बिहीबार, ०३ माघ २०८१
ताजा लोकप्रिय
रातोपाटी ब्रिफिङ

१० बजे १० समाचार : रिहा भए रवि, राष्ट्रपतिलाई मनाउन प्रमको फोन

बुधबार, ०२ माघ २०८१, २२ : ००
बुधबार, ०२ माघ २०८१

आज २०८१ माघ २ गते बुधबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘रात्रिकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौँ–

  • रिहा भए रवि

स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने रिहा भएका छन् । बुधबार जिल्ला अदालत काठमाडौँमा ६० लाख धरौटी बुझाएर उनी रिहा भएका हुन् ।  थुनछेक बहसपछि काठमाडौँ जिल्ला अदालतका न्यायाधीश माधव अधिकारीको इजलासले उनलाई धरौटीमा रिहा गर्ने आदेश दिएको हो । योसँगै लामिछानेले अब हिरासत बाहिर बसेर नै मुद्दाको पुर्पक्ष गर्न पाउने भएका छन् ।

  • विपक्षी दलको बैठक

विपक्षी दलहरूले सरकारको काम कारबाहीको सम्बन्धमा साझा धारणा बनाउन दुई सदस्य कार्यदल गठन गरेको छ । प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रको संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको बैठकले कार्यदल गठन गरेको हो । कार्यदलमा माओवादीका उपमहासचिव वर्षमान पुन र नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता डा.बेदुराम भुसाल रहेको नेपाल समाजवादी पार्टीका सहअध्यक्ष गंगा श्रेष्ठले जानकारी दिए । सरकार संसद् छलेर अध्यादेशबाट अलोकतान्त्रिक, स्वेच्छाचारी ढङ्गले शासन गर्न लागेको ठहर गर्दै दबाब दिने उद्देश्यले साझा ड्राफ्ट बनाउने निर्णय भएको श्रेष्ठले बताए । 

  • भूमि सम्बन्धी अध्यादेश

प्रधानमन्त्री केपी शर्मा ओलीले भूमिसम्बन्धि अध्यादेश संसदमा पेस गर्दा सच्चाउने प्रतिबद्धता जनाएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ लाई होल्ड गरेका थिए । तर प्रधानमन्त्रीले त्यसबारे बुधवार बिहान राष्ट्रपतिलाई फोन गरेर संसदमा पेस गर्दा सच्चाएर लैजाने बताएपछि बुधवार बेलुका मात्र राष्ट्रपतिले उक्त अध्यादेश जारी गरेका थिए ।  

  • त्रिपाठीमाथि आक्रमण

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ता तथा रवि लामिछानेका समर्थकहरुले वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि आक्रमण प्रयास गरेका छन् । काठमाडौँ जिल्ला अदालत परिसरमा त्रिपाठीमाथि रास्वपा कार्यकर्ताहरूले आक्रमण प्रयास गरेका हुन् ।

  •  समाजवादी मोर्चा

समाजवादी मोर्चामा आबद्ध रहेका दलहरू निकट समयमै पार्टी एकता गर्न सकारात्मक देखिएका छन् । एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगरमा बसेको मोर्चाको बैठकमा एकता गर्न सकारात्मक रहेका नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्र राय यादवले जानकारी दिए ।

  • कार्यदलको बैठक

जनता प्रगतिशील पार्टीका अध्यक्ष हृदयश त्रिपाठीले बोलाएको मधेसवादी दलका कार्यदलहरूको बैठकमा जनता समाजवादी पार्टी (जसपा) नेपाल र नागरिक उन्मुक्ति पार्टीका प्रतिनिधि अनुपस्थित भएपछि अहिले त्यो चर्चाको विषय बनेको छ । 

  • ९३ अर्बले घाटामा

चालु आर्थिक वर्ष २०८१/८२ को ६ महिनामा सरकारको सार्वजनिक खर्च र आम्दानीको अवस्थामा सुधार आउन सकेको छैन । विगतका वर्षजस्तै यो वर्ष पनि सरकारको खाता घाटामा छ । ६ महिनाको अवधिमा मात्रै सरकारी खाता ९३ अर्बले घाटामा गएको छ । 

  • अनिवार्य अवकाश

अब श्रमिकहरूले ६० वर्षमा अनिवार्य अवकाश पाउने भएका छन् । सरकारले हालै ल्याएको अध्यादेशमार्फत श्रमिकको अनिवार्य अवकाशको उमेर हद दुई वर्ष बढाइएको हो ।

  • राष्ट्रिय भूकम्प सुरक्षा दिवस

 आज देशभर ‘भूकम्पले सिकाएको पाठ, बलियो संरचना र सुदृढ पूर्वतयारीका साथ’ भन्ने नारा सहित देशभर २७ औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइएको छ । विसं १९९० माघ २ गते दिउँसो २ बजेर २४ मिनेट जाँदा गएको महाभूकम्पको स्मृतिमा २०५५ सालदेखि हरेक वर्ष आजकै दिनलाई भूकम्प सुरक्षा दिवसको रूपमा मनाइँदै आइएको छ ।

 

  • प्रचण्डका दुई ‘मुभ’

प्रमुख प्रतिपक्षी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दीर्घकालीन रणनीति र तात्कालिक कार्यनीतिअनुसार ‘कदम’ चालेका छन् । उनले ‘मिसन ०८४’ समेतलाई मध्यनजर गरी रणनीति बनाएका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप