बुधबार, ०२ माघ २०८१
ताजा लोकप्रिय

इन्डिगोको विमानमा बम राखेको धम्की आएपछि...

मङ्गलबार, ०१ माघ २०८१, १५ : ३८
मङ्गलबार, ०१ माघ २०८१

नयाँ दिल्ली । गोवाबाट मुम्बई जाँदै गरेको इन्डिगोको उडानमा बम विस्फोट भएको हल्ला फैलियो । यसपछि विमानको सुरक्षा जाँच गरियो र मुम्बई विमानस्थलमा आपत्कालीन अवस्थाको घोषणा गरिएको छ । 

सुरक्षा जाँच गरेको करिब एक घण्टा पछि आपत्कालीन अवस्था हटाइएको छ । इन्डिगोका प्रवक्ताले बताएअनुसार उडान नम्बर ई ५१०१ लाई मुम्बई विमानस्थलमा अवतरण गरेपछि आइसोलेसन बेमा पठाइएको थियो । सबै यात्रुहरूलाई सुरक्षित रूपमा ओरालियो । 

चेकजाँचका क्रममा विमानमा कुनै बम भेटिएन । सम्बन्धित अधिकारीहरूबाट अनुमतिपछि विमानलाई टर्मिनलमा फिर्ता पठाइएको प्रवक्ताले भनेका छन् । उक्त विमानभित्र कति यात्री थिए भन्ने कुरा एयरलाइन्सले खुलाएको छैन ।

विमानमा एउटा नोट फेला परेको र यसमा बमको धम्की भएको विमानस्थलका एक अधिकारीले मंगलबार बताएका छन् । राति करिब १०ः३० बजे मुम्बई विमानस्थलमा आपत्कालीन अवस्थाको घोषणा गरिएको र राति ११ः३० बजे यसलाई फिर्ता लिइएको बताइएको छ । पछिल्लो समय भारतीय विमानमा बम राखेको धम्की बढेको छ । गएको वर्ष अक्टोबर र नोभेम्बरमा कयौँ उडानहरूमा बम राखेको झुटा धम्की प्राप्त भएको थियो । यस्ता धम्कीका कारण यात्रुहरूले समस्या समेत भोग्नुपरेको थियो । यस्ता घटनाका कारण एयरलाइन्सहरूले पनि घाटा बेहोर्नु परेको थियो ।

कडा पारेको छ सरकारले नियम

आधिकारिक तथ्याङ्क अनुसार, भारतीय विमान सेवा प्रदायकहरूले अक्टोबरमा मात्रै बम राखेको भन्दै ६६६ वटा झुटा धम्की पाएका थिए । गएको वर्ष नोभेम्बर १४ सम्म ९९९ वटा यस्ता धम्की प्राप्त भएका थिए । यस्ता घटना बढेपछि सरकारले विमान सुरक्षा नियमहरूमा संशोधन गरेको छ । यस्ता झुटा धम्की दिने वा फोन गर्नेहरूलाई सजाय हुन सक्नेछ र उनीहरूको उडानमा प्रतिबन्ध पनि लाग्न सक्नेछ । नयाँ नियम अन्तर्गत, अपराधीलाई १ लाख रुपैयाँसम्म जरिवाना हुनेछ । यसबाहेक, कुनै पनि व्यक्ति वा व्यक्तिहरूको समूहलाई विमानमा प्रवेश गर्न अस्वीकार गर्ने अधिकार नागरिक उड्डयन सुरक्षा ब्यूरो (BCAS) का महानिर्देशकसँग रहेको छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप