सोमबार, २९ पुस २०८१
ताजा लोकप्रिय

७ प्रतिशत बोनस सेयर दिने नागरिक लगानी कोषको प्रस्ताव पारित

सोमबार, २९ पुस २०८१, १७ : ०१
सोमबार, २९ पुस २०८१

काठमाडौँ । नागरिक लगानी कोषको ३० औँ वार्षिक साधारण सभा कोष सञ्चालक समितिका अध्यक्ष प्रा.डा.सूर्यबहादुर थापाको अध्यक्षतामा सम्पन्न भएको छ । सभाले आर्थिक वर्ष २०८०/८१ को आम्दानी बाँडफाँड हिसाब विवरणमा छुट्याएको प्रस्तावित सात प्रतिशत बोनस सेयर र ६ प्रतिशत नगद लाभांश (कर सहित) स्वीकृत गरेको छ ।    

त्यसैगरी आ.व २०८०/८१ को सञ्चालक समितिको प्रतिवेदनमाथि छलफल गरी पारित भएको छ । योसँगै लेखा परीक्षकको प्रतिवेदनसहितको २०८१ असार मसान्तको वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरणमा छलफल गरी पारित भएको कोषले जनाएको छ । 

 सभामा कोष सञ्चालक समितिका अध्यक्ष प्रा.डा.थापाले कोषको कार्यक्रमहरूको थप प्रवर्द्धन गरी स्वरोजगार तथा वैदेशिक रोजगारमा रहेका नेपालीहरूलाई कोषको कार्यक्रममा समावेश गर्दै लगिने बताए । कोषले पुँजी बजारमा समेत नेतृत्वदायी भूमिका खेलिरहेकोमा सो कार्य आगामी दिनमा थप प्रभावकारी ढङ्गले बढाइने जानकारी दिए । 

कार्यक्रममा कार्यकारी निर्देशक पर्वत कुमार कार्कीले कोषको वस्तुस्थिति बारे बताउँदै सेयर धनीहरूबाट उठाइएका जिज्ञासा तथा सुझावहरूको बारेमा विस्तृत रूपमा जानकारी गराए ।  कोषले सूचना प्रविधिलाई थप चुस्त बनाउनेतर्फ काम गरिरहेको बताउँदै कृत्रिम बौद्धिकता (ए.आई) को प्रयोग सम्बन्धमा सम्भाव्यता अध्ययन गरिरहेको उनले बताए । 

हाल आर्थिक तथा वित्तीय क्षेत्रमा शिथिलता देखिएको अवस्थामा समेत कोषले सेयरधनीलाई तुलनात्मक रूपमा राम्रो लाभांश दिन कोष सफल भएको कार्यकारी निर्देशक कार्कीले बताए । 

  साधारणसभामा प्रस्तुत विवरण अनुसार आर्थिक वर्ष २०८०/८१ को असोज मसान्तसम्म कोषको खुद कोष मौज्दात रकम २ खर्ब ६१ अर्ब  रुपैयाँ पुगेको छ । उक्त अवधिमा कोषले २ खर्ब ५० अर्ब रुपैयाँ लगानी गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप