अहिलेको सन्दर्भमा समाजवादको सही बाटो कसरी पहिल्याउने ?
मार्क्सका अनुसार समाजमा दुई प्रकारका वर्ग हुन्छन्– एउटा सर्वहारा वर्ग र अर्को पुँजीपति वर्ग । एउटा उत्पादन गर्ने वा भनौँ पुँजीपति वर्ग, जसले श्रमिकको उत्पादनलाई बेचेर मुनाफा खान्छ । अर्कोचाहिँ उत्पादनमा संलग्न भएर पनि वितरणमा कुनै भूमिका नहुने सर्वहारा वर्ग ।
तर मार्क्सदेखि यहाँसम्म आइपुग्दा संसारमा उनकै विचारलाई आधार मानेर धेरैले उत्पादनको आधारमा मात्र वर्ग निर्धारण हुन्छ भनेर व्याख्या–विश्लेषण गरेका छन् । यसलाई धेरै अगाडिदेखि नै कतिपय अर्थशास्त्री, खासगरी निओ अर्थशास्त्रीले खण्डन गर्दै आए ।
अहिले संसार कहाँ छ भनेर हेर्नुपर्छ । विश्व व्यवस्थामा मार्क्सले चर्चा गरेको समय सन् १८४८ बाट यता आउँदा झण्डै २ सय वर्ष गुज्रेको छ । मार्क्सले त्यति बेला भौतिक अवस्था अनुसार जे देखे, त्यही अनुसार लेखे । उनी आजको संसारमा भइदिएको भए कयौँ अमिल्दा कुरा लेख्दैन थिए । जस्तो कि, उनले समाजमा दुई वटा वर्गको कुरा गरेका छन् । अहिलेको सन्दर्भमा उत्पादनको आधारमा मात्र वर्ग निर्धारण हुँदैन । वर्ग निर्धारण गर्ने फ्याक्टर अरू पनि हुन्छन् । उदाहरणका लागि विनिमय बजार । एउटाले उत्पादन गर्छ, वितरण गर्न अरू नै आउँछन् । उपभोक्तासम्म पुग्दा उत्पादकले भन्दा बिचको वितरकले धेरै मुनाफा खान्छ । त्यसलाई के वर्ग भन्ने ? जो उत्पादक होइन, जसले प्रत्यक्ष श्रमको शोषण पनि गर्दैन । तर उत्पादकले भन्दा बढी मुनाफा गर्छ भने त्यसलाई कुन वर्ग भन्ने ? यो प्रश्न मार्क्सले त्यति बेला देखेका थिएनन् ।
त्यति बेला धेरै मानिस म्यानुफ्याक्चर उद्योगमा आवद्ध थिए । दैनिक १६/१७ घण्टासम्म काम गर्नुपर्ने र पुँजीपतिले श्रमिकको श्रम बेचेर मुनाफा खाने गर्थे । अत्यधिक मुनाफा म्यानुफ्याक्चरिङ उद्योगीको हातमा जाने कुरालाई त्यतिबेलाको ज्वलन्त समस्या देखेर नै मार्क्सले समाजमा कि त पुँजीपति, कि सर्वहारा वर्ग हुन्छन् भनेर लेखिएको हो । समाजमा यही ध्रुवीकरण बढ्दै श्रमिकको कोटीमा या पुँजीपतिको कोटीमा रूपान्तरित हुन्छ भन्ने परिकल्पना उनले गरेका थिए । यहाँसम्म आइपुग्दा मार्क्सले चित्रण गरेजस्तो अवस्था देखा परेन ।
दोस्रो, उत्पादनको आधारमा मात्र मार्क्सले व्याख्या गरे । वितरणको बिचमा विनिमय गरेर आर्जन गर्ने अर्को वर्ग हुन्छ, जो उत्पादनसँग सम्बन्ध राख्दैन । यसमा मार्क्सले व्याख्या गरेन वा देखेनन् । त्यति बेला यस्ता पुँजीपतिहरूको उदय भइसकेको थिएन ।
मार्क्सले देख्न नसकेको अर्को कुरा भनेको समाजमा सत्ताले वर्ग सिर्जना गर्छ कि गर्दैन ? यसतर्फ उनले परिकल्पना गरेनन् । श्रमिकहरू सधैँ पीडितमात्रै हुन्छन् भन्ने आधारमा उनले व्याख्या गरे । श्रमिकको हातमा कुनै पनि उत्पादनको साधन हुँदैन भनेर व्याख्या गरे । तर यी श्रमिकले कुनै सत्ता लिए भने, सत्ता लिएको श्रमिकको हातमा राजनीतिक शक्ति हुँदा तल भएका श्रमिक काम नगरी धनी हुन्छन् कि हुँदैनन् ? जस्तै: अहिले राजनीतिक दलका नेताहरूले उत्पादनका कुनै कारखाना खोलेका छैनन् । कुनै पनि उत्पादनको साधनसँग जोडिएका छैनन् । तर हरेक राजनीतिक परिवर्तनमा लागेका राजनीतिक दलहरूका कार्यकर्ता वा स्वयं कम्युनिस्टहरू सत्ताको प्रयोगबाट धनी भएका छन् कि छैनन् ? यसलाई कसरी हेरिन्छ ? यो वर्ग होइन ? शक्तिहीनले पनि सत्ता निर्माण गर्दो रहेछ । आवाजविहीनले सत्ता निर्माण गर्दो रहेछ । विनिमयबाट पनि मुनाफा खाँदो रहेछ । उत्पादकले पनि नाफा खाँदो रहेछ । यसकारण विभिन्न हिसाबले वर्ग बन्दोरहेछ भन्ने मार्क्सले देखेनन् । केवल एउटा कुरालाई उनले व्याख्या गरे ।
चौथो, त्यति बेला मार्क्सले देख्न नसकेको शिक्षाको विकास होला । पुँजीवादी मुलुकमा पनि मजदुरको आन्दोलनले नीतिमा परिवर्तन होला । आम नागरिकको प्रभाव, पहुँच बढ्दै जान्छ, उनीहरूलाई उत्पादन गरेर खाने एउटा क्षमता पैदा हुन्छ । त्यसले उनीहरूको वर्ग हैसियतमा परिवर्तन आउँछ भन्ने कुरा मार्क्सले देखेनन् । उनले माथिका वर्ग तल झर्छन् भन्ने मात्र देखे । तलका माथि जान्छन् भन्ने परिकल्पना नै गरेनन् । यस्ता खालको पृष्ठभूमि बेगर समाजवाद के हुन्छ होला ? समाजको रूपान्तरण कसरी हुन्छ होला भनेर परिकल्पना गर्नुभयो भने बढी यान्त्रिक र एकपाखे वा अहिलेको वस्तुगत अवस्थाको मूल्याङ्कन नगरेर बन्द कोठामा बसेर समाजवाद र साम्यवादको गफ गरेजस्तो हुन्छ ।
त्यसकरण सबैभन्दा पहिला समाजको रूपान्तरण कसरी भइरहेको छ ? समाजमा कस्ता–कस्ता वर्ग सिर्जना भइराखेका छन् । वर्ग भनेको आफैँमा पनि प्रक्रिया रहेछ, स्थिर कुरा होइन रहेछ । वर्ग परिवर्तनशील विषय रहेछ । हिजो सामन्तवादी, पञ्चायत वा राजा सरकारमा थियो । शक्तिको कारणले आर्जन गर्थ्यो । हामीले सम्पूर्ण रूपमा वर्ग दुस्मन किटान गर्यौँ । आन्दोलनले उसलाई सडकमा फालिदियौँ । मानौँ, त्यतिबेलाका विपक्षी दलहरूले पञ्चलाई दुस्मन करार गरेको थियो । आन्दोलनबाट दलहरू सत्तामा पुगे, पञ्च सडकमा पुग्यो । अब सत्तासीन वर्ग को हो ? उनीहरूको अवस्था नाजुक छ कि छैन ? ती नाजुकसँग लड्न खोजेको हो कि शक्तिसँग लड्न खोजेको हो ? यी सबै कुराको ख्याल गरेर वर्गहरू परिवर्तनशील कुरा रहेछ, पावर, उत्पादनका साधनमाथिका पहुँच, बिक्री तथा व्यापारिक सम्बन्धको कारणले, सामाजिक हैसियतको कारणले वर्गहरू परिवर्तन हुन्छन् । अझ उपभोगका कारणले पनि वर्ग परिवर्तन हुन्छन् । कोही मानिस अत्यधिक सुखसयलमा बस्छन् तर उत्पादन छैन ।
कम्युनिस्ट पार्टी वा सडकबाट दुःख पाएर आएको मान्छे तर सत्तामा पुगेर ती कुरालाई छोडिदियो भन्ने भयङ्कर प्रश्न अहिले उठिरहेको छ । यो प्रश्नको उत्तर नखोजी समाजवादको उत्तर खोज्न सकिँदैन ।
वर्ग स्थिर, एकै ठाउँमा अडिने कुरा होइन । वर्ग परिवर्तनशील कुरा रहेछ । विभिन्न फ्याक्टरले वर्ग परिवर्तन हुन्छ भन्ने कुरा स्वीकार गर्नुपर्छ । त्यसभित्र श्रमिक र सुखभोग गर्ने को हुन् भन्ने कुरा सीमा निर्धारण गर्नुपर्छ । त्यसपछि मात्र पार्टीले श्रमिक, मजदुर, किसान वर्गप्रति लिने नीति समाजवादउन्मुख भन्न सकिन्छ । त्यसैले यी कुराको नयाँ किटानी गर्न जरुरी छ । त्यसपछिमात्र समाजवादका आधारभूत कुरामा प्रवेश गर्न सकिन्छ ।
- अब कम्युनिस्ट पार्टी कस्तो हुनुपर्छ ?
कम्युनिस्ट पार्टी क्याडर बेस्ड बनाउने कि मास बेस्ड बनाउने अर्को पाटो हो । तर यी दुवै कुरा आजको आवश्यकता हो । पहिलो कुरा क्याडर र मास कसरी बन्छ भन्ने बुझ्न जरुरी छ । क्रान्ति दुई प्रकारले हुन्छ । क्रान्ति बलजफती एउटा ठुलो सामाजिक रुपान्तरणको धक्का दिएर पनि हुन्छ । अर्को, सामाजिक रूपान्तरण र ‘इभोलुसन’ बाट पनि हुन्छ । मार्क्सले ‘इभोलुसन’बाट सामाजिक रूपान्तरण हुँदैन भनेका छन् र ? ‘त्यो लामो, बडो झन्झटिलो, प्रतीक्षा गर्न कठिन हुन्छ तर क्रान्तिले धक्का दिएर ड्याम्मै ढाल्छ । त्यसकारण हामीले क्रान्तिको बाटो लिएको’ भनेका छन् । सकिन्छ भने ‘इभोलुसन’बाट नोक्सान नगरी जाने हो । यो बाटो रक्तपातपूर्ण पनि हुँदैन भनेर मार्क्सले भनेका छन् । क्रान्ति गर्ने हो भने क्याडर चाहियो । ‘इभोलुसन’मा जाने हो भने सबै मानिस उत्पादनमा सरिक हुनुपर्यो । अहिलेका कम्युनिस्ट पार्टीका कार्यकर्ताहरू बलजफती सत्ता लिने ठाउँमा छन् त ? चुनाव गरेर जाने होइन ? चुनाव गरेर जाने भए क्याडर चाहिन्छ कि भोट चाहिन्छ ? मास चाहिएन ? कुन बाटो हिँड्ने भन्ने प्रश्नको उत्तर यिनै प्रश्नबाट पाउन सकिन्छ । कागजमा के लेखेको छ, त्यसलाई छोडिदिए हुन्छ ।
हिजो राज्यसत्ता बलजफती ढाल्न सबै कुरा बुझेका सचेत मानिसको जत्था चाहिने हुँदा क्याडरको भूमिका बढी थियो । आज मार्क्सको भूमिका बढेर गएको छ कि छैन ? अहिले २०/५० हजार क्याडर बनाएर दुई वर्षभित्रम सत्ता कब्जा गर्न सकिन्छ ? जाजुल्य भएर हिँड्न सकिने अवस्था अहिले छैन । त्यही भएर अहिले शान्तिपूर्ण बाटोमा हिँडेको होइन ? यो विश्वपरिवेश र नेपालको परिवेश हेरेर निर्णय भएको हो ।
लेनिनको संगठनात्मक सिद्धान्त पनि व्यावहारिक कुरा हो । बलजफती कुनै निर्देशन पालना गर्न वा गराउन सकिँदैन । लेनिनले एउटा कठोर अनुशासन निर्णय कार्यान्वयन गरेका थिए । त्यसैगरी अहिले पालना गरेको निर्णय मासले त्यतिकै लागु गर्छ ? बलजफती भोट हाल भनेर कसैले मान्छ ? हाम्रो पार्टीको हाइकमाण्डले गरेको निर्णयको आधारमा कसैले भोट हाल्छ ? यो पनि समय सान्दर्भिक कुरा हो । यस्ता कुरालाई बुझेर नै अहिलेको सन्दर्भमा समाजवादको सही बाटो पहिल्याउन सकिन्छ ।
अहिले मानिसले धेरै प्रश्न उठाइरहेका छन् । आजका नेताहरू कुनै समय चप्पल पड्काएर काठमाडौँ आएका थिए । सुखसयलमा बसे भनेर अर्को पक्षले आलोचना गरिरहेको छ । यो कुरा सत्य हो कि उत्पादनका औपचारिक केही साधन छैन । तर नेताहरूको जीवनशैली बडो गजबको देखिन्छ । यसलाई बेवास्ता गरेर समाजवाद केसँग लडेर ल्याउनुहुन्छ ? सबैभन्दा पहिला समाजवाद हो के ? समाजवाद मजदुर, किसान, दुःख पाएका मान्छेलाई हेरेर परिकल्पना गरेको हो भने समाजमा प्रतिबिम्बित भएका वर्ग संरचनालाई विश्लेषण नगरी समाजवादको प्रारूप कसरी किटान गर्न सकिन्छ ? त्यसकारण यी कुरासहित अबको समाजवादको व्याख्या गरिनुपर्छ ।
(नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेसँग गरिएको कुराकानीमा आधारित)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिभुवन विश्वविद्यालयले स्नातक तहको भर्ना थप गर्ने
-
प्रधानमन्त्रीको दाबी : सावधानी र मिहेनतका साथ अध्यादेश ल्याएका हौँ
-
राष्ट्रपतिद्वारा तीन जनालाई गैरआवासीय राजदूत नियुक्त
-
एक वर्षमा देखियो ३६८ जनामा बाथरोग
-
हाम्रो ध्यान पार्टी फुटाउने र जोड्नेमा होइन, सरकार प्रभावकारी बनाउनेमा छ : प्रधानमन्त्री
-
राष्ट्रपतिद्वारा यसअघि रोकेको भूमिसम्बन्धी अध्यादेश जारी