बुधबार, ०२ माघ २०८१
ताजा लोकप्रिय
सरोकार

लोडसेडिङकै झल्को दिने गरी किन गइरहन्छ झ्याप्प–झ्याप्प बत्ती ?

मङ्गलबार, ०१ माघ २०८१, १९ : ००
मङ्गलबार, ०१ माघ २०८१

काठमाडौँ । काठमाडौँ उपत्यकामा बिजुलीको माग सामान्य अवस्थामा ४०० मेगावाट छ । चिसो बढेपछि हिटर, एसी, इलेक्ट्रिक गिजरजस्ता विद्युतीय उपकरण बढी चल्ने गर्छन् । यसले गर्दा विशेष गरी बेलुकाको समयमा बिुजलीको माग ४५० मेगावाटसम्म पुग्ने गरेको छ । 

  नेपाल विद्युत् प्राधिकरणले लोडसेडिङ नभएको बताउँदै आएको छ । तर प्राधिकरणले विना सूचना बेलाबेला केही मिनेटका लागि बिजुली काट्ने गरेको छ  । लोडसेडिङकै झल्को दिने गरी  झ्याप्प–झ्याप्प बत्ती जाने गरेको भन्दै उपभोक्ताले गुनासो गर्दै आएका छन् । यो समस्या राजधानीको मात्रै नभएर देशभरकै हो ।

एकै समयमा बिजुलीको माग अत्यधिक बढ्दा बेलाबेला ‘ट्रिप हुने’ अर्थात् बत्ती जाने समस्या देखिएको प्राधिकरणले जानकारी गराएको छ । प्राधिकरणका प्रवक्ता चन्दनकुमार घोषले भने, ‘एकैपटक अत्यधिक माग हुँदा कतिपय फिडर ओभरलोड हुन पुग्छन् । जसले गर्दा ओभरलोड भएर सिस्टम ट्रिप हुन्छ ।’ 

उनका अनुसार कतिपय स्थानमा पुराना ट्रान्सफर्मर फेर्दा पनि बत्ती जाने गरेको छ । ट्रान्सर्फमर फेर्ने कामका लागि केही समय बिजुली काट्ने गरिएकाले यसलाई सकारात्मक रूपमा सहयोग गर्न प्राधिकरणले अनुरोध पनि गरेको छ ।

नेपालका सबैजसो आयोजना नदी प्रवाहमा आधारित छन् । यसले गर्दा हिउँदयाममा खोलामा पानीको बहाव कम हुँदा बिजुली उत्पादन ७० प्रतिशतसम्म घट्ने गरेको छ । यो वर्ष झन् बाढीले क्षति पुर्‍याएका कारण ४५६ मेगावाटको माथिल्लो तामाकोशीबाट उत्पादन पूर्ण क्षमतामा नहुँदा केही समय झन् समस्या थपियो । 

पिक आवरमा देशभर करिब २१ सय मेगावाट विद्युत् माग हुने गरेको छ । नेपालको कुल विद्युत् जडित क्षमता चाहिँ ३२ सय मेगावाट छ । तर सुख्खायाममा कारण आधा उत्पादन क्षमता घट्दा माग र आपूर्तिबिचको तालमेल मिलाउन प्राधिकरणले भारतीय बजारबाट बिजुली खरिद गरिरहेको छ । 

यसरी माग बढी भएर बत्ती जाने समस्याको समाधान गर्न प्राधिकरणले सवस्टेसनहरूको क्षमता बिस्तार गरिरहेको प्राधिकरणको भनाइ छ । प्रवक्ता घोषले विद्युत् आपूर्ति प्रणाली चुस्त बनाउन विभिन्न ठाउँमा ट्रान्सफर्मर फेर्ने र फिडर लोड परिर्वतन गर्ने काममा केन्द्रित भएको बताए । उनले भने, ‘ओभरलोड हुने फिडरबाट त्यो लोड अर्को फिडरमा सार्ने काम भइरहेको छ । धेरै ठाउँमा नयाँ फिडर निर्माण भइसकेका छन् ।’ 

राजधानीको हकमा ललितपुरको गोदावारी, चापागाउँ, हरिसिद्धी, काठमाडौँको कीर्तिपुर, दक्षिणकाली, भक्तपुरको सूर्यविनायक लगायत स्थानमा नयाँ फिडर निर्माण भइसकेको छ । सबस्टेशनको क्षमता पनि बिस्तार गरिएको र नयाँ फिडरसमेत बनाएकाले बत्ती जाने समस्या निकै कम भइसकेको प्राधिकरणले जनाएको छ । 

नेपाल विद्युत् प्राधिकरण गुणस्तरीय विद्युत् प्रणाली निर्माणमा लागेको छ । यसका लागि वितरण प्रणालीमा पहिलो सुधार आवश्यक रहेको घोषको भनाइ छ । जसको लागि प्राधिकरणले ट्रान्सफर्मर फेर्ने, पोल फेर्ने, सबस्टेशनको क्षमता विस्तार गर्ने काम गरिरहेको छ । ट्रान्सर्फमरमा धेरै लोड पर्दा पड्किने समस्या धेरै हुने गरेपछि ‘लोड एनालाइसिस’ धेरै स्थानमा फेरिसकिएको प्राधिकरणको भनाइ छ । कतिपय स्थानमा नयाँ सवस्टेशन निर्माण समेत गरिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप