बुधबार, ०२ माघ २०८१
ताजा लोकप्रिय
थानकोट घटना

चन्द्रागिरिमा युवतीमाथि चक्कु प्रहार : आरोपीको बयान– विदेशबाट पैसा पठाउँथे, अहिले चिन्दिनँ भनिन्

युवक साउदीबाट फर्केपछि भएको थियो विवाद
मङ्गलबार, ०१ माघ २०८१, १६ : ००
मङ्गलबार, ०१ माघ २०८१

काठमाडौँ । काठमाडौँको चन्द्रागिरि नगरपालिका–३ स्थित थानकोटमा युवतीमाथि चक्कु प्रहार भयो । पुस २६ मा चक्कु प्रहारबाट दाङ घर भएर थानकोट बस्ने २७ वर्षीय सरु मगर घाइते भइन् । उनको अहिले ट्रमा सेन्टरमा उपचार हुँदै छ ।

चक्कु प्रहार गर्ने रोल्पाको गंगादेवी गाउँपालिका घर भएका ३५ वर्षीय चन्द्र बहादुर खत्रीलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान  गरिरहेको छ । उनीविरुद्ध ज्यान मार्ने उद्योग मुद्दामा अदालतबाट म्याद लिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले रातोपाटीलाई बताए ।

पीडित युवतीको घाँटीको पछाडिको भाग र अनुहारमा चोट लागेको छ । युवती र आरोपी पूर्व परिचित हुन् । 

चन्द्रबहादुर पाँच वर्ष साउदी अरबमा काम गरेर नेपाल फर्केका हुन् । सरुलाई आफूले विदेशबाट रकम पठाउने गरेको चन्द्रबहादुरले अनुसन्धान अधिकृतहरूलाई बताएका छन् ।

साउदीबाट फर्केपछि सम्पर्क गर्दा सरुले ‘चिन्दिनँ’ भनेपछि आवेशमा आरोपीले चक्कु प्रहार गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ । चन्द्रबहादुरले बयानमा भनेका छन्, ‘सरुसँग पहिलादेखि नै चिनजान थियो, मैले विदेशबाट रकम पनि पठाइरहेको थिएँ ।’

युवतीले ‘बेवास्ता’ गरेपछि उनीहरूको बिचमा विवाद भयो । थानकोट बजारमा सरुको बहिनीको तरकारी पसल छ । पसलमा उनलाई भेटेर आरोपीले चक्कु प्रहार गरे । 

घाइते सरुलाई सुरुमा सतुङ्गलस्थित मेड प्वाइन्ट अस्पतालमा लगिएको थियो । मेड प्वाइन्टले रिफर गरेपछि उनलाई ट्रमा सेन्टरमा भर्ना गरिएको छ । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप