सोमबार, २९ पुस २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

पृथ्वीराजमार्ग सडक विस्तार : पूर्वी खण्डमा ७४ प्रतिशत प्रगति

सोमबार, २९ पुस २०८१, ११ : १९
सोमबार, २९ पुस २०८१

तनहुँ । पृथ्वीराजमार्गको मुग्लिन–पोखरा सडक विस्तार कार्यले तीव्रता पाएको छ । आँबुखैरेनीबाट जामुनेसम्म ४१ दशमलव ४५ किलोमिटर दूरीमा सडक विस्तार भइरहेको हो । यस खण्डको हालसम्म ७४ प्रतिशत भौतिक प्रगति भएको छ । 

पूर्वी खण्डमा २७ दशमलव ४ किलोमिटर दूरीमा अन्तिम चरणको कालोपत्रकार्य सम्पन्न भएको पूर्वी खण्डका सूचना अधिकारी विष्णुप्रसाद पाण्डेले जानकारी दिए । उनका अनुसार पहिलो चरणमा ६ सेन्टिमिटर र दोस्रो चरणमा चार सेन्टिमिटर गरी दश सेन्टिमिटर सडक कालोपत्र गरिएको छ । 

उक्त सडक खण्डमध्ये ६९ किमी सडक दूरीमा दुई लेनका सडक कालोपत्रकार्य सम्पन्न गरिएको पूर्वी खण्डका सूचना अधिकारी पाण्डेले जानकारी दिए । पाण्डेका अनुसार अन्तिम चरणको कालोपत्र गर्ने काम भइरहेको छ । जिल्लाको डुम्रे, छिर्कन र दमौली खण्डमा निर्माण कार्य तीव्र गतिमा अघि बढाइएको छ । 

बन्दीपुर, आँबुखैरेनी र व्यास तीन पालिकाका विभिन्न ठाउँमा अन्तिम कालोपत्रको काम अगाडि बढाइएको छ । पहिलो चरणमा एकतर्फी अन्तिम कालोपत्र सकेर अर्कोतर्फ काम सुरु गरिनेछ, अन्तिम चरणको कालोपत्र सकिएपछि सडक रङरोगनको काम अगाडि बढाइने आयोजनाले जनाएको छ । 

पूर्वी खण्डअन्तर्गत नै दमौलीको बुल्दीपुलबाट घाँसीकुवातर्फको खण्डमा पनि कालोपत्र गरिँदै छ । दमौली बजारमा समेत सडक विस्तारका लागि अहिले नाली बनाउने काम भइरहेको छ । दमौली बजारमा केन्द्र विन्दुबाट २३–२३ मिटरलाई आधार मानेर सडक विस्तारको काम भइरहेको छ ।

यस खण्डमा साना चौध वटा पुल निर्माण कार्य सकिएका छन् । ठुला तीन वटामध्ये डुम्रे बजार नजिकैको एउटा पुल अन्तिम चरणमा पुगेको छ, दुई वटाको निर्माण कार्य सम्पन्न भइसकेको छ । व्यास नगरपालिका–४ र ५ जोड्ने मादी नदीमा निर्माण भइरहेको पुलको काम  ५० प्रतिशत बढी पूरा भइसकेको छ । पूर्वी खण्डमा २०७७ साल माघ १७ गते सम्झौता भई २०७८ साल वैशाख २ गतेदेखि काम सुरु भएको थियो ।

पूर्वी खण्डको ठेक्का चाइना कम्युनिकेशन कन्स्ट्रक्सनले पाएको छ । विसं २०२६ मा रेखाङ्कन भएको सडकमा सवारीसाधनको चाप बढ्दै गएपछि एसियाली विकास बैंक (एडीबी) को ऋण सहयोगमा सडक चार लेनको बनाउन लागिएको हो । पूर्वी खण्डको ठेक्का रु छ अर्ब २१ करोड ३१ लाख १३ हजारमा लागेको थियो । यस खण्डको सम्झौता म्याद समाप्त भएपछि पुनः फागुन २ गतेसम्मका लागि म्याद थप गरिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप