ओलीको आलोचना गर्दा एमालेमा अर्का नेता पनि कारबाहीमा

विराटनगर । एमालेमा पार्टी नेतृत्वको आलोचना गर्दा अर्का नेता पनि कारबाहीमा परेका छन् । जसमा राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् सदस्यसमेत रहेका पूर्वप्रदेश सांसद विमल कार्की छन् ।
एमाले कोसी प्रदेश कमिटीको पुस २७ गतेको बैठकबाट उनलाई निलम्बनको सिफारिस गरिएको अध्यक्ष घनश्याम खतिवडाले पुष्टि गरे । ‘हामीले उहाँलाई स्पष्टीकरण माग गरेका थियौँ । चित्तबुझ्दो स्पष्टीकरण दिनुभएन । स्पष्टीकरण बुझाएपछि फेरि खतरनाक ढंगले फेसबुकमा लेखिहाल्नुभयो,’ खतिवडाले भने, ‘स्पष्टीकरण पनि रेला गरेर लेख्नुभयो । मेरो फेसबुक ह्याक भएछ । ह्याक भएको थाहै होला भनेर उडाउने गरी लेख्नुभएको थियो ।’ कार्कीलाई कारबाहीभन्दा पनि कारबाही सिफारिस गरिएको उनले बताए ।
‘चित्तबुझ्दो स्पष्टीकरण दिनुभएन । स्पष्टीकरण बुझाएपछि फेरि खतरनाक ढंगले फेसबुकमा लेखिहाल्नुभयो ।’
एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी कार्यालय बनाउन मीनबहादुर गुरुङसँग जग्गा दानमा लिएपछि कार्कीले खरो आलोचना गर्दै फेसबुकमा स्टाटस लेखेका थिए । एमाले कोसी प्रदेश समितिले त्यही विषयमा स्पष्टीकरण माग गर्दै गत मंसिर १६ गते पत्र पठाएको थियो ।
उदयपुरका नेता कार्कीले पत्रको जवाफ मंसिर २१ गते दिएका थिए । आफूले पत्रमा भनिएजस्तो पार्टीलाई अहित हुने वा पार्टीको विधान, पद्धतिविपरीत पार्टी नीति निर्णय र नेतृत्वविरुद्ध कहिल्यै पनि र कुनै पनि प्रकारको स्टाटस नलेखेको जिकिर गरेका थिए । बरु उनले आफ्नो फेसबुक ह्याक भएको हुन सक्ने संकेत गरेका थिए ।
‘फेसबुक एकाउन्टको सन्दर्भमा बेलाबेलामा अवाञ्छित तत्त्वहरूले धेरैको एकाउन्ट ह्याक गरिरहेका हुन्छन् । यो अवस्था धेरै फेसबुक प्रयोगकर्ताहरुले भोगी रहेको समस्या हो र मैले पनि बेला बेलामा यो समस्या भोगी रहेको छु,’ कार्कीले स्पष्टीकरणपत्रमा लेखेका छन्, ‘त्यही ह्याक भएको अवस्थामा ह्याक गर्ने अवाञ्छित तत्त्वहरूले कुनै बदमासी गरेको भए मेरो जानकारीमा नभएको व्यहोरा अनुरोध गर्दछु ।’
उनले आफूले पार्टीको अहित हुने गरी र नेतृत्वविरुद्ध कुनै गतिविधि नगरेको जिकिर गरेका छन् । बरु पार्टीको श्रीवृद्धि, हित र उन्नयनका लागि निरन्तर लागिरहेको उनको भनाइ छ ।
नेता कार्कीले कारबाहीको विषयमा आफूलाई कुनै जानकारी नभएको बताए । ‘कारबाहीको बारेमा मलाई कुनै जानकारी आएको छैन । यदि मलाई कारबाही नै गरेको हो, उहाँहरूलाई जानकारी दिने ताकत रहेनछ भनेर मैले बुझ्नुपर्यो,’ उनले भने ।
एमालेले यसअघि डा. भीम रावललाई संठगित सदस्यबाटै मुक्त गर्ने निर्णय गरेको थियो । यस्तै, डा. विन्दा पाण्डे र उषाकिरण तिमिल्सिनालाई निलम्बनमा राखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
फाइनल खेलको पहिलो हाफ गोलरहित बराबरी
-
पहिरो पन्छाएपछि भोटखोला जाने सडक सञ्चालन
-
क्लासिक डाइमण्डको टाइमलेस प्यारागन ज्वेलरी फेसन शो सम्पन्न
-
माओवादी सुदूरपश्चिम संसदीय दलको विवाद मिलाउने प्रचण्डको प्रयास असफल
-
शिक्षकहरूप्रति प्रधानमन्त्री किन भए आक्रोशित ?
-
भुसालको संयोजकत्वमा आन्दोलनको कार्ययोजना बनाउन कार्यदल गठन