माओवादीका सबै केन्द्रीय सदस्यहरूको जिम्मेवारी दिनेसम्बन्धी प्रस्ताव पेस, निर्णय अर्को बैठकले गर्ने
काठमाडौँ । नेकपा माओवादी केन्द्रले सबै केन्द्रीय सदस्यहरूको जिम्मेवारी हेरफेर गर्ने भएको छ । बुधबार अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटारमा बसेको पदाधिकारी बैठकमा उपाध्यक्ष पम्फा भुसालले सबै केन्द्रीय सदस्यहरूको जिम्मेवारी हेरफेरसम्बन्धी प्रस्ताव पेस गरेकी हुन् ।
पुस २१ देखि २३ गतेसम्म काठमाडौँमा बसेको केन्द्रीय समितिको निर्णय बमोजिम सबै प्रदेशबाट आएको सुझावका आधारमा भुसालले प्रस्ताव पेस गरेको उपमहासचिव हरिबोल गजुरेलले जानकारी दिए । गजुरेलका अनुसार उपाध्यक्ष भुसालको प्रस्तावमाथि नेताहरूले सुझाव दिने काम सकिएको छ । अर्को बैठकले जिम्मेवारी दिने गरी निर्णय हुने उनले जानकारी दिए ।
‘आजको बैठकमा नेताहरूको जिम्मेवारी हेरफेरसम्बन्धी प्रस्ताव पेस भएको छ । उक्त प्रस्तावमाथि पदाधिकारीले सुझाव दिने काम सकियो । अर्को बैठकले निर्णय गर्ने भनिएको छ’, रातोपाटीसँग गजुरेलले भने ।
यता सचिव देवेन्द्र पौडेलले सबै प्रदेशबाट आएका सिफारिसका आधारमा भुसालले मौखिक प्रस्ताव गरेको तर कुनै निर्णय नभएको जानकारी दिए । बैठकले पार्टीबाट पार्टीमै घुमिराख्ने कार्यक्रम नभई सम्पूर्ण शक्ति जनतामा जोडिनुपर्नेमा सुझाव आएको बताए । केन्द्रीय सदस्यहरूलाई निर्वाचन क्षेत्र वा जिल्लामा भन्दा पनि पालिका केन्द्रित बाउनुपर्नेमा धेरैको सुझाव रहेका जनकारी दिए ।
‘बैठकले केही निर्णय गरेको छैन । प्रदेशबाट आएका सिफारिसका आधारमा मौखिक प्रस्ताव आएको हो । त्यसमा धेरैको सुझाव जवस/मोर्चा, विभागलाई सक्रिय बनाउने, केन्द्रीय सदस्यहरूलाई पालिका केन्द्रित बनाउनुपर्ने आएको छ । थप गृहकार्य गरेर अर्को बैठकले टुंग्याउने अध्यक्षले भन्नुभएको छ’, पौडेलले भने ।
पौडेलले जिम्मेवारी दिने विषयमा पनि मोडालिटी केही तय नभएको स्पष्ट पारे । केन्द्रीय समिति बैठकले माघ १ गतेसम्ममा सबै केन्द्रीय सदस्यहरूको कार्य विभाजन र जिम्मेवारी हेरफेर गर्ने निर्णय गरेको थियो । सोही निर्णय अनुसार सबै प्रदेशले कार्यरत केन्द्रीय सदस्यहरूको जिम्मेवारी हेरफेरसम्बन्धी प्रस्ताव सिफारिस गरेर पठाएको थियो । बैठकमा जवस/मोर्चाले पनि छुट्टै कार्यक्रम बनाएर लैजाने गरी छलफल भएको पौडेलले जानकारी दिए । यस्तै केन्द्रीय समितिको निर्णय अनुसार पार्टीमा निष्क्रिय रहेका नेताहरूलाई स्पष्टीकरण सोधिने भएको छ ।
यसैगरी केन्द्रीय समिति बैठकले ६ महिनाभित्र जवस/मोर्चाको अधिवेशन गर्ने, ६ महिना जनतासँग माओवादी अभियान गर्ने र अर्को ६ महिनामा पार्टीको महाधिवेशनमा प्रवेश गर्ने निर्णय गरेको थियो ।
माओवादीले फागुनको पहिलो हप्ताबाट हुलाकी राजमार्ग, महेन्द्र राजमार्ग र मध्यपहाडी पुष्पलाल राजमार्ग केन्द्रित अभियान सञ्चालन गर्दैछ ।
यसैगरी क्रान्तिकारी मास्कवादीहरूसँग एकताको निम्ति वार्ता तथा संवाद समिति बनाउने भनिए पनि त्यस विषयमा प्रवेश नगरेको नेताहरूले दाबी गरेका छन् ।
यस्तै अवकाश प्राप्त विद्यार्थी नेताहरूलाई दिइने जिम्मेवारी र सम्पत्ति विवरण पार्टीमा बुझाउनेबारे पनि छलफल नभएको नेताहरूले बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आरोही कान्छा शेर्पालाई एभरेष्ट टुरिजम लाइफटाइम एचिभमेन्ट अवार्ड
-
क्यान्सरविरुद्धको सबै एचपीभी खोप ल्याइयो
-
खानेपानी अभावमा काकाकुल छन् ९ सय बढी घर परिवार
-
वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि भएको आक्रमणको घटनाप्रति कांग्रेसको निन्दा
-
१० बजे १० समाचार : रिहा भए रवि, राष्ट्रपतिलाई मनाउन प्रमको फोन
-
अध्यादेशले तरंगित राजनीति, एकैसाथ जुर्मुराए सरकार र प्रतिपक्ष