प्रधानमन्त्री कप महिला क्रिकेट : कविताको अर्धशतकमा सुदूरपश्चिमको लगातार दोस्रो जित
काठमाडौँ । प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको समूह ए अन्तरगतको खेलमा सुदूरपश्चिम प्रदेशले लुम्बिनी प्रदेशमाथि सहज जित हासिल गरेको छ । बुधबार भएको खेलमा सुदूरपश्चिम ७५ रनले विजयी बनेको हो ।
सुदूरपश्चिमले प्रस्तुत गरेको १ सय २८ रनको लक्ष्य पछ्याउने क्रममा लुम्बिनी १९.१ ओभरमा ५२ रनमा अलआउट हुन पुग्यो । टोलीका लागि सरस्वती पुनले सर्वाधिक १४ रनको योगदान दिइन् । त्यस्तै, सरस्वती गंगा मगरले २२ रनमा १२ रन जोडिन् । अन्त्य ब्याटरले दोहोरो अङ्कमा रन जोड्न सकेनन् ।
लुम्बिनीलाई सस्तोमा समेट्न रेवती धामीले ४ ओभरमा १ मेडनसहित मात्र ७ रन खर्चेर ३ विकेट लिइन् । त्यस्तै, आशिका महाराले ४ ओभरमा १७ रन खर्चेर २ विकेट हात पारिन् । कविता कुँवर, रितु कनौजिया, करिष्मा थापा र जानकी थापाले १–१ विकेट लिए ।
यसअघि, पहिले ब्याटिङ गरेको सुदूरपश्चिम प्रदेशले कविता कुँवरको अर्धशतकको मद्दतले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय २७ रन बनाएको थियो । कुँवरले मात्र ३३ बलमा ५५ रन बनाइन् । उनले ८ चौका प्रहार गरिन् ।
त्यस्तै, मनिषा बोहराले २९ बलमा २३ रन बनाइन् । उनले ३ चौका हिर्काइन् । रितु कनौजियाले १७ बलमा १८ रनको योगदान दिइन् ।
लुम्बिनीका लागि सरस्वती पुनले ४ ओभर बलिङ गर्दै १४ रन खर्चेर ३ विकेट लिइन् । सम्झना मगर र मधु डिसीले १–१ विकेट हात पारे ।
प्रतियोगितामा सुदूरपश्चिमको यो लगातार दोस्रो जित हो । टोलीले मंगलबार गण्डकी प्रदेशलाई ७ विकेटले हराएको थियो ।
राष्ट्रिय खेलकुद परिषद्को कार्यक्रमअनुसार क्यानको आयोजना र सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घको व्यवस्थापनमा सञ्चालन भएको प्रतियोगिता यही माघ १२ गतेसम्म चल्नेछ । प्रतियोगितामा सात प्रदेश तथा दुई विभागीय टोली एपीएफ क्लब र आर्मी क्लब सहभागी रहेका छन्।
सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा लुम्बिनी प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश, सशस्त्र प्रहरी बलको एपीएफ क्लब र सुदूरपश्चिम प्रदेश तथा समूह ‘बी’ मा कोशी प्रदेश, बागमती प्रदेश, मधेस प्रदेश र त्रिभुवन आर्मी क्लब छन् । प्रतियोगिताको उपाधि जित्नेले रु पाँच लाख, दोस्रो हुनेले रु तीन लाख, प्लेयर अफ दी सिरिजलाई रु ५० हजार तथा बेस्ट ब्याटर र बेस्ट बलरलाई रु २५र२५ हजार पुरस्कार दिइनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डिजेल ३ र पेट्रोलमा २ रुपैयाँ मूल्य बढ्यो
-
कर्णालीको ‘स्थानीय सेवा ऐन’ कार्यान्वयनमा नआउँदै संशोधनको चर्को दबाब
-
यस्ता छन् अध्यादेशमार्फत ल्याइएका नयाँ व्यवस्था
-
पाटन दरबार क्षेत्रका दुई ऐतिहासिक सम्पदा पुनर्निर्माण हुन बाँकी
-
जाजरकोट भूकम्पको क्षतिको विस्तृत आङ्कलन माघभित्र गरिसक्ने गृहमन्त्री लेखकको प्रतिबद्धता
-
धरौटी बुझाएर रिहा भए रवि लामिछाने