बुधबार, ०२ माघ २०८१
ताजा लोकप्रिय
रातोपाटी ब्रिफिङ

१२ बजे, १२ समाचार : ओलीको आलोचना गर्दा अर्का नेतालाई कारबाहीको डण्डादेखि राष्ट्रपतिलाई अध्यादेशले तनावसम्म

बुधबार, ०२ माघ २०८१, ०० : ३२
बुधबार, ०२ माघ २०८१

काठमाडौं । वितेका २४ घण्टाको अवधिमा विकसित मुख्यमुख्य घटनाक्रमहरूको संगालोसहित रातोपाटी डटकम राति १२ बजे ‘रातोपाटी ब्रिफिङ’ लिएको उपस्थित भएको छ– 
१. ओलीको आलोचना गर्दा कारबाही 
एमालेमा पार्टी नेतृत्वको आलोचना गर्दा अर्का नेता पनि कारबाहीमा परेका छन् । जसमा राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् सदस्यसमेत रहेका पूर्वप्रदेश सांसद विमल कार्की छन् । एमाले कोसी प्रदेश कमिटीको पुस २७ गतेको बैठकबाट उनलाई निलम्बनको सिफारिस गरिएको अध्यक्ष घनश्याम खतिवडाले पुष्टि गरे ।

२. माघे सङ्क्रान्ति
देशभर आज थारू समुदायका साथै अन्य समुदायले पनि माघे सङ्क्रान्ति पर्व मनाएका छन् । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले माघ १ गतेलाई मकर ९माघे० सङ्क्रान्ति भनिन्छ । आजदेखि उत्तरायण सुरु हुने भएकाले दिनभन्दा रात छोटा हुँदै जान्छन् । उत्तरायण सुरु हुने दिनको स्नान, जप, तप, ध्यान साधना, दान आदिलाई पुण्य दायक मानिन्छ । आजको दिन देवघाट, त्रिशूली, कालीगण्डकी, वाग्मती, इन्द्रावती, त्रिवेणी, रिडीलगायत स्थानमा माघ स्नान गर्ने भक्तजनको घुइँचो लागदछ । यी ठाउँमा आज विशेष मेलासमेत लाग्ने गर्दछ ।

३. बदमासी
प्रहरी र राजस्व अनुसन्धान कार्यालय इटहरीले आइतबार छापा हानेर न्युट्रास्युटीकल एसोसिएसन मोरङका अध्यक्ष विपिन झाको घरबाट ठुलो परिमाणमा बजार पठाउन लागेको म्याद सकिएको खाद्य पूरक सामाग्री बरामद गर्‍यो । छापा मार्ने क्रममा झाको विराटनगर ६ स्थित आफ्नै घरको तीन वटा गोदाममा म्याद सकिएको न्युट्रास्युटीकलको लेभल मेटाएर पुनः नयाँ उत्पादन मिति राखेर विक्री वितरण गरेको भेटिएको थियो ।

४. भट्टले एमाले छाड्ने ?
नेकपा एमालेका सचिव लेखराज भट्टको एउटा अनौपचारिक संवादको भिडियो यतिबेला सामाजिक सञ्जालमा भाइरल भइरहेको छ।  त्यसमा उनले एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति असन्तुष्टि पोखका छन् । 

५. वामपन्थी दल
कम्युनिस्ट पार्टीहरू समाजवादको बाटो हिँड्नुपर्नेमा एकमत छन् । तर, त्यसको मोडालिटी, कार्यदिशा, कार्यनीति, कार्यक्रम कस्तो हुने भन्नेमा अन्योल देखिन्छ । गणतन्त्र स्थापनाको १६ वर्ष पूरा हुँदा पनि वामपन्थी दलले अबको पार्टी निर्माण र समाजवादी आर्थिक क्रान्तिका आधार फेला पार्न सकेका छैनन् ।

६. अध्यादेशमा असन्तुष्टि
 पुस २६ गते मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार सिफारिस भएका ५ अध्यादेशमध्ये चार वटा अध्यादेश सोमबार जारी भयो । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको सिफारिस भए पनि एउटा अध्यादेश जारी गरेका छैनन् ।

७. समाजवादी मोर्चा
मुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रसहित नेकपा एकीकृत समाजवादी, जसपा र विप्लव नेतृत्वको नेकपाका नेताहरू समाजवादी मोर्चा पुनः सक्रिय बनाउन आन्तरिक छलफलमा छन् । लामो समय निष्क्रिय रहेको मोर्चाको बैठक बुधबारका लागि बोलाइएको छ । उक्त बैठक बस्नुअघि मंगलबार कार्यदलको बैठक बोलाइएको छ । 

८. लोडसेडिङकै झल्को
काठमाडौँ उपत्यकामा बिजुलीको माग सामान्य अवस्थामा ४०० मेगावाट छ । चिसो बढेपछि हिटर, एसी, इलेक्ट्रिक गिजरजस्ता विद्युतीय उपकरण बढी चल्ने गर्छन् । यसले गर्दा विशेष गरी बेलुकाको समयमा बिुजलीको माग ४५० मेगावाटसम्म पुग्ने गरेको छ । 

९. राजश्व ठगी
चिनियाँ लगानीका धेरै व्यवसायीले एनएमबीको नभई चिनियाँ बैंककै खाता प्रयोग गर्ने गरेको व्यवसायी बताउँछन् । होटल तथा रेस्टुरेन्ट क्षेत्रमा लगानी गर्ने र त्यहाँ चिनियाँ बैंककै खाताको ‘विच्याट’ क्युआर’ राख्ने गरेको एक चिनियाँ व्यवसायीकै घुमाउरो स्वीकारोक्ति छ ।

१०.क्रिकेट
जय ट्रफी पुरुष एलिट कप क्रिकेट कपको फाइनल खेलमा नेपाल पुलिस क्लबले अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबविरुद्ध राम्रो सुरुवात गरेको छ । पहिलो दिनको खेल सकिँदा टोलीले १७ ओभरमा २ विकेटको क्षतिमा ८५ रन बनाउन सफल भएको हो । प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा विभागीय टोली विभागीय टोली सशस्त्र प्रहरी बल (एपीएफ) र सुदूरपश्चिमले विजयी सुरुवात गरेका छन् ।

११. विपिनको रिहाइका लागि फोनवार्ता 
हमास अतिवादी समूहको नियन्त्रणमा रहेका नेपाली युवा विपिन जोशीको रिहाइका लागि परराष्ट्रमन्त्री डा। आरजु राणा देउवाले मंगलबार साँझ इजरायलका विदेशमन्त्री गिडियन सारसँग पनि फोनवार्ता गरेकी छन् ।

१२. देवघाटको पुलबाट हामफालेर बेपत्ता
चितवनको भरतपुर महानगरपालिका–१ स्थित देवघाटको पुलबाट हामफालेर १ जना बेपत्ता भएका छन् । मंगलबार मध्यान्ह देवघाट र तनहुँ जोड्ने झोलुंगे पुलबाट हामफालेर मदन परियार बेपत्ता भएको चितवनको एसपी गौतम मिश्रले रातोपाटीलाई बताए । ४१ वर्षीय परियार लमजुङको बेशिसहर नगरपालिका–३ का स्थानीय हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप