संरचना बलियो बनाउन झकझक्याउने साना भूकम्प
काठमाडौँ । आज देशभर ‘भूकम्पले सिकाएको पाठ, बलियो संरचना र सुदृढ पूर्वतयारीका साथ’ भन्ने नारा सहित देशभर २७ औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइँदै छ । विसं १९९० माघ २ गते दिउँसो २ बजेर २४ मिनेट जाँदा गएको महाभूकम्पको स्मृतिमा २०५५ सालदेखि हरेक वर्ष आजकै दिनलाई भूकम्प सुरक्षा दिवसको रूपमा मनाइँदै आइएको छ ।
विपद्का बेला जनधनको क्षति मुख्य रूपमा कमजोर घर वा संरचना भत्केर हुने गर्दछ । यसले देशको समग्र आर्थिक तथा विकासको स्थितिलाई पछाडि धकेलिदिन्छ । विज्ञहरूको भनाइमा नेपाल भूकम्पको जोखिममा छ । विभिन्न अध्ययन अनुसार नेपालमा जुनसुकै समयमा ७ वा सोभन्दा बढी म्याग्निच्यूडको भूकम्प जान सक्छ । बेलाबेला मध्य र सुदूरपश्चिम क्षेत्रमा ४ वा ४ आसपास म्याग्निच्यूडका भूकम्पको धक्का गइरहेको छ ।
नेपाल एकेडेमी अफ साइन्स एन्ड टेक्नोलोजी (नास्ट) का भूकम्पविद् डा. शिव सुवेदीले नेपालले ८० वर्ष वा एक सय वर्षको अन्तरालमा ७ देखि ८ म्याग्निच्यूडको भूकम्प बेहोरेका बताउँछन् । ‘पश्चिम नेपालमा यसरी शक्ति ‘रिलिज’ भएको छैन । हामी हरेक सेकेन्ड भूकम्पको जोखिममा छौँ । जति बेला पनि ७ देखि ८ आसपासको भूकम्प जान सक्छ,’ उनले भने । उनका अनुसार नेपालको पश्चिम क्षेत्रमात्रै नभई पूरै देश भूकम्पको जोखिममा छ ।
मुलुक नै भूकम्पको जोखिममा रहेकाले व्यक्ति आफू र आफ्नो परिवार जोगाउन सक्छु भन्ने तरिकाले सतर्क हुनुपर्ने जानकारहरू सुझाव दिन्छन् । यो सोचले आफूलाई सतर्क राखेमा मानवीय क्षति कम हुने भूकम्पविद् डा. सुवेदी सुझाउँछन् । ‘जोगिनका लागि पहिले नै तयारी गरेको हुनुपर्छ,’ उनले भने, ‘भूकम्प जतिबेला पनि जान्छ म र मेरो परिवारलाई बचाउन यसोयसो गर्छु भनेर सोच्नु पर्यो । खुला क्षेत्र, निकास पहिल्यै जानकारी गराउनुपर्यो । यसो गरेमा कम्तीमा मानवीय क्षति कम गर्न सक्छौँ ।’
भूकम्पबाट जोगिने मुख्य उपाय भौतिक संरचनामा सुधार गर्नुपर्ने विज्ञको भनाइ छ । ठुलो भूकम्प जान्छ तर कहिले जान्छ भनेर विज्ञानले भन्न सकेको छैन । यसबाट थोरै भए पनि जनधनको क्षति कम गर्न ‘अर्थक्वेक अर्लि वार्निङ’ प्रविधि धेरै देशले प्रयोगमा ल्याएका छन् । यसलाई नेपाल तत्काल भित्र्याउनुपर्ने सुवेदी बताउँछन् । उनी भन्छन्, ‘यो प्रविधिले भूमिको तरङ्गका आधार केही सेकेन्ड मात्रै अघि भए पनि अलर्ट गराउँछ । जसले गर्दा ठुलो क्षतिबाट जोगिन सकिन्छ ।’
भूकम्पीय जोखिम न्यूनीकरण गर्न सुरक्षित भवन निर्माण गर्नुपर्ने र यसका लागि नेपाल सरकारले जारी गरेको राष्ट्रिय भवन संहिता पूर्ण रूपमा कार्यान्वयन गर्नुपर्ने जानकारहरूको भनाइ छ । यो नै हाम्रो सशक्त तयारी हो । भूकम्पबाट सुरक्षित रहन सुदृढ तयारी गर्नुपर्छ । मुख्य कुरा घर संरचनाहरू पनि बलियो बनाउनुपर्ने हुन्छ । यसका लागि विगतका भूकम्पहरूबाट पाठ सिक्नुपर्ने सहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक ई. मचाकाजी महर्जनको तर्क छ । उनी भन्छन्, ‘आम नागरिक सचेत हुनै पर्यो । यसकासाथै भूकम्पपछिको अवस्थालाई आकलन गरी द्रुत खोज तथा उद्धार, सीप र तालिमप्राप्त उद्धारक एवम् तत्काल राहतको आवश्यकतालाई समेत तयारी अवस्थामा राख्नु पनि उत्तिकै जरुरी रहेको विषय हो ।’
नेपालमा निर्माण भएका भौतिक संरचना प्रायः ढुंगामाटोबाट बनेका छन् । कंक्रिटका संरचना पनि बलियो र भूकम्प प्रतिरोधी खासै बनेका छैनन् । ढुंगामाटोबाट बनेका संरचनालाई ४ देखि ६ म्याग्निच्यूडको भूकम्पले क्षति गर्न सक्छ । खानी तथा भूगर्भ विभागकी उपमहानिर्देशक मोनिका झाका अनुसार साना–साना म्याग्निच्यूडका भूकम्प जाँदा एक किसिमले राम्रो मान्न सकिन्छ । यसले ठुलो क्षति नगरे पनि मान्छेलाई सर्तक गराई रहन्छ । ‘ठुलो भूकम्प जाँदा धेरै क्षति हुन्छ । साना–साना म्याग्निच्युडका भूकम्प जाँदा केही घर भत्के पनि त्यहाँ मान्छेले नयाँ किसिमका घर बनाउँछन्,’ उनले भनिन्, ‘भूकम्प प्रतिरोधी संरचना बनाउने सिक्ने वातावरण बन्छ ।’
जानकारहरूका अनुसार भूकम्पका लागि तत्कालीन र दीर्घकालीन गरी दुई किसिमले तयारी हुनुपर्ने देखिन्छ । तत्काल भूकम्प जाँदा राहत उद्धारको तयारी गर्नुपर्छ । दीर्घकालीन तयारीका रूपमा भौतिक संरचनाहरू भूकम्प प्रतिरोधी बनाउनु पर्छ । उपमहानिर्देशक झा भूकम्पबारे सबै तहका सरकार सचेत हुनुपर्ने बताउँछिन् । उनले भनिन्, ‘यसबाट जोगिन सबै तहका सरकार र व्यक्ति स्वयंको भूमिका उत्तिकै रहन्छ । तर बलियो घर कसरी बनाउने ? स्थानीय तहले बढी जिम्मेवारी लिनुपर्छ ।’ संरचना बलियो भयो भने क्षति निकै कम हुने उनको भनाइ छ ।
- सरकारी प्रयास
भूकम्पीय जोखिम न्यूनीकरण गर्न तयारीदेखि भूकम्प पछिको पुनर्स्थापना सम्मका विभिन्न काम विभिन्न निकायबाट निरन्तर रूपमा भइरहेको सरकारी अधिकारीहरूको भनाइ छ । सहरी विकास तथा भवन निर्माण विभागका अनुसार भूकम्प लगायत बहुप्रकोपीय जोखिमबाट भवन संरचना सुरक्षित गर्न नेपाल सरकारले राष्ट्रिय भवन संहिता तर्जुमा गरी लागू गरेको छ । यसैमा आधारित भएर नयाँ निर्माण तथा प्रवलिकरण गर्नुपर्ने हुन्छ । भवन संहिताको कार्यान्वयनको लागि नीतिगत व्यवस्था, नीतिगत जनचेतना, अभिमुखीकरण, क्षमता अभिवृद्धि, प्राविधिक कार्य, अध्ययन तथा अनुसन्धान, अनुगमन तथा मूल्याङ्कन, समन्वय तथा सहकार्य जस्ता क्षेत्रहरूमा आवश्यक कार्य निरन्तर रूपमा भइरहेको विभागको दाबी छ ।
विगतका भूकम्पबाट पाठ सिक्दै भवनको नक्सा डिजाइन गर्न आवश्यक पर्ने भार र डिजाइन गर्ने विधि सहितको भवन निर्माण संहिता एनबीसी १०५ अद्यावधिक गरी लागु भएको छ । देशभर निर्माण हुने भवन राष्ट्रिय भवन संहिता बमोजिम डिजाइन तथा निर्माण भएको सुनिश्चित स्थानीय तहबाट सञ्चालन हुने नक्सा पास प्रक्रियामा गुणस्तर परीक्षण, इन्जिनियरिङ सुपरिवेक्षण लगायतका व्यवस्था लागू गरिएको छ । यो संहिता काठमाडौँ उपत्यकाको ७ वटा स्थानीय तहमा लागू भइरहेको विभागले जनाएको छ ।
यस्तै, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ अनुसार नेपालमा बहुप्रकोपिय जोखिम न्यूनीकरणका साथै भूकम्पीय जोखिम न्यूनीकरण तथा व्यवस्थापन सम्बन्धी नीति तयार गर्ने तथा सोको कार्यान्वयन गर्ने काम गरिरहेको सरकारी निकायको दाबी छ ।
भूकम्प लगायत सबै खालका विपद्बाट घरबास गुमाएका परिवारलाई स्थायी आवासका लागि अनुदान र प्राविधिक सहयोग उपलब्ध गराउन ‘विपद् प्रभावित निजी आवास प्रबलीकरण, पुनर्निर्माण तथा पुनर्स्थापना अनुदान कार्यविधि, २०८१’, विपद् सामग्रीहरूको प्राप्ति, भण्डारण, प्याकेजिङ, पुनः प्याकेजिङ, ढुवानी आदिका लागि आपत्कालीन गोदामघर सञ्चालन कार्यविधि, २०८१ तर्जुमा भई कार्यान्वयन भइरहेको छ ।
नेपालमा साइस्मिक तथा एक्सलेरोमेट्रिक स्टेसनको सञ्चालन गरी प्राप्त आंकडाबाट भूकम्प संवेदनशील क्षेत्रको पहिचान, भूकम्प गए पश्चात् यथाशक्य चाँडो भूकम्पको केन्द्र बिन्दु, मान लगायत भूकम्प सम्बन्धी सूचना प्रवाह गरिरहेको सरकारी पक्षको भनाइ छ । साथै खोज तथा उद्धारकार्यमा सहयोग पुर्याउने तथा सक्रिय भौगर्भिक भ्रंशहरूको पहिचान, अध्ययन तथा नक्साङ्कन गर्ने काम गर्दै आएको खानी तथा भूगर्भ विभागकी प्रवक्ता झाको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वर्णलक्ष्मी सहकारी प्रकरण : रवि लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश
-
आयल निगमको धनगढी डिपो निर्माण अघि बढ्यो, साढे ३ अर्ब लागत अनुमान
-
जनमत पार्टीले माघ ५ गते बलिदानी दिवस मनाउने
-
प्रधानमन्त्री कप महिला क्रिकेट : कविताको अर्धशतकमा सुदूरपश्चिमको लगातार दोस्रो जित
-
अध्यादेश जारी गर्नुपर्ने कारणबारे मुख्यसचिवको प्रष्टीकरण
-
पर्यटन क्षेत्रको विकासका लागि सर्वपक्षीय भेला गर्दै सरकार