विद्यालय शिक्षा चाँडो टुङ्ग्याउन कांग्रेसले छलफल थाल्यो
काठमाडौँ । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले सदनमा थन्किएर बसेको विद्यालय शिक्षा विधेयक निर्माणका लागि छलफल अघि बढाएको छ । कांग्रेस केन्द्रीय सदस्य एवं शिक्षा विभाग प्रमुख नैनसिंह महर नेतृत्वमा विधेयक निर्माणका लागि छलफल थालेको हो ।
पहिलो चरणमा पार्टी सभापति शेरबहादुर देउवालगायत पदाधिकारीसँग छलफल गरेको थियो । दोस्रो चरणमा सरोकारवालासँग बुधबार पार्टी मुख्यालय सानेपामा छलफल गरेको हो ।
शैक्षिक नीति बहस श्रृङ्खला–३ अन्तरगत ‘विद्यालय शिक्षा विधेयक र सरोकार’ विमर्श कार्यक्रममा सरोकारवालाले आफ्नो धारणा राखेका छन् ।
कार्यक्रममा कांग्रेस उपसभापति पूर्ण बहादुर खडकाले आवश्यक परिमार्जनसहित संसद्को यसै हिउँदे अधिवेशनबाट विद्यालय शिक्षा विधेयक पारित गरिने बताए । शिक्षा विभाग प्रमुख नैनसिंह महरले निःशुल्क शिक्षाको संवैधानिक प्रावधान कार्यान्वयन गर्न, शिक्षक संगठनलगायतका सरोकारवालासँग सरकार र कांग्रेसले विगतमा गरेका सम्झौताको कार्यान्वयन, निजी क्षेत्रको लगानीको सुरक्षा र शिक्षामा गुणस्तरयता कायम गरेर शिक्षालाई विश्व स्तरमा प्रतिस्पर्धा गर्ने बनाउन कांग्रेस प्रतिबद्ध रहेको बताए ।
नेपालको शिक्षा सञ्चालनका लागि जस्तो किसिमको प्रावधान अवलम्बन गर्नुपर्ने हो त्यो कानुन अनुसार हुनुपर्ने महरले बताए । शिक्षा ऐन आउँछ भनेको दुई वर्ष भए पनि सदनमा अड्किएर बसेकाले त्यसलाई पास गराउनका लागि कांग्रेसले पहदकदमी थालेको महरले प्रस्ट पारे ।
कांग्रेस शिक्षा विभागको प्रस्तावमा पार्टीको केन्द्रीय कार्य समितिको यही असोज २ को बैठकले शिक्षा नीति बनाउने निर्णय गरेको थियो । त्यसपछि संस्थागत रूपमै नीति निर्माण र त्यसको कार्यान्वयनले शिक्षा क्षेत्रमा नयाँ बहस र सुधारको थालनी हुने विश्वास व्यक्त गरे ।
कांग्रेस शिक्षा विभागले शिक्षा क्षेत्रका विज्ञ, शिक्षाविद्, सरोकारवाला निकाय, राजनीतिक दल र नागरिक समाजसँग निरन्तर छलफल तथा अन्तरक्रिया थालेको उनले बताए ।
देशभरबाट नौ लाख ७३ हजार जनासँग अन्तरक्रिया गर्ने कांग्रेसको योजना छ । शिक्षासँग सम्बन्धित विभिन्न विधेयक, नीति तथा कार्यक्रममा पर्याप्त विचार–विमर्श गरी तिनीहरूलाई उत्कृष्ट स्वरूप दिन र सबै पक्षले आफ्नो अपनत्व महसुस गर्ने गरी कार्यान्वयनमा ल्याउन सकिने उनको भनाइ छ ।
छलफल कार्यक्रममा नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी, शिक्षक संघका अध्यक्ष सोमनाथ गिरी, अभिभावक संघका अध्यक्ष सुप्रभात भण्डारी, प्याब्सनका अध्यक्ष डिके ढुंगाना, राष्ट्रिय शिक्षक संगठनका महासचिव हंशबहादुर शाही लगायतका सरोकारवालाको उपस्थिति रहेको थियो ।
त्यस्तै शिक्षा समितिमा छलफलको क्रममा रहेको विद्यालय शिक्षा विधेयकमा कांग्रेस उपसभापति एवं पूर्वउपप्रधानमन्त्री खडका, कोषाध्यक्ष एवं शिक्षाविद् उमेश श्रेष्ठ, कांग्रेस शिक्षा विभागका पूर्व प्रमुख डा. चन्द्र भण्डारीलगायतले आफ्नो धारणा राखेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘अञ्जिला’को गीत ‘डल्ले डल्ले खुर्सानी’मा दयाहाङ र मिरूना
-
राष्ट्रिय निकुञ्ज ऐनमा गरिएको संशोधन सर्वोच्चद्वारा बदर
-
निर्माण व्यवसायी महासंघ आन्दोलित : १४ वटा मागसहित सरकारलाई माघ १५ को अल्टिमेटम
-
धरौटी आदेशविरुद्ध पुनरावेदन गर्न पीडितको माग, प्रतिवादी छुट्दा न्याय पाउनेमा संशय
-
बजारका अधिकांश तरकारीमा विषादी
-
डिजेलमा ३ र पेट्रोलमा २ रुपैयाँ मूल्य बढ्यो