सोमबार, २९ पुस २०८१
ताजा लोकप्रिय
अन्तर्वार्ता

‘युद्धोन्मादले शासकहरूलाई डर लागेको छैन तर संसार आणविक युद्धको डिलमा उभिएको छ’

विगतमा सीआईएको पेरोलमा पत्रकारहरू पनि थिए : जेफ्री डी. स्याक्स
सोमबार, २९ पुस २०८१

कोलम्बिया विश्वविद्यालयका प्राध्यापक जेफ्री डी. स्याक्स अर्थशास्त्र र विश्व अर्थतन्त्रको मामिलामा चर्चित नाम हो । हार्वर्ड विश्वविद्यालयबाट उच्च शिक्षा हासिल गरेका उनी कोलम्बिया विश्वविद्यालयको सर्वोच्च प्राज्ञिक भूमिका ‘सेन्टर फर डेभलपमेन्ट’ का निर्देशक हुन् । यसअघि उनी कोलम्बिया विश्वविद्यालयमै ‘अर्थ इन्स्टिच्युटका’ निर्देशक थिए । सन् २००१ देखि उनी संयुक्त राष्ट्रसंघको महासचिवका लागि दिगो विकास लक्ष्यको प्रमुख सल्लाहकारको भूमिकामा छन् । अर्थशास्त्री तथा नीति विश्लेषकको रूपमा उनले विभिन्न भूमिका निभाएका छन् । खासगरी सोभियत संघको विघटन र त्यसपछि पोल्यान्ड, रुस तथा पूर्वसोभियत मुलुकहरूमा आर्थिक संक्रमणको नीति सल्लाहकारका रूपमा उनले उल्लेख्य भूमिका खेलेका थिए ।

उनले ८० को दशकमा बोलिभियाको आर्थिक सुधारको सल्लाहकारका रूपमा पनि काम गरे । शीतयुद्धको अन्त्य पश्चात व्यापक उदारिकरणको लहरलाई लागु गराउने एक प्रमुख व्यक्तिका रूपमा जेफ्री स्याक्स चिनिन्छन् । उनका चर्चित पुस्तकहरूमा– ‘द इन्ड अफ पोभर्टी’, ‘कमन वेल्थ’, ‘द प्राइस अफ सिभिलाइजेसन’, ‘अ न्यु फरेन पलिसी’, ‘द एजेज अफ सस्टेनेबल डेभलपमेन्ट’, ‘द एजेज अफ ग्लोबलाइजेसन’ पर्छन् । अमेरिकी नागरिक भइकन पनि उनी प्रभुत्ववादी अमेरिकी नीतिका आलोचक हुन् । उनै स्याक्ससँग अमेरिकी पत्रकार टकर कार्लसनले गरेको अन्तर्वार्ता नेपाली पाठकहरूका लागि सान्दर्भिक हुने ठानेर अनुवाद गरिएको छ ।

  • अचानक सिरियामा शासन परिवर्तन भयो, मेरो दृष्टिकोणबाट हेर्दा सबैभन्दा नाटकीय र अप्रत्याशित घटना भयो । त्यो कसले गर्‍यो ? किन गर्‍यो ? र, त्यसको अर्थ के हो ?

यो अचानक भएको घटना होइन । यो विगत ३० वर्षको प्रयासको एउटा अंश हो । यो इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको मध्यपूर्वकै पुनर्संरचनाको युद्ध हो । त्यहाँ जे भयो, विपत्तिभन्दा कम भन्न मिल्दैन । अझै विपत्ति जारी छ । सिरियामा असद सत्ताच्युत भएपछि नेतन्याहुले आफूहरूले मध्यपूर्वको पुनर्निर्माण गरेको भनेका छन् । यसैकारण पनि यी परिघटनालाई एक–दुई हप्तामा मात्र नभएर मध्यपूर्वमा चलिरहेको युद्धको निरन्तरताकै रूपमा बुझ्नु पर्छ ।

अहिले के हुँदैछ भनेर गम्भीरतासाथ बुझ्न चाहने हो भने हामी फर्केर सन् २००० मा पुग्नुपर्छ । जतिबेला जनरल वेस्ली क्लार्क सेप्टेम्बर ११ को घटनापछि पेन्टागन गए । उनलाई एउटा कागजको टुक्रा देखाइएको थियो, जसमा अबको पाँच वर्षमा हामीले सात वटा युद्ध गर्नेछौँ लेखिएको थियो ।

अमेरिकाले पाँच वर्षमा सात वटा युद्धको शृङ्खलाबद्ध योजना बनाएको थियो । पहिलो इराक थियो । त्यसपछिको पालो सिरियाको थियो । तर, विद्रोहका कारण अमेरिका इराकमा अड्किन पुग्यो र थप अन्य कारबाहीमा ढिलाइ भयो ।

साथै उनलाई के पनि भनियो भने ‘नियोकन’ (नव–पुरातनपन्थी) र इजरायलीहरूले मध्यपूर्वको पुनर्संरचना गर्दैछन् । त्यो सूचीमा सात वटा देशको नाम थियो । जसमा– लेबनान, सिरिया, इराक, इरान, लिबिया, सोमालिया र सुडान थिए । अहिले ती सात वटा देशमध्ये ६ वटामा अमेरिका युद्धरत छ । अहिले सिरियामा जे भयो, त्यो यसै कडीमा जोडिन आइपुग्छ । इजरायलले मध्यपूर्वलाई आफूले चाहेजस्तो स्वरूपमा ढाल्नका लागि सन् १९९६ मा नेतन्याहू र उनका अमेरिकी सल्लाहकारहरूले सुरु गरेको दीर्घकालीन प्रयासको परिणाम थियो । त्यसलाई ‘क्लिन ब्रेक’ भनिन्छ ।

media_e74ba2b25a342a42bbe6a9b5f4d34551

  • ‘क्लिन ब्रेक’ भनेको के हो त ?

‘क्लिन ब्रेक’ भनेको हामीले मध्यपूर्वलाई धेरै कुराबाट स्पष्ट रूपमा कटाउनेछौँ भनेको हो । यस अन्तर्गत हामीले विगतको निरन्तरतालाई पनि तोड्ने छौँ, त्यहाँ शान्तिको कुरा गर्नेलाई कुनै ठाउँ हुनेछैन भनेको हो । इजरायलको छेउमा प्यालेस्टाइन नामको छुट्टै राज्यको परिकल्पना गर्नेलाई पनि कुनै ठाउँ दिइने छैन । अर्थात् हामीसँग ‘बृहत् इजरायल’ हुनेछ भनेको हो । यो अवधारणा मन नपराउने जोसुकैलाई पनि हामी छोड्दैनौँ, प्यालेस्टिनीलाई समर्थन गर्ने कुनै पनि सरकारलाई ढालिदिन्छौँ भनेको हो । मेरो विचारमा यसै विचारले संयुक्त राज्य अमेरिका र मध्यपूर्वको विपत्ति निम्त्याएको छ । यो सन् १९९६ देखि नेतन्याहूको व्यक्तिगत युद्ध भएको छ ।

यो अवधिमा उनी आधाभन्दा बढी समय प्रधानमन्त्री भइसकेका छन । सधैँ संयुक्त राज्य अमेरिका उनको तर्फबाट युद्धमा जाने गरेको छ । सिरियामा जे भयो, त्यो पनि यसै पहलको पराकाष्ठा हो । सन् २००१ को सेप्टेम्बर ११ को घटना लगत्तै सेप्टेम्बर २० मा नेतन्याहु अमेरिका आएका थिए । उनले एउटा चर्चित मन्तव्य पनि दिएका थिए, जसमा उनले अमेरिकीले आतंकवाद विरुद्ध नभएर आतंकवादलाई सघाउने सरकारविरुद्ध लड्नुपर्ने बताएका थिए । खास विचार त्यही नै हो ।

अमेरिकाले पाँच वर्षमा सात वटा युद्धको शृङ्खलाबद्ध योजना बनाएको थियो । पहिलो इराक थियो । त्यसपछिको पालो सिरियाको थियो । तर, विद्रोहका कारण अमेरिका इराकमा अड्किन पुग्यो र थप अन्य कारबाहीमा ढिलाइ भयो । सिरियामा असदलाई सत्ताच्युत गर्ने योजना मूल रूपमा दुई दशक पहिले नै बनाइएको थियो । यसको कार्यान्वयन सन् २०११ मा राष्ट्रपति बाराक ओबामाको दोस्रो कार्यकालमा सुरु भयो । ओबामाले ‘सीआईए’लाई असद हटाउन आदेश दिए । चाखलाग्दो कुरा के छ भने अमेरिकी राष्ट्रपति कार्यालयमा को हुन्छ भन्ने कुराले यस्ता योजनामा खासै फरक पार्दैन । यो ‘डिप स्टेट’ को दीर्घकालीन नीति हो ।

  • तर, ओबामाले असदलाई किन हटाउन चाहेका थिए ?

किनभने विगत ३० वर्षदेखि मध्यपूर्वमा इजरायलले अमेरिकी विदेश नीति चलाइरहेको छ । त्यसले यसरी नै काम गर्छ । हामीकहाँ इजरायल लबी हाबी छ । हामीसँग यही ‘क्लिन ब्रेक’ को रणनीति छ । पाँच वर्षमा सात वटा युद्धको योजना छ । चाखलाग्दो कुरा के छ भने उनीहरूले यसबारे अमेरिकी जनतालाई केही पनि भन्दैनन् । खासमा उनीहरूले कसैलाई पनि भन्दैनन् । तर, तपाईंले चरणबद्धरूपमा घटनाहरू हेर्नु भयो भने आफैँ बुझ्नु हुन्छ । हालसम्म हामीले ती सातमध्ये ६ वटा युद्ध गरिसकेका छौँ । अहिलेसम्म हुन नसकेको युद्ध इरानसँग मात्र हो ।

तपाईंले थोरै घोरिएर हेर्नुभयो भने मूलधारको मिडियाले प्रत्येक दिन इरानसँग अमेरिकाले युद्ध गर्नुपर्छ भनेर दबाब दिइरहेको पाउनु हुन्छ । नेतन्याहुले पनि इरानसँग युद्धका लागि दबाब दिइरहेकै छन् । उनीहरू वास्तवमै युद्ध होस् नै भन्ने चाहन्छन् । ओबामाले कुनै उल्लेखनीय कारणविनै यी दुई वटा युद्धलाई त्यो ७ वटाको सूचीमा राखे । उनले लिबियाको मुअम्मर गद्दाफी सरकार ढाल्न युद्ध सुरु गरे । सन् २०११ को मार्चमा त्यहाँ युद्ध सुरु भयो ।

मलाई के सम्झना छ भने ओबामा र विदेशमन्त्री हिलारी क्लिन्टनले सन् २०११ को वसन्तमै असद हट्नुपर्छ भनेका थिए । जस्तोसुकै प्रचारका बाबजुद सिरिया त्यतिबेला ठिकठाकै चलिरहेको देश थियो । मैले भर्खरै सन् २००९ मा सिरियाका बारेमा अन्तर्राष्ट्रिय मुद्रा कोषले निकालेको प्रतिवेदन हेरेको थिएँ । त्यसले सिरियाली सरकारको सुधार र तीव्र आर्थिक वृद्धिका लागि गरेको प्रयत्नको प्रशंसा गरेको थियो । सिरिया उजाड भूमि वा युद्धको मैदान थिएन । यो वास्तवमै एउटा सामान्य अवस्थाको देश थियो ।

  • सिरिया अमेरिकाका लागि खतरा थियो कि थिएन ?

पक्कै पनि सिरिया अमेरिकाका लागि खतरा थिएन । तर, केही सामान्य कारणहरूले गर्दा नेतन्याहुले यसलाई इजरायलका लागि खतरा ठानेका थिए । नेतन्याहु पूरै प्यालेस्टाइनमा नियन्त्रण चाहन्छन् । प्यालेस्टिनी जनतामाथि शासन गर्न चाहन्छन् । उनी मानचित्रमा प्यालेस्टाइन राज्य नै देख्न चाहँदैनन् । यसैले गर्दा त्यहाँ उग्रवादी प्रतिरोधको अवस्था आयो । यसैले हमास र हिजबुल्लाहलगायत अन्य समूहहरूको उदयलाई सहज बनाइदियो ।

इजरायलमा यस्तै अतिवादीहरू सरकारमा छन् । उनीहरू यसलाई परमेश्वरको आदेश मान्छन् । उनीहरू आफूले जे चाह्यो, त्यही लिन सक्छौँ भन्ने ठान्छन् ।

नेतन्याहुको सिद्धान्त प्रस्ट छ, उनी प्यालेस्टिनी राज्यलाई स्वीकार्दैनन् । यसको पक्षमा उभिने तथा लड्ने कुनै पनि लडाकु समूहलाई समर्थन गर्ने सरकार उनीहरू ढाल्न चाहन्छन् । उनीहरूको खास उद्देश्य नै ‘ग्रेटर इजरायल’ हो । छेउमा प्यालेस्टिनी राज्य भएको र शान्तिपूर्ण अवस्था भएको भए विगत ३० वर्षमा १० लाख मानिस मारिने थिएनन् । उनीहरूको जीवन जोगाउन सकिन्थ्यो । तर, नेतन्याहुलाई यस्तो चाहिएकै छैन ।

  • ‘ग्रेटर इजरायल’ भन्नाले ?

ग्रेटर इजरायलको अवधारणामा इजरायलले वेस्ट बैंक, गोलान हाइट्स र सम्भवतः गाजालाई समेत समावेश गर्नुपर्छ भन्छ ।

  • गोलान हाइट्स ऐतिहासिक रूपमा सिरियाको हिस्सा होइन र ?

हो । यो सिरियाको भाग थियो । विस्तारित क्षेत्र र पूर्वी जेरुसेलमसँग जोडेर अहिले यसमा इजरायलले दाबी गरिरहेको छ । सन् १९६७ को युद्धका क्रममा कब्जा गरिएका कुनै पनि भू–भाग फिर्ता नगर्ने कुरा नेतन्याहुले प्रस्ट भाषामा भनिसकेका छन् । नेतन्याहुले यसलाई सुरक्षाको कारण देखाएर फिर्ता गर्न चाहँदैनन् । उनी कुनै पनि प्रकारको शान्ति चाहँदैनन् वा भनौँ प्यालेस्टाइनसँग कुनै वार्ता गर्नै चाहँदैनन् । अर्को, इजरायलमा धार्मिक अतिवादीहरू छन् । तिनीहरू यहुदीको २७ सय वर्ष पुरानो धार्मिक पुस्तक अर्थात ‘जोशुआ’ को उद्धरण झिकेर परमेश्वरले उनीहरूलाई इजिप्टको नाइल नदीदेखि युफ्रेटस नदीसम्म आफूहरूले शासन गर्नु भनेको तर्क गर्छन् । 

इजरायलमा यस्तै अतिवादीहरू सरकारमा छन् । उनीहरू यसलाई परमेश्वरको आदेश मान्छन् । उनीहरू आफूले जे चाह्यो, त्यही लिन सक्छौँ भन्ने ठान्छन् । तपाईंले नाइल र युफ्रेटस नदीबिचको भूभाग हेर्नुभयो भने त्यहाँ हालको प्यालेष्टाइन मात्र पर्दैन । त्यहाँ त लेबनान, सिरिया, इराक र इजिप्टको अधिकांश भाग पनि पर्छ । तर, उनीहरूले यसको दाबी गरिरहेकै छन् । हाल चर्चामा रहेको जोर्डन नदीदेखि भूमध्यसागरसम्म जनाउने ‘नदीदेखि सागरसम्म’ भन्ने नारा त ‘ग्रेटर इजरायल’ को अवधारणाका तुलनामा संकिर्ण मानिन्छ ।

28db368b025e4994ab4f7b76f26d8e81_18

झट्ट सुन्दा यो ‘नदीदेखि सागरसम्म’ भन्ने नारा प्यालेष्टाइनी पक्षधर जस्तो सुनिन्छ, तर यो ठिक उल्टो हो । यो त इजरायली सरकारको घोषित आकांक्षा हो । त्यसका लागि उनीहरू प्यालेस्टिनीको जातीय सफाया गर्न सक्छन्, उनीहरू कतै धपाइन सक्छन् वा कठोर सैन्य दमनमा राखेर नियन्त्रण गरिन पनि सक्छन् । झण्डै एक लाख मानिस त पछिल्लो इजरायली आक्रमणमा मारिइसकेका छन् । ४५ हजार लास त भग्नावशेषबाट निकालिएको आधिकारिक गणनाले नै उल्लेख गरेको छ । तर, हामी सजिलै बुझ्न सक्छौँ, त्यहाँ थप धेरै मानिस मारिएका छन् ।

यो सबैले उनीहरू प्यालेस्टाइनसँग शान्ति कायम गर्न चाहँदैनन् भन्ने देखाउँछ । संसारभर जसले पनि प्यालेस्टाइनको समर्थन गर्छ, त्यो उनीहरूका घातक दुश्मन हुन् । उनीहरू त्यस्ता घातक दुश्मनलाई ध्वस्त पार्न चाहन्छन् । र, यो कूटनीति विपरीत छ । यो युद्ध हो । नेतन्याहुले भनेजस्तै मध्यपूर्वको पुनर्संरचनाका लागि गरिएको युद्ध । यो धेरै लामो कथाको अंश हो भन्ने कुरा प्रस्ट छ । यसलाई तपाईंहरूले राम्रोसँग बुझ्नुपर्छ । अमेरिकाका प्रत्येक राष्ट्रपतिले त्यो युद्धका लागि सहज हुने भूमिका खेलेका छन् ।

अमेरिकी वरिष्ठ पत्रकार शेमोर हर्षले ती सबैको व्याख्या गर्दै एउटा उत्कृष्ट लेख लेखेका छन् । तिनताका लिबियामा धेरै परिघटना सतहमा देखिए ।

ओबामाको कार्यकाल हेर्ने हो भने, उनले सन् २०११ मा सिरियामा युद्ध सुरु गरे । त्यसबेला उनले असद हट्नुपर्छ भएको मलाई राम्रोसँग सम्झना छ । यी १३ वर्षमा तीन लाख मानिसले ज्यान गुमाए । सिरिया ध्वस्त भयो । यस्तै गर्नका लागि ओबामाले ‘अप्रेसन टिम्बर साइकमोर’ नाम गरेको एउटा आदेशमा हस्ताक्षर गरेका थिए । यसलाई सबैले हेर्नुपर्छ । यो अनलाइनमा पनि भेटिन्छ । मूलधारका मिडियामा यसबारे कहीँ कतै छलफल भएको भेटिँदैन । यस अनुसार सीआईएले टर्की, साउदी अरब तथा अन्य मुलुकसँगको सहकार्यमा सिरियाको सरकार फाल्नुपर्छ भनिएको छ । यस्तो योजना थियो । युद्ध यसैगरी सुरु भएको थियो ।

  • सन् २०११ त्यस्तो वर्ष थियो, जतिबेला अमेरिकी खुफिया एजेन्टहरू त्यहाँ कार्यरत थिए । उनीहरू लिबियाबाट हतियार ओसार–पसार गर्दै थिए भन्ने सूचना पनि थियो, होइन र ?

 हो । लिबियादेखि सिरियासम्म हतियार ओसार्न गुप्त बाटो बनाइएको थियो । अमेरिकी वरिष्ठ पत्रकार शेमोर हर्षले ती सबैको व्याख्या गर्दै एउटा उत्कृष्ट लेख लेखेका छन् । तिनताका लिबियामा धेरै परिघटना सतहमा देखिए । अमेरिकी राजदूतको हत्या भयो, बेनगाजीहरूको हत्या भयो । ओबामा सरकारको लापर्बाहीले धेरै क्षति भयो । तर, त्यसबारे अमेरिकी समाजमा कहिल्यै छलफल भएन । उनीहरू यी सबै काम जनताले थाहा पाएर केही काम छैन भन्ने ठान्छन् । उनीहरू यो हाम्रो काम हो, यसबारे कसैले थाहा नपाएकै राम्रो भन्ने ठान्छन् ।

चाखलाग्दो कुरा के छ भने सम्पूर्ण सिरियाली अभियानमा अर्बौं अमेरिकी डलर खर्च भएको छ, त्यसमा हजारौँ मानिस मारिएका छन् । यसबारे कहिल्यै छलफल वा चर्चा भएकै छैन । मलाई लाग्छ, न्यूयोर्क टाइम्सले जम्मा तीन पटक ‘अप्रेसन टिम्बर साइकमोर’ को उल्लेख गरेको छ । केही हफ्ता अघि सिरियामा सरकार ढल्दा पनि त्यसको कुनै पृष्ठभूमि दिइएन । हामीलाई बिर्सिने रोग लागेजस्तो छ ।

jeffry-d-sachs 2

दीर्घकालीन योजना अन्तर्गत यस्तो विध्वंस भएको छ भन्ने कुरा हामीले नबुझेजस्तो छ । अमेरिकाले इजरायलका कारण धेरै युद्ध लड्नुपरेको छ, तथापि इजरायल हाम्रो सबैभन्दा निकट मित्र हो । वर्षौंदेखि इजरायलले अमेरिकाको विदेश नीति चलाइरहेको छ । यसले धेरै विनाश निम्त्याएको छ । तपाईंले सन् २००० देखि २००१ सम्म नेतन्याहुले बोलेका भिडियोका अंश हेर्नु भयो भने रोचक कुरा थाहा पाउनु हुन्छ । सन् २००२ को अक्टोबरमा अमेरिकी सिनेटमा उनले इराक युद्धको बढाइ–चढाइ गरेर एउटा बयान दिएका थिए । त्यहाँ उनले सद्दाम हुसेनसँग आम विनाशकारी हतियार भएको बताएका थिए । जबकि त्यो सरासर झुट थियो ।

उनले इराकमा गरिने आक्रमणले धेरै राम्रो हुने बताएका थिए । उनका अनुसार हामीले इराकको तानाशाहलाई हटाउनेछौँ । त्यसपछि जताततै तानाशाहहरूको पतन हुनेछ । इरानका युवाहरू उठ्नेछन्, त्यहाँ विद्रोह हुनेछ । यस्तै–यस्तै कुरा भनेका थिए । विगत २५ वर्षदेखि अमेरिकी सरकारमा रहेका ‘नियोकन’ सल्लाहकारहरू र अमेरिकी राजनीतिक सल्लाहकारहरू पनि यस्तै सोच्छन् । जबकि उनीहरूले मध्यपूर्वमा अराजकता सिर्जना गर्दै अनगिन्ती युद्धहरूमा संयुक्तराज्य अमेरिकालाई लतारेकोमा, अरबौँ डलर ऋण अमेरिकी नागरिकमो टाउकोमा थोपरेकोमा कहिल्यै माफी मागेका छैनन् ।

निस्सन्देहः हामी अमेरिकीले बेहोर्छौँ । तपाईंले, मैले बेहोर्नु पर्छ । नत्र युद्धका लागि २८ ट्रिलियन डलर ऋण कहाँबाट आउँछ त ?

एकपटक हामी फेरि तिनै सात वटा देशमा फर्कौं, जहाँ युद्ध गर्ने भनिएको थियो । अहिले सबैतिर अवस्था निकै नाजुक छ । लेबनान धराशायी हुने डिलमा पुगेर जसोतसो चलिरहेको छ । सिरिया टुक्रा–टुक्रा भएको छ । इजरायलले भर्खरै दक्षिण पश्चिमबाट सिरियाको भित्री भागमा आक्रमण गरेको छ । उत्तरबाट टर्कीले नियन्त्रण गर्दैछ । रुसले आफ्नो क्षेत्रमा कब्जा गरेकै छ । संयुक्त राज्य अमेरिका र कुर्दहरूका आफ्नै क्षेत्र छन् । यो भूगोल अब आउने वर्षहरूमा युद्धको झनै ठुलो केन्द्रविन्दु हुनेवाला छ ।

इराकमा के भयो, हामीलाई थाहै छ । खर्बौं अमेरिकी डलर खर्च गरेर पनि त्यो देश पूर्ण अस्थिरतामा छ । अमेरिकाले सुडानलाई टुक्र्याएर अलग–थलग बनाइदिएको छ, किनकि सुडान इजरायलको शत्रु मुलुक हो । अमेरिकाले दक्षिण सुडानलाई समर्थन गर्‍यो । अहिले दुई वटै सुडानमा ठुलो गृहयुद्ध चलिरहेको छ । सोमालिया मूलतः एक देशको रूपमै छैन । लिबिया अस्तव्यस्त छ । अझै भनौँ, यो रणमैदान भएको छ । यी त भए नेतन्याहुले भन्ने गरेका ६ देश । अब उनीहरू हामीलाई इरानतर्फ लागौँ भन्दैछन् ।

  • यो सबैको खर्च कसले बेहोर्छ ?

निस्सन्देहः हामी अमेरिकीले बेहोर्छौँ । तपाईंले, मैले बेहोर्नु पर्छ । नत्र युद्धका लागि २८ ट्रिलियन डलर ऋण कहाँबाट आउँछ त ? ब्राउन विश्वविद्यालयको अध्ययन अनुसार हामीले यसका लागि ७ ट्रिलियन अमेरिकी डलर खर्च गरेका छौँ । इजरायल आफैँले गर्नु परेको भए त ऊ एकदिन पनि टिक्न सक्दैनथ्यो । नेतन्याहु ‘हामी सिंह हौँ’ भन्छन् नि ! खासमा उनी झुट बोलिरहेका छन् । तिनलाई पैसा, हतियार, बन्दोबस्तीको सामान सबै अमेरिकाले दिने हो ।

हो, त्यहाँ स्थानीय जनताको विरोध पनि हुन सक्छ । तर, यो आन्दोलन सीआईएको पक्षमा छ किनभने सीआईएले उनीहरूलाई हतियार दिएको छ । आर्थिक सहयोग गरेको छ । प्रशिक्षण दिएको छ ।

मलाई अनौठो लाग्छ– हामी हाम्रो सहयोगीको रक्षा गर्ने भन्छौँ तर खासमा हामी इजरायलको विदेश नीतिको सेवा गरिरहेका छौँ, जसले कुनै अर्थ राख्दैन । यसले कुनै पनि देशमा शान्तिको अगुवाइ गर्दैन । खासमा यसले हामीलाई मध्यपूर्वमा युद्ध क्षेत्रतर्फ धकेलिरहेको छ । तथापि हामी यी सबै युद्ध हाम्रो हितमा छ भनिरहेका छौँ । यो हाम्रो हितमा कसरी हुन सक्छ ? यसबाट अमेरिकाले के पाउँछ ? मैले भनेको मान्नु हुन्छ भने हामीले यसबाट ठुलो भूराजनीतिक बहिष्करण बाहेक केही पाएका छैनौँ । संयुक्त राष्ट्रसंघमा भर्खरै भएका मतदानले अमेरिकालाई एक्लो बनाइदिएको छ ।

हाम्रो पक्षमा माइक्रोनेसियाका केही देशमात्र छन् । त्यहाँका १२ हजार मानिस हाम्रो पक्षमा छन् भनेर मान्ने हो भने पनि विश्व हाम्रो साथमा छ भनेर बढाइ–चढाइ गरेर केही हुँदैन । सिङ्गो विश्वले के भनिरहेको छ भन्ने महत्त्वपूर्ण कुरा हो । हामी भने अन्तहीन युद्धमै निर्लिप्त छौँ ।

  • के अमेरिकीहरू असदको सत्ताच्युतमा सम्लग्न थिए ?

निःसन्देह थिए, किनभने यो निरन्तरतामा भएको छ । अन्तिम दिनहरूमा अमेरिकी सरकार कति संलग्न थियो, त्यसबारे म यकिनसाथ भन्न सक्दिनँ । उनीहरू विगत १३ वर्षदेखि निरन्तर त्यहाँ सक्रिय छन् भन्ने मलाई थाहा छ । यसको कथा रोचक छ । यो युद्ध सन् २०११ मा सुरु भयो । सीआईएले यसलाई अरु बेलाजस्तै स्थानीय विद्रोह र स्वतन्त्रता आन्दोलनको रूपमा चित्रण गरिरहेको छ । असदका विरूद्ध सिरियाली जनताको विद्रोह भनिएको छ । सीआईएले गराउने शासन परिवर्तनको अप्रेसन यसरी नै भाष्य निर्माण गरेर गरिन्छ ।

हो, त्यहाँ स्थानीय जनताको विरोध पनि हुन सक्छ । तर, यो आन्दोलन सीआईएको पक्षमा छ किनभने सीआईएले उनीहरूलाई हतियार दिएको छ । आर्थिक सहयोग गरेको छ । प्रशिक्षण दिएको छ । यसले असदविरुद्ध लड्नेहरूलाई शिविर बनाइदिएको छ । असदविरुद्ध लड्नेहरूलाई राजनीतिक पार्टी निर्माण गरिदिएको छ । सिरियामा त्यस्तो आन्दोलन सन् २०११ देखि सुरु भयो । सन् २०१२ सम्म आइपुग्दा, त्यहाँ रक्तपात मच्चिएको थियो । धेरै मानिसले ज्यान गुमाइसकेका थिए ।

त्यहाँ धेरै प्राचीन र ऐतिहासिक स्थल थिए, किनभने त्यो भूभाग मानव सभ्यता विकास सुरु भएको उर्वर अर्धचन्द्राकार आकारको ‘फर्टाइल क्रेस्सान्ट’ भनिने क्षेत्रमा पर्छ । मानवताको जन्मभूमिमै सभ्यता नष्ट हुँदै थियो र त्यसमा अमेरिकाले आर्थिक, सैन्य सहयोग गरिरहेको थियो । सन् २०१२ मा मैले एक जना कूटनीतिज्ञलाई भेटेको थिएँ । उनी यहाँ शान्ति स्थापनार्थ क्रियाशील थिए । उनका अनुसार झण्डै सबै विषयमा सहमति भएर रक्तपात अन्त्य हुने तय भइसकेको थियो तर एउटा शक्ति त्यसका लागि तयार भएन । त्यो अमेरिका थियो । त्यस्तो किन त भन्ने लाग्न सक्छ किनभने उनीहरू सम्झौता हुने पहिलो दिनमै असदको बहिर्गमन चाहन्थे ।

अरू सबै शक्तिहरू नयाँ राजनीतिक प्रक्रियामा सहमत भए तर अमेरिकाले असदको बहिर्गमनविना मानेन र त्यहाँ आजसम्म शान्ति कामय हुन सकेको छैन । अर्थात् यो सबै प्रक्रियामा अमेरिकाको शासन उल्ट्याउने अप्रेसन चलिरहेको थियो ।

  • मैले नबुझेको कुरा, हामीले असदलाई घृणा गर्नुपर्ने कारण के छ ?

मलाई व्यक्तिगत रूपमा असदबारे राम्रो भन्नुपर्ने वा उसको पक्षमा उभिनु पर्ने कुनै कारण छैन । असदले सिरियामा क्रिश्चियनहरूको सुरक्षा गरेको पनि स्पष्टै देखिन्छ । एउटा क्रिश्चियन हुनुको नाताले यसका लागि म उनीप्रति कृतज्ञ छु । तुल्सी गाबर्डले सिरिया गएर असादलाई भेटेपछि उनीमाथि चौतर्फी आक्रमण हुन थालेको हो । मलाई के लाग्छ भने, जब तपाईंले कुनै शासन परिवर्तनको अभियान चलाउनु हुन्छ, त्यसपछि तपाईंले आफ्नो विरोधीलाई हिटलरजस्तै वा हिटलरकै पुनर्जन्म लिएर आएको स्तरको खतरानक व्यक्ति भनेर देखाउनुपर्ने हुन्छ ।

शासन परिवर्तनको अभियानले उसको खलनायकीकरण आवश्यक हुन जान्छ । यो सबै मनोवैज्ञानिक वा सूचनायुद्धको एउटा हिस्सा हो । खासमा यसले यसैगरी काम गर्छ । त्यसपछि आममानिसलाई हामीले यस्ता तानाशाहलाई जसरी पनि रोक्नु पर्छ भनिन्छ । यसलाई अहिले नै रोकिएन भने यो अमेरिकामै आइपुग्छ पनि भनिन्छ । निकारागुआको हकमा यस्तै भनिएको थियो । उनीहरू टेक्साससम्म आइपुग्छन् भनियो । यो पटकथाको स्क्रिप्ट यसैगरी लेखिन्छ ।

  • अमेरिकी मिडियामा यसबारे प्रश्न किन उठ्दैन ? असदलाई घृणा गर्नुपर्ने ठ्याक्कै कारण के हो भनेर न्युयोर्क टाइम्समा कसैले किन सोध्दैनन् ? यहाँ त असद देखाएर मेरो देशप्रतिको वफादारितामा पो शंका गरिन्छ । तर, पनि यस्तो चुरो प्रश्न किन सोधिँदैन त ?

तपाईले न्यूयोर्क टाइम्स भन्नु भयो, मलाई एकपटक हाँस्न मन लाग्यो । उनीहरू कुनै पनि द्वन्द्वको ऐतिहासिक पृष्ठभूमिलाई कभर गर्दैनन् । उनीहरूका अनुसार ‘सेक्युरिटी’ र ‘मिलिटरी’ स्टेटको आफूखुसीको मामला हो ।

  • न्युयोर्क टाइम्सले किन ‘सेकुरिटी स्टेट’ कै कुरा दोहोर्‍याइरहन्छ त ?

यसलाई बुझ्न हामीले केही दशक अघिको पोलिटिक्स बुझ्नुपर्ने हुन्छ । मलाई न्युयोर्क टाइम्समा खुफिया एजेन्सीका मान्छे भर्ती भएका छन् जस्तो लाग्छ ।

  • को हुन् त तिनीहरू ?

हामीलाई थाहा छ– विगतमा सीआईएको पेरोलमा पत्रकारहरू पनि थिए । तिनीहरू अहिले पनि सीआईएका लागि काम गर्छन् वा गर्दैनन् त म भन्न सक्दिनँ तर, यो ऐतिहासिक तथ्य हो । हामीलाई थाहा छ– दुर्लभ अपवादबाहेक न्युयोर्क टाइम्सले सधैँ ‘अज्ञात आधिकारिक’ स्रोत उल्लेख गर्ने गर्छ । एउटा देशभक्त अखबारले के गर्नुपर्छ भनेर भनिएको छ, उसले त्यही गर्छ । ‘अप्रेसन टिम्बर साइकमोर’ मा अमेरिकाको अर्बौं डलर खर्च भयो । धेरै मानिस मारिए । धेरै क्षति भयो तर न्युयोर्क टाइम्सले जम्मा एक दिन एउटा सामान्य रिपोर्टमात्रै लेख्यो । यस्ता घटनालाई त उसले कहिलेकाहीँ कुनामा, सानो कोलममा लेखेर टारेको देखिन्छ । मैले एक पटक न्युयोर्क टाइम्सका एकजना संवाददातालाई किन यसरी पृष्ठभूमि नलेख्नु भएको भनेर सोधेँ । उनले यसमा रोचक कुरा छ भन्थे तर त्यो रोचक कुरा आजसम्म बाहिर आएको छैन ।

  • तपाईंले न्युयोर्क टाइम्सका संवाददातालाई पत्र नै लेख्नु भयो ?

हो । म उनीहरूलाई दशकौँदेखि चिन्छु । म उनीहरूलाई चिन्छुमात्र होइन, कति त मलाई नै मन पर्छन् । केही मेरा सहपाठी हुन् । यो सबै कुरा उनीहरूलाई थाहा भए पनि उनीहरूले रिपोर्ट लेख्दैनन् । यसबाट पनि उनीहरू के हुन् भन्ने बुझ्न सकिन्छ । व्यक्तिगत कुराकानीमा उनीहरू अखबारमा आएको कुराको विपरीत यथार्थ बताउँछन् । समग्रमा हामी विदेश नीति गोप्यरूपमा सञ्चालन गर्छौं । यो मेरो लागि चिन्ताको विषय हो । हामीकहाँ विदेश नीतिको लोकतान्त्रिक निरीक्षण गर्ने कुनै विधि छैन ।

यसको कुनै व्याख्या आवश्यक पर्दैन । कुनै जवाफदेहिता खोजिँदैन । यसलाई असाध्यै थोरै मान्छेले चलाउँछन्, त्यो पनि असल र भरपर्दा मान्छेको हातमा छैन । हामीले मध्यपूर्वको विदेश नीति इजरायललाई जिम्मा लगएका छौँ । अमेरिकाको राष्ट्रिय स्वार्थमा नभएर इजरायली हितमा र इजरायली लबीलाई जिम्मा लगाएका छौँ भन्नेबारे कहिल्यै कुनै छलफल नै गरिएको छैन । कतिसम्म भने हामी यसबारे कुनै प्रश्न सुन्न तयार छैनौँ ।

  • त्यसो भए सिरियामा अब के हुन्छ ?

भावी दिनहरूमा पनि त्यहाँ निरन्तर युद्ध हुनेछ । स्पष्ट शब्दमा भन्दा जे पनि हुन सक्छ । नेतन्याहुको इच्छा अमेरिकाले इरानमा आक्रमण गरोस् भन्ने छ । सायद नयाँ राष्ट्रपति डोनाल्ड ट्रम्पका केही सल्लाहकारले पनि त्यस्तै सोच्न सक्छन् । अब आउन लागेको अमेरिकी प्रशासन पुरानो खेमाका कट्टरपन्थी र फरक–फरक दृष्टिकोण बोक्ने मानिस मिसिएर बन्दैछ । त्यसैले नयाँ प्रशासनमा अन्तर्द्वन्द्व हुने देखिन्छ । तर, त्यहाँ केही युद्धकै पक्षमा छन्, उनीहरूको कुरा अनुसार मध्यपूर्वमा युद्ध जारी राख्नुपर्छ ।

हिजबुल्लाह र हमास कमजोर भएका छन् । सिरियाको पतन भएको छ । हवाई प्रतिरक्षा लगभग सकिएको छ । अब हामी इरानको आकाशमा सहजै उड्न सक्छौँ र बमवर्षा गर्न सक्छौँ भनेर सोच्न सक्छन् । यदि यो वास्तविकतामा परिणत भयो भने पक्कै पनि गम्भीर परिणाम हुनेछ यसको । यसलाई सबैले साँच्चै बुझ्नै पर्छ भन्ने लाग्छ मलाई । लेबनान, इराक, सिरिया, सोमालिया, सुडान र लिबियामा गरेर हामीले अहिलेसम्म ६ वटा युद्ध गरिसकेका छौँ । तीमध्ये एउटालाई पनि स्थायित्व र शान्तितर्फ लैजान सकेनौँ हामीले । भूराजनीतिक समस्या समाधान हुन सकेका छैनन् । हामी कुनै समाधानतर्फ गइरहेका छैनौँ । ठुलो मुल्य चुकाएर हामीले इजरायललाई वेस्ट बैंक, पूर्वी जेरुसेलम, गोलान हाइट्स तथा गाजामा कब्जा गर्ने बाटो दिएका छौँ ।

विश्वव्यापी विरोधका बाबजुद यसलाई अमेरिकाकै महान रणनीतिक उद्देश्य जस्तो गरिएको छ । तर, यसले कुनै समाधान दिन सकेको छैन । इरानलाई ‘हराउने’ कुनै उपाय छैन । हामीले इरानमै गएर बम हाने पनि इरानसँग अहिले बलिया सहयोगी छन् । इरानसँग सहयोगीको रूपमा रुस र चीन छ । इरान ब्रिक्समा छ । इरानको रसियासँग सैन्य सम्बन्ध छ । त्यसो त हामीकहाँ हामी रुसलाई हराउदैछौँ भनेर सोच्ने सनकी पनि छन् । तर, हामीले बुझ्नु पर्छ, रुससँग ६ हजार आणविक हतियार छन् । जसमध्ये १६ सय त अहिले नै तैनाथ गरिएका छन् । यसैमा रुसको नयाँ हाइपरसोनिक ‘ओरेश्निक ब्यालेस्टिक मिसाइल’ पनि पर्छ । जसको क्षमता ‘म्याच ११’ मा यात्रा गर्ने खालको छ ।

अन्य हाइपरसोनिक हतियार पनि छन् । यस्तो अवस्थामा अमेरिकामा त्यस्ता मानिस छन्, जो आफ्नो मानसिक अन्धोपनको सिकार भएर युद्धलाई आणविक तवाहीसम्म तन्काउन चाहन्छन् । तिनीहरू उच्च पदस्थहरूकै वरपर छन् । यस्तो अवस्थामा जब तपाईं गम्नु हुन्छ, अनि लाग्छ– अब के हुन्छ ? यसमा अर्को प्रश्न जोडिन आइपुग्छ, त्यो हो– राष्ट्रपति ट्रम्पले अहिलेको धार परिवर्तन गर्न सक्छन् ?

यो प्रश्न आजको दिनमा अमेरिकाले सामना गरिरहेको सबैभन्दा महत्त्वपूर्ण प्रश्न हो । वासिंगटनमा धेरै फरक गुट छन्, जुन आफ्नो मुख्य कुराको सुनुवाइ गराउन लडिरहेका छन् । मिच म्याककोनेल नामका आठ दशक कटेका एक व्यक्तिले प्रसिद्ध पत्रिका ‘फरेन अफेयर्स’ मा भर्खरै एउटा लेख लेखेका छन् । उनी खासमा भ्रममा बाँचिरहेका छन् । उनले अमेरिकाको एकल वर्चस्वको निरन्तरता कायम गर्न प्रतिबद्ध हुन आह्वान गरेका छन् । यसमा ठुलो सैन्य अभियानका लागि तयार हुन सबैलाई आह्वान गरिएको छ । 

उनी रुस र चीनसँगको हरेक किसिमको घटनाका लागि तयार हुन र त्यसका लागि ठुलो सैन्य अभियानमा जुट्न सबैलाई आह्वान गर्छन् । त्यो पुरानो विचारधारात्मक ‘स्कुल’ हो । अमेरिकामा यो धेरै शक्तिशाली विचार हो । यसलाई महत्त्वपूर्ण चासो साथ हेरिएको छ किनभने वासिंगटनको सबैभन्दा ठुलो व्यवसाय नै युद्ध हो । मिच म्याकोनेलले बिल्कुल त्यसैको प्रतिनिधित्व गर्छन् । त्यसपछि त्यहाँ अन्य यस्ता समूह पनि छन्, जसले हामीसँग रूसको कुनै आधारभूत द्वन्द्व छैन, रुस हाम्रा लागि वास्तविक खतरा होइन, बरु मुख्य खतरा चीन हो भन्छन् । उनीहरू युक्रेनको युद्ध समाप्त गरेर चीनसँग युद्धका लागि तयार हुनुपर्छ भन्छन् ।

  • (हाँस्दै...) हाम्रा सबै एन्टिबायोटिक उत्पादन गर्ने देशसँग होइन त ?

अहिले सबैले सन् २०२७ सम्ममा चीनसँग वासिंगटनको युद्ध हुन सक्नेबारे कुरा गरिरहेका छन् । अचम्म लाग्छ, हामी यसरी आमविनाशको चर्चा र तयारी गरिरहेका छौँ । यो निराधार कुरा होइन । हामीसँग आधिकारिक दस्तावेज छन् । हामीले सन् २०२७ सम्म चीनसँग युद्धका लागि तयार हुनुपर्छ भन्ने जलसेनाको रणनीतिसहितका आधिकारिक दस्तावेज नै छन् । न्युयोर्क टाइम्समा एउटा ठुलो लेख प्रकाशित भएको थियो, मैले त्यो चासोसाथ पढेँ । त्यो पेन्टागनले चीनसँग युद्धको तयारी गरिरहेको बारेको स्टोरी थियो । ती रिपोर्टरलाई म दशकौँदेखि चिन्छु ।

त्यहाँ एक समूह चीनसँग युद्धका लागि तम्तयार छ । तर, यो सम्भव छैन । चीन अकल्पनीय स्तरको आणविक महाशक्ति हो । उसले आफ्नो सीमामा धेरै ठुलो सेनाको घेरा राखेको छ ।

लगत्तै मैले तिनलाई स्टोरी लेखेकोमा धन्यवाद भनेँ । ‘युद्धपछि हामीले यस्तो स्टोरी पढ्न पाउने छैनौँ किनभने हामी सबै मारिनेछौँ, युद्ध अघि नै राम्रो स्टोरी लेखेकोमा तपाईंलाई धन्यवाद !’ भनी लेखी पठाएँ । ती रिपोर्टरले जवाफ दिँदै मलाई लेखे– ‘वास्तवमा पेन्टागन यस्तो युद्ध नै चाहँदैन । मैले यो कुरा सम्पादकलाई तीन पटकसम्म भनेँ तर सम्पादकले यसलाई तीनै पटक प्रकाशित गरे । यस्तो लेख हतारमा किन लेखिन्छ, मैले बुझ्नै सकेको छैन । न्युयोर्क टाइम्सजस्तो ठुलो पत्रिकाले यस्तो किन गर्छ, बुझीनसक्नु छ ।’

त्यहाँ एक समूह चीनसँग युद्धका लागि तम्तयार छ । तर, यो सम्भव छैन । चीन अकल्पनीय स्तरको आणविक महाशक्ति हो । उसले आफ्नो सीमामा धेरै ठुलो सेनाको घेरा राखेको छ । त्यहाँ अर्को पनि समूह छ, जसले भन्छ हामीलाई कसैसँग युद्धको आवश्यकता छैन । हामीलाई कसैको खतरा छैन । संयुक्त राज्य अमेरिका इतिहासमै कोही पुग्नै नसक्ने स्तरमा सुरक्षित छ । हाम्रो वरपर दुई वटा ठुला महासागर छन् । कसैले पनि हामीलाई आक्रमण गर्न सक्दैन । हामीसँग हरेकस्तरको प्रतिरोधात्मक क्षमता छ । चीनले हामीलाई धम्की दिँदैन र धम्की दिन सक्दैन पनि । त्यसो भए हामी किन यस्ता युद्धको कुरा गर्दैछौँ ? हामी मध्यपूर्वमा किन युद्धमा छौँ ? हामी युक्रेनमा रुससँग किन युद्ध गरिरहेका छौँ ? मलाई लाग्छ, हामी सबै प्रस्ट हुनुपर्छ । जमिनमै हाम्रो सेना उपस्थित छ, भलै तिनीहरू प्रायः सीआईए वा गोप्य रूपमा हुन्छन् ।

तर, यो त हाम्रो युद्ध हो । हामी तिनीहरूका लागि खर्च भुक्तान गरिरहेका छौँ । हाम्रो पैसा खन्याइरहेका छौँ । हतियार दिइरहेका छौँ । अब यस्तोमा फेरि चीनसँग युद्ध किन चाहियो ? यस्तो भन्नेहरूको पनि ठुलो संख्या छ । अर्काथरी पनि छन्, जो हामी किन व्यापार, उन्नत प्रविधि र हाम्रो आर्थिक आवश्यकतामा ध्यान दिँदैनौँ भन्छ । यस्तो प्रक्रियामा हामी पछि पर्नुहुन्न भन्छ । यसो भन्ने समूह पनि ट्रम्पको नयाँ टोलीको हिस्सा हो । सम्भवतः अमेरिकाले अहिले जवाफ पर्खिरहेको प्रश्न भनेकै यी समूहमध्ये कुन विचारसमूह आगामी दिनमा अमेरिकी नीतिमा हावी हुन्छ भन्ने हो । यसैले धेरै कुराको निर्धारण गर्नेछ ।

  • चुनाव र नयाँ कार्यकाल सुरुवातबिचको अवधिमा मैले केही हप्ता असाध्यै असजिलो महसुस गरेँ । बिदा हुँदै गरेको प्रशासनले द्वन्द्वलाई थप तीव्र पार्दै लगेजस्तो देखियो, ताकि नयाँ प्रशासनलाई विभिन्न युद्धहरूको भारी बोकाउन तथा बाध्यतामा पार्न खोजेको हो कि जस्तो अनुभूत भयो, खासगरी रुससँगको युद्धमा । यस्तो किन हुन्छ ?

हामीले यसमा चर्चा गर्नैपर्ने थियो । मेरो विचारमा बाइडेन प्रशासन आधुनिक इतिहासका हाम्रा सबै सरकारमध्ये सबैभन्दा खराब रह्यो । त्यसो त म सितिमिति अमेरिकी सरकारको प्रशंसा गर्दिनँ । क्लिन्टनदेखि यताका सबै प्रशासनको मैले आलोचना गरेको छु । मलाई लाग्छ तिनीहरू सबै असफल छन् । तर, बाइडेन प्रशासन त झनै बेफ्वाँकको र पूर्ण रूपमा स्तब्ध पार्ने खालको थियो । यसले हामीलाई आणविक युद्धको सँघारमा ल्याइपुर्‍यायो । हामीलाई थप द्वन्द्वमा फसाइदियो । कूटनीतिको क्षेत्रमा एउटा पनि काम गरेन । कूटनीतिको अर्थ झिनामसिना कुरामा अल्झिनु होइन । यो त आफ्नो काम फरक तरिकाले गराउनु पनि हो ।

मलाई त बाइडेनको दिमागले राम्रोसँग काम गर्छ कि गर्दैन भन्नेमै शंका छ ।

तपाईंले भर्खरै रूसी विदेशमन्त्रीबाट अमेरिका–रुसका विदेशमन्त्रीबिच वर्षौँदेखि संवाद भएको छैन भन्ने सुन्नुभयो । यसो गर्नु हाम्रो सुरक्षा र सुरक्षित जीवनका लागि अकल्पनीय मुर्खता हो । रुसी विदेशमन्त्री सर्गेई लाभरोभले तपाईंसँगको अन्तर्वार्तामै बाइडेन र पुटिनबिचमा सन् २०२२ को फेब्रुअरीपछि एक पटक पनि कुराकानी भएको छैन भनेर भने । यो त अचम्मको अवस्था हो । सन् २०२२ को फेब्रुअरीयता लाखौँ युक्रेनीको हताहत भइसकेको छ तर पनि एक–अर्काको अवस्था बुझ्ने प्रयास नगर्ने, छलफल नगर्ने, समाधान खोज्ने प्रयत्न नगर्ने ? अमेरिकाले यस्तो के गरेको हो ? अर्को पक्षसँग एक पटक पनि छलफलको प्रयासै नगर्ने ? यो त अचम्मको डरलाग्दो कुरा भयो ।

मलाई त बाइडेनको दिमागले राम्रोसँग काम गर्छ कि गर्दैन भन्नेमै शंका छ । जेक सुलिवान, एन्थोनी ब्लिन्केन जस्ता व्यक्तिलाई म पूर्णरूपमा असफल मान्छु । हाम्रो सुरक्षा गर्नु सुलिवानको काम हो । उनले हामीलाई झनै असुरक्षित बनाइदिए । हामी त आणविक युद्धको झन्–झन् नजिक पो आइपुग्यौँ । उनीहरूले हरेक गम्भीर कुरालाई ठट्टाको विषय बनाए । रुसी राष्ट्रपति पुटिनले पटक–पटक चेतावनी दिइरहेका छन् । हामी भने रूसको ‘रेड लाइन’ को मजाक उडाइरहेका छौँ । के साँच्चै यस्तो गरेको हाम्रो सुरक्षाका लागि हो ? अवश्य पनि होइन ।

हामी युद्धको झिल्का युद्धरत मुलुकको छिमेकमा फैलिँदै गरेको देखिरहेका छौँ । यो कुरा केवल मध्यपूर्व र इरानसँग युद्धको हल्लाखल्लासँग मात्रै जोडिँदैन । बाइडेनले रूसको भित्री भूभागमा लामो दूरीको स्ट्राइकको प्रयोगलाई आधिकारिकता प्रदान गर्नु सामान्य विषय होइन । राष्ट्रपति पुटिनले प्रस्ट रूपमा यस्ता आक्रमणहरू अमेरिकाले रुसमा गरेको आक्रमणका रूपमा लिइने भनिसकेका छन् । सोच्नुस् त, यदि रूसले अमेरिकामा आक्रमण गरेको भए हामीलाई कस्तो लाग्थ्यो होला ?

झन् हामी त रुसको राष्ट्रपतिकै हत्या गर्न खोज्दै छौँ ।

के हामी यसलाई ठिकै हो भन्थ्यौँ होला ? तर, अमेरिकीहरूको असन्तुष्टिका बाबजुद बाइडेनले अनुमति दिइसकेका छन् । अवस्था यस्तो छ । त्यसपछि हामी वरपर ‘हट स्पटहरू’ देख्दैछौँ । जर्जिया तथा अन्य दक्षिण काकेशस क्षेत्रमा हालैका हप्ताहरूमा तख्तापलटका अभ्यासहरू देखिरहेका छौँ । यी सफल हुँदैनन् । यिनीहरूको उद्देश्य यो क्षेत्रलाई अस्थिर बनाउनेमात्र हो ।

यसमा अमेरिकाको हात एकदमै स्पष्ट रूपमा देखिन्छ । यस्तो हामी रोमानियामा देख्छौँ । त्यहाँ अर्को विचित्रको चर्तिकला भयो । राष्ट्रपतिको चुनाव दोस्रो चरणमा थियो, चुनावमा प्रतिस्पर्धामा भएका प्रमुख उम्मेदवारले युक्रेनसँग युद्ध अन्त्य गर्नुपर्छ भन्दै थिए । यसैबिच रोमानियाको सर्वोच्च अदालतले रूसी हस्तक्षेपको दाबी गर्दै चुनाव नै रद्द गरिदियो । त्यसैले गर्दा शान्तिका लागि बोल्ने उम्मेदवारले चुनाव जित्न सकेन । हामीले त्यस्ता घटना जताततै देखिरहेका छौँ र त्यसमा अमेरिकी सहभागिता पनि देखिरहेका छौँ ।

  • यसैबिच दक्षिण कोरियामा के भएको हो ?

दक्षिण कोरियामा अचम्मका घटनाक्रम हुँदैछन् । कोरोयाली राष्ट्रपति यूनले सैन्य सहयोगमा ‘कु’ को प्रयास गरे । संसदलाई घेरेर सांसदहरूलाई गिरफ्तार गर्न खोजियो । तर, अन्ततः ‘कू’ असफल भयो र यूनलाई राष्ट्रपति पदबाट हटाइयो । तर, उनले त्यो विद्रोह किन गर्न खोजे भन्ने पूर्णरूपमा स्पष्ट छैन । झन् यो घटनामा अमेरिकी प्रतिक्रिया विचित्रको थियो । अमेरिकाले ‘हामी चासोका साथ हेरिरहेका छौँ’ मात्र भन्यो । संवैधानिक व्यवस्थाको पुनर्स्थापनाबारे केही बोलेन । विद्रोह वा अन्य कुनै कुराको विरुद्धमा थियो भन्ने पनि उल्लेख गरेन । यसबारे सबैकुरा बाहिर आइसकेका छैनन् । यसै हो भनेर ठोकुवा गर्न सक्ने अवस्था छैन ।

हामीसँग धेरै जानकारी छैन । तर, तख्तापलटको प्रयास अघि दक्षिण कोरियाबाट हतियारका लागि युक्रेनी रक्षामन्त्रीको भ्रमण भएको थियो । त्यसका लागि अमेरिकाले धेरै कडा दबाब दिइएको थियो । अमेरिकाले दक्षिण कोरियालाई युक्रेनमा हतियार पठाउनका लागि मनाउन प्रयास गरिरहेको छ किनभने अमेरिकी हतियार भन्डार रित्तिएका छन् । तर, दक्षिण कोरियाको कानुन अन्तर्गत त्यसो गर्न मिल्दैन किनभने उनीहरूको कानुन अनुसार युद्धमा संलग्नहरूलाई युद्धमा हतियार पठाउन नपाउने प्रावधान छ । संसदले यसको विरोध गर्‍यो ।

संसदमा सभामुख वा निवर्तमान राष्ट्रपतिको बहुमत छैन । विपक्षीले हातहतियार दिने कुराको विरोध गरे । यी घटनाबिच केही सम्बन्ध हुनसक्छ । यूनले मार्शल ल घोषणा गर्दा विपक्षीहरू संविधानको पक्षमा थिए भनिएको छ । कतिपयले त यो ‘कू’ लाई ठुलो हातहतियार आपूर्तिसहित युक्रेन युद्धमा प्रवेश गर्न दक्षिण कोरियालाई बाटो खोल्ने तरिकाको रूपमा पनि हेरेका छन् । यस्तै हो भने पनि मलाई अचम्म लाग्ने छैन । सायद हामीले छिटै थाहा पाउनेछौँ । त्यसपछि कार्यवाहक राष्ट्रपति बनेका व्यक्ति हार्वर्डमा मेरो पहिलो पीएचडी विद्यार्थी थिए । तर, योचाहिँ संयोगमात्रै हो ।

  • मैले बुझ्न खोजेको असदको पतन हुँदा रुस किन किनारामा बस्यो ?

मलाई लाग्छ, यो मूल रूपमा सैन्य कोणबाट गरिएको छनोट थियो । किनभने रुस युक्रेनमा १२ सय किलोमिटर लामो सीमामा युद्धरत छ । उसले कुनै पनि ठुलो सैन्य प्रयासलाई अन्यत्र मोड्न चाहँदैन । दोस्रो, असदको पतन हुनुको अर्को सम्भावित कारण असदको मुख्य सैन्य समर्थन हिजबुल्लाह सेना र इरानी गार्ड थिए । हिजबुल्लाहलाई पछिल्लो डेढ महिनामा इजरायलले धेरै नराम्रोसँग दपेटेको थियो । उसले लेबनानमा आफ्नो स्थिति सुदृढ पार्न सिरियाबाट आफ्नो सैन्य बल फिर्ता बोलायो ।

युक्रेन, मध्यपूर्व, रुसको वरपर तथा सुदूरपूर्वमा हामीले छलफल गरिरहने किसिमको अमेरिकी भड्कावलाई निरन्तरता दिनुको अर्थ अहिले नै सबैभन्दा ठुलो खतरा निम्तिनुसरह हो । आउँदा दिनमा ट्रम्पको हात बाँध्ने गरी अहिले काम गर्नु वैचारिक, संवैधानिक र राजनीतिक रूपमा पूर्णतया गलत छ ।

यसबिच असदलाई हिजबुल्लाह सेनाको समर्थनविनै छोडियो, जुन उनको सेनाको मुख्य ढाल थियो । तेस्रो, रुसले सिरिया छोडिहाल्ने सोचेको छैन । यो कथाको अन्त्य पनि होइन । सिरियामा कब्जा गरेको समूह ‘एचटीएस’ ले दमास्कस कब्जा लगत्तै आफूले रुस र उसका सैन्य ‘बेस’ सिरियामा राख्न चाहेको बताइसकेको छ । त्यहाँ रुसको जलसेनाको र एउटा सानो एयरफिल्ड छ । रुसले सिरियाभित्रबाट ती दुवै बेसमा आफ्ना सेना पुनः तैनाथ गरेको छ । त्यसकारण मलाई लाग्छ, एक रणनीतिक हिसाब–किताब गरेर रूसले यसलाई अस्थायी कदमको रूपमा मात्र लिएको छ । निरन्तर द्वन्द्वको बाटोमा लाग्न वा अहिलेको अवस्थामा उसले अर्को ठुलो मोर्चामा लाग्ने अवस्था थिएन ।

  • मानौँ तपाईं निर्वाचन जितेको तर पदभार ग्रहण गरिनसकेको ट्रम्पको ठाउँमा हुनुहुन्थ्यो भने के गर्नु हुन्थ्यो ?

सबैभन्दा पहिले के कुरामा प्रस्ट हुनुपर्छ भने संविधान अन्तर्गत बाइडेन जनवरी २० सम्म राष्ट्रपति हुन् । तर, उनले अमेरिकालाई थप असुरक्षामा राख्नु हुँदैन भन्नु आजको दिनमा सही कुरा हो । उनले पर्याप्त क्षति गरेका छन् । त्यसैले मलाई लाग्छ हरेक राजनीतिक व्यक्तित्वले बाइडेनलाई तपाईं आफ्नो कार्यकालको अन्त्यमा हुनुहुन्छ र संसार धेरै खतरनाक मोडमा उभिएको छ भन्नुपर्छ । तपाईंसँग थप खतरा बढाउने कुनै प्रकारको जनादेश छैन ।

तपाईंले रूसको भित्री भूभागमा हमला गर्ने तथा र अमेरिकी मिसाइलको प्रयोगलाई कुनै हालतमा अनुमति दिनु हुँदैन भन्नु पर्छ । अब थप उत्तेजना नबढाउनुस् भन्नु पर्छ । मलाई आशा छ, दुवै पार्टीका राजनीतिज्ञले यसलाई गम्भीरतापूर्वक लिने छन् । साथै राष्ट्रपति ट्रम्पले पनि यो कुरा स्पष्ट रूपमा भन्न सक्छन् । आउँदो जनवरी २० अघि नै सरकारको जिम्मा लिने भन्ने त होइन, तर मेरो विचारमा हामीलाई थप खतरामा पार्ने वैधानिकता पनि बाइडेनसँग छैन । उनीहरूले विदेशबाट अमेरिकी सुरक्षालाई खतरामा पार्ने खालका कुनै पनि कार्यलाई रोक्नुपर्ने जिम्मा हो, तर म त्यस्तो भइरहेको देख्दिनँ ।

युक्रेन, मध्यपूर्व, रुसको वरपर तथा सुदूरपूर्वमा हामीले छलफल गरिरहने किसिमको अमेरिकी भड्कावलाई निरन्तरता दिनुको अर्थ अहिले नै सबैभन्दा ठुलो खतरा निम्तिनुसरह हो । आउँदा दिनमा ट्रम्पको हात बाँध्ने गरी अहिले काम गर्नु वैचारिक, संवैधानिक र राजनीतिक रूपमा पूर्णतया गलत छ । यस्तो गर्न खोज्नु विनाशकारी सोच हो । हामी दुई जना व्यक्ति वा दुई वटा प्रशासनको खेल खेलिरहेका छैनौँ । हामी आजको दिनमा सम्भवतः सबैभन्दा धेरै विश्वव्यापी खतराको समयमा बाँच्ने प्रयास गर्दैछौँ ।

  • नयाँ प्रशासनले महत्त्वपूर्ण दस्तावेज सार्वजनिक गर्ने कुरा गरेको छ । मैले जान्न चाहेको कुराहरूमध्ये एक ९/११ को घटनाबारे हो । किनभने हामीले त्यसका कारणहरू बुझ्न जरुरी छ । मलाई लाग्छ, ९/११ सम्बन्धी धेरै कागजातहरू २३ वर्षपछि पनि गोप्य नै राखिएका कारणमध्येको एक कारण– ती दस्तावेजहरूले अल–कायदाले संयुक्त राज्य अमेरिकामा किन प्रहार गर्‍यो भन्नेबारे थप विस्तृत कथा कहन्छ भनेरै होला । त्यो एउटा प्रतिक्रिया थियो जस्तो लाग्छ । पक्कै पनि मैले यसको रक्षा गर्न खोजेको त होइन । अमेरिकी विदेश नीतिसँग त्यसको सम्बन्ध थियोजस्तो लाग्छ । त्यो घटना अमेरिकी विदेश नीतिको प्रतिक्रिया थियो भन्ने लाग्छ । यो कुरा तपाईं कतिको मान्नुहुन्छ ? आज हामी के गर्दैछौँ भन्नेले भविष्यमा हामीमाथि हुने आतंककारी हमलाहरूबाट कत्तिको डराउनु पर्छ जस्तो लाग्छ तपाईंलाई ?

मलाई गोप्य दस्तावेजहरू सार्वजनिक गर्नेबारे केही भन्न दिनुस् । हामीले सीआईएलाई सम्पूर्ण इतिहासमा ५० वर्ष अघि एकपटक मात्रै नजिकबाट नियालेका छौँ । आउँदो वर्ष ‘चर्च कमिटी’ स्थापनाको ५० वर्ष पुग्दैछ । त्यो एकमात्र यस्तो समय थियो, जतिबेला हामीले सीआईएले के गरिरहेको छ भनेर हेर्‍यौँ । यसरी हेर्दा त्यहाँ हत्या, षड्यन्त्र, धोकाधडी र  गैरजिम्मेवारीको विषालु सर्पको गुँडजस्तो पाइएको थियो । त्यसबेला धेरै हत्याका योजना पर्दाफास भएका थिए । ती दस्तावेजहरूले ‘एमके अल्ट्रा’ नाम गरेको सबैलाई स्तब्ध पार्ने खालको डरलाग्दो कार्यक्रमको पर्दाफास गरेका थिए । त्यो यस्तो विशाल र विकृत कार्यक्रम थियो, जसमा उनीहरूले निर्दोष मानिसलाई टाइम्स स्क्वायरको सडकबाट हटाउन उनीहरूलाई ड्रग्स खुवाएर आत्महत्या गर्न बाध्य पार्नेजस्ता काम भएको थाहा भएको थियो ।

हाम्रो राजनीतिक प्रणाली पूर्णरूपमा भ्रष्ट छ । त्यहाँ कुनै अनुगमन नै छैन । सार्वजनिक अनुगमन नभएसम्म त्यहाँ कुनै खालको अनुगमन नै हुँदैन ।

त्यो सन् १९६५ को समय थियो । हामीले त्यसको ५० वर्षमा थप गोप्य अप्रेसनहरू चलाएका छौँ । माथि चर्चा गरिएजस्तै ‘टिम्बर साइकमोर’ पनि तिनैमध्ये एक हो । म सुरक्षा क्षेत्रमा काम गर्ने मान्छे होइन । म त अर्थशास्त्री हुँ । तर, मैले धेरै सरकारको वरिपरि रहेर काम गरेको छु । म संसारभर डुलेको छु । मैले आफ्नै आँखाले धेरै तख्तापलट भएको देखेको छु । मैले यी तख्तापलटहरूमा अमेरिकी भूमिका देखेको छु । मैले एकदमै घिनलाग्दा गतिविधिहरू देखेको छु । युक्रेनमा राष्ट्रपति यानुकोभिचको सत्तापलटको समय सीआईएको भूमिकाबारे मलाई थाहा छ । उनले आफूलाई पश्चिमाहरूले फाल्न लागेको मलाई पटक–पटक बताएका थिए । मैले उनलाई त्यस्तो हुन्न होला भन्थेँ । आखिर सीआईएले मध्यदिनको उज्यालोमा उनलाई लखेट्यो ।

हामीले यस्ता घटनाहरूको कुनै समीक्षा गरेका छैनौँ । हामीले झुटा बहाना बनाएर पटक–पटक युद्धमा गर्‍यौँ । हामी तथाकथित गोप्य अप्रेसनमार्फत बारम्बार युद्धमा गएका छौँ । उनीहरू यो सबै खुल्लमखुला गर्छन् त्यसैले हामीलाई थाहा हुन्छ । तर, यसबारे हामी मूलधारमा केवल इन्कारमात्र सुन्छौँ । हामी न्युयोर्क टाइम्सबाट मूर्खता सुन्दछौँ । केटाकेटी पारामा तिनीहरू कुनै पनि प्रश्न सोध्दैनन् ।

‘मेडान’ को बारेमा के हो ? अमेरिकी सरकारले त्यहाँ के गरिरहेको थियो ? उनीहरूले नभने पनि यो पत्ता लगाउन हामीलाई सजिलै छ । विभिन्न शासन व्यवस्थालाई ध्वस्त पार्नका लागि के–के निर्णय गरिए ? हाम्रो आँखा छलेर धेरै हत्या भएका छन् । कसैले पनि यसमा गम्भीरतासाथ काम गर्‍यो भने त्यसले अमेरिकालाई साँचो गणतन्त्रमा फर्काउन भूमिका खेलेको ठहर्ने छ । किनभने हामी धेरै वर्ष ‘सेक्युरिटी स्टेट’ को ओझेलमा पर्‍यौँ । हाम्रो व्यवस्था गोपनीयता र गैरजिम्मेवारपनको दलदलमा फस्यो । त्यहाँ त ठुलो प्रपञ्च चलिरहन्छ । ‘मिलिटरी–इन्डस्ट्रियल कम्प्लेक्स’ तथा गुप्तचर एजेन्सीहरूले विनापरवाह मानिसलाई चुप लगाउन र सलाम गराइराख्न धेरै पैसा बाँड्ने गर्छन् । अमेरिकाको खर्बौं डलर त त्यसमै खर्च हुने गर्छ । खासमा यो आफैँमा व्यापार हो ।

यसले विश्वविद्यालय र थिंक ट्याङ्कहरूलाई पालेको छ । कंग्रेसमा पनि यसको प्रभाव छ । त्यहाँ पनि गम्भीर प्रकारको प्रश्न उठ्दैन । हामीसँग लोकतान्त्रिक विचार–विमर्श नै छैन । यसबारे जवाफदेहिता छैन । दस्तावेजहरू सार्वजनिक भए भने यी सबै कुरा खुल्न सक्छन् । राष्ट्रपति ट्रम्पले गर्न सक्ने सबैभन्दा महत्त्वपूर्ण काम यस्ता ऐतिहासिक रेकर्ड बाहिर ल्याउने हुन सक्छ । आणविक युद्धको सन्निकट पुर्‍याउने प्रपञ्चका बारेमा हामीलाई थाहा हुनु पर्छ । त्यसो गर्‍यौँ भने यो देशको दिशा बदलिन सक्छ ।

  • हामीसँग सदन र सिनेटमा विभिन्न गतिविधिका निरीक्षण गर्ने समितिहरू छन्, जसले गुप्तचर समुदायबाट अमेरिकाको संविधान बमोजिम काम भइरहेको छ कि छैन भनेर सुनिश्चित गर्ने गर्छ । यो त उनीहरूको काम हो नि ?

तिनीहरू गर्दैनन् । स्पष्ट छ । उनीहरू आफ्नो काम गर्दैनन् । उनीहरू के गर्छन् भन्ने कुरा धेरै रोचक छ । हाम्रो शासन प्रणाली साँच्चै कमजोर छ । यतिधेरै कमजोर छ कि यसलाई असाध्यै थोरै पैसामा खरिद गर्न सक्नुहुन्छ । ‘मिलिटरी–इन्डष्ट्रियल कम्प्लेक्सका’ ठेकेदारहरूले केवल दुई वटा समिति खरिद गरे भने उनीहरूको काम पूरा हुन्छ । यसैगरी स्वास्थ्य बीमाकर्ताहरूले सदन र सिनेटमा स्वास्थ्य समिति खरिद गरे भने उनीहरूको काम पूरा हुन्छ । ‘इजरायल लबी’ ले केही समितिमा मात्र आफ्नो पकड बनायो भने उनैले मध्यपूर्वको अमेरिकी विदेश नीति के हुने भनेर ड्राफ्ट गर्न सक्छन् ।

हाम्रो राजनीतिक प्रणाली पूर्णरूपमा भ्रष्ट छ । त्यहाँ कुनै अनुगमन नै छैन । सार्वजनिक अनुगमन नभएसम्म त्यहाँ कुनै खालको अनुगमन नै हुँदैन । तिनीहरू सबै व्यापरीको पैसामा खरिद भइसकेका हुन्छन् । खासमा तिनीहरू स्वार्थ समूहका कठपुतली हुन् भन्दा हुन्छ । हाम्रो कंग्रेसका लगभग कुनै स्वतन्त्र सदस्य छैन । सबैजना थोर–बहुत बिक्री भइसकेका छन् । एउटा अपवाद रेन्ड पल छन् । मलाई लाग्छ उनी हाम्रो कंग्रेसको दुवै सदनमा सबैभन्दा सिद्धान्तनिष्ठ सदस्य हुन् । उनी साँच्चै इमानदार, सानो सरकारमा विश्वास गर्ने, सत्यतथ्य बुझ्न खोज्ने खालका छन् ।

म अनुगमनको अभावका कारण हामीले थाहा पाउनुपर्ने तर थाहा नपाएको एउटा जल्दोबल्दो उदाहरण दिन्छु । तपाईंलाई थाहा छ, केही अघिको कोरोना महामारी कहाँबाट आयो ? आधिकारिक रूपमा पुष्टि हुन बाँकी भए पनि अब यसको निर्माण अमेरिकी प्रयोगशालामै भएको थियो भन्ने प्रमाण छताछुल्ल भइसकेका छन् । केही साताअघि सार्वजनिक गरेको ‘आन्तरिक मामिला समिति’ को प्रतिवेदनमा पनि यो कुरा उल्लेख गरिएको छ । धेरै ढाकछोप र धेरै अनुत्तरित प्रश्नहरूका बाबजुद यसमा अमेरिकी वैज्ञानिकहरूको संलग्नता रहेको कुरा सार्वजनिक भएको छ ।

हामीलाई थाहा छ, अमेरिकी सरकारले ‘सार्स कोभ–२’ को उत्पत्तिका विषयमा सबै झुट बोलेको थियो । महामारी बन्न पुगेको भाइरसबारे पनि आजसम्म झुट बोलेको छ । गुप्तचर एजेन्सीहरूलाई यसबारे धेरै कुरा थाहा छ, तर उनीहरूले भन्ने कुरा भएन । के हामी साँच्चै पारदर्शी हुन सक्छौँ ? विश्वभर २०औँ लाख मानिस मारिएको त्यस्तो भाइरस कहाँबाट आयो भन्ने बुझ्न सक्छौँ ? अहिले यसको निर्माणमा अमेरिकी वैज्ञानिक तथा अमेरिकाको खर्चमा चलेका प्रयोगशालामा यो निर्माण भएको भन्ने प्रमाण आएका छन् । अब तपाईं के भन्नु हुन्छ ?

jeffry-d-sachs

  • प्रसङ्ग फेरौँ, तपाईंलाई के लाग्छ– नयाँ राष्ट्रपतिले एडवर्ड स्नोडेन र जुलियन असान्जलाई माफी देलान् ?

म जुलियन असान्जलाई चिन्दिनँ । तर, एडवर्ड स्नोडेनलाई त चिन्छु । उनी एकदमै विशेष व्यक्ति हुन् । उनी नायक हुन् । उनले हाम्रो सरकारले खासमा हामीमाथि के गरिरहेको छ भन्नेबारे स्पष्ट पारिदिए । हामीले यिनै स्नोडेनबाट हाम्रो स्वतन्त्रताका लागि सबैभन्दा बढी खतरा कहाँबाट छ भन्ने थाहा पायौँ । तुरुन्तै अमेरिकाले चलाएको सेक्युरिटी स्टेटले उनलाई सबैभन्दा खराब खलनायकका रूपमा ब्रान्डिङ गर्‍यो । जुलियन असान्जले अँध्यारो दुनियाको वास्तविकता हाम्रा सामु ल्याइदिए ।

आजका दिन हामीलाई सत्य–तथ्य नजिक पुग्न धेरै टुल्स उपलब्ध गराइदिए । यसका लागि हामी उनीप्रति कृतज्ञ हुनैपर्छ । आजको युक्रेन संकट बुझ्न पनि उनैले हामीलाई सघाएका हुन् । यस सन्दर्भमा एउटा रोचक कथा छ । अहिलेका सीआईए निर्देशक विलियम बन्र्स सन् २००८ मा रूसका लागि अमेरिकी राजदूत थिए । त्यतिबेला उनले युक्रेनमा नाटो विस्तार गर्न अमेरिकाले दबाब दिँदा यसले रुसको ‘रेड लाइन क्रस’ गर्ने तथा युक्रेनमा युद्ध हुने र त्यसमा अमेरिका पनि तानिनेबारे बुझेका थिए । त्यसैले उनले तत्कालीन अमेरिकी विदेशमन्त्री कन्डोलिजा राइसलाई एउटा ‘मेमो’ लेखे ।

त्यो मेमोमा उनले युक्रेनलाई नाटोमा समावेश गरे रुसको सम्पूर्ण राजनीतिक वर्गले नाटो विस्तारको विरोध गर्नेछ भनी स्पष्ट पारेका थिए । पछि त्यो मेमो रुसी भाषामा अनुवाद भयो र प्रत्येक रुसीले यसलाई ‘नेइट मिन्स नेइट’ (हुन्न भनेपछि हुन्न) भनेर चिन्न थाले । त्यही सत्य हो । त्यहाँ ‘रेड लाइन’ नै छ । अमेरिकी जनताले यस्तो कुरा बुझ्नुपर्छ । हामीले केही समयभित्रै २ सय अर्ब डलर खर्च गरेका छौँ । झुटो बहानामा लाखौँ युक्रेनीहरूको मृत्यु निम्त्याएका छौँ । न्युयोर्क टाइम्सले युक्रेनमा युद्ध एकतर्फी र विनाकारण भएको थियो भनेर बारम्बार झुटो लेखिरहेको छ ।

  • स्नोडेन र असान्जलाई माफी दिनु हुँदैन भन्ने पनि छ, त्यसलाई कसरी बुझ्ने ?

उनीहरूलाई वास्तविकता थाहा नभएको हुन सक्छ वा तिनीहरू न्युयोर्क टाइम्सका पाठक हुन सक्छन् । धेरैले वास्तवमै अहिलेको अवस्था बुझेका छैनन् । यो कति खतरनाक छ भनेर पनि बुझ्दैनन् । कति अराजक छ भनेर पनि बुझ्दैनन् । हामी कसरी यिनीहरूको नियन्त्रणमा छौँ तथा यिनीहरूद्वारा सञ्चालित छौँ भन्ने पनि बुझ्दैनन् । हामी आणविक खतरा मापन घडीको ९० सेकेन्डबाट अघि बढेर जब ६० सेकेन्ड हुँदै ३० सेकेन्ड मध्यरातमा पुग्छौँ, त्यसपछि हामी खरानी भइसकेका हुन्छौँ । यसको जिम्मेवार हामी हौँ भन्न पनि संसार बाँकी हुँदैन ।

  • आजका दिन हामी हतियारका लागि दक्षिण कोरियासँग भिख मागिरहेका छौँ, त्यसो भए हामीसँग शक्ति नै छैन ?

यो रोचक कुरा हो । यिनीहरूलाई धेरै कुरा थाहै छैन । सन् २०१४ मै युक्रेनमा रहेको सरकारलाई हटाउनु हुँदैनथ्यो । त्यसपछि सन् २०१५ मा ‘मिस्क सम्झौता’ को सम्मान गर्नु पर्थ्यो वा सन् २०२१ मा रुससँग गम्भीर वार्ता गर्नु पर्थ्यो । यसले युद्ध रोकिन्थ्यो । तर, यिनीहरू चलाख छैनन् । जेक सुलिवान कुनै चलाख व्यक्ति होइनन् । तिनीहरू राजनीति नै बुझ्दैनन् । ती सबै जुवाको खालमा बसेका जुवाडेजस्तै छन् । कुनै न कुनै रूपमा जुवा अखडामा बसिरहेका छन् । आफूले के गर्दैछौँ भन्नेसमेत उनीहरूलाई थाहा छैन । उनीहरू हाम्रो पैसामा आफ्नो आम्दानी दोब्बर बनाइरहेका छन् ।

आज आणविक महाशक्तिहरूको बिचमा वर्तमान समयको अर्थ र जिम्मेवारी के हो ? भन्ने बुझ्नु पर्‍यो नि । अब हेर्नुस्, मिच म्याकोनेलले राम्रोसँग सोच्न पनि छोडे होलान् । तर, उनैले ‘फरेन अफेयर्स’ मा अमेरिकी प्रभुत्व कसरी जोगाउने भनेर लेखिरहेका छन् । यसबाट पनि त्यहाँ कति अज्ञानता छ भन्ने बुझन सकिन्छ । अमेरिकामा ‘डिप स्टेट’ को भूमिका के हो भनेर यहीँबाट थाहा हुन्छ । सन् १९९१ देखि नै अमेरिकाको ‘डिप स्टेट’, सीआईए र अरुहरू रुसलाई हराउन लागिपरेका छन् । सन् १९९१ देखि नै नेतन्याहु अमेरिकी फौज बोकेर मध्यपूर्वको पुनर्संरचनामा लागेका हुन् । यो दुवै मोर्चामा ठुलो विध्वंस भएको छ । यसले अमेरिकालाई थप असुरक्षित बनाएको छ । तर, उनीहरू नै निरन्तर सत्तामा छन् । ट्रम्पसँग यसलाई फेर्ने सुनौलो मौका छ । यही आजको निर्मम सत्य हो । अमेरिकाको ‘डिप स्टेट’ यसै एक झोक्कामा शक्तिबाट हट्नेवाला छैन । यसले आफ्नो खाइपाइ आएको अधिकारका लागि पक्कै लड्ने छ । तर, कसैले केही न केही त गर्नैपर्छ ।

  • के अमेरिकीहरू अर्को आतंकवादी हमलाको चिन्ता गर्छन् ?

मलाई थाहा छैन । कसैले मलाई त्यस्तो भनेको पनि छैन । तर, म तेस्रो विश्वयुद्धको खतराबाट बढी डराएको छु ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया