थारु बस्तीमा नयाँ वर्षको उल्लास
धनगढी । पश्चिम नेपालका थारु बस्तीमा माघको उल्लास छ । थारु समुदायले माघे सङ्क्रान्तिलाई नयाँ वर्षको रूपमा मनाउने गर्दछन् ।
थारु समुदायमा आजदेखि (माघ १) नयाँ वर्ष सुरु भएको छ । थारु सम्वत् २६४८ को सुरुवात भएको हो ।
यो पर्वका अवसरमा हरेकका घरमा विशेष परिकार बनाएर खाने गरिन्छ । वर्षभरि टाढा रहने परिवारजन, आफन्तजन पनि यो पर्व मनाउन जमघट गर्छन् । मघौटा नाच र ढमार गीतले बस्ती गुञ्जयमान छन् । ठाउँमा–ठाउँमा लाग्ने माघी मेलामा बालकदेखि वृद्धवृद्धासम्मको लस्कर देखिन्छ ।
ईश्वी सम्वतमा ६२३ जोड्दा भगवान बुद्धको जन्म मिति आउँछ । थारू समुदायको नयाँ वर्ष (माघ पर्व)भन्दा भगवान् बुद्ध ३ महिना २७ दिनपछि जन्मिएको मान्यता रहेको थारु संस्कृतिका जानकार तथा प्राध्यापक कनैलाल चौधरी बताउँछन् ।
माघ १ गते नजिकैको नदी, तलाउ, पोखरी, दहमा श्रद्धापूर्वक नुहाउने र आ–आफ्नो आफन्त, इष्टमित्रहरूसँग भेटघाट गर्ने, ठुलाबाट आशीर्वाद लिने र सानालाई आशीर्वाद दिने प्रचलन छ । मकर संक्रान्तिका दिन नुहाउनाले वर्षभरि गरेको पाप वा नराम्रो काम, कुकर्म पखालेर जाने र पूण्य प्राप्त हुने धार्मिक जनविश्वास छ ।
बस्ती प्रमुख छनोट
माघीको तेस्रो दिन (माघ २ गते) ‘खिच्रहवा’ भनिन्छ । यही दिनदेखि माघी देवानी तथा खोजनी बोजनी हुने थारु बुद्धिजीवीहरू बताउँछन् । थारु नागरिक समाज कैलाली संयोजक दिलबहादुर चौधरीका अनुसार माघ पर्वको तेस्रो दिनदेखि गाउँ–गाउँमा नयाँ नेतृत्वकर्ता एवं भल्मन्सा, बरघर, देशबन्धिया, अघरिया, भर्रालगायत चयन गर्ने या अनुमोदन गर्ने गरिन्छ । यसरी नेतृत्व छान्ने कार्यलाई ‘माघी देवानी’ भनिन्छ । यस्तो प्रचलन दाङदेखि पश्चिम कञ्चनपुर जिल्लासम्म छ ।
एउटा परिवारका सबै सदस्यहरू एकजुट भइ आगामी दिनमा पारिवारिक गतिविधि कसरी अगाडि बढाउने भन्नेबारे पनि छलफल हुने गर्दछ । यसलाई ‘खोजनीबोजनी’ भनिन्छ ।
‘खोजनीबोजनीमा अघिल्लो वर्ष परिवारले गरेको गतिविधि, आर्थिक हरहिसाबबारे छलफल हुने गर्दछ’, संयोजक चौधरीले भने, ‘छलफलबाट अगामी दिनका लागि परिवारको योजना तर्जुमा हुने गरेको छ ।’
यसैबिच थारु बस्तीमा बुढापाका, तन्नेरीहरू मिलेर ‘मघौटा नाच’ नाच्ने गर्दछन् । अचेल माघीको गीतलाई ठट्यौली पारामा ‘माघ लहैली सुरिक सिकार खैली रे हाँ, सखिये हो माघक् पिली गुरीगुरी जाँर’ गाउँदै युवाले नाचगान गर्ने चलन पनि छ ।
स्वतन्त्रता र स्नेहको पर्व
पश्चिमतिर प्रचलनमा रहेको कमैया, कमलरी प्रथासँग पनि यो पर्वको सम्बन्ध छ । हाल कमैया, कमलरी प्रथालाई सरकारले नै प्रतिबन्ध लगाए पनि उहिले माघ पर्वपछि नै प्रायः कमैया, कमलरी बस्ने प्रचलन थियो ।
यद्यपि, जुनसुकै बेला कमैया, कमलरीका लागि अनुबन्धित भएका व्यक्तिहरू माघी पर्व आएपछि मात्रै छुटकारा पाउने गरेको कारणले यसलाई स्वतन्त्रताको पर्वसमेत भन्ने गरिएको छ ।
माघलाई स्नेह र भ्रातृत्वको प्रतीकको पर्वको रूपमा समेत लिइन्छ । माघ १ गते आमथारुले नुहाएपछि श्रद्धापूर्वक सुप्पामा राखिएको अन्न छुने गर्दछन् । जसलाई थारु समुदायमा ‘निसराउ कहर्ना’ भनिन्छ । जसमा चामल थप गरेर आफ्ना विवाहित चेलीहरूलाई कोसेली स्वरुप प्रदान गरिने प्रचलन रहीआएको हो ।
कैलालीको घोडाघोडी नगरपालिका थेवैका स्थानीय तथा थारु अगुवा ठाकुरप्रसाद करियाप्रधानले निसराउ दिने प्रचलनलाई दाजुभाइ र दिदीबहिनीबिचको प्रेमको प्रतीकका रूपमा लिने गरेको बताए ।
उनले भने, ‘यो संस्कृति उहिलेदेखि चल्दैआएको छ । यसमा हाम्रा विवाहित चेलीहरू आफ्नो सुसुराल घरमा भोकै छन् कि ? समस्यामा छन् कि ? सानो उपहारको भेटी दिन जाने र सुख–दुःख बुझ्ने माध्यम पनि हो । माया प्रेमको कोसेली पनि निसराउ हो ।’
निसराउको रूपमा चेलीहरूलाई नगद, लुगाकपडा पनि दिँदै आएको उनको भनाइ छ ।
नेपाली लोकवार्ता तथा संस्कृति समाज काठमाडौंद्वारा प्रकाशित थारु लोकवार्ता तथा लोकजीवन पुस्तक (२०६५) मा माघ महिनाको पहिलो दिन निसराउ कहर्ना प्रचलनलाई लोक संस्कृति र संस्कारको रूपमा अर्थ्याएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : अध्याधेशमा राष्ट्रपतिको असन्तुष्टि, मोर्चाबारे अलमलमा झलनाथ
-
‘बाइरो तेस्रो अल ब्रिड च्याम्पियनसिप डग शो’को तयारी पूरा
-
ओलीको आलोचना गर्दा एमालेमा अर्का नेता पनि कारबाहीमा
-
अध्यादेश फिर्ता लिन माग
-
विपिनको रिहाइबारे परराष्ट्रमन्त्रीद्वारा इजरायली विदेशमन्त्रीसँग पनि फोनवार्ता
-
दुर्घटनामा परेर उच्च अदालत पाटनका न्यायाधीश रेग्मी घाइते