सामन्तवादकै दलदलमा देश
कम्युनिस्ट प्रचलनमा राजनीतिक कार्यदिशाले माग गरेअनुसार संगठनात्मक सिद्धान्त बनाउनुपर्छ । राजनीतिक सिद्धान्तअनुरूप संगठनात्मक सिद्धान्त हुनुपर्छ । नेपालसहित संसारभर चलन के छ भने लेनिवादी संगठनात्मक सिद्धान्त रहेको छ । यो सिद्धान्त पृथक् अटोनमस होइन । लेनिनको राजनीतिक कार्यदिशा, क्रान्तिकारी सिद्धान्त, राजनीतिक सिद्धान्तअनुरूप संगठनात्मक सिद्धान्त विकास गरेका हुन् ।
त्यति बेला एउटा प्रणाली थियो । सर्वहारा वर्गको अग्रदस्ता, त्यही अग्रदस्ताको नेतृत्वमा बल प्रयोग गर्ने, हिंसात्मक क्रान्तिपछि सर्वहारा वर्गको अधिनायकत्वको एउटा प्रणाली छ । त्यसमा जान संगठन चाहियो । कस्तो संगठन बनाउने त भनेर लेनिन, रोजा, एन्टोन प्यानकोभजस्ता माक्र्सवादीको बिचमा बहस चलेको थियो । हामीे त्यसमा प्रवेश गर्नुभन्दा पहिले लेनिनले विकास गरेको जुन प्रणाली छ त्यो हिंसात्मक क्रान्ति, सर्वहारा अधिनायकत्वलाई छाडिदिने अनि संगठनात्मक सिद्धान्त लेनिनकै बनाउँछौँ वा जनवादी केन्द्रीयतालाई अपनाउँछौँ भन्ने गरिन्छ । त्यो मिलेन । विरोधाभाषी भयो ।
लेनिन के भन्छन् भने पूर्वतिर (तेस्रो विश्व) लाग्दा त्यहाँका कम्युनिस्ट पार्टीले आफ्नै संगठनात्मक सिद्धान्त बनाउनुपर्छ । नेपालमा कहिल्यै पनि संगठनात्मक सिद्धान्तको बारेमा छलफल भएन । सबैले जनवादी केन्द्रीयता भन्ने । अझ कस्तोसम्म स्थिति आयो भने म केन्द्रमा हाबी हुँदा केन्द्रीयता ठीक हुन्छ । किनकि, म क्रान्तिकारी हुँ । म अल्पमतमा परेँ भने जनवाद प्रधान हुन्छ । किनकि, म क्रान्तिकारी हुँ । मलाई पहिला क्रान्तिकारी मान्नोस् । मेरो स्थिति हेर्नोस् । म अल्पमतमा हुँदा विद्रोह गर्नु पनि अधिकार हो । त्यहाँ जनवाद प्रमुख हुन्छ । कदाचित् म केन्द्रमा छु भने केन्द्रीयता प्रधान हुन्छ भन्ने खालको भयो नेपालमा ।
सबैभन्दा दुःखद् कुरा, नेपालमा कुनै पनि कम्युनिस्ट पार्टीले विद्यमान व्यवस्था फेर्ने कार्यक्रम ल्याएका छैनन् । अहिलेको जुन राजनीतिक आर्थिक व्यवस्था छ यो पुँजीवादी हो । बन्न नसकेको पुँजीवादी । समाज पछौटे भएकाले त्यो पुँजीवादमा सामन्तवाद पनि छ । नेताहरूको व्यवहार, संस्कार, चलन हेर्नुभयो भने पुँजीवाद पाउनुहुन्न । पूरै सामन्तवादी छ । नातागोता, जातभात, धर्म सबै अपनाउने खालको छ । यसलाई कसैले दलाल पुँजीवाद भन्छन् । कसैले के भन्छन् । त्यसकारण यो पुँजीवाद हो ।
पुँजीवादलाई फेर्ने कार्यक्रम तपाईंसँग छैन भने संगठन पनि त्यस्तै हुन्छ । नेताहरूले यथास्थितिमै वेलफर स्टेट (कल्याणकारी राज्य)को धारणा ल्याएका छन् । पुँजीवाद अन्तर्गतका राज्य स्विडेन, नर्वेमा एक जमाना थियो । ध्वस्त भइसक्यो । त्यो जमानामा कम्युनिस्टहरूको मार्च थियो । त्यसलाई रोक्न पुँजीवादले कन्सेसन दिने कुरा गरेको थियो । मजदुरलाई कन्सेसन दिने जुन व्यवस्था हो कल्याणकारी राज्यको कुरा गरेर व्यवस्थाको विरोधी भएको ।
साँच्ची नै हामीले यो समाजलाई फेर्ने हो र शिक्षा, स्वास्थ्य, कृषिलाई समाजवादी बनाउने हो भने त्यहीअनुसार पार्टी चाहिन्छ ।
समाजवाद, साम्यवाद ल्याउने खालको कुरा गरिराखेका छन् । यहाँको शिक्षा व्यवस्था के हो ? यातायातको व्यवस्था के छ ? कृषिको व्यवस्था के छ ? औद्योगिक नीतिहरू कसरी चलेका छन् ? यी तमाम कहीँ पनि समाजवादी छैन । सार्वजनिक जग्गा पुँजीपतिलाई सुम्पिएका छन् । त्यहाँबाट कमिसन खाएका छन् । आकाश, पानी, जमिनमा सौदा भइराखेको छ । यस्तो सौदा गर्ने पार्टीहरू रहुन्जेल तिनको संगठनात्मक सिद्धान्त मनलाग्दी हुने भयो । साँच्ची नै हामीले यो समाजलाई फेर्ने हो र शिक्षा, स्वास्थ्य, कृषिलाई समाजवादी बनाउने हो भने त्यहीअनुसार पार्टी चाहिन्छ ।
अब त्यो पार्टी कस्तो हुन्छ ? पार्टी भनेको स्वाभाविक रूपमा स्वेच्छिक रूपमा लाग्ने हो । पछि त्यहाँ बाँधिँदै जान्छ । समाजमै जाँदा तपाईंले थुप्रै स्वतन्त्रता बलि चढाउनुपर्ने हुन्छ । नत्र सामाजिक बन्न सक्नुहुन्न । अहिले एउटा मान्छे नांगै हिँड्यो भने समाजले छिःछि र दुरदुर गर्छ । घरका मान्छेले त्यसरी कहाँ हिँडेको भन्छन् । यसको मतलब उसलाई स्वतन्त्रता छैन । समाजले मर्यादाको एउटा रेखा कोरेको छ । त्योभन्दा बाहिर जाने अवस्था छैन ।
तपाईं पार्टीमा लाग्नुहुन्छ भने कतिपय स्वतन्त्रता बलि चढाउनुपर्छ । पछि गएर बाध्यता बन्न जान्छ । उसलाई मान्न मन छैन । तर, मानेर बस्नुपरेको छ । अहिले विभिन्न पार्टीका नेता तथा कार्यकर्तालाई गएर व्यक्तिगत कुरा गर्नोस् । पूरै विरोधमा बोल्छ । तर, पार्टी छाड्दैन । किनकि, उसको अर्को विकल्प छैन । बानी पर्दै गएपछि दाम्लो पनि प्यारो हुन्छ ।
रोजा लक्जम्बर्गले भनेकी छन्– ‘जबसम्म तिमी हिँड्न कोसिस गर्दैनौ तबसम्म तिमी बाँधिएका छौ भन्ने थाहा हुँदैन ।’ त्यसकारण पहिला समाज फेर्ने राजनीति चाहियो । अहिलेको व्यवस्थालाई फेर्ने कार्यक्रम चाहियो । त्यो कार्यक्रम सुहाउँदो संगठन चाहियो । त्यो संगठन कस्तो होला भन्ने एउटा व्यक्तिले भन्न सक्ने विषय होइन ।
हामी छलफलका लागि केही भन्न सक्छौँ । निरंकुश जारशाही भएको बेलाजस्तो लेनिनको संगठन अब हुँदैन । लेनिनकै स्पिरिटमा रोजा, ग्राम्सीका शिक्षा, माओका शिक्षालाई पनि लिएर एउटा संगठनात्मक सिद्धान्त विकास गर्नुपर्छ । त्यो रातारात बन्दैन ।
नेपालमा स्वाभाविक रूपमा केन्द्रीयता नभई जनवाद प्रमुख हुन्छ । अग्रदस्ता पनि अब लुम्पेनहरू, अर्ध सर्वहाराहरू हामीले मानौँ वा नमानौँ अर्ध सर्वहाराहरू कम्युनिस्ट पार्टीमा खुब अगाडि आए । अब समाजको विलक्षण पढे–लेखेका, तेजतराज आउनुपर्छ । ती आउने कार्यक्रम चाहिन्छ । अबको भेंगाड बीएमा ६ पटक फेल भएको, आईए छाडेका, आठ कक्षा मात्र पढेको, त्यसमा गौरव गर्ने त्यस्तो होइन ।
हामीले पार्टीको ढाँचा र नीति बनाउँदैमा कृषिमा सबैभन्दा राम्रो गरेको, शिक्षा, स्वास्थ्य, मजदुरको फाँटमा सबैभन्दा सिर्जनशील, सबैभन्दा प्रतिभाशाली विद्यार्थी, महिलामा सबैभन्दा विलक्षण पूरै पुरातन सोचबाट बाहिर निस्केको, त्यस्ता मान्छेहरूको पार्टी हुनुपर्यो अब ।
भौतिक विज्ञानले यसरी उन्नति गरेको छ कि यससँग तादात्म्य राख्ने राजनीतिलाई अगाडि बढाउन मानविकीलाई अगाडि बढाउन अबको अग्रदस्ता साँच्चीकै अग्रदस्ता हुनुपर्छ । लेनिनको पार्टी बोल्सेभिकमा रुसी समाजका असाध्यै प्रतिभाशाली मान्छेहरू थिए । उनीहरूले सेना, किसान, मजदुर सबैलाई परिचालन गर्ने कुरा एउटा हो । जुन भेंगाडको टिम थियो लेनिन, अलेक्जान्डर बाग्दानाभ कतिपयले लेनिनभन्दा प्रतिभाशाली थिए भन्थे उनलाई । कामिनियोभ, नियोनेदेभ, ट्रस्की, बुखारिन थिए ।
अबको सामाजिक–राजनीतिक आन्दोलनलाई अगाडि बढाउन सबैभन्दा प्रतिभाशाली मान्छे पार्टीको केन्द्रमा आउने नीति हुनुपर्छ । कहीँ पनि काम लागेन, राजनीतिमै जा भन्ने सोचले अगाडि बढ्दैन । परिवारमा जो–जो बिग्रिएका छन् त्यसलाई राजनीतिमा पठाइदियो भने सच्चिन्छ कि भन्ने सोच देखिन्छ । बिग्रेको मान्छे राजनीतिमा लाग्ने हो भन्ने सोचले समाज गाँजिएको छ ।
हामीले पार्टीको ढाँचा र नीति बनाउँदैमा कृषिमा सबैभन्दा राम्रो गरेको, शिक्षा, स्वास्थ्य, मजदुरको फाँटमा सबैभन्दा सिर्जनशील, सबैभन्दा प्रतिभाशाली विद्यार्थी, महिलामा सबैभन्दा विलक्षण पूरै पुरातन सोचबाट बाहिर निस्केको, त्यस्ता मान्छेहरूको पार्टी हुनुपर्यो अब । पहिला त के भयो भने एउटा अड्बांगे मान्छे छ जसलाई ‘कोक्ल्याँटो’ भनिन्छ । उसलाई नेताले उहाँजस्तो एउटा दृढ मान्छे, उसको कोक्ल्याँटोपनलाई दृढता भन्ने गर्छन् । कोही बाउलाई नटेरेर रक्सी खाएर हिँड्छ भने सामन्तवादविरुद्धको विद्रोही भन्दिने । यो तालले बनाएको संगठनले अबको समाजलाई हाँक्न सक्दैन ।
संगठन स्वाभाविक रूपमा भेंगाड चाहिन्छ । त्यो भेंगाड सर्वहाराको वर्गीय इन्सेन्सलाई बुझेको हुनुपर्छ । सर्वहारा वर्गले नै यसलाई अगुवाइ गर्न सक्छ भन्ने माक्र्सवादी सोच हो । यसको मतलब सम्पत्तिलाई उसले कसरी हेर्छ ? मान्छे जन्मेको छ एकदम गरिब घरमा तर उसको चाहना जहिल्यै धन सोहोर्ने, ठेक्कापट्टा गर्ने खालको छ भने त्यसलाई सर्वहारा वर्ग भन्न सक्नुहुन्न । धेरैले भन्ने गर्छ त यस्तो परिवारबाट आएका भनेर ।
अहिलेको राजनीतिक घटनाक्रममाथि तपाईंको दृष्टिकोण के हो ? त्यसले उसको वर्ग निर्धाण गर्छ । ऊ कहाँ जन्मेको थियो भन्ने कुराले होइन । अहिले करेस्पोडिङ कन्ट्राडिक्सन देखिएको छ । अहिले चलिरहेको जुन अन्तर्विरोध छ त्यसमा उसको कस्तो धारणा छ ? त्यसलाई उसले कसरी हेर्छ ? कसरी बुझ्छ ? कसरी आफ्नो जीवनमा लागू गर्छ ? त्यसको आधारमा सर्वहारा वर्ग निश्चित हुने हो ।
लेनिन त कुनै सर्वहारा परिवारमा जन्मेका व्यक्ति होइनन् । माक्र्स त कुनै गरिब कंगाल घरमा जन्मेका त होइनन् । उनीहरूलाई सर्वहाराका गुरु वा नेता भन्छन् । यसबाट स्पष्ट छ कि सर्वहारा हुन गरिब घरमै जन्मनुपर्छ भन्ने छैन । अहिले पनि सर्वहारा वर्गले नै अगुवाइ गर्छ । अब सर्वहाराको छनोट गर्दा पुरानो तरिकाले होइन ।
हामीमा गरिब, खान–लगाउन नपुग्ने परिवारबाट आएका छन् भने त्यसलाई क्रान्तिकारी मानिहाल्ने चलन छ । ऊ आफ्नो चेतना, व्यवहारले सर्वहारा बनेको हुनुपर्छ । त्यो मान्छे मेडिकल कलेजमा असाध्यै राम्रो मान्छे पनि हुन सक्छ । इन्जिनियरिङमा काम गरेको, युनिभर्सिटीका प्रोफेसर पनि हुन सक्छ । वा समाजविज्ञानको कुनै पनि क्षेत्रमा काम गरेका असाध्यै राम्रा व्यक्ति पनि हुन सक्छन् । प्राकृतिक क्षेत्रमा काम गरेका प्रतिभाशाली, मजदुर, किसान वा जुनसुकै क्षेत्रमा असाध्यै राम्रो मान्छे हुन सक्छ । उसको धारणालाई विकसित तुल्याउन सक्नुपर्छ ।
नेपालमा जुन विद्यमान व्यवस्था छ यसलाई फेर्ने हुनुपर्छ । यसलाई समर्पण गर्ने होइन कि फेर्ने हुनुपर्छ । यसलाई समर्पण गरेर पार्टी बनाउने, धन बनाउने जुन अभियान चलिराखेको छ त्यसलाई विराम दिने राजनीतिक शक्ति आवश्यक छ । नत्र भने पार्टी खोल्लान्, सरकार फेरिएलान् । तर, नेपाली समाज टसको मस अगाडि बढ्न सक्दैन । समाज झन् पछाडि धकेलिन्छ ।
- अबको पार्टी मास–बेस्ड कि क्याडर–बेस्ड ?
पेसेवर क्रान्तिकारी जिल्लामा दुईदेखि पाँच जना हुँदा हुन्छ । अधिकांश दुई जना पेसेवर हुँदा हुन्छ । अरू आफ्ना काम गर्छन् । पार्टीलाई आवश्यक परेको बेला सहयोग गर्छन् । त्यो सबै जनतालाई सेनाको तालिम दिएजस्तै हुन्छ । आवश्यक पर्दा सबै बन्दुक लिएर आउँछन् । अरू बेला उनीहरू आफ्नो काम गर्छन् ।
हामीलाई पनि सिल्पिङ सेल चाहियो । जिल्लामा जम्मा दुई जना मात्र देखापरेको छ । जस्तैः गुल्मीमा हामीले काम गरिरहेका छौँ । त्यहाँ दुई जना मात्रै पेसेवर कार्यकर्ता छन् । तर, आवश्यक पर्दा ती सेलबाट जनशक्ति आपूर्ति हुन्छ । अहिले यस्तै संगठन चाहिन्छ । त्यसकारण स्वाभाविक रूपमा सदस्य दुई खालकै बनाउनुपर्छ । एउटा पूर्णतः पेसेवर क्रान्तिकारी । त्यसको संख्या बढाउनुहुँदैन । समाजलाई बोझ हुन्छ । ऊ आफू केही कमाउँदैन । ऊ अरूकै श्रममा बाँच्ने हो । त्यसकारण दुईभन्दा बढी संख्या बढाउनुहुँदैन । परजीवीको फौज बनाउने काम गर्नुहुँदैन । यो मेरो प्रस्ताव मात्र हो ।
यी विषय लाखौँ कार्यकर्तासँग बसेर छलफल गर्नुपर्यो । सबैको विचार सुन्नुपर्यो । कति जना चाहिन्छ ? कति जना पाल्न सकिन्छ ? फेरि उसलाई यो अनुभूति हुनुभएन कि यहाँ बस्नेले बेस्सरी खटेका छन् । काम गरेका छन् । पार्टीको नेता मचाहिँ छोडेको छु भन्ने पनि हुनुभएन । यसलाई रोटेसन गर्न पनि सकिन्छ । केन्द्रमा सानो चुस्तदुरुस्त राजनीतिक ब्युरोको टिम बनाउन सकिन्छ । जसले संयोजन गर्छ । ऊ बढीमा एक वर्ष काम गर्नुपर्छ । बढीमा एक वर्षभन्दा बढी मुख्य ठाउँमा रहनुहुँदैन । एक वर्ष भएपछि ऊ बिदा भइहाल्नुपर्छ । तब न त्यो सिस्टममा चलेको छ भन्ने बुझिन्छ ।
अब नेपाल फेर्ने राजनीतिक कार्यक्रमसँगै संगठनात्मक सिद्धान्त अपरिहार्य छ । तब मात्रै नेपाल अगाडि बढ्न सक्छ ।
ऊ नभई चल्दै चल्दैन भन्यो भने संगठन सिस्टममा छैन । प्रणाली विकास भएको छैन । रोकिएको छ । अहिले पनि धेरैले कम्युनिस्टतिर औँला सोझ्याउँछन् । स्टालिन मर्नासाथ रुस बिग्रने, माओ मर्नासाथ चीन बिग्रने भयो भने व्यक्तिमा अडिएको छ भन्ने बुझिन्छ । सिस्टममा त अडिएको रहेनछ । नेपालमा पनि नेतृत्व बिराम भएसँगै पार्टी नै बिरामी हुने । खरानी धसेर जोगी भएर हिँडे पार्टी नै जोगी हुने । त्यस्तो त हुनुभएन ।
तपाईंले अघि भनेको शत्रुसँग म सहमत छैन । अहिलेजस्तो शत्रु को छ ? शत्रु नै शत्रु छन् । अहिले हामी हाम्रै शत्रु छौँ नि ! शत्रु खोज्न बाहिर जानुपर्दैन । घरभित्रै छ । शत्रुचाहिँ बढेको छ । खालि हेर्ने दृष्टिकोण २०५२ सालको लिएर हेर्यो भने आफ्नो पंक्तिभित्र के देख्छन् अहिले ? २०३२, २०३४, २०३५ सालको मालेको दृष्टिकोण लिएर एमालेभित्र हेर्ने हो भने के देखिन्छ ?
त्यसकारण शत्रुले त ओभर पावर्ड नै भयो । अब नेपाल फेर्ने राजनीतिक कार्यक्रमसँगै संगठनात्मक सिद्धान्त अपरिहार्य छ । तब मात्रै नेपाल अगाडि बढ्न सक्छ । नेपाल प्रगतिको दिशामा अगाडि बढ्न यो अनिवार्य सर्त हो । नत्र अराजकहरू जन्मिराख्ने, समाजविरोधी जन्मिराख्ने, यस्तै हाहाकार भइराख्ने, प्रतिभाशाली मान्छे भाग्ने भइराख्छन् । कम्युनिस्ट पार्टीले यसलाई विराम दिन सक्नुपर्छ ।
- कम्युनिस्ट मुलुकमा के छ अवस्था ?
लेनिनले नै भनिसकेका छन्– आफ्नो देशमा आफ्नो कार्यदिशा र त्यहाँको विशेषताअनुसार जानुपर्छ । जस्तैः भारतलाई बुझ्न इन्डोलोजी भन्ने विकास भयो । कतिपयले नेपालको जातीय, लंैगिक, भाग्यवाद, समस्यालाई हेर्न इन्डोलोजीबाट हेर्ने गर्छन् । तर, हाम्रो नेपोलोजी नेपाललाई हेर्ने शास्त्र विकास भएको छैन । राजनीतिक सिद्धान्तका पनि केही युनिभर्सल पक्ष छन् । जो संसारभर लागू हुन्छ । वर्ग संसारभर छ । वर्ग संघर्ष संसारभर छ । तर, देश–देशका स्थिति फरक–फरक छन् । हरेक समाजका स्थिति फरक–फरक छन् । त्यो स्थितिमा युनिभर्सल स्थिति समाउँदै नेपालले आफैँ विकसित गर्नुपर्छ ।
चिनियाँ कम्युनिस्ट पार्टीमा कस्तो छ संगठन भन्दा जनसंख्याका आधारमा धेरै ठूलो संगठन छैन । उसको स्थायी समिति नै पाँचदेखि सात जनाको छ । हाम्रो गल्लीपिच्छे स्थायी समिति सदस्य भेटिन्छन् । त्यसकारण चिनियाँ कम्युनिस्ट पार्टी अहिले पनि क्याडर–बेस्ड छ । ल्याटिन अमेरिकामा विभिन्न स्थानीय संगठन आन्दोलनमा छन् । त्यस्ता ग्रासरुट संघ पनि आन्दोलनमा समाहित भएका हुन्छन् । सबैलाई सदस्य बनाउँदैनन् त्यहाँ । पार्टी पनि चलिराखेका छन् । तर, त्यो पार्टीमा ग्रासरुट संगठन आएर मिसिन्छन् । तिनले आन्दोलन गर्छन् । जनवर्गीय संगठन स्वायत्त छन् । आफू आफैँ चलिराखेका छन् ।
स्वाभाविक रूपमा दुई जना पेसेवर क्रान्तिकारी हुन्छन् । आदर्श बन्न सक्नुपर्छ । त्यसले मासलाई मोबिलाइज गर्ने ढंगले जानुपर्छ ।
त्यसैले मेरो राय पटक–पटक पार्टीमा पनि राखेको छु । हाम्रो पनि किसान, मजुदर र महिलालाई कज्याउन हुँदैन । स्वायत्तता दिनुपर्छ । उनीहरूले आफ्नो कार्यक्रम आफैँ बनाउने, नीति आफैँ बनाउने र नेतृत्व आफँै चुन्ने हुनुपर्छ । उनीहरूसँग खालि राजनीतिक र वैचारिक सम्बन्ध मात्र रहोस् पार्टीसँग । क्युबामा पूरै क्याडर–बेस्ड छ । उनीहरू सशस्त्र क्रान्तिद्वारा आएको परे । भियतनाम, उत्तर कोरियाकै भन्नोस् । उनीहरू त्यसरी आएको परे । त्यसकारण उनीहरूको संगठन अहिले पनि क्याडर–बेस्ड छ ।
हाम्रो आफ्नो सन्दर्भमा क्याडर–बेस्ड वा मास–बेस्डभन्दा पनि दुवैलाई संयोजित गर्दै अगाडि बढ्नुपर्छ । स्वाभाविक रूपमा दुई जना पेसेवर क्रान्तिकारी हुन्छन् । आदर्श बन्न सक्नुपर्छ । त्यसले मासलाई मोबिलाइज गर्ने ढंगले जानुपर्छ । तर, मास संगठन (जनवर्गीय संगठन) स्वायत्त रूपमा चल्नुपर्छ । पद्म क्याम्पको अध्यक्ष कसलाई बनाउने भनेर जुँगा फुलिसकेका पार्टी नेता बसेर टुंगो लगाउने होइन । सामान्यतः उमेर निर्धारण गर्ने कुरा भएन । तर, फेर्ने तरिकै नभएपछि निर्वाचन प्रक्रियामा जानु बाध्यता हो । यस्तो ढाँचा बनाइएको छ कि त्यो ढाँचा बदल्नै सकिँदैन । पार्टी त्यस्तै भइराखेको छ । पार्टीलाई कसरी फेर्ने विद्यार्थीले बाटो देखाएको हो कि !
(माओवादी केन्द्रका सचिव कार्कीसँग रातोपाटीकर्मी गणेश पाण्डेले गरेको कुराकानीमा आधारित)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : अध्याधेशमा राष्ट्रपतिको असन्तुष्टि, मोर्चाबारे अलमलमा झलनाथ
-
‘बाइरो तेस्रो अल ब्रिड च्याम्पियनसिप डग शो’को तयारी पूरा
-
ओलीको आलोचना गर्दा एमालेमा अर्का नेता पनि कारबाहीमा
-
अध्यादेश फिर्ता लिन माग
-
विपिनको रिहाइबारे परराष्ट्रमन्त्रीद्वारा इजरायली विदेशमन्त्रीसँग पनि फोनवार्ता
-
दुर्घटनामा परेर उच्च अदालत पाटनका न्यायाधीश रेग्मी घाइते