सोमबार, २९ पुस २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

च्याम्पियन्स ट्रफीका लागि अस्ट्रेलियाको १५ सदस्यीय टोली घोषणा

सोमबार, २९ पुस २०८१, ११ : २७
सोमबार, २९ पुस २०८१

सिड्नी । क्रिकेट अस्ट्रेलियाले फेब्रुअरी १९ बाट सुरु हुने आईसीसी च्याम्पियन्स ट्रफीका लागि १५ सदस्यीय टोलीको घोषणा गरेको छ । टोलीमा म्याट सर्ट र आरोन हार्डी जस्ता नयाँ अनुहारहरू समावेश छन् । दुवै जना पहिलो पटक आईसीसी प्रतियोगिताको लागि छनोट भएका हुन्।

पाकिस्तान र युएईमा हुन लागेको प्रतियोगितामा टिममा सन्तुलन कायम राख्न सबै पक्षलाई ध्यानमा राखेर टोली छनोट गरिएको हो । होबार्ट हरिकेन्सलाई बीबीएल १४ को फाइनलमा पुर्‍याउन महत्त्वपूर्ण भूमिका खेलेका नाथन एलिसलाई टोलीमा समावेश गरिएको छ । १४ महिनाअघि एकदिवसीय विश्वकप जित्ने टोलीका सदस्य रहेका डेभिड वार्नर, क्यामरन ग्रिन र सन एबोटको स्थानमा सर्ट, हार्डी र एलिसलाई स्थान दिइएको छ।

वार्नरले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन् । ढाडको शल्यक्रियाका कारण ग्रिन प्रतियोगिताबाट बाहिरिएका हुन् ।

टोलीको कप्तानीको जिम्मेवारी घाइते प्याट कमिन्सलाई सुम्पिएको छ । यद्यपि उनले प्रतियोगितामा खेल्नेमा शंका छ । बोर्डर-गावस्कर ट्रफीका क्रममा कमिन्सको घुँडामा चोट लागेको थियो । कमिन्सले दोस्रो सन्तानको जन्मका लागि श्रीलंका भ्रमणमा पनि खेल्ने छैनन् । उनको अनुपस्थितिमा स्टिभ स्मिथले दुई टेस्टको शृङ्खलाको लागि टोलीको कप्तानी गर्न सक्नेछन्।

च्याम्पियन्स ट्रफी अघि अस्ट्रेलियाले एउटा मात्र अभ्यास खेल खेल्ने छ । च्याम्पियन्स ट्रफीअघि अस्ट्रेलियाली टोली दुई टेष्ट र एकदिवसीय खेलको सिरिज खेल्न श्रीलंकाको भ्रमणमा छ । श्रीलंका विरुद्धको दोस्रो टेस्ट फेब्रुअरी १० मा समाप्त हुनेछ। एकमात्र एकदिवसीय खेल १३ फेब्रुअरीमा हुनेछ ।

पाकिस्तानको पिच सिम बलरहरूका लागि उपयुक्त छ, त्यसैले टोलीमा एकमात्र स्पिन विशेषज्ञ एडम जाम्पालाई समावेश गरिएको छ। त्यहाँ ग्लेन म्याक्सवेल र म्याट सर्ट जस्ता अलराउन्डरहरू छन् जो स्पिन पनि गर्न सक्छन्। यसबाहेक तीन फास्ट बलर समावेश छन्। टोलीमा तीन अलराउन्डर मिचेल मार्स, मार्कस स्टोइनिस र आरोन हार्डी पनि छन् । उनीहरूले मिडियम फास्ट बलिङ पनि गर्न सक्छन् ।

आईसीसी च्याम्पियन्स ट्रफीका लागि अष्ट्रेलियाको टोली : प्याट कमिन्स (कप्तान), एलेक्स केरी, नाथन एलिस, आरोन हार्डी, जोस हेजलउड, ट्राभिस हेड, जोस इन्ग्लिस, मार्नस लाबुस्चेन, मिचेल मार्स, ग्लेन म्याक्सवेल, म्याट सर्ट, स्टिभ स्मिथ, मिचेल स्टार्क, मार्कस स्टोइनिस र एडम जाम्पा ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप