बुधबार, ०२ माघ २०८१
ताजा लोकप्रिय

फ्राइडे कन्फ्युजनले सम्झाएको अतीत

मङ्गलबार, ०१ माघ २०८१, १५ : २३
मङ्गलबार, ०१ माघ २०८१

म जब केही लेख्न बस्छु सुदूर अतीत सम्मुखै आइदिन्छ । त्यो बेगर लेख्ने कुरा केही छैन हुन्छ । अतीत स्मृति यसरी साहित्यको निधि बन्दो रहेछ । म अहिले पनि त्यही क्षण स्मरण गर्न चाहन्छु— कोभिडको त्रास जति हुनुपर्ने थियो, सम्भवतः त्यो भन्दा बढी ज्याद्रो भयो । गाउँमा भन्दा सहरमा अझ बढी भयो । दैनिकी सहज बनाउन, सम्भावित भयबाट टाढिन म सहरदेखि टाढा धेरै टाढाको गाउँ गएँ । त्यो सदूर बस्ती धेरै किसिमले मलाई ठिक लाग्छ । 

त्यस अवस्थामा पनि मेरो गाउँ निश्चिन्त थियो । निस्फिक्री रमाउँथ्यो, कोभिडलाई ‘यो केही होइन’ भन्थे गाउँलेहरू । सामाजिक दूरीको हेक्का पनि राख्दैनथे । रेडियो, टेलिभिजनमा आउने आगाको फिलिङ्गोजस्तो समाचारले केही त्रसित हुन्थे, हच्किन्थे । फेरि उतिनखेरै बिर्सिसकेका हुन्थे । 

पहाडी गाउँको अभेगमा बसोबास गरेकालाई महामारीले होस उडाउन सकेको थिएन । त्रास केही थोरै थियो । मानसिक रूपमा गाउँ बलियो थियो । पछि तेस्रो लहर—डेल्टा भेरिएन्ट व्याप्त हुँदा प्रायः सबै घर सुतेका थिए, तैपनि डगेनन् । 

गाउँलाई कोभिडले लघार्न नसक्नुको एउटा कारण गाउँ जब्बर थियो । म पनि जब्बर थिएँ— कोभिडको अस्तित्वलाई मेरो मनले स्विकार्न मान्दैनथ्यो । केही हुनु नहुनुले मानिसलाई खासै असर गर्दैन, जति असर स्विकार्नु नस्विकार्नुले गर्दो रहेछ । 

ती दिनमा मैले धेरै थोकको अध्ययन गरेँ । काठमाडौँदेखि डा. गोविन्दराज भट्टराईबाट पाठ्य सामग्री पाइरहन्थेँ— बिजुली हुलाकमा केही न केही आइरहन्थ्यो । घर गाउँको बसाइमा लेखन कार्य हुन सकेको थिएन, थोरै पनि भएको थिएन । सुर चल्दा दैनिकी डायरी लेख्ने गर्थें । पुनः काठमाडौँ आएपछि थाहा पाएँ— मेरो आदत सम्पूर्ण बिग्रिसकेछ । लेख्न अल्छी लाग्ने भएछ । त्यसलाई सच्याउन धेरै समय लाग्यो ।

उनका कथामा एउटा भिन्न मिठास छ । पात्रको मनोजगत्लाई चित्रात्मक बनाउने शिल्प राम्रो छ । फ्राइडे कन्फ्युजनले एउटा सरकारी आधारभूत स्कूलभित्रको अनियमितता देखाउँदै, सरकारी कार्यालयमा हुने अस्पष्ट गतिविधि र कर्मचारीको अस्पष्ट चरित्रलाई व्यङ्ग्य गरेको छ ।

 
दिवाकालीन प्रहर घर बस्न म रुचाउँथिनँ । खलबलीमा एकचित्त भएर पढ्न सक्दिनँ । दिनभरि गोठालो जाँदा पढेर आउँथेँ । पशुप्राणीको सामीप्य मलाई मन पर्छ । म घण्टौँ भुल्न सक्छु ती अञ्जान प्राणीसँग । बाख्रा चराउँदै पढ्न रमाइलो लाग्थ्यो । अहिले पनि म त्यसो गर्न मन पराउँछु । 

त्यस दिन ‘इन्टरनेट डायरी’ कथा मैले बाख्रा चराउँदै पढेकी थिएँ । भिन्न र राम्रो लाग्यो त्यो कथा । यस किसिमको कथा लेख्ने जयराज भट्टराई युवा स्रष्टा हुन् भन्ने त्यही कथाबाट थाहा हुन्थ्यो ।

कोही अपरिचत स्रष्टाका रचना पढेपछि उसका प्रति म अनुमानित परिचय बनाउन थाल्छु । ऊ कस्तो मानिस होला ? उसका बारेमा जान्न उत्सुक हुन्छु । पाठक प्रतिक्रिया उसलाई कहिले सुनाउँ भन्ने हुन्छ । अनि उसका शब्द–शब्दमा संवाद गर्न थाल्छु । नचिनेरै ऊ परिचित लाग्न थाल्छ । त्यही भएर हुन सक्छ भेटमा ऊ नौलो लाग्दैन । 
केही दिनअघि हाम्रो एउटा समूह यात्रामा थियो । झापा, इलाम हुँदै पाँचथर अनि ताप्लेजुङ पुगेका हामी फर्किएर यता पशुपतिनगर झर्‍यौँ । यात्राको नेतृत्व गोविन्द सरले गर्नुभएको थियो । मणिपुरदेखि आउनु भएकी स्रष्टा बसन्ती पौडेललाई म नौलो मान्दै थिएँ । सुरुमा उहाँको उपस्थितिले घरमा कोही अपरिचित पाहुना आउँदाको अनुभव हुँदै थियो । भरे त एकैछिनमा उहाँसँग झ्याम्मिएँ । पाँच दिनको भ्रमणमा उहाँ र म सँगै सुत्यौँ, सँगै उठ्यौँ । कहिले त अझ एउटै बिस्तारामा सुत्यौँ— चिसोले ठिहिर्‍याउँदा । 
हाम्रो टिम धेरै रमाइलो थियो, रमाइलो गर्न जान्ने खालको थियो, रमाउन जानेको थियो । छिनछिनमा हामी गीत पनि गुनगुनाउँथ्यौँ । गाउन नआए पनि म हारामारामा मिसिन्थेँ । ‘अब लमजुङे गीत सुन्ने’ अगाडि पछाडिका सिटबाट आएको अनुरोधलाई मैले साँच्चै ठानेँ । स्वर नमिले पनि बेसुरा लयमा गाइदिएँ—
सुन्ने भए बोलाउँथेँ मायालाई 
राइनासकोटको शिरमा बसेर... । 

पश्चिमतिरका गीत जय दाइलाई मन पर्दैन रे ! गोविन्द सरले उहाँको भनाइलाई हँस्याइलो भावमा कोट गर्नुभयो । ‘त्यसो भन्नु हुँदैन यहाँ पश्चिमका मानिस पनि छन् । अनिता बहिनीको मन दुख्ला नि फेरि !’ 

हरेक मानिसका आ–आफ्ना रुचि हुन्छन् । मन पर्ने नपर्ने कुरा अलग–अलग हुन्छन् । उहाँलाई मन परेन त परेन— मेरो मन किन दुख्थ्यो र नै । केही चिज मन नपर्नु नराम्रो कुरा होइन । नकारात्मकता होइन । त्यो त छनोट गर्ने स्वतन्त्रता हो । जय दाइले अघिको अभिव्यक्ति सच्याएर भन्न लाग्नुभयो, ‘पश्चिमका गीत पनि कम्तीका हुँदैनन् ।’ 

उहाँका कुराले मलाई हाँसो लाग्दै थियो । साना नानीहरूलाई झैँ फुल्याउन त्यसो भनिएको आभास म गर्दै थिएँ । बोली सच्याए पनि प्रिय–अप्रिय लाग्ने कुरा कहाँ सच्याउन सकिन्छ र ? मन नपर्ने कुरालाई मन पर्छ भन्दैमा कहाँ मन परेको हुन्छ र ? 

मेरो स्वरमा केही माधुर्य थिएन । मधुर रागमा गाउँछु भनेर गाएको पनि थिइनँ । स्वाभाविक रूपले दुई पङ्क्तिको भाका व्यक्त्याएको थिएँ । आकर्षित गर्ने खालको थिएन । आकर्षित पनि कोही भएन । 

गाडीभित्र छौँ, गुडिरहेका छौँ भन्ने नै बिर्सिएर रमाएका हामी कमल सरको आवाजले ब्युँझिन्थ्यौँ । उहाँले ठाउँको चिनारी गराउँदा बल्ल हेक्का हुन्थ्यो, ‘ए हामी त यहाँ आइपुगेछौँ ।’ वातावरणमा कति–कति बेला मौनता आउँथ्यो । त्यतिखेर निर्मला मेम कमल सरका कुरामा खण्डन गर्नुहुन्थ्यो । यात्रालाई रमाइलो बनाउने— उहाँसँग बडो मज्जाको कला रहेछ ! गाला दुख्ने गरी हामी हाँस्न थाल्यौँ । बढी त म नै हाँँँँस्थेँ । त्यसरी हाँस्न मलाई धेरै कुरा चाहिँदैन । यसै पनि हाँसिरहन्छु । 

यात्रामा एउटा न एउटा प्रसङ्ग निकालेर हामी सबै बोलिरहेका हुन्थ्यौँ । सुनेको थिएँ, खगेन्द्र सर मानिस धेरै रौसे हुनुहुन्छ रे ! तर मैले जस्तो सुनेँ त्यो सत्य लागेन । हुन त आजको यथार्थ भोलि सत्य नहुन पनि सक्छ । उहाँ प्रायः चुपचाप रहनुभएको थियो । 

पूर्वेलीहरू गीत गाउन धेरै चाखिँदा रहेछन् । हाम्रो परिवारमा त्यस्तो गीत गाउने, नाच्ने कला भएको कोही छैन । मलाई रहर लाग्छ त्यस्तो होस् । अन्ताक्षरीमा शशि दिदी, व्यञ्जना मेम, निर्मला मेम अनि जय दाइको त्यो क्षमता, सङ्गीत प्रियता म थाहा पाउँदै हुन्छु । थोरै तर चोटिलो बोल्ने संयम गीतमा सहभागी हुँदैनन् । गोविन्द सर प्रायः निशब्द नै हुनुहुन्छ । टोलीसँग उहाँको गफ नमिलेर होला । बौद्धिक मान्छे बौद्धिक विषयलाई बढी रुचाउँछन् । साधारण कुरामा त्यो मन किन अडिन्थ्यो ? 

मलाई लाग्यो— जीवन त सामान्य हुनु नै ठिक छ । साधारण कुरामा पनि ऊ रमाउन सक्छ, भुल्न सक्छ निष्फिक्रीले । ठुला मान्छेहरूलाई औपचारिकताले नै ज्यादा खान्छ । अरूको दृष्टि आफूमाथि परिरहने हुँदा अनौपचारिक हुन उसले बिर्सिसकेको हुन्छ । संयम र सचेततामै ऊ अभ्यस्त भएको हुन्छ । 

लकडाउन, इन्टरनेट डायरी र यात्राको सन्दर्भ जोडिनुको एउटा अभिप्राय छ— म अहिले ‘फ्राइडे कन्फ्युजन’को अगाडि छु । अठारवटा कथाहरूको सङ्कलन गरिएको ‘फ्राइडे कन्फ्युजन’का लेखक यात्राकार उनै जयराज भट्टराई रहेछन् । हालै प्रकाशित प्रस्तुत कृति उनले मलाई उपहार गरे । भरे थाहा हुन्छ ‘इन्टरनेट डायरी’ यसै सङ्ग्रहमा समाविष्ट एउटा कथा रहेछ । 

उतिखेर कथा पढ्दा लेखकलाई पाठकीय अनुभूति सुनाउने जस्तो इच्छा थियो—त्यो कुरा मैले यात्रामा सुनाइनँ । बरु उनीमाथि थप अध्ययन गर्न पाएँ । त्यसो त उनीमाथि थप जिज्ञासु हुन आवश्यक थिएन । उनको बारेमा जान्नुको जरुरत पनि थिएन । तर होइन, स्रष्टा र उसको परिवेशलाई जानेपछि कृतिभित्र प्रस्तुत नगरेरै प्रस्तुत भएका अर्थहरू त्यस्तै लेखन अभिप्राय अरू थाहा पाउन सकिन्छ । त्यसमा अनेक अर्थ आविष्कार गर्न सकिन्छ । 

लेखक मनोविज्ञान बुझ्नु पनि समालोचकीय एउटा दायित्व हो । पुस्तकको बारेमा व्याख्या गर्नु बाहिरी आवरण हो भने त्यसको मर्म पहिल्याउनु आत्मालाई छुनु हो । त्यस आत्मालाई छुन लेखकीय स्वभाव अवगत हुँदा धेरै सहज हुन्छ । 

दमक क्याम्पसका युवा शिक्षक भट्टराईको त्यही पहिलो कथा पढेर उनको कथाकारिताप्रति म उत्सुक भएकी थिएँ । मलाई खुलदुली थियो, ‘कन्फ्युजन फ्राइडे’भित्र अरू कस्ता कथा होलान् ? किताबको शीर्षकले पनि म लोभिएकी थिएँ । friday confusion

त्यो यात्रामा लेखक भट्टराईलाई मैले जस्तो बुझेँ कृतिमा त्यस्तै केही पाएँ । उनमा एउटा हास्यचेत छ, त्यसले बेला बखत हँसाइरहन्छ । युवा पुस्ताका स्रष्टा केही नयाँ किसिमले प्रस्तुत हुनुपर्छ भन्ने चेतनाले कृतिलाई प्रभाव पारेको देखिन्छ । एउटा साहित्यिक संवादमा उनले भनेका थिए— अब उही पुरानो विम्ब र प्रतीक चलाएर, उही सोचाइले युवा साहित्यकार नवीन हुन सक्दैन । 

युगानुकूल बदलिन जान्नु जीवनको ठुलो कला हो । समय चेत भएका स्रष्टा एक दिन निश्चय पाठक प्रिय हुनेछन् । त्यो प्रियता आर्जनका लागि लामो साधना र धैर्य चाहिन्छ । त्यस्तै लेखनमा इमानदारी हुनु पनि पाठकीय मन जित्ने एउटा कला हो । प्रस्तावनामा भट्टराईले भनेका छन्, ‘मलाई यस्तो लाख्छ, मैले कथाहरूमार्फत नै आफ्ना भनाइहरू राखिसकेँ । पात्रहरूको मुखुण्डोभित्र लुकेर नाच्ने व्यक्ति म नै हुँ ।’

यसो भन्न सक्नु उनको इमानदारी र साहस हो । अब पाठकलाई कथा बुझ्न धेरै सरल भएको छ— प्रत्यक्ष अप्रत्यक्ष ‘कन्फ्युजन फ्राइडे’ लेखककै जीवन हो, उनको कथा हो, उनको भोगाइ हो । उनको परिवेशसँग, उनका कथाका केही पात्रसँग परिचित भएर पनि हुन सक्छ, म बेला–बखत हाँस्दै हुन्छु, घत पर्छ । बेलाबेलै उदास पनि हुन्छु । किनकि त्यो दुःखद परिस्थिति काल्पनिक होइन । माथि उनले यो कुरा स्विकारिसकेका छन् । 

भट्टराईका प्रायः कथा राम्रा छन्, अध्ययनीय छन् । केही मध्यम खालका पनि छन् । कति संस्मणात्मक शैलीका छन्, कुनै दीर्घ आकारका त कुनै बिचका छन् । केही कथालाई कथा नभनेर संस्मरणात्मक निबन्ध भन्न सुहाउनेछन् । प्रस्तुति ढाँचा निबन्धात्मक होस् या आख्यानात्मक आखिर त्यो जीवनको एउटा क्षण हो । ती कथा नै हुन्, जीवनका कथा । यथार्थ कथा । काल्पनिक रहेछ भने पनि आखिर त्यसले जीवन नै बोलेको हुन्छ । 

भट्टराईका कथा विविध पस्थितिमा रचिएका छन् । काठमाडौँमा व्यतीत म पात्रको कलेज जीवन, मधेसको जीवन र वैदेशिक रोजगारीका लागि कतार पुगेका पात्रहरूको दैनिकीले वर्तमान समयलाई नजिकबाट छोएका छन् । युवाहरू कठोर चुनौती र सङ्घर्षबीच जीवनको राग सुसेल्दै छन् । तर गुनासो, दुखेसो केही छैन । असन्तुष्टि पनि छैन । द्वेष र प्रतिशोध पनि छैन । एउटा कुशल द्रष्टाका रूपमा कथाकार उद्घाटित छन् । यस दृष्टिले हेर्दा उनी सकारात्मक चेतका सर्जक लाग्छन् । इच्छा विपरीत पस्थितिलाई विरोध होइन स्विकार्नु महानता हो । मैले उनका कथामा त्यही महानता भेटाएँ । 

दृश्यात्मक चित्र, परिवेशको सूक्ष्म चित्रण गर्न सक्ने भट्टराई । उनका कथामा एउटा भिन्न मिठास छ । पात्रको मनोजगत्लाई चित्रात्मक बनाउने शिल्प राम्रो छ । फ्राइडे कन्फ्युजनले एउटा सरकारी आधारभूत स्कूलभित्रको अनियमितता देखाउँदै, सरकारी कार्यालयमा हुने अस्पष्ट गतिविधि र कर्मचारीको अस्पष्ट चरित्रलाई व्यङ्ग्य गरेको छ । यस कथाका पात्र मात्रै होइनन्, लेखक स्वयं र पाठक समेत कन्फ्युज्ड भएका छन् । 

कथाकार भट्टराईमा कुतूहलता पैदा गर्ने शिल्प राम्रो छ । उनका कथा समाज विज्ञानको निकट रहेका छन् अर्थात् सामूहिक चेतनाले निर्मित छन् । मनोविज्ञानका अवधारणाले पनि उनका केही कथालाई बुझ्न सकिन्छ । मानव मनस्थितिको अवलोकन गर्नु कठिन कुरा हो । तर उनले गरेका छन् । त्यो ठिक छ । 

‘फ्राइडे कन्फ्युजन’का धेरैजसो कथा उत्कर्षमा पुर्‍याएर त्यसको अन्तिम निचोड पाठककै जिम्मामा छोडिएका छन् । श्रोताले कथालाई अब जसरी बुझ्न पनि सक्छ । आफ्नो खुसीले जसरी टुङ्ग्याउन पनि सक्छ । कल्पना भरेर त्यसलाई थप्दै जान पनि सक्छ । त्यसपछि के भयो होला ? कथाले उत्सुकतालाई मर्न दिँदैन । यस तत्त्वले पनि कृतिलाई केही समृद्ध बनाएको छ । 

युवा पुस्ताको चलन–चाँजो निकै दुरुह छ । त्यो मनोविज्ञान पनि जटिल छ । किसान परिवारको एउटा वयस्क ठिटो सहर पसेको छ । एउटी सुन्दरीको आकर्षणमा परेर आफ्नो आर्थिक अवस्था समेत ऊ भुलिदिन्छ । खर्चालु हुन्छ । प्रेम रचाउन भाँती–भाँतीका जुक्ति अजमाउँछ । फिल्म देखाउन लैजान्छ । भरे त्यही केटीले बिहेको निम्तो दिँदा अशान्त हुन्छ, अद्वेलित हुन्छ । घाइते ठिटाको कथाले यसरी युवा मनको अलमस्त स्वभावलाई चित्राङ्कन गरेको छ । 

यो अमूर्त प्रेम भन्ने चिजले मानिसलाई कसरी दुःख दिँदै आइरहेको छ । प्रेमको भयप्रद आनन्दमा मानिस शान्त हुन नसक्ने रहेछ । अज्ञात एवं सम्भावित त्रासले ऊ विचलित भइरहने रहेछ । प्रेम हुनुको अर्थ शायद यस्तै–उस्तै मनस्थिति सिर्जिनु होला । 

भट्टराईका केही कथामा कोभिड पसेर वातावरण विखण्डित भएको छ । क्षतविक्षत भएको छ । ‘इन द टाइम्स अफ कोरोना’मा एउटा दैनिकी छ, दैनिकी फेरिएको छ । आत्मरक्षाका लागि बन्धित हुनुपर्दाको त्यो सकस कति लामो छ । ‘अर्थपूर्ण बनाउन नसकिएको समय कोरल्नु नै जीवनको धर्म थियो । कोरोना टाइममा हामीसँग प्रचुर मात्रामा उपलब्ध जिनिस भनेकै समय त थियो,’ लेखक भन्छन्, ‘अरू केही थिएन ।’ 

घर बाहिर निस्किन निषेध छ । ‘महामारीको बेला स्वस्थ भइदिनु नै राष्ट्रको सेवा हो’ यस वाक्यले कति धेरै अर्थ राखेको छ । कति मार्मिक छ कुरा । लाचार परिस्थितिलाई लेखकले घोप्टे युगको नाम दिएका छन् । फुर्सदिलो भएर सुत्नु, बिरामी परेर सुत्नु, तनावले क्लान्त भएर सुत्नु, हंस उडेर सुत्नु, जसरी पनि सुत्नु, घरभित्रै अलमलिनुपरेको विवश स्थितिलाई घोप्टे युगको नामकरण गरिएको कति सुहाउँदो छ । ‘सत्य, द्वापर, त्रेता पछाडि कलियुग पनि सिद्धिएर हिजोआज घोप्टे युगको सुरुवात भएको छ (पृ–२३) ।’ यहाँनेर एउटा सानो त्रुटि भएको छ— सत्यपछि द्वापर युग होइन त्रेता आउँछ पहिला । 

‘ध्रुवचन्द्रका बा उँघ्छन्’मा पनि त्यो घोप्टे युग पसेको छ । ध्रुवचन्द्रका बाबु आमालाई सामान्य आदरार्थी शब्द प्रयोग गरेको भए अझ मिठास आउने थियो । पाको उमेरका तिनीहरूलाई ‘तँ’ भनिएको त्यति सुहाउँदो लाग्दैन । 

प्राक्कथनमा भूमिका लेखक आख्यान शिरोमणि डा. ध्रुवचन्द्र गौतम, आफ्नो नाम भएको कथामा भन्छन्, ‘पात्र ध्रुवचन्द्र जतिवटा पनि हुन सक्छन्, यसमा कुनै ध्रुवचन्द्रलाई पात्रको जामा पहिर्‍याउँदा उसकै नाम राखिदिनुभयो । पढ्दा मलाई रमाइलो लाग्यो, ध्रुवचन्द्रले ध्रुवचन्द्रको कथा पढ्दा । म पनि एउटा ध्रुवचन्द्र हुँ तर यति हो कि म भने यसरी उँघ्दिनँ । कथा भने राम्रो छ ।’

ध्रुवचन्द्रका बा उँघेको विषयले गौतमलाई अलि बढी नै मर्म पुर्‍याएछ क्यार ! आलेखको अन्तिम भनाइ त्यही कुरालाई जोडेर यसरी टुङ्ग्याउँछन्, ‘फ्राइडे कन्फ्युजनका कथाले आजको पुस्ता अझ भावी पुस्तालाई समेत प्रतिनिधित्व गर्न सकोस्, शुभकामना छ । नयाँले घुर्नु/उँघ्नु हुँदैन । लामो सडक छ, यात्रा लामो छ । हिँड्दै जानु दह्रो कलम लिएर— ‘आलातुल’ ।

कथाकार भट्टराईको शब्द छनोट गर्ने र त्यसलाई प्रस्तुत गर्ने शिल्प भिन्दै छ । जस्तो ः ध्रुवेकी आमा अचानक परलोक भएपछि त्यहाँ एक ठाउँमा भनिएको छ, ‘बाउले झँै दबाइ खाने मौका नपाई गई, मौका नदिई गई ।’ कति प्रतीकात्मक, बहुअर्थी छ यो भनाइ । त्यस्तै अर्को वाक्य छ, ‘यसरी ऋण गरेको घरमा ऋण गरेको टीभी हेर्दै ध्रुवको बाउ उँघ्नसम्म उँघ्यो (पृ–६३)।’

उनका कथामा यस्ता घतलाग्दा अभिव्यक्ति आइरहन्छन् । ती प्रीतिकर छन् । कथामा त्यस्तो ठुलो घटना केही हुँदैन । दैनिक जीवनका स–साना घटना–परिघटनाले लेखन अभिप्रायलाई सफल पारेका छन् । 

कति कथामा लेखक परोक्ष रूपले अभिव्यक्त भएका छन् । ‘अदृश्य’ शीर्षकको कथा अन्त्यमा रहस्यात्मक लाग्छ । कथाकारले के भन्न खोजेका हुन् ? कुन थिमले लेखेका हुन् ? अन्योल उत्पन्न गर्ने खालको छ । माईखोलाको किनारमा शवदाह गर्न ठिक्क पारिएको छ । म पात्र काँतर छ, शवदेखि डराउँछ । साथीसँग राखेको बाजी जित्नकै लागि ऊ शव हेर्न जान्छ । भरे त अघि पुलछेउमा संवाद गरिएको मानिस जस्तै शव देखेर ऊ त्रसित हुन्छ । संवाद गरिएको त्यो पुरुष पनि अचानक हराउँछ । त्यो कहाँ गयो ? त्यसलाई श्रोताहरूले आ–आफ्नै अर्थ लगाउन सक्छन् । मसँग भने त्यस घटनालाई टुङ्ग्याउने कुनै कल्पना छैन । म अलमलमा पर्छु । 

अर्को ठाउँमा भट्टराईले कथनको प्लट खोजिरहेका छन् । आफ्नो प्रेम कहानीमा आफैँलाई काल्पनिक पात्र बनाएर उनी श्रीमतीलाई सुनाउँछन् । श्रीमतीलाई थाहा हुन्छ, श्रीमान् अर्कैको प्रेममा परेका छन् । कथात्मक ढाँचा सुन्दर छ । यसले पुरुष जातिको प्रेम तृष्णा र धेरैसँग प्रेम गर्न रुचाउने प्रवृत्तिलाई देखाउँछ । लेखक अभिप्राय भने त्यो होइन । उनले यहाँ कथाकै लागि कथा लेखेको बुझिन्छ । कथाको संरचनात्मक स्वरूपलाई भिन्न बनाउन उनले अर्को प्रेम पात्र रचेका छन् । अझ भनौँ त्यो प्रेमले केही विचलन ल्याएको छैन । वातावरण खलबलिएको छैन । प्रेममा उत्पन्न हुने मानसिक छटपटी, संवेग, मिलनको व्यग्रता केही छैन । स्थिर छ, शान्त छ । भनेपछि त्यो साँच्चीको प्रेम होइन । कथा निर्माणकै लागि भनेर कल्पना गरिएको प्रेम । 

सङ्ग्रहका एक–दुई कथा साइबर साहित्यका छन् । डियर इन्टरनेट युजरलाई सम्बोधन गरी प्रारम्भ भएको ‘इन्टरनेट डायरी’ दैनिकी शैलीमा लेखिएको छ । यहाँ क्याफेका खानेकुराहरू पात्रसँग संवाद गर्न लाग्छन् । यसमा वर्तमानको ज्वलन्त दृश्य छ । म पात्र अनि अजिमा भाउजूको हुर्किंदै गएको अज्ञात सम्बन्धले कुतूहल उत्पन्न गर्छ । अब के हुने हो ? उता कमाइ गर्न खाडी गएको लोग्ने सम्भावित खतराबाट मुक्त हुन श्रीमतीलाई डेरा सर्न अह्राउँछ । 

समाजको विकृत अनि असङ्गत अवस्थाप्रति पनि कथाकार सचेत छन् । स्मित हास्य र व्यङ्ग्य मिश्रित चोर गोजीमा विसङ्गतिका कुरा छन् । त्यस्तै एउटा बाबु आफ्ना सन्तानप्रति कति चिन्तित हुन्छन् । यस कथाका पितामा म लेखककै बाबुको चरित्र देख्छु । वृद्ध भत्तामा पनि तिनै बाबु छन् । अनि बाबुकी आमा छिन् । एउटा नातिले आमैको स्मरणमा लेखेको कति जीवन्त कथा छ । यसलाई कथा भनौँ कि संस्मरण ? जेहोस् यस कथाका पात्रसँग परिचित हुँदा मैले यसमा अलि बढी नै हास्यचेत पाएँ । अरू पाठक यति नै नहाँस्न सक्छन् जति म हाँसेँ । किनकि ती चरित्र र परिवेशसँग परिचित हुँदा कथाकारले नभनेरै पनि त्यहाँ धेरै थोक दृश्य बनेर आएका छन् । नलेखिएको कुरा पनि देखिन थाल्छ, पाठक कल्पनामा । 

यहाँ स्रष्टाको लेखन उद्देश्य कथाका माध्यबाट वर्तमान समय र समाजलाई चित्राङ्कन गर्नु रहेको छ । तर विरोधको, असन्तुष्टिको स्वराङ्कन भने छैन । मूर्तता पाएको छ लेखन ध्येयले । उनी आफ्नो उद्देश्यमा सफल भएका छन् । ‘घोषणा’ त्यस्तै एउटा सामाजिक कथा हो । नेपालको राजनैतिक अवस्था र नेता कार्यकर्ताको जस्तो चरित्र छ त्यस्तै देखाइएको छ । यो सबैले बोलिरहेकै विषय हो । तथापि उनको शिल्पीले अलग जस्तो बनाएको छ । 

अरू पछिल्ला केही कथा वैदेशिक रोजगारमा गएका युवाको वास्तविकता रहेका छन् । पराय भूमिमा हाम्रा युवाहरूको दुःख, सङ्षर्घ, चुनौतीहरू अशेष छन् । कठिनाइहरू आइरहन्छन् । कारुणिक दर्दहरू अनायास उब्जिरहन्छन् । खाडीको जीवन कति सार्थक प्रस्तुति । जीवनकै महत्त्वपूर्ण समय र इन्द्रेणी सपना देख्ने यौवनिलो उमेर केही दाममा ती बेचिरहेका छन्, रेगिस्तानको भावरमा । 

‘जुनी काट्ने यात्रा’मा म पात्र कतार जाँदै छ । प्लेन सबै ऊ जस्तै युवाहरूले भरिएको छ । विगतका दिनहरू स्मरण गर्दै एउटा अनुभवी बताउँछ, ‘तपाईं महत्त्वपूर्ण मान्छे होइन । तपाईं हुनु नहुनुले कम्पनीलाई खास असर गर्दैन, (पृ–९९) ।’ 

भविष्यको जोहो गर्न पहिलोपल्ट प्लेन चडेको म पात्र त्यो अभिव्यक्तिले उदास हुन्छ, खिन्न हुन्छ । अनि त चहकिलो सपना घुर्मैलो हुन खोज्छ । ‘खाडी मुलुकमा जानु भनेको गधाको जुनी लिनु हो— त्यहाँ पुगेपछि चुपचाप सहनुपर्छ ।’ यस भनाइले हाम्रा दाजुभाइको कष्टपूर्ण स्थितिलाई मनन गर्न सकिन्छ । उफ ! कति कठोर छ त्यो भोगाइ । कति संवेदनशील पनि । 

‘खजुरबोटेको रङ्ग’ अघिल्लै कथाको क्रमिकता लाग्छ । पात्र गन्तव्यमा पुगेपछि त्यहाँको चुनौतीपूर्ण, सकसपूर्ण शब्द–चित्र निसासिने खालको छ । खजुरबोटेको रङ्ग एउटा नशालु पेय पदार्थ हो— त्यही नसाको मातमा प्रियसीलाई सम्झिन्छ छत्रे । रातभरि नशाले लठ्ठिएको ऊ दिनभरि आगाको लप्का जस्तो पठारमा पसिनाको धारा बगाएको दृश्यचित्रले मेरो मन अशान्त हुन्छ । त्यस कथामा म फेरि यस्तो केही काल्पनिकता थपिदिन्छु, दर्द सहेर अबोध भविष्यको रेखा कोर्दाकोर्दै उसको निद्रा टुट्न थालेको धेरै भयो । घरमा श्रीमती उसको मायालाई भुलेर अन्तै रमाउने भएकी छ, फुर्मास गर्ने भएकी छ । त्यति मात्रै होइन बैँस खेर गएको सम्झिएर एकदिन ऊ अन्तै बाटो मोडिदिन्छे । परदेशबाट फर्किँदा लोग्ने बेघरबार हुन्छ । नमज्जाले बिथोलिन्छ । टाट पल्टिन्छ । यति कुरा थप्दा म झन् बढी अधैर्य हुन लाग्छु । अनि त मलाई सह्य हुँदैन । 

अल्कोहल वर्जित मुलुकमा खजुरबोटेको रङग पिएको डल्ले एक दिन अचानक प्रशासनको आँखामा पर्छ । त्यसपछि कथानकमा ऊ गायब हुन्छ । उसलाई कहाँ लगिन्छ ? के गरिन्छ ? अनुत्तरित टुङ्ग्याइले कथाकारप्रति म रुष्ट हुन्छु । 

परदेशको ठाउँमा त्यसरी मात चढ्ने गरी नखाएको भए हुन्थेन ? म त्यस पात्रलाई प्रश्न गर्छु ।

मृत्यु सहेर परिश्रम गर्ने नेपाली युवाको श्रम शोषण जर्मन नागरिक एडोल्फले त गरेकै थियो । उसको प्रलोभनमा लालायित भएको चन्द्रेले आफ्नै मान्छेमाथि गरेको शोषण दुःखलाग्दो छ । ऊ अझै चालबाजी गर्दै छ, बडो विडम्बना लाग्छ । 

बेलुका सँगै सुतेको सुशील बिहान उठ्दा निष्प्राण भइसकेको छ । दाजुभाइको तनावग्रस्त, संकटपूर्ण मन विदीर्ण हुन्छ । त्यतिखेर तेस्रो मुलुकको नेपाली नागरिक भएर जन्मिनु नै एउटा अभिशाप जस्तो लाग्छ, ‘ऊ चिसो र दह्रो भइसकेको थियो । ऊ आँखा कहिल्यै नउघार्ने गरी निदाइसकेको थियो । बाइस वर्षे उमेरमै सधैँका लागि सबै सुखदुःखबाट बिदा लिइसकेको थियो (पृ–१२६) ।’

‘फ्राइडे कन्फ्युजन’मा पाठकलाई कुनै कन्फ्युज्ड छैन, कथा पठनीय छन् । युवा पुस्ताकै लागि रचिएका कथा हुन् यी । युवाकै प्रतिनिधि स्वर रहेका छन् यसमा, युवाकै पदचाप छन् यसमा अनि युवाकै भोगाइ रहेका छन् । पढ्दा भिन्न आनन्दको लाग्छ । अनेपाली शब्द जस्तो हिन्दी अझ धेरै अङ्ग्रेजी शब्द प्रयोगले कथामा मिश्रित सुवास थपेको छ ।
प्रायः कथाको अन्त्यमा राखिएको मितिले स्रष्टा जयराज साहित्यमा अभिप्रेरित भएको समय धेरै अघिदेखि रहेछ, थाहा हुन्छ । एकै समयमा, एकै मुडमा लेखिएका कथा यी होइनन् । विविध समयका छन् । प्रायः हाम्रो मान्यता हुन्छ—स्रष्टाको प्रथम कृति अपरिपक्व नै हुन्छ । किनकि साधना पुगेको हुँदैन । त्यस किसिमले कुनै स्रष्टाको पहिलो कृतिलाई एउटा समीक्षकले परिष्कृत छ भन्दा विश्वस्त हुन सक्दैनौँ । उसलाई आरोप लाग्छ सही मूल्याङ्कन गरेन भन्ने तर होइन । प्रकाशनका दृष्टिले उसको त्यो प्र्रथम कृति हुन सक्छ तर त्यसका लागि सर्जकले कति साधना गरेको हुन्छ त्यो अरूलाई थाहा हुँदैन । कोही साहित्यकारको प्रथम कृति सुन्दर रहेछ भने पनि हामी सुन्दर छ भन्न हिचकिचाउँछौँ । परन्तु सबै प्रथम कृति अपरिष्कृत हुन्छन् भन्ने होइन । त्यस्तै पछिल्ला कृति सबै राम्रा हुन्छन् भन्ने पनि छैन । पारिजातको ‘शिरीषको फूल’ प्रथम भएर पनि मदन पुरस्कार विजयी भएको थियो । प्रकाशनका हिसाबले त्यो प्रथम थियो तर लेखनका हिसाबले प्रथम थिएन । 

‘फ्राइडे कन्फ्युजन’ अपरिपक्व, अपरिष्कृत छ म भन्दिनँ । त्यस्तै यो स्तरीय छ पनि भन्दिनँ । बस्, यति भन्न सक्छु ‘फ्राइडे कन्फ्युजन’ अध्ययनीय छ । राम्रो छ । केही कमी–कमजोरी त भइरहन्छ । आगामी दिनमा त्यो परिष्कृत हुँदै जानेछ । साधनाले हुने कुरा हो । भोलिका दिनमा अझ पठनीय होस् स्रष्टालाई यही शुभकामना । 

अहिलेको साहित्यमा विशेषतः मूल्याङ्कन गर्ने भनेकै कला शिल्प, भाषा प्रस्तुति र विचारको हो । विषय जस्तो पनि हुन सक्छ । साहित्यमा विषय निश्चितता हुँदैनन् । स्रष्टाको लेखन विषयमा समालोचकले आफूलाई लागेका कुरा भन्न पाउँछ तर यो विषय ठिक छ यो ठिक छैन भन्ने अधिकार उसलाई छैन, यस विषयमा किन लेखिएन भन्ने अधिकार पनि उसलाई छैन । एक स्रष्टाले सम्पूर्ण विषय क्षेत्र कहाँ लेख्न सम्भव छ ? साहित्य निर्देशित विषय होइन । स्रष्टालाई जुन कुराले उद्वेलित गर्छ त्यही लेख्ने त हो नि । पुरुषवादी भएर लेख्यो, नारीवादी हुन सकेन भन्नु पनि एउटा विवेकहीन भनाइ लाग्छ । 

त्यस्तै अर्को कुरा अहिले साहित्यको कुनै विधा ‘विधा’ हुन छोडेको छ । विधाभञ्जन धेरै भएको छ । अधिभञ्जन भएको छ । गीत, गीत जस्तो नभएर संवाद जस्तो हुन पनि सक्छ । र्‍याप गीत शुरुमा हामीलाई गीत जस्तै लाग्थेन । अहिले गीतको नाउँमा त्यही बढी लोकप्रिय भएको छ । युवा पुस्ता त्यसैलाई ज्यादा रुचाउँछ । त्यस्तै कविता ठ्याक्कै कविता नहोला । जगदीश राणाको प्रयोगात्मक गद्य कविता सङ्ग्रह ‘नरसिंह अवतार’कै दृष्टान्त हेरौँ न । 

अनि विधागत संरचनाका आधारमा कृतिलाई ठिक भयो भएन भन्नु पनि छैन । बरु कृतिभित्रको रिक्तता खोज्ने, भर्ने काम थपिएको छ समालोचकलाई । अनि जति सकिन्छ समीक्षा समालोचनालाई शुष्कताबाट बचाएर साहित्यिक बनाउनु छ । पठनीय बनाउनु छ । पुस्तकको जानकारीमूलक, परिचयात्मक सूचना दिनु मात्रै समालोचनात्मक कर्म हुँदै होइन । 

लेखन कलात्मक हुनुपर्‍यो, हार्दिकतापूर्ण हुनुपर्‍यो, अर्थपूर्ण हुनुपर्‍यो, विचारपूर्ण हुनुपर्‍यो, लेखन उद्देश्यपूर्ण हुनुपर्‍यो । त्यही नै साहित्य हो ।
‘फ्राइडे कन्फ्युजन’लाई मैले यिनै दृष्टिकोणबाट मूल्याङ्कन गरेँ, हरेक कृतिको समीक्षा म यस्तै दृष्टिकोणले हेर्ने गर्छु । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अनिता पन्थी
अनिता पन्थी
लेखकबाट थप