मङ्गलबार, ०१ माघ २०८१
ताजा लोकप्रिय

‘संस्कृतिलाई पर्यटनसँग जोडेर आर्थिक सशक्तीकरण गर्न सकिन्छ’

मङ्गलबार, ०१ माघ २०८१, ०७ : ४४
मङ्गलबार, ०१ माघ २०८१

लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले मौलिक कला, संस्कृतिलाई पर्यटनसँग जोडेर समुदायको आर्थिक सशक्तीकरण गर्न सकिने बताएका छन् ।

माघे सङ्क्रान्ति तथा माघी पर्वका अवसरमा उनले आज दिनुभएको शुभकामना सन्देशमा मौलिक कला, संस्कृति जोगाउनु सबैको साझा कर्तव्य भएको उल्लेख गरे । सन्देशमा उनले कला, संस्कृतिलाई पर्यटनसँग जोडेर समुदायको आर्थिक सशक्तीकरण गर्न सकिने उल्लेख गरेका छन् । 

“हाम्रो समाज बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतायुक्त छ । त्यसैले जातीय विविधता र यससँगै जोडिएर आएका संस्कृतिहरू हाम्रा मौलिक विशेषता हुन्”, उनले भनेका छन्, “लुम्बिनी प्रदेश सरकारले सांस्कृतिक मूल्य, मान्यताको संरक्षण, संवर्द्धन र प्रवर्द्धनका माध्यमबाट आर्थिक, सामाजिक विकासको परिकल्पना गरेको छ । मौलिक कला, संस्कृतिलाई पर्यटनसँग जोडेर समुदायको आर्थिक सशक्तीकरण गर्न सकिने भएकाले यसलाई प्राथमिकतामा राखेका छौँ ।”

लुम्बिनी प्रदेशको तराई, पहाड, हिमाली क्षेत्रमा बसोबास गर्ने नेपालीहरूले आ–आफ्नै तरिकाले माघे सङ्क्रान्ति/माघ पर्व मनाउने चलन छ । यस पर्वको फरक विशेषता र महत्व छ । थारू समुदायले माघलाई महत्त्वपूर्ण चाड एवं नयाँ वर्षका रूपमा मनाउने गर्छन् भने मगर, यादवलगायत समुदायले विशेष महत्वका साथ पर्व मनाउने प्रचलन छ ।

माघे सङ्क्रान्ति तथा माघी पर्वको अवसर पारेर प्रदेश सरकारले हरेक वर्ष सार्वजनिक बिदा दिँदै आएको छ । यस वर्ष पनि माघे सङ्क्रान्ति तथा माघी पर्वका अवसरमा आज प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका वरिष्ठ शाखा अधिकृत गङ्गाधर पाण्डेले जानकारी दिए। लुम्बिनी प्रदेश सरकार मन्त्रिपरिषद्को २०८० चैत २० गते बसेको बैठकले माघे सङ्क्रान्ति तथा माघी पर्वका अवसरमा सार्वजनिक बिदा निर्णय गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप