अदालत परिसरमा त्रिपाठीमाथि रास्वपा कार्यकर्ताहरूले आक्रमण प्रयास गरेका हुन् ।
३. कांग्रेसको निन्दा
नेपाली कांग्रेसले वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि भएको हातपात र दुर्व्यवहार को घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । बुधवार राति एक विज्ञप्ति जारी गर्दै कांग्रेसले सो घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।
४. विपक्षी दलको बैठक
विपक्षी दलहरूले सरकारको काम कारबाहीको सम्बन्धमा साझा धारणा बनाउन दुई सदस्य कार्यदल गठन गरेको छ । प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रको संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको बैठकले कार्यदल गठन गरेको हो । कार्यदलमा माओवादीका उपमहासचिव वर्षमान पुन र नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता डा।बेदुराम भुसाल रहेको नेपाल समाजवादी पार्टीका सहअध्यक्ष गंगा श्रेष्ठले जानकारी दिए । सरकार संसद् छलेर अध्यादेशबाट अलोकतान्त्रिक, स्वेच्छाचारी ढङ्गले शासन गर्न लागेको ठहर गर्दै दबाब दिने उद्देश्यले साझा ड्राफ्ट बनाउने निर्णय भएको श्रेष्ठले बताए ।
५. भूमि सम्बन्धी अध्यादेश
प्रधानमन्त्री केपी शर्मा ओलीले भूमिसम्बन्धि अध्यादेश संसदमा पेस गर्दा सच्चाउने प्रतिबद्धता जनाएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ लाई होल्ड गरेका थिए । तर, प्रधानमन्त्रीले त्यसबारे बुधवार बिहान राष्ट्रपतिलाई फोन गरेर संसदमा पेस गर्दा सच्चाएर लैजाने बताएपछि बुधवार बेलुका मात्र राष्ट्रपतिले उक्त अध्यादेश जारी गरेका थिए ।
६. समाजवादी मोर्चा
समाजवादी मोर्चामा आबद्ध रहेका दलहरू निकट समयमै पार्टी एकता गर्न सकारात्मक देखिएका छन् । एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगरमा बसेको मोर्चाको बैठकमा एकता गर्न सकारात्मक रहेका नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्र राय यादवले जानकारी दिए ।
७. कार्यदलको बैठक
जनता प्रगतिशील पार्टीका अध्यक्ष हृदयश त्रिपाठीले बोलाएको मधेसवादी दलका कार्यदलहरूको बैठकमा जनता समाजवादी पार्टी (जसपा) नेपाल र नागरिक उन्मुक्ति पार्टीका प्रतिनिधि अनुपस्थित भएपछि अहिले त्यो चर्चाको विषय बनेको छ ।
. ९३ अर्बले घाटामा
चालु आर्थिक वर्ष २०८१/८२ को ६ महिनामा सरकारको सार्वजनिक खर्च र आम्दानीको अवस्थामा सुधार आउन सकेको छैन । विगतका वर्षजस्तै यो वर्ष पनि सरकारको खाता घाटामा छ । ६ महिनाको अवधिमा मात्रै सरकारी खाता ९३ अर्बले घाटामा गएको छ ।
९. अनिवार्य अवकाश
अब श्रमिकहरूले ६० वर्षमा अनिवार्य अवकाश पाउने भएका छन् । सरकारले हालै ल्याएको अध्यादेशमार्फत श्रमिकको अनिवार्य अवकाशको उमेर हद दुई वर्ष बढाइएको हो ।
१०. राष्ट्रिय भूकम्प सुरक्षा दिवस
आज देशभर ‘भूकम्पले सिकाएको पाठ, बलियो संरचना र सुदृढ पूर्वतयारीका साथ’ भन्ने नारा सहित देशभर २७ औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइएको छ । विसं १९९० माघ २ गते दिउँसो २ बजेर २४ मिनेट जाँदा गएको महाभूकम्पको स्मृतिमा २०५५ सालदेखि हरेक वर्ष आजकै दिनलाई भूकम्प सुरक्षा दिवसको रूपमा मनाइँदै आइएको छ ।
११. प्रचण्डका दुई ‘मुभ’
प्रमुख प्रतिपक्षी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दीर्घकालीन रणनीति र तात्कालिक कार्यनीतिअनुसार ‘कदम’ चालेका छन् । उनले ‘मिसन ०८४’ समेतलाई मध्यनजर गरी रणनीति बनाएका हुन् ।
१२. उपकुलपति बरालको राजीनामा माग
नेपाल विद्यार्थी संघ (नेविसंघ) ले त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राडा केशरजंग बरालको राजीनामा माग गरेको छ। उपकुलपतिको ढोकामा नेविसंघले उपकुलपतिको राजीनामा माग गरेको पर्चा टासेको हो । उपकुलपति बरालसहित, रेक्टर प्राडा खड्क केसी र रजिस्ट्रार प्राडा केदारप्रसाद रिजालको राजीनामा माग गरेको हो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इजरायल र हमासले छोडे १५ महिना लामो युद्ध, आइतबारदेखि पूर्ण युद्धविराम लागू हुने
-
चिसो कालीगण्डकीमा र्याफ्टिङ सञ्चालन
-
१२ बजे १२ समाचार : काठमाडौं जिल्ला अदालतमा ६० लाख धरौटी बुझाएर रवि रिहादेखि वकिलमाथि कार्यकर्ताको आक्रमण प्रयाससम्म
-
आरोही कान्छा शेर्पालाई एभरेष्ट टुरिजम लाइफटाइम एचिभमेन्ट अवार्ड
-
क्यान्सरविरुद्धको सबै एचपीभी खोप ल्याइयो
-
खानेपानी अभावमा काकाकुल छन् ९ सय बढी घर परिवार