मङ्गलबार, ०१ माघ २०८१
ताजा लोकप्रिय

बुटवलमा खाना महोत्सव तथा माघी मेला सुरु

सोमबार, २९ पुस २०८१, २२ : ४८
सोमबार, २९ पुस २०८१

बुटवल । बुटवलमा सोमबार साँझदेखि माघी मेला तथा खाना महोत्सव २०८१ सुरु भएको छ । रुपन्देही होटेल तथा रेस्टुरेन्ट व्यवसायी सङ्घको आयोजनमा ‘नेपाली मौलिक संस्कृति र स्थानीय खानाका परिकारको हाम्रो शान, सहरदेखि गाउँसम्मको पर्यटन प्रवर्द्धन र विकास हाम्रो अभियान’ भन्ने नारासहित हुने महोत्सव बुटवलको सिद्धेश्वर माविको मैदान परिसरमा कार्यक्रमको एक बिच आज उद्घाटन गरिएको छ ।

नेपाल होटेल तथा रेस्टुरेन्ट महासङ्घका केन्द्रीय अध्यक्ष दिनेशकुमार चुकेले उद्घाटन गर्दै पर्यटन क्षेत्रमा योगदान दिने उद्योगका रूपमा आफूहरू रहेको बताए । पर्यटन क्षेत्रमा सरकारको लगानीसँगै पर्यटन व्यवसायीहरू पर्यटन उत्पादनको बारेमा विषयमा जोड दिन आवश्यक रहेको उनले बताए ।

कार्यक्रममा सङ्घका अध्यक्ष लेखनाथ भण्डारीले लुम्बिनी प्रदेश विश्वमा नै पर्यटनको उत्कृष्ट गन्तव्य भएको दाबी गर्दै यहाँका व्यवसायीहरूलाई संस्थागत रूपमा एकताबद्ध गर्दै आफूहरू पर्यटन प्रवर्द्धनको योजनामा लागेको बताए । प्रत्येक वर्ष अङ्ग्रेजी नयाँ वर्षमा सडक महोत्सव गर्दै आएका रुपन्देहीका होटेल व्यवसायीहरूले यस वर्ष भने माघी पर्वलाई विशेष प्रचार प्रचार गर्ने गरी कार्यक्रम गरेको बताए।

माघ २ गतेसम्म चल्ने महोत्सवमा स्थानीय थारु, मगर, नेवार र अन्य समुदायका परम्परागत खानाका परिकारको प्रदर्शनी र  बिक्री गरिने महासचिव अर्जुन थापाले बताए। थारु नाच, लोकदोहोरी र विभिन्न जातजातिका मौलिक र सांस्कृतिक नृत्यहरूका साथै पर्यटन प्रवर्द्धन हुने लुम्बिनी प्रदेशका प्रमुख पर्यटकीय गन्तव्यहरूको जानकारी दिने स्टलहरू रहेको सङ्घका वरिष्ठ उपाध्यक्ष माधव खनालले बताए ।

कार्यक्रममा सहरी विकास मन्त्रालय पर्यटन विकास परिषद् बुटवलका कार्यकारी निर्देशक रामु जोशी, रुपन्देही उद्योग सङ्घका अध्यक्ष दिलीप सापकोटा, नेकपा एमालेका जिल्ला अध्यक्ष यज्ञ गैरे, लगायत बोल्दै खाना महोत्सव र मेला सञ्चालनबाट हुने फाइदाबारे प्रकाश पारेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप