पर्यटन क्षेत्रको विकासका लागि सर्वपक्षीय भेला गर्दै सरकार
काठमाडौँ । सरकारले पर्यटन क्षेत्रको विकासका लागि कार्ययोजना तयार पार्न यही माघमा सर्वपक्षीय भेलाको तयारी गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेले सरकारी तहबाट पर्यटन क्षेत्रको सुधार गर्नुपर्ने भएकाले भेला आयोजना गरिने बताएका हुन् ।
मन्त्री पाण्डेले रातोपाटीद्वारा आयोजित टुरिजम कन्क्लेभमा पर्यटन क्षेत्रको विकासका लागि सरकारी तहबाट धेरै कुरा सुधार गर्नुपर्ने खाँचो औँल्याए । उनले भने, ‘त्यसैले यही माघ महिनामा सर्वपक्षीय भेला गर्ने तयारी गरेका छौँ । त्यसमा पर्यटन मन्त्रालय लगायत अन्य मन्त्रालय पनि सहभागी रहने छन् ।’
मन्त्री पाण्डेका अनुसार गृह मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, परराष्ट्र मन्त्रालय, खानेपानी मन्त्रालय, शिक्षा मन्त्रालय, पूर्वाधार मन्त्रालयलगायतका मन्त्री र कर्मचारीको उपस्थितिमा भेला आयोजना गरिने छ ।
‘अध्यागमनमा पर्यटकलाई कस्तो व्यवहार गरिन्छ भन्नेबारे गृह मन्त्रालय जोडिएको हुन्छ । भिसासँग सम्बन्धित विषयमा परराष्ट्र मन्त्रालय जोडिएको हुन्छ,’ मन्त्री पाण्डेले भने, ‘हाम्रा प्राकृतिक गन्तव्य विशेष गरी खोलाका किनारजस्ता प्राकृतिक सौन्दर्य भएका क्षेत्रमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले क्रसर उद्योग सञ्चालन गर्न दिने हो भने प्राकृतिक स्वरूप बिग्रिन्छ । त्यसैले यसमा उद्योग मन्त्रालय पनि जोडिन्छ ।’
यस्तै, सडक सहज भएन भने गन्तव्यमा पुग्न कठिन हुने भन्दै उनले यस्ता विषयले पर्यटन क्षेत्र प्रभावित हुने प्रस्ट पारे । स्वच्छ खानेपानीको सुविधाका लागि खानेपानी मन्त्रालय, टेलिफोन नेटवर्कको विषयमा सञ्चार मन्त्रालय जोडिने भएकाले भेलामा विभिन्न मन्त्रालयका मन्त्री र कर्मचारी सहभागी हुने उनले बताए ।
‘यी सुविधा पुर्याउन सरकारले सहजीकरण गरिदिनेमात्रै हो । सबै व्यवस्थापन निजी क्षेत्रले नै गर्ने हो,’ मन्त्री पाण्डेले भने, ‘पोखरा पर्यटकका लागि देशकै आकर्षक गन्तव्य बनेको छ । निजी क्षेत्रले पूर्वाधारहरू खडा गरिदिएर व्यवस्थित गरेको छ ।’
मन्त्री पाण्डेका अनुसार पर्यटक भित्र्याउने मुख्य मार्केटिङको स्रोत निजी क्षेत्रले गरेको छ । उनले विमानस्थलका सम्बद्ध सरोकारवालाहरूसँग विमानस्थल सुधारका लागि १५ दिनको कार्ययोजना माग गरेको पनि जानकारी दिए ।
मन्त्रिपरिषद्को बैठकमा पनि सम्मेलनबारे छलफल भएको र प्रधानमन्त्री केपी शर्मा ओलीले सकारात्मक प्रतिक्रिया दिइएको मन्त्री पाण्डे बताउँछन् । उक्त सम्मेलनमा पर्यटन क्षेत्रमा गर्नुपर्ने के हो ? कसले गर्छ र कहिले गर्ने भन्ने विषयमा कार्ययोजना नै बनाउने गरी अघि बढ्ने तयारी भइरहेको उनले बताए ।
निजी क्षेत्रलाई निर्बाध ढङ्गले लगानीको वातावरण सिर्जना गर्न जरुरी रहेको मन्त्री पाण्डे बताउँछन् । ‘निजी क्षेत्रविना पर्यटन क्षेत्र मात्र नभएर अरू क्षेत्र पनि चल्न सक्दैनन्,’ उनले भने, ‘लगानी गर्ने भनेका साहु र शोषक हुन्, पुँजीपति भनेका सामन्त हुन् भन्ने भाष्य बनाइएको छ । यो सरासर गलत छ ।’ निजी क्षेत्रले लगानी गर्दै गर्दा कर छली, श्रम शोषण र उपभोक्ता नठगिउन् भन्नेमा ध्यान दिनुपर्ने पनि उनले औँल्याए ।
- कुन वर्ष कति पर्यटक भित्रिए ?
स्रोतः पर्यटन बोर्ड
सन् २०२१ मा नेपाल आउने पर्यटकको संख्या सन् २०२० को तुलनामा करिब ३५ प्रतिशतले कमी आएको थियो । सन् २०२० मा २ लाख ३० हजार ८५ जना पर्यटक नेपाल आएकोमा सन् २०२१ मा एक लाख ५० हजार ९६२ जनामात्र आएका थिए ।
कोभिड १९ को कारण पर्यटन क्षेत्रमा त्यतिबेला नराम्रो प्रभाव परेको थियो । कोभिड १९ मत्थर हुँदै गएपछि २०२१ को तुलनामा २०२२ मा पर्यटक आगमनको संख्या करिब ५ गुणा बढेर ६ लाख १४ हजार ८६९ पुग्यो । त्यस यता नेपालको पर्यटन आगमनको संख्या सुधार हुँदै गएको देखिन्छ । सन् २०२३ मा १० लाखभन्दा बढी पर्यटक भित्रिएका थिए भने सन् २०२४ मा नेपाल घुम्न आउने पर्यटकको संख्या साढे ११ लाख पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रवि विरुद्ध बहस गरेकै कारण वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि आक्रमण
-
नेविसंघले माग्यो त्रिविका उपकुलपति बरालको राजीनामा
-
माओवादीका सबै केन्द्रीय सदस्यहरूको जिम्मेवारी दिनेसम्बन्धी प्रस्ताव पेस, निर्णय अर्को बैठकले गर्ने
-
‘अञ्जिला’को गीत ‘डल्ले डल्ले खुर्सानी’मा दयाहाङ र मिरूना
-
राष्ट्रिय निकुञ्ज ऐनमा गरिएको संशोधन सर्वोच्चद्वारा बदर
-
निर्माण व्यवसायी महासंघ आन्दोलित : १४ वटा मागसहित सरकारलाई माघ १५ को अल्टिमेटम