पूर्णिमा, सङ्क्रान्ति र कुम्भस्नान पर्व
प्राणी मात्रको जीवनमा स्नानक्रिया वा स्नान गर्ने स्वभावको आफ्नै स्थान छ । मान्छेले शरीरका बाहिरी अवयवलाई सफा गर्न स्नान गर्छ । यसबाहेक सूर्य स्नान, वायु स्नान, मन्त्र स्नान आदिको चर्चा पनि शास्त्रमा पाइन्छन् । तर जल स्नान आधारभूत र सर्वोपरि स्नान हो, जो नियमित गरिन्छ ।
स्नानले शरीरबाट पसिना, धुलो, मयल र विषाक्त तत्त्वहरूलाई हटाउँछ; छालाका प्वालहरूलाई सफा गर्छ, जसले गर्दा छाला स्वस्थ र चमकदार रहन्छ । छाला स्वस्थ र स्वच्छ राखेर विभिन्न रोगबाट जोगिन सकिन्छ । नियमित र सही तरिकाबाट गरिने स्नानले जीवनमा सन्तुलन र शुद्धता ल्याउँछ । दिन चर्यामा अनुशासन र नियमितता ल्याउने एक माध्यम पनि हो स्नान । यसले दिनको सुरुवातमा नयाँ ऊर्जा र उत्साह भर्छ ।
स्नान शरीरलाई पवित्र राख्ने माध्यम हो र यसले आत्मिक शुद्धि प्रदान गर्छ । मानसिक र आध्यात्मिक जागरणमा स्नानको विशेष महत्त्व छ । सनातन संस्कृतिमा स्नानलाई आत्मशुद्धिको प्रतीक मानिएको छ । पूजापाठ र धार्मिक अनुष्ठान प्रारम्भ गर्नुअघि स्नान गर्नु आवश्यक मानिएको छ । सनातन संस्कृतिमा स्नान एक तीर्थको रूपमा पनि स्थापित छ । तीर्थ भनेको त्यो पवित्र र पुण्य स्थान हो, जहाँ धर्मभावले मानिस स्नानका लागि यात्रा गर्दछ । कोशी, गंगा, यमुना, सरस्वती आदि अनेक पवित्र नदीहरू छन्, जसमा स्नान गर्नाले पापको नाश र मोक्ष प्राप्ति हुन्छ । पुसे पूर्णिमा, मकर सङ्क्रान्ति, कुम्भ आदि विशिष्ट स्नान पर्व हुन् ।
यस वर्ष यही पुस मसान्तको दिन सोमवार पुसे पूर्णिमा परेको छ भने यसको भोलिपल्ट अर्थात् मंगलवार मकर सङ्क्रान्ति । यी दुवै दिवस यसपटक लगातारको दुई दिन विशेष स्नान–पर्वका रूपमा संयोग परेको छ । पुस शुक्ल पूर्णिमा (पुसी पूर्णिमा)को दिन नदी, तलाउ, पोखरी, दह, कुण्ड, ताल, सरोवर आदि जलाशयमा गएर स्नान गर्ने लामो समयदेखिको परम्परा छ । यसै गरी मकर स्नानको पनि आफ्नै प्रसिद्धि छ ।
पुसी पूर्णिमा एक स्नान–पर्व हो, जो पौष मासको पूर्णिमाको दिन मनाइन्छ । पुसी पूर्णिमाको दिन जलाशयमा स्नान गरेपछि जीवनमा प्रायश्चित र सन्तोष प्राप्त हुन्छ । यो दिन धार्मिक र सांस्कृतिक रूपले अत्यधिक महत्त्वपूर्ण छ । पुसी पूर्णिमा भगवान विष्णु र चन्द्रदेवको विशेष पूजाका लागि जानिन्छ । पूर्णिमाको दिन चन्द्रदेवको विशेष पूजा गरिने परम्परा छ । अझ यस पूर्णिमामा चन्द्रमाको प्रभाव अधिक रहने बताइन्छ । यस दिन पवित्र नदीमा स्नान गर्नु र दानपुण्य गर्नुको निकै महत्त्व छ ।
सप्तरी, सुनसरी लगायतका बासिन्दा सप्तकोशी नदीमा स्नान गर्न आउँछन् । कोशी ब्यारेजको दुवै किनारमा नुहाउनेहरूको ठुलो घुइँचो लाग्छ । कोशी ब्यारेजमा सीमावर्ती भारतीय समेत आउँछन् । कोशी ब्यारेजको दुवैतिर गाउँदेखि आउने बयलगाडादेखि सहरदेखि आउने मोटरगाडा लाम लागेका हुन्छन् । यहाँ मात्र होइन, कोशी नदीको छेवैछेउ, जहाँ जहाँ मानिसको बस्ती छ, हरेक बस्तीका मानिस नजिकको घाटमा गएर नुहाएर स्नानपर्वको धर्म निर्वाह गर्र्छन् । कौशिकीदेवीको मूर्ति स्थापना गरी आराधन गर्ने गरिन्छ । धार्मिक प्रवचन, भजन–कीर्तनजस्ता कार्यक्रम आयोजित गरिन्छ । घाट–घाटमा मेला लाग्छ । कतै–कतै सरकारी निकायहरूले पनि कृषि मेलाको आयोजना गर्छन् ।
कोशी–स्नान नुहाएर जप–तप गरिसकेर तात्तातो जिलेबी (जेरी) खानु पुसी पूर्णिमाको परम आनन्द हो । नदीमा जान नसक्नेहरू आफ्नो घरनजिकको जलाशयमा स्नान गर्छन् ।
यस वर्ष पुसी पूर्णिमाको स्नान सकेको भोलिपल्टै मकर स्नानको योग जुरेको छ । माघ मासको सङ्क्रान्ति, जसलाई मकर संक्रान्ति भनिन्छ, सनातन संस्कृतिको एक प्रमुख चाड हो, जुन सूर्यको मकर राशिमा प्रवेश गर्ने समयमा मनाइन्छ । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्छ र उत्तरायण सुरु हुन्छ । सूर्यको दिशा दक्षिणबाट उत्तरतर्फ परिवर्तन हुने भएकाले यो शुभ समय मानिन्छ र सूर्यको मकर राशिमा प्रवेश गरेको दिन मकर संक्रान्तिको पर्व मनाइन्छ ।
सप्तरी, सुनसरी लगायतका बासिन्दा सप्तकोशी नदीमा स्नान गर्न आउँछन् । कोशी ब्यारेजको दुवै किनारमा नुहाउनेहरूको ठुलो घुइँचो लाग्छ । कोशी ब्यारेजमा सीमावर्ती भारतीय समेत आउँछन् । कोशी ब्यारेजको दुवैतिर गाउँदेखि आउने बयलगाडादेखि सहरदेखि आउने मोटरगाडा लाम लागेका हुन्छन् ।
मकर सङ्क्रान्ति सूर्य उपासनाको पर्व हो । यस दिन सूर्यदेवको पूजा गरी आशीर्वाद प्राप्त गरिन्छ । सनातन संस्कृति र धर्ममा सूर्य पूजाको धेरै महत्त्वपूर्ण स्थान छ । यो प्राचीन वैदिक परम्पराको एक हिस्सा हो, जसमा सूर्यलाई जीवन, ऊर्जा र स्वास्थ्यको स्रोत मानिन्छ । सूर्य उपासना मुख्यतया ब्रह्माण्डको पालनपोषणकर्ता मानिने सूर्यदेवको पूजा हो । सूर्य देवतालाई जीवनको स्रोत मानिन्छ, जसले प्राणी मात्रलाई जीवन र पोषण प्रदान गर्दछ । सूर्यको किरणहरूमा स्वास्थ्य प्रवद्र्धन गर्ने गुणहरू छन्, जसले शरीरलाई शक्ति प्रदान गर्दछ र रोगहरूबाट सुरक्षा दिन्छ । सूर्य उपासनाले आध्यात्मिक प्रगति हुन्छ, आत्मालाई शुद्ध बनाउँछ र आत्म–बल तथा आत्म–विश्वास बढाउँछ ।
सूर्य पूजा सर्वाधिक प्रचलित पूजा परम्परा हो । सूर्यको पूजा गर्दा जल, फूल, अक्षता र चन्दनसहित सूर्यलाई अघ्र्य दिइन्छ । छठ पर्व पनि सूर्य पूजाको एक प्रसिद्ध पर्व हो ।
मकर संक्रान्ति नेपाल र भारतका विभिन्न भागमा विभिन्न नाम र परम्पराका साथ मनाइन्छ । मिथिलामा मकर सङ्क्रान्ति धुमधामका साथ मनाइन्छ । यहाँ यस पर्वलाई तिला सङ्क्रान्ति पनि भनिन्छ । यस दिन प्रत्येक परिवारमा प्रातःकालमा स्नान गरी देवतापितरलाई तिल गुड अर्पित गरी आफू पनि तिल गुड खिचडी खाने चलन छ । आमाबुबाले सन्तानलाई अक्षता, तिल र गुड मिसाएर आफ्नै हातले मुखमा तीन–तीन पटक खुवाउँछन् र त्यो खुवाउँदै गर्दा ‘तिल–तिल बहब’ भनी सोध्छन् भने सन्तानहरूले पनि ‘बहबै’ भनी जवाफ दिन्छन् । यसको तात्पर्य छोराहरूमा आमाबाबुप्रतिको सेवाको दायित्व तिल–तिल गरी अर्थात् हरेक तरहले वहन गर्नुपर्छ भन्ने संस्कार दिनु हो ।
मिथिलामा तिला सङ्क्रान्तिको दिन तिल र गुडबाट लड्डु बनाएर खाने चलन पनि छ, जसलाई ‘लाय’ भनिन्छ । यस्तो लाय मुरही (भुजा) र चुडा (चिउरा) को पनि बनाइन्छ । चिउराको लायमा अदुवा हालिएको हुन्छ, जसले गर्दा त्यसको स्वाद विशिष्ट हुन पुग्छ ।
तिलको सनातन संस्कृति, आयुर्वेद र धार्मिक परम्परामा निकै महत्त्वपूर्ण स्थान छ । यसै माघ महिनाको कृष्ण पक्षको एकादशीको नाम षट्तिला एकादशी हो । यसमा तिलको व्यवहार र दानको धेरै फल प्राप्त हुने भनिएको छ । तिलका ६ प्रकारको व्यवहार गर्ने व्यक्तिलाई षट्तिली भनिन्छ । तिलोद्वर्तन, तिलस्नान, तिलहोम, तिलको दान, तिल–भक्षण र तिलवपन तिलका ६ वटा व्यवहार हुन् ।
मकर सङ्क्रान्तिको दिन खिचडी खाने चलन पनि छ । अरुवा उच्च कोटिको सुगन्धित चामलको पकाइने तिला सङ्क्रान्तिको खिचडी चार–पाँच प्रकारको दाल र उपलब्ध भएसम्मको तरकारीहरू राखेर नुन, बेसार हाली धैर्यतापूर्वक पकाइने गरिन्छ । घ्यू, तेजपत्र, जिरा, हिङ, सुकेको खुर्सानीले झानेपछि खिचडीको स्वाद लाजबाब हुन्छ ।
शिशिर ऋतुमा पर्ने यो सङ्क्रान्ति पर्वमा शरीर शुद्ध गरी घिउ, तिल, गुड र खिचडी खानाले शरीरमा मौसमी आवश्यकता अनुसार प्रतिरोधी झमता वृद्धि हुन्छ । यस दिन शरीरमा तेल लेपन पनि गरिन्छ । यसो गर्नाले शरीर समृद्ध हुन्छ ।
यस वर्ष प्रयागराजमा कुम्भ स्नानको आयोजना गरिएको छ । भारत, उत्तर प्रदेशको प्रयागराजमा गंगा, यमुना र सरस्वती नदीको संगमस्थलमा कुम्भ गरिनेछ । यो १२ वर्षमा एकपटक हुने आयोजना हो, जो १३ जनवरी २०२५ को दिन सुरु भएर २६ फरबरी २०२५ को दिन पूर्ण हुनेछ । १२–१२ वर्षमा प्रयागराज, हरिद्वार, उज्जैन र नासिक स्थित गंगा नदीमा कुम्भ स्नानको आयोजना हुँदै आएको छ । नेपालमा सप्तकोशी नदीको किनारा चतराधाममा पनि १२–१२ वर्षमा कुम्भ स्नानको बृहत आयोजन हुँदै आएको छ ।
(लेखक झा इतिहास, संस्कृति र समसामयिक विषयमा दक्खल राख्छन् ।)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बीआरआई सम्झौताबारे बुझ्न प्रधानमन्त्रीलाई समितिमै बोलाउनुपर्छ : निधि
-
पाँच महिनामा वाणिज्य बैंकको नाफा ३० अर्ब २४ करोड
-
बालुवाटारमा प्रधानमन्त्रीको गुनासो : स्विस बैंकमा पैसा छ भन्ने हल्ला चलाइयो, छानबिन गर्न तयार छु
-
बिरामीको रेफरमा अस्पताललाई जिम्मेवार बनाउने गरी स्वास्थ्य मन्त्रालयद्वारा निर्देशिका जारी
-
भत्काइयो ऐतिहासिक ‘पोखरा गेट’
-
परराष्ट्रमन्त्री राणाद्वारा प्रधानमन्त्रीको चीन भ्रमणबारे संसदीय समितिमा ब्रिफिङ