मङ्गलबार, ०१ माघ २०८१
ताजा लोकप्रिय

सुमेरु, नेशनल नमोबुद्ध र लालिगुरास समस्याग्रस्त सहकारी घोषणा

सोमबार, २९ पुस २०८१, १७ : ५७
सोमबार, २९ पुस २०८१

मकवानपुर । बागमती प्रदेश सरकारले ३ वटा सहकारीलाई समस्या ग्रस्त घोषणा गरेको छ । प्रदेशको सहकारी तथा गरिबी निवारण मन्त्रालयले ३ सहकारीलाई समस्या ग्रस्त घोषणा गरेको हो ।

आइतबार सहकारी तथा गरिबी निवारणमन्त्री मदुकुमार श्रेष्ठले मन्त्रीस्तरिय निर्णय गर्दै काठमाडौँका ३ वटा सहकारीलाई समस्या ग्रस्त घोषणा गरेका हुन् । मन्त्री श्रेष्ठका अनुसार काठमाडौँको सुमेरु सेभिङ एण्ड क्रेडिट कोअपरेटिभ लिमिटेड, नेशनल नमोबुद्ध बचत तथा ऋण सहकारी लिमिटेड र लालिगुँरास बचत तथा ऋण सहकारी संस्था लिमिटेडलाई समस्या ग्रस्त घोषणा गरेको हो ।

वीरेन्द्र महर्जन अध्यक्ष रहेको सुमेरुले २ अर्ब २५ करोड १४ लाख रुपैयाँ बचत फिर्ता गर्न नसकेको मन्त्रालयले जनाएको छ । सुमेरुले बचत फिर्ता नदिने, संस्थाको आर्थिक कारोबार उपलब्ध नगराउने लगायतका कार्य गरेकाले समस्या ग्रस्त सहकारी घोषणा गरिएको सहकारी महाशाखा बागमती प्रदेशका रजिष्ट्रार कुमार तामाङले जानकारी दिए । सो सहकारीका विषयमा सकारी विभागको २४ थान पत्र, ललितपुर महानगरपालिकाको गत २०८० माघमा प्राप्त पत्रको साथ ८४८ बचतकर्ताको उजुरीको आधारमा समस्या ग्रस्त सहकारी घोषणा गरिएको उनले बताए ।

विभाग र मन्त्रालयको समन्वयमा सुमेरुलाई २०८० भदौ १९, २४, मंसिर ११, माघ ८ र फागुन २९ मा पत्राचार गरेर छलफलमा बोलाउँदा समेत बेवास्ता गर्ने गरेको र बचतकर्ताको रकम फिर्ताको कार्ययोजना समेत पेस गर्न नसकेको उनको भनाइ छ । सो सहकारीको १३ अर्बभन्दा बढीको सम्पत्ति रहेको अनुमान गरिएको छ भने ७ अर्ब बढीको दायित्व रहेको जनाइएको छ ।

त्यस्तै राजकुमार तामाङ अध्यक्ष रहेको नेशनल नमोबद्ध सहकारीका ७२ बचतकर्ताले बचत फिर्ता माग गर्दै उजुरी दिएका थिए । सोही उजुरीको आधारमा २०८० असोज १७, कात्तिक २२ र चैत २० मा पत्राचार गरी छलफलका लागि बोलाइएको थियो । महाशाखासँगको छलफलका क्रममा सो सहकारीले बचत फिर्ताको लागि २०८१ वैशाख ३ मा कार्ययोजना समेत पेस गरेको थियो । तर, उक्त कार्यायोजनासहित काम नभएपछि समस्याग्रस्त घोषणा गरिएको हो । सो सहकारीसँग १२ करोड २७ लाख रुपैयाँ बचत फिर्ताको माग गरिएको छ । नेशनल नमोबुद्धको १ अर्ब ५२ करोड रुपैयाँ दायित्व देखिएको छ भने ७० करोड रुपैयाँको सम्पत्ति रहेको छ ।

धनबहादुर तामाङ अध्यक्ष रहेको लालिगुँरास सहकारीलाई ९७२ बचतकर्ताको उजुरीको आधारमा समस्या ग्रस्त घोषणा गरिएको हो । १ अर्ब ६१ करोड ९९ लाख ७५ हजार बचत फिर्ता माग गर्दै उजुरी परेको थियो । ३ हजार २३८ सेयर सदस्य रहेको उक्त सहकारीको बचत रकम ३ अर्ब ८६ करोड १४ लाख रुपैयाँ रहेको छ । सहकारीको लगानी भने ३ अर्ब १६ करोड २५ लाख रुपैयाँ देखिएको छ ।

समस्या ग्रस्त सकारी घोषणा गरिएका सहकारीहरूको व्यवस्थापन प्रदेश सरकार अन्तर्गतको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले गर्नेछ । प्रदेश सरकारले यसअघि समस्याग्रस्त सहकारी घोषणा गरिएको काठमाडौँको कीर्तिपुरस्थित दर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेड र सिभिल सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेडको व्यवस्थापनको काम गरिरहेको छ ।

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप