मङ्गलबार, ०१ माघ २०८१
ताजा लोकप्रिय

नुवाकोटको तारुकामा यसवर्ष १४ हल गोरु जुधाइने

सोमबार, २९ पुस २०८१, २२ : १५
सोमबार, २९ पुस २०८१

काठमाडौँ । नुवाकोटको तारकेश्वर गाउँपालिका वडा नम्बर ३ स्थित चन्दनीमा विगतका वर्षहरुझैँ यसवर्ष पनि माघे संक्रान्तिको अवसरमा मंगलबार  गोरु जुधाई प्रतियोगिता हुने भएको छ । यो वर्ष जुधाउनका लागि तारुकाका स्थानीय किसानले पालेका १४ हल गोरु दर्ता भएको वडा नम्बर ३ का अध्यक्ष सूर्यमान श्रेष्ठले रातोपाटीलाई जानकारी दिए । 

उनका अनुसार गोरु जुधाइ कार्यक्रमलाई व्यवस्थित गर्नका लागि मदन श्रेष्ठको नेतृत्वमा एक समिति गठन भएको छ । सोही समितिले गोरु दर्ताका साथै आवश्यक व्यवस्थापन गरिरहेको उनको भनाइ छ । 

कार्यक्रममा सहभागिताका लागि उपप्रधान एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंह तारुका पुग्ने कार्यक्रम रहेको छ । कार्यक्रम बिहान ८ बजेदेखि नै सुरु भएर दिनभर चल्ने उनको भनाइ छ ।  स्थानीय बारीको पाटामा बनाइएको मैदानमा हुने गोरु जुधाइ प्रतियोगिता हेर्नका लागि हजारौँको सहभागिता हुने अपेक्षा गरिएको वडाध्यक्ष श्रेष्ठले बताए ।

उनका अनुसार जुधाइने गोरुलाई ‘क’ र ‘ख’ दुई क्याटोगोरीमा वर्गीकरण गरिएको छ । जसअनुसार ‘क’ क्याटोगोरी गोरु जुध्दा जित्नेलाई १५ र हार्नेलाई १० हजारको व्यवस्था गरिएको छ । यस्तै ‘ख’ क्याटोगोरीको गोरु जुध्दा जित्नेले १० र हार्नेले ८ हजार पाउने व्यवस्था गरिएको छ । गोरु जुधाई प्रतियोगिताका लागि नेपाल पर्यटन बोर्ड र तारकेश्वर गाउँपालिकाका साथै विभिन्न संघसंस्थाले आर्थिक सहयोग गरेको बताइएको छ । 

तारुकाको गोरु जुधाउने जात्रा कहिलेदेखि सुरु भयो भन्ने ठोस प्रमाण नभए पनि बझाङी राजा जयपृथ्वी बहादुर सिंहको पालादेखि सुरु गरिएको विश्वास गरिन्छ ।  यस्तै माघेसंक्रान्तिकै अवसरमा नुवाकोटकै बेत्रावती र धादिङका केही स्थानमा पनि गोरु जुघाउने प्रचलन छ । तर, तारुकाको गोरु  जुधाई प्रतियोगिता को भने विशेष चर्चा हुने गर्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप