स्वास्थ्य रहनका लागि योग असाधारण उपयोगी छ: प्रधानमन्त्री ओली
काठमाडौँ । स्वस्थ समाज, समृद्ध नेपाल र विश्व शान्तिका लागि योग भन्ने आदर्श वाक्यका साथ आज दसौँ राष्ट्रिय योग दिवस, २०८१ मनाइँदै छ । यस अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले शुभकामना व्यक्त गरेका छन् ।
उनले भनेका छन्–'योग यस भूमिको उपज हो । हाम्रा पूर्वजहरू, जसले गणितको, आयुर्वेदको, अन्तरिक्षको अथवा स्वास्थ्य विज्ञानको जुन आविष्कार गर्नुभएको थियो, त्यो असाधारण थियो भन्ने पुष्टि हो यो । आज योगको महत्त्व अझ बढी प्रखर रूपमा प्रकट भएको छ । मानिसको सबैभन्दा महत्त्वपूर्ण कुरा हो स्वास्थ्य रहनु । शारीरिक र मानसिक रूपले स्वास्थ्य रहनु । स्वास्थ्य रहनका लागि योग असाधारण उपयोगी छ । साधना र लामा ध्यानहरू चिन्तकहरूका लागि आवश्यक हुन सक्छ । '
उनले थप भनेका छन्–'हामी विश्वलाई मानवोचित विश्व बनाउन चाहिरहेका छौँ । विश्व भनेको धर्ती र मानव समाज हो । प्रकृति र मानव समाज । यसको सन्तुलन पनि कायम गर्न चाहिरहेका छौँ । योग मूलतः यिनै कुराहरूसँग केन्द्रित छ । हामी यस ठाउँलाई आदियोग भूमि भन्न सक्दछौँ । आदियोग गुरु, आदियोगी शिव अर्थात् शम्भुनाथले यसै भूमिबाट हजारौँ वर्षअघि योगको अभ्यास, योगको चिन्तन र योग दर्शन अर्थात् जीवनसँग सम्बन्धित सम्पूर्ण विषयहरू र जीवन र प्रकृतिको सम्बन्धको चिन्तन, ध्यानादि कुराको प्रारम्भ गर्नुभएको थियो । त्यसकारण हामी शिवलाई आदियोगी मान्दछौँ । '
'संयुक्त राष्ट्र सङ्घले सन् २०१४ मा जुन २१ लाई अन्तर्राष्ट्रिय योग दिवसका रूपमा मान्यो । जसको इतिहासले हाम्रो भूमिसँग १५ हजार वर्ष अगाडिको नाता राख्दछ । यसको सम्बन्ध कपिलवस्तुका कपिलमुनिसँग जोडिएको छ । त्यसपछि कपिलवस्तुकै सिद्धार्थ गौतम, गौतम बुद्धसँग नाता जोडिएको छ । त्यसपछि अर्घाखाँचीका महर्षि पतञ्जलीसँग नाता जोडिएको छ । र, त्यस परम्परालाई आत्मसात् गर्दै संयुक्त राष्ट्र सङ्घले पनि योग अभ्यासको विस्तारको दिनलाई अन्तर्राष्ट्रिय योग दिवसका रूपमा मान्यता दिएको छ । यो हाम्रो भूभागबाट सुरु भएको थियो'- ओलीले भनेका छन् ।
यस योग दिवसले देशभक्ति, पूर्वजहरूप्रति, हाम्रो प्रकृतिप्रति, हाम्रो यो भूखण्ड, हाम्रो यो देशप्रति हामीलाई गर्व गर्न सिकाओस् र त्यसबाट प्रेरणा लिएर अगाडि बढ्न प्रेरित गरोस् भनी प्रधानमन्त्री ओलीले शुभकामना दिएका छन् ।