एआईले बनाएका ५ फिल्मसहित निफमा ८७ फिल्म प्रदर्शन हुने
काठमाडौँ । नेपाल अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल (निफ)को आठौँ संस्करणमा ४० देशका ८७ फिल्म प्रदर्शन हुने भएका छन् । आयोजक नेपाल फिल्म एन्ड कल्चरल एकेडेमीले निफमा प्रदर्शन फिल्मको जानकारी दिएका हुन् ।
७० देशका ७०० फिल्मको आवेदन प्राप्त भएकोमा ४० देशका ८७ फिल्म छानिएको आयोजक संस्थाका प्रमुख केपी पाठकले बताए । पाठकका अनुसार वर्ल्ड पानोरमा विधा (अन्तर्राष्ट्रिय प्रतिस्पर्धा)मा नेपालको ‘शाम्बाला’, भारतको ‘रुक्मिणी’, चीनको ‘स्ट्रेन्जर्स ह्वेन वी मिट’ सहित १२ फिल्म छन् ।
अन्तर्राष्ट्रिय डकुमेन्ट्री विधाको प्रतिस्पर्धामा नेपालको ‘हिमालयन ड्रिम्स’सहित अमेरिका, भारत, बंगलादेश, बेल्जियम, चिली, न्यूजिल्याण्डका ९ फिल्म छनोट छन् ।
छोटो फिल्मको अन्तर्राष्ट्रिय प्रतिस्पर्धाको विधामा ३२ फिल्म छन् । यो विधामा मलेसियाको ‘चाइना बिस्ट’, अस्ट्रेलियाको ‘ड्रिम लिंक’, चीनको ‘अ इयर अपार्ट’ लगायत छन् ।
पहिलोपटक निफले आर्टिफिसियल इन्टिलिजेन्सको मद्दतमा बनाइएका फिल्मको प्रतिस्पर्धात्मक विधा समेत समावेश गरेको छ ।
‘एआई फिल्म्स’ नाम दिइएको यो विधामा चीनको ‘एभ्री हेजिसटेसन अफ योर्स क्यान डिस्ट्रोय द वर्ल्ड’, अर्जेन्टिनाको ‘द एबिस’, फ्रान्सको ‘गोल्ड कास्टिङ’, पेरुको ‘द ड्रिम, द फग एन्ड द रेन’ र अमेरिकाको ‘मब पार्ट १’ छन् ।
पहिलोपटक नेपाली फिल्म फेस्टिभलमा कृत्रिम बौद्धिकता भनिने एआईले बनाएका ५ फिल्मले प्रतिस्पर्धा गर्न लागेका हुन् । अध्यक्ष पाठकले फिल्म निर्माणमा बढ्दो एआईको प्रभुत्व र विकासलाई यो विधाले सम्बोधन गर्ने बताए ।
नेपाली कथानक फिल्मको प्रतिस्पर्धा नेसनल पानोरमामा ४ फिल्म छनोट छन् । जसमा जोन योञ्जनको ‘क्रलिङ क्रोज’, दिनेश राउतको ‘पूजार सार्की’, विनोद पौडेलको ‘भूठान’ र लक्ष्मण सुवेदीको ‘सतीदेवी’ छन् । ‘भूठान’को अंगेजी नाम ‘द वल्ड्र्स ह्याप्पिएस्ट म्यान’ राखिएको छ । यो फिल्म नेपालका हलमा भन्दा निफमा पहिल्यै स्क्रिनिङ हुन लागेको हो । हलमा भने बैशाख १२ गते प्रदर्शन हुने जनाइएको छ ।
नेपाली डकुमेन्ट्रीको प्रतिस्पर्धा विधामा सुविना श्रेष्ठको ‘देवी’, रजिला श्रेष्ठको ‘छेसाङ’, गौरव आयरको ‘मुक्ति’, तासी लाजोमको ‘नो मोनास्ट्री नो भिलेज’, दीपा श्रेष्ठको ‘उड्ने सपना’ र लव प्याकुरेलको ‘गल्र्स रिराइटिङ डेस्टिनी’ छन् ।
नेपाली छोटा फिल्मको प्रतिस्पर्धामा १९ फिल्म छनोट भएका छन् । नेपाल अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल चैत ७ देखि ११ सम्म काठमाडौंमा आयोजना हुनेछ । ओपनिङ र क्लोजिङ फिल्म तय हुन बाँकी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेविसंघले माग्यो त्रिविका उपकुलपति बरालको राजीनामा
-
माओवादीका सबै केन्द्रीय सदस्यहरूको जिम्मेवारी दिनेसम्बन्धी प्रस्ताव पेस, निर्णय अर्को बैठकले गर्ने
-
‘अञ्जिला’को गीत ‘डल्ले डल्ले खुर्सानी’मा दयाहाङ र मिरूना
-
राष्ट्रिय निकुञ्ज ऐनमा गरिएको संशोधन सर्वोच्चद्वारा बदर
-
निर्माण व्यवसायी महासंघ आन्दोलित : १४ वटा मागसहित सरकारलाई माघ १५ को अल्टिमेटम
-
धरौटी आदेशविरुद्ध पुनरावेदन गर्न पीडितको माग, प्रतिवादी छुट्दा न्याय पाउनेमा संशय