सोमबार, २९ पुस २०८१
ताजा लोकप्रिय
थुनछेक बहस

सरकारी वकिलको तर्क : तत्काल प्राप्त प्रमाणका आधारमा रविलाई थुनामा पठाउनुपर्छ

सोमबार, २९ पुस २०८१, १३ : ३३
सोमबार, २९ पुस २०८१

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई थुनामा पठाउने वा छाड्ने भन्ने बारे थुनछेक बहस काठमाडौँ जिल्ला अदालतमा जारी रहेको छ । स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारीको रकम अपचलन गरेको कसुरमा अभियोग पत्र दायर भएपछि लामिछाने आइतबार अदालतमा हाजिर भएका थिए ।

सोमबार सुरु भएको थुनछेकमा सरकारी पक्षका वकिलहरूले यति बेला बहस गरिरहेका छन् । हालसम्म जिल्ला न्यायाधिवक्ता खडिन्द्रराज कटुवाल, चन्द्र सञ्जेल, सन्तोष राज कटुवाल, राधिका सुवाल र विना खड्काले बहस गरेका छन् ।

उनीहरू सबैले लामिछानेलाई पुर्पक्षका लागि थुनामा नै पठाउनुपर्ने जिकिर गरेका छन् । तत्काल प्राप्त प्रमाणका आधारमा लामिछानेलाई थुनामै पठाउनु मुनासिब हुने उनीहरूको तर्क छ ।

जिल्ला न्यायाधिवक्ता खडिन्द्रराज कटुवालले रवि लामिछानेले विभिन्न समयमा चेक काटेर सहकारीबाट आएको ४९ करोड खर्च गरेको देखिएको जिकिर गरे । स्वर्णलक्ष्मी सहकारीबाट २ करोड ६५ लाख रुपैयाँ गोरखा मिडियामा गएको देखिएको पनि उनले बताए । आटो लोन लिनका लागि लामिछाने र जीबी राईले संयुक्त खाता खोलेको भेटिएको अदालतमा सुनाए ।

त्यस्तै, चन्द्र सञ्जेलले ८२० थान चेक काटेर सहकारीको रकम खर्च गरिएको उल्लेख गरे । उनले कुमार रम्तेल र छविलाल जोशीलगायत पोल बयान गरेको अवस्थामा लामिछानेलाई थुनामा राखेर नै पुर्पक्ष गर्नुपर्ने बताए ।  यसैगरी सन्तोष कटुवालले बिना धितो कृत्रिम ऋण खडा गरेर सहकारीको पैसा गोरखा मिडियमा ल्याएर व्यक्तिगत रुपमा खर्च गरेको देखिएको बताए । 

जाहेरवालको तर्फबाट अझै ६ जना सरकारी वकिलले बहस गर्न बाँकी रहेको छ । उनीहरूको बहस सकिएपछि रवि लामिछानेको तर्फबाट कानुन व्यवसायीहरुले बहस गर्नेछन् ।

गोरखा मिडिया नेटवर्कमा कानुन विपरीत स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाबाट ५ करोड ७८ लाख ९८ हजार ४८० रुपैयाँ लगेको प्रहरीको अनुसन्धान निष्कर्ष छ । रविविरुद्ध  ५ करोड ७८ लाख ९८ हजार ४८० रुपैयाँ बिगो मागदाबी गरिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप