बुधबार, ०२ माघ २०८१
ताजा लोकप्रिय
मधेस राजनीति

कार्यदलको बैठकमा जसपा नेपाल र नागरिक उन्मुक्ति किन ‘एब्सेन्ट’ ?

बुधबार, ०२ माघ २०८१, १९ : ००
बुधबार, ०२ माघ २०८१

काठमाडौँ । जनता प्रगतिशील पार्टीका अध्यक्ष हृदयश त्रिपाठीले बोलाएको मधेसवादी दलका कार्यदलहरूको बैठकमा जनता समाजवादी पार्टी (जसपा) नेपाल र नागरिक उन्मुक्ति पार्टीका प्रतिनिधि अनुपस्थित भएपछि अहिले त्यो चर्चाको विषय बनेको छ । 

नेपाली कांग्रेस र नेकपा एमाले नेतृत्वको गठबन्धन सरकारले गर्ने भनिएको संविधान संशोधनले प्राप्त उपलब्धि पनि गुम्ने देखिएको भन्दै मधेस केन्द्रित दलहरू एकीकृत हुन थालेका छन् । त्यसका लागि दलहरूले आ–आफ्नो पार्टीमा कार्यदल पनि गठन गरिसकेका छन् । 

जनता प्रगतिशील पार्टीले पहल गरेका दलहरूमध्ये राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपाल र रेशम चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टीले हालसम्म कार्यदल गठन गरेका छैनन् । कार्यदल गठन नगरे पनि मोर्चाबन्दीको गृहकार्यका लागि भइरहेको बैठकमा राष्ट्रिय मुक्ति पार्टी नेपालका नेताहरू भने उपस्थित हुन्छन् । 

तर, नागरिक उन्मुक्ति पार्टी हालसम्म कुनै पनि बैठकमा उपस्थित भएको छैन । यसबारे जिज्ञासा राख्दा पार्टीका सांसद लालवीर चौधरीले आफूहरू एकता वा मोर्चाबन्दीको विरोधी नभए पनि मधेस केन्द्रित दलहरूको विगतको क्रियाकलाप हेर्दा विश्वास गर्ने आधार नदेखिएको बताए । उनले भने, ‘मधेसी केन्द्रित दलहरू मिलेर एकता वा मोर्चाको घोषणा गरेपछि त्यहाँ जान हामीलाई एक सेकेन्ड पनि लाग्दैन ।’

यता, बैठकमा नागरिक उन्मुक्ति पार्टीको अनुपस्थितिबारे जनता प्रगतिशील पार्टीका उपाध्यक्ष एवं वार्ता समितिका संयोजक डा. शिवजी यादवले अध्यक्ष रेशम चौधरी जापानमा भएको कारण उपस्थित नभएको जानकारी आएको प्रतिक्रिया दिए । 

यद्यपि,  चौधरी जापान गएका छैनन्, उनी काठमाडौँमै छन् । उनी आज मात्र जापान जाने स्रोतले जानकारी दिएको छ । अध्यक्ष चौधरीले जनता प्रगतिशील पार्टीका अध्यक्ष त्रिपाठीलाई ढाँटी रहेको टिप्पणी भइरहेको छ । 

स्रोत भन्छ, ‘नागरिक उन्मुक्ति पार्टीभित्र श्रीमान्–श्रीमती अर्थात् रेशम चौधरी र रञ्जिता श्रेष्ठबिच विवाद भएको कारण मोर्चा बनाउने प्रक्रियामा सामेल नभएको हो ।’ 

मंगलबार धुम्बाराहीमा बसेको बैठकमा जसपा नेपालका उपाध्यक्ष राजकिशोर यादवलाई कार्यदलको बैठकमा बोलाइएको थियो । उपाध्यक्ष यादव जसपा नेपालले वार्ताका लागि गठन गरेको समितिको संयोजक पनि हुन् । 

अध्यक्ष त्रिपाठीको तर्फबाट बैठकमा आउन आग्रह गरेपछि उनले ‘आउँछु’ भनेर जवाफ पनि थिए । बैठकमा उनको धेरै बेर प्रतीक्षा गरिए पनि अन्तिम समयमा यादव त्यहाँ पुगेनन् । पार्टीबाट अन्य कोही प्रतिनिधि पनि बैठकमा उपस्थित भएनन् । बरु पार्टीका उपाध्यक्ष यादवसहितका नेताहरू बालकुमारीस्थित पार्टी कार्यालयमा बसेका थिए ।  

बैठकमा जनता प्रगतिशील पार्टीका अध्यक्ष त्रिपाठीले जसपा नेपालका उपाध्यक्ष राजकिशोर यादव उपत्यका बाहिर गएका कारण बैठकमा नआएको जानकारी गराएका थिए ।  

जसपा नेपालको उपस्थिति नभएको कारण कार्यदलहरूको बैठकले कुनै खासै निर्णय गर्न सकेन ।  बैठकमा सहभागी एक नेताले भने, ‘जसपा नेपालबाट कोही आएको भए हिजोको बैठकबाट केही ठोस निर्णय हुन्थ्यो, तर सो पार्टीबाट कोही नआएको कारण अर्को बैठकबाट निर्णय गर्ने सहमति भएको छ ।’

‘हिजो कुनै निर्णय भएको भए त्यसलाई सो दलले नमान्ने वा चित्त दुखाउने हुन सक्थ्यो । त्यही भएर हतार नगरौँ भन्ने कुरा भयो,’ ती नेताले बताए । अब जसपा नेपालसँग समन्वय गरेर अर्को बैठक बस्ने र त्यही बैठकबाट ठोस निर्णय हुने उनले स्पष्ट पारे । 

तर मोर्चा बनाउनका लागि कुनै हतार नरहेको जसपा नेपालले जनाएको छ । सो पार्टीका एक जना पदाधिकारीले रातोपाटीसँग भने, ‘मोर्चा बन्नुपर्छ भन्नेमा हामी सकारात्मक छौँ, तर हतारमा होइन । अहिले हतार हतारमा निर्णय गर्ने र पछि कुरा मिलेन भने पछाडि हट्ने कुरा हुनुहुँदैन ।’ अहिले केही नेतालाई मोर्चा बनाउन, एकता गर्न हतार देखिएकोले त्यो शङ्कास्पद रहेको जसपा नेपालका नेताहरू बताउँछन् । 

‘पार्टी फोड्न पनि हतार, अहिले जोड्न पनि हतार किन ?’, ती पदाधिकारीले भने, ‘मोर्चा बनाउनका लागि उद्देश्य र कार्यदिशा स्पष्ट हुनुपर्छ । त्यो स्पष्ट नभएसम्म कसैलाई नेता बनाउन वा कसैको पार्टी जोगाउन मोर्चाबन्दीको गर्नुको कुनै अर्थ छैन ।’ 

यता महासचिव रामकुमार शर्माले भने मोर्चा बनाउन आफ्नो दल सकारात्मक रहेको र त्यसका लागि सबभन्दा पहिले आफूहरूले नै कार्यदल गठन गरेको बताए । हिजो चाडपर्वको व्यस्तताका कारण आफ्नो पार्टीबाट सहभागिता नभएको हुनसक्ने बताउँदै अन्यथा अरू केही कारण नरहेको दाबी गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप