रविसँग किन मागियो ६० लाख धरौटी ? यस्तो छ अदालतको तर्क
काठमाडौँ । स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा काठमाडौँ जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका निलम्बित सभापति रवि लामिछानेलाई ६० लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ । आइतबारदेखि जारी बहसपछि बुधबार न्यायाधीश माधवप्रसाद अधिकारीको एकल इजलासले सो आदेश दिएको हो ।
अदालतको आदेशमा भनिएको छ, ‘अहिले नै प्रतिवादी रवि लामिछाने प्रस्तुत वारदातमा कसूरदार होइनन् भन्न सक्ने अवस्था नदेखिएकोले प्रस्तुत मुद्दाको प्रकृतिसमेतलाई मध्यनजर राखी मुद्दाको कारबाहीको सिलसिलामा प्रमाण परीक्षण गर्दै जाँदा ठहरे बमोजिम हुने गरी मुद्दा पुर्पक्षको प्रयोजनका लागि हाललाई मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६८ र ७२ समेतका आधारमा यी प्रतिवादी रवि लामिछानेबाट रु.६०,००,०००/- (साठी लाख रुपैयाँ) नगद धरौट वा सो बराबरको जेथा जमानत दिए लिई तारेखमा राख्नु ।’
लामिछानेले अनुसन्धान अधिकारी र अदालत समक्षको बयानमा इन्कारी बयान गरेता पनि उनीमाथि किटानी जाहेरी दरखास्त रहेको देखिएको अदालतको आदेशमा उल्लेख छ । लामिछानेले अदालतमा आफू गोर्खा नेटवर्क मिडिया प्रा.लि. को प्रबन्ध निर्देशक रहेको, गोर्खा मिडिया नेटवर्क प्रा.लि.बाट सेयर खरिद गरी नलिएको, आफूलाई प्राप्त भएका सेयर स्वेट सेयर बापत पाएको हुँ भनेर बयान दिएका थिए ।
यसैगरी, गोर्खा मिडियाबाट राजीनामा दिई छोडेर जाँदा पनि सेयरको पैसा नलिई तेतिकै सेयर हस्तान्तरण गरेर गएको लामिछानेले बयानमा भनेका थिए । स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाबाट गोर्खा नेटवर्क मिडिया प्रा.लिको खातामा आएको रकमका बारेमा आफूलाई केही थाहा नभएको र स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाबाट आफूले कुनै रकम नलिएको भन्दै आफू निर्दोष छु भनेर उनले इन्कारी बयान दिएका थिए ।
यद्यपि लामिछानेले गोर्खा मिडिया नेटवर्क प्रा.लि. का बिक्रीमा रहेको १,८०,००० थान सेयरमा लगानी गर्न इच्छा भएको निवेदन माग बमोजिम यस प्रा.लि.मा विक्रीमा रहेको सेयर मध्ये १,८०,००० सेयर खरिद गर्न अनुमति पाउँ भनी निवेदन दिई सेयर खरिद गरेको देखिएको हुँदा उनी गोर्खा नेटवर्क मिडिया प्रा. लि. को सेयर होल्डर एवं प्रबन्धक निर्देशक समेत रहेको देखिएको अदालतको आदेशमा भनिएको छ ।
त्यस्तै लामिछाने गोरखा नेटवर्क मिडिया प्रा.लि.मा सेयर होल्डर एवं प्रबन्ध निर्देशक हुनुभन्दा अघि नै लामिछाने समेतको हस्ताक्षरबाट खाता सञ्चालन हुने गरी गोरखा नेटवर्क मिडिया प्रा.लि. को ग्लोबल आई.एम.ई. बैंकमा खाता खोली सञ्चालनमा ल्याएको पाइएको अदालतमा आदेशमा उल्लेख छ ।
उनी प्रबन्ध निर्देशक भएको बेलामा स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको सदस्य नरहेको गोरखा नेटवर्क मिडिया प्रा.लि.को सोही खातामा उक्त सहकारी संस्थाबाट रकम आएको देखिएको पनि अदालतले आदेशमा भनेको छ ।
यसैगरी लामिछाने र गितेन्द्र बाबु राईको नाममा ऋण खाता खोली रु.४६,९८,०००/- बराबरको चार पाङ्ग्रे गाडीको ऋण र रु.४६,४८,०००/- बराबरको इको सेभेन सिटर भ्यान ऋणमा लिएको देखिएको छ ।
यस्तै लामिछानेको हस्ताक्षरबाट काटिएको चेकबाट रु.९०,१६,६६०/- स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थामा ऋण भुक्तान गरेको र गोर्खा मिडिया नेटवर्क प्रा.लि.को खाताबाट प्रतिवादी रवि लामिछानेको एकल हस्ताक्षरबाट समेत विभिन्न व्यक्तिका नाममा रकम भुक्तानी भएको देखिएको अदालतको आदेशमा भनिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘अञ्जिला’को गीत ‘डल्ले डल्ले खुर्सानी’मा दयाहाङ र मिरूना
-
राष्ट्रिय निकुञ्ज ऐनमा गरिएको संशोधन सर्वोच्चद्वारा बदर
-
निर्माण व्यवसायी महासंघ आन्दोलित : १४ वटा मागसहित सरकारलाई माघ १५ को अल्टिमेटम
-
धरौटी आदेशविरुद्ध पुनरावेदन गर्न पीडितको माग, प्रतिवादी छुट्दा न्याय पाउनेमा संशय
-
बजारका अधिकांश तरकारीमा विषादी
-
डिजेलमा ३ र पेट्रोलमा २ रुपैयाँ मूल्य बढ्यो