सोमबार, २९ पुस २०८१
ताजा लोकप्रिय

लैङ्गिक समानता एवं सामाजिक समावेशीकरणमा विराटनगर महानगरपालिकाले पायो ७८ अङ्क

सोमबार, २९ पुस २०८१, १४ : ०६
सोमबार, २९ पुस २०८१

विराटनगर । विराटनगर महानगरपालिकाले आर्थिक वर्ष २०८०/८१ को लैङ्गिक समानता एवं सामाजिक  समावेशीकरण (लैससास) परीक्षणमा ७८ अंकसहित उत्कृष्ट नतिजा कायम राखेको छ । 

महानगरका मेयर नागेश कोइराला, उपमेयर शिल्पा निराला कार्की, निमित्त प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद ढुंगेल, वडा नम्बर १० का अध्यक्ष अर्जुन गिरीसहित कार्यपालिका सदस्य र विभिन्न महाशाखा र शाखा प्रमुखहरूको उपस्थितिमा लैससासको अन्तिम प्रतिवेदन सार्वजनिक गरिएको थियो । 

लैससास परीक्षण दिगदर्शन २०७८ अनुसार, एक सयवटा सूचकहरूको तोकिएको आधारमा स्व–मूल्याङ्कन गर्दा राम्रो अवस्थालाई १ अङ्क, मध्यम अवस्थालाई ०.५ अङ्क र अति कमजोर अवस्थालाई ० अङ्क दिइएको छ । पछिल्लो ४ वर्षको नतिजालाई केलाउँदा, विराटनगर महानगरको लैससास प्रतिफल क्रमशः सुधार हुँदै गएको पाइएको छ । आ. व. २०७७/०७८ मा प्राप्ताङ्क ५४ थियो भने, आव २०७८/०७९ मा लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण परीक्षणका गर्दा एक सयवटा सूचकमा ७०.५ अङ्क प्राप्त भएको थियो । त्यसैगरी आ. व. २०७९ /०८०  मा एक सय सूचकहरूमा कुल ७४.५ अङ्क प्राप्त भएकोमा आ.व. २०८०/०८१ मा सो प्राप्ताङ्क ७८ पुगेको हो  । 

मूल्याङ्कनको क्रममा सञ्चालित २ वटा कार्यशालाबाट लैससास एउटा बहु–सरोकारको विषय मात्र होइन अन्तरशाखा र सरोकारको विषयमा समेत महानगरको बुझाइ साझा भएको अनुभव लैससास परीक्षणमा खटिएका स्वतन्त्र विज्ञ सहजकर्ता एवं महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसका समाजशास्त्र विभागका प्रमुख, उप–प्राध्यापक डा. चन्द्र उपाध्याय तिम्सिनाको निष्कर्ष रहेको छ । डा. तिम्सिनाका अनुसार स्थानीय तहमा वर्षभरि गरिएका कामको अभिलेख एवं प्रमाणिक आधारले परीक्षण कार्यलाई अर्थपूर्ण बनाउँछ । यद्यपि लैङ्गिक समानता एवं सामाजिक समावेशीकरणसम्बन्धी यथार्थपरक एवं खण्डीकृत तथ्याङ्कको व्यवस्थापन आवश्यक हुन्छ र लैससास परीक्षणमा गणना गरिने केही सूचकको स्थानीयकरण गर्नु आवश्यक देखिएको विषय विज्ञ तिम्सिनाको बुझाइ छ ।

महानगर मेयर नागेश कोइरालाले प्राप्त नतिजा सुखद भएको बताए । ‘यद्यपि सर्वोत्तम स्थान प्राप्त गर्न हामी कहाँ चुकेका रहेछौं, त्यसलाई अगाडि बढाउन पहल गर्नुपर्छ,’ उनले भने, ‘लैससास परीक्षण कार्यशालामा उठेका सवालहरूलाई सम्बोधन गर्दै महानगरलाई कसरी उत्कृष्ट बनाउन सकिन्छ त्यसका लागि सबैले पहल र प्रयास गर्नुपर्छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप