प्रदेश सांसद तामाङ जोडिएको सहकारी समस्याग्रस्त घोषणा
हेटौँडा । बागमती प्रदेशसभाका सांसद ज्ञानबहादुर तामाङको नाम जोडिएको नेशनल नमोबुद्ध सहकारी संस्था लिमिटेड समस्याग्रस्त घोषणा गरिएको छ । एमालेको समानुपातिक कोटामा सांसद बनेका तामाङ जोडिएको नेशनल नमोबुद्ध सहकारीलाई प्रदेश सरकारले समस्या ग्रस्त घोषणा गरेको हो ।
आइतबार सहकारी तथा गरिबी निवारणमन्त्री मदुकुमार श्रेष्ठले मन्त्रीस्तरीय निर्णय गर्दै सो सहकारीलाई समस्याग्रस्त घोषणा गरेको हो । समस्याग्रस्त सहकारी घोषणा गरेसँगै सहकारीको केन्द्रीय कार्यालयमा प्रदेश सरकार अन्तर्गतको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले तालाबन्दी गरेको छ ।
मन्त्रालयले समस्याग्रस्त घोषणा गरेको भोलीपल्ट २९ पुसमा काठमाडौँको समाखुशीमा रहेको सहकारीको केन्द्रीय कार्यालयमा समितिका अध्यक्ष प्रभात अधिकारीसहितको टोलीले तालाबन्दी गरेको हो । टोलीले कार्यालयमा तालाबन्दीसँगै सहकारीको आय व्ययको अवस्था जाँचबुझ गर्न कम्युटरका हार्डडिक्सहरु सिज गरेको छ । सहकारीको सम्पत्ति भन्दा पनि दायित्व बढी देखिएपछि मन्त्रालयले सो सहकारीलाई समस्याग्रस्त घोषणा गरेको थियो ।
समितिका अध्यक्ष अधिकारीले प्रदेश सहकारी मन्त्रालयको निर्देशनमा आफूहरूले सहकारीको कार्यालयमा तालाबन्दी गरेको जानकारी दिए । उनले तालाबन्दीसँगै कार्यालयबाट कम्युटरका हार्डडिक्सहरु नियन्त्रणमा लिएको र अन्य कागजातहरू लिएर २ माघमा समस्या ग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयमा उपस्थित हुन् निर्देशन दिएको बताए ।
अध्यक्ष अधिकारीले सम्पूर्ण कागजात र आयव्ययको अध्ययन गरेपछि मात्रै सहकारीको वास्तविक अवस्थाका बारेमा भन्न सकिने बताए । काठमाडौँको सामाखुसीस्थित नेसनल नमोबुद्ध सहकारीका तत्कालीन अध्यक्ष समेत रहेका प्रदेश सांसद तामाङसहितका पदाधिकारीका कारण ११ हजार बचतकर्ताको करिब २ अर्ब अपचलन गरेको भन्दै प्रदेश सहकारी रजिस्ट्रार कार्यालयमा उजुरी परेको थियो ।
सहकारीको अध्यक्ष हुँदा महँगो ब्याजको प्रलोभन देखाएर बचतकर्ताबाट कुस्त रकम उठाएका तामाङले नुवाकोटको लिखु गाउँपालिका– ९ थानसिङमा ४४ रोपनी जग्गा खरिद गरेका थिए । सोही जग्गा राष्ट्रिय सहकारी बैङ्कमा धितो राखेर सहकारीको नाममा १४ करोड रुपैयाँ ऋण निकाले चलाएको र तामाङपछि अध्यक्ष बनेका राजकुमार लामासहितका अहिलेका पदाधिकारीले पनि त्यसैलाई निरन्तरता दिएका थिए ।
०७२ देखि ०७८ सम्म सहकारीका अध्यक्ष रहेका सांसद तामाङ सहकारीबाट बाहिरिएलगत्तै रकम हिनामिना गरेको आरोप लगाइएको छ । बचत फिर्ता माग्दा सहकारीले दिन आनाकानी गरेको बचतकर्ताहरूको भनाई छ । २९ पुस ०७९ मा भएको २२औँ अधिवेशनपछि सहकारीका अध्यक्ष राजकुमार लामा छन् ।
सहकारी महाशाखाका रजिस्टार कुमार तामाङले सहकारीको सम्पत्तिभन्दा पनि दायित्व बढी देखिएपछि सहकारीलाई समस्याग्रस्त घोषणा गरिएको जानकारी दिए । बचतकर्ताले दिएको उजुरीका आधारमा सहकारीका व्यवस्थापक र पदाधिकारीहरूलाई मन्त्रालयमा बोलाएर पटक–पटक छलफल गर्दा पनि समस्या समाधान हुने अवस्था नदेखेपछि समस्याग्रस्त घोषणा गर्नुपरेको उनको भनाई छ ।
रजिस्टार तामाङका अनुसार सहकारीका अध्यक्ष राजकुमार तामाङसहितका पदाधिकारीहरुलाई १७ असोज २०८०, २२ कात्तिक र २० चैतमा छलफलका लागि बोलाइएको थियो । छलफलका क्रममा सहकारीले बचत फिर्ताको लागि ३ वैशाख २०८१ मा कार्ययोजना पेस गरेको भए पनि सो अनुसार काम नभएपछि सहकारीलाई समस्याग्रस्त घोषणा गरिएको हो ।
उनले बचतकर्ताहरूले नेशनल नमोबुद्ध सहकारीसँग १२ करोड २७ लाख रुपैयाँ बचत फिर्ताको माग गरेको जानकारी दिए । छलफलका क्रममा सहकारीसँग १ अर्ब ५२ करोड रुपैयाँ दायित्व देखिएको उल्लेख गर्दै उनले सहकारीसँग जम्मा अनुमानित ७० करोड रुपैयाँको सम्पत्ति देखिएको बताए ।