सोमबार, २९ पुस २०८१
ताजा लोकप्रिय
विचार

पेपे : सादा जीवन र उच्च विचारका प्रेरणादायी नेता

सोमबार, २९ पुस २०८१, ११ : ५७
सोमबार, २९ पुस २०८१

उरुग्वेका पूर्व राष्ट्रपति (सन् २०१०–२०१५) होजे अल्बर्टो म्युजिका कोर्डानो अर्थात पेपेको जीवनले संसारलाई बामपन्थ सादगी र निष्ठाको महत्त्वपूर्ण सन्देश दिएको छ । उनी सादा जीवन र उच्च विचारका प्रतीकमात्र होइनन्, नागरिकको हितलाई सर्वोपरी मान्ने नेतृत्व हुन् । छापामार योद्धा र राज्यबन्दी भइकन देशकै सर्वोच्च पद, राष्ट्रपतिको भूमिकामा पुगेका पेपेको सादा जीवन साँच्चै अद्वितीय छ ।

पेपेले भनेका छन्– “किफायतमा बाँच्नु नै सबैभन्दा ठुलो शक्ति हो । धेरै उपभोग गर्ने बानीले मानिसलाई दास बनाउँछ ।” यो विचारलाई उनले आफ्नो जीवनशैलीमा नै उतारे । राष्ट्रपतिका रूपमा उनले आफ्नो तलबको ९० प्रतिशत गरिब, पीडित र साना उद्यमीलाई दान गरे । राष्ट्रपति भवनमा बस्न अस्वीकार गर्दै आफ्नो सानो घरमा बसे । उपहारस्वरूप प्राप्त महँगो गाडी बेचेर त्यो रकम गरिबहरूलाई दिने निर्णयले नै उनको सादगीपन र निष्ठा झल्काउँछ ।

सन् १९३५ मा किसान परिवारमा जन्मिएका पेपेको जीवन संघर्षमय रह्यो । पिताको निधनपछि परिवार आर्थिक संकटमा परे पनि सामाजिक न्यायका लागि उनी सानै उमेरदेखि प्रतिबद्ध रहे । क्युबाली क्रान्तिको प्रेरणाले सन् १९६० को दशकमा उनी छापामार समूह द नेशनल लिबरेशन मुभमेण्ट ‘टुपामारोस’मा सामेल भए । सैन्य तानाशाही विरुद्ध लड्दा १४ वर्ष एकान्तवासमा, कठोर यातनासहित जेलमा बसे । तानाशाही शासकको चर्काे यातना र स्वास्थ्य समस्याका बाबजुद पनि उनी आफ्नो उद्देश्यमा झन् दृढ बने ।

उआन मरिया बोर्डाबेरीको शासनको अन्त्यसँगै सन् १९८५ मा जेलमुक्त भएका पेपे लोकतान्त्रिक राजनीतिमा प्रवेश गरे । वामपन्थी मोर्चाबाट संसद् सदस्य र मन्त्री हुँदै सन् २०१० मा उरुग्वेका राष्ट्रपति बने । उनको कार्यकालमा नै उरुग्वेले सामाजिक स्थिरता र आर्थिक विकासको नयाँ आयाम थप्यो भनिन्छ । 

जनताप्रतिको समर्पण, पारदर्शिता र सादा जीवन नै उनको नेतृत्वको विशेषता थियो । महँगा महल र विलासी जीवनशैलीलाई अस्वीकार गर्दै उनले आफूलाई गरिब र श्रमिक वर्गको सेवामा समर्पित गरे । उनलाई “संसारकै सबैभन्दा गरिब राष्ट्रपति” भनिन्थ्यो । आफ्ना निहित स्वार्थका लागि नकमाउनेलाई उरुग्वे समाजले पनि गरिब भन्दो हो । तर, उनी गरिब होइन कि सादगीको प्रतीक थिए ।

आधारभूत वर्गले सबैभन्दा बढी विश्वास गरेको कम्युनिष्ट–वामपन्थी पार्टीको नेतृत्व भनेको पेपेजस्तै सादगी, इमानदारी र आदर्शको प्रतीक हुनुपर्छ । सुधारको औपचारिक निर्णय, दबाबले भन्दा पनि स्वेच्छिक आचरणले प्रतिबिम्बित भएमा त्यो दिगो बन्नेछ । माओवादी केन्द्रले यो बैठकको आफ्नो निर्णयलाई पेपे र उनको निष्ठा जस्तैगरी कार्यान्वयन गर्न सक्नुपर्छ । पेपेले आफ्नै कर्मबाट त्यो मार्गदर्शन गरेका छन् ।

आफ्नो कार्यकालक्रम विश्वकै शक्तिशाली भनिने अमेरिकी राष्ट्रपतिसँग उनी सिधासिधै टक्कर लिन्थे, सिधासिधै जवाफ दिन्थे । आफ्ना विचार स्पष्ट रूपमा राख्दथे । सबैले उनको बिचार ध्यानमग्न भएर सुन्दथे । सामाजिक सञ्जालमा उनका प्रेरणादायी भाषण र विश्व नेताहरूसँगका संवाद यत्रतत्र छन् ।

छापामार लडाइँबाट संसदीय राजनीतिमा आई स्वसादगी र जनअपेक्षाको परीक्षा पास गर्नेहरू कमै छन् । सशस्त्र पृष्ठभूमिबाट आएर कार्यकारी हैसियत पाएका सबैतिरका नेताहरूले पेपेको जीवनबाट धेरै सिक्न सक्छन् । समग्रमा उनको जीवन वैचारिक स्पष्टता, निष्ठा र पारदर्शिताको पाठ हो । भ्रष्टाचार र चाटुकारिताको आजको राजनीतिविरुद्ध पेपेको सादगीपन, इमानदारिता र स्वाभिमान अद्वितीय छ ।

नेपालका वामपन्थीले पेपेबाट सिक्ने कुरा धेरै छन् । तर, आफ्ना वाणी र कर्मको अन्तरविरोध समाधान गर्नसके मात्रै त्यो सिकाइ सावित हुनसक्छ । पेपे सम्मिलित ‘टुपामारोस’ले सशस्त्र संघर्षका महत्त्वपूर्ण एजेन्डालाई लोकतान्त्रिक माध्यमबाट संस्थागत गर्नसक्यो तर नेपालका वामपन्थीले भने सत्ता केन्द्रित सोचबाट आफूलाई अलग गर्न नै सकेनन् ।

नेपालका कम्युनिष्ट–वामपन्थीहरूले वैचारिक स्पष्टता, संगठनात्मक सुदृढीकरण र जनताको विश्वास जित्ने जीवनशैली सिक्न पेपेलाई आदर्श माने हुन्छ । समाजवाद प्राथमिकताका वैकल्पिक आर्थिक प्रणाली, न्यायपूर्ण सामाजिक संरचना र प्रगतिशील संस्कृतिको विकासका साथै किसान–मजदुरको हितलाई सर्वाेपरी राखेर उनीहरुसँग गाढा नाता स्थापित गर्नुपर्ने सन्देश नै पेपेप्रतिको सम्मान हो ।

सादा जीवन र उच्च नैतिक–राजनीतिक विचारका जीवित उदाहरण पेपेले देखाएको सत्य के हो भने सफलता भौतिक सम्पत्तिमा होइन, जनताको विश्वास र सेवामा निहित छ । “किफायतमा बाँच्नु नै सबभन्दा ठुलो शक्ति हो” भन्ने उनको भनाइ मूल सामाजिक कर्मवोध हो ।

वाणी र कर्मबीचको अन्तरविरोधलाई सामान्य ‘अपरेसन’बाट मात्र समाधान गर्न सम्भव छैन । कैयौँ इमानदारलाई बोल्नै नदिने, बोल्यो कि कारबाही गर्ने नेपालको एमाले प्रवृत्ति विपरीत सबैलाई बोल्न दिने नेपालको माओवादी केन्द्र प्रवृत्ति केही सकारात्मक छ । एमालेले आफ्नो केन्द्रीय बैठक एक मोजमस्ती र नेतृत्वस्तुतिको कर्मकाण्डमा समापन गरेको छ भने माओवादी केन्द्रले केन्द्रीय सदस्यहरूको सम्पत्ति विवरण र आयआर्जनको स्रोत पार्टीमा अभिलेखीकरण गर्नुपर्ने निर्णयसहित समापन गरेको छ । माओवादी केन्द्रको बैठकले आम अन्तर समस्याबारे आत्मवोध गर्नु, यसले आगामी परिस्थितिलाई धेरै संकेत गर्दछ । फेरि पनि अभिव्यक्ति र आचरणको विरोधाभास माओवादी केन्द्रमा प्रचुर छ । उरुग्वे पनि यस्तै चरणबाट अगाडि बढेको देश हो ।

आधारभूत वर्गले सबैभन्दा बढी विश्वास गरेको कम्युनिष्ट–वामपन्थी पार्टीको नेतृत्व भनेको पेपेजस्तै सादगी, इमानदारी र आदर्शको प्रतीक हुनुपर्छ । सुधारको औपचारिक निर्णय, दबाबले भन्दा पनि स्वेच्छिक आचरणले प्रतिबिम्बित भएमा त्यो दिगो बन्नेछ । माओवादी केन्द्रले यो बैठकको आफ्नो निर्णयलाई पेपे र उनको निष्ठा जस्तैगरी कार्यान्वयन गर्न सक्नुपर्छ । पेपेले आफ्नै कर्मबाट त्यो मार्गदर्शन गरेका छन् ।

युद्धले थिल्थिलिएको र ऋणको चपेटामा परेको उरुग्वेमा पेपेकै कारण वामपन्थी नेतृत्वबीच सादा जीवनका लागि प्रतिस्पर्धा नै चल्यो । परिणाम, वामन्थीहरूको संयुक्त सरकारले एक दशक नपुग्दै उरुग्वेको अर्थतन्त्रलाई शक्तिशाली बनायो । यसबाट सिकेर नेपालमा कम्युनिष्ट–वामपन्थी दलका नेतृत्व र नेताहरूले, कमसेकम माओवादी केन्द्रका नेता, अगुवा, कार्यकर्ताले सादा जीवनशैली अपनाउने हो भने त्यसले पार्ने प्रभावको सकारात्मकता विश्व राजनीतिमै अर्को झिल्को हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

महेश्वर दाहाल
महेश्वर दाहाल
लेखकबाट थप