मङ्गलबार, ०१ माघ २०८१
ताजा लोकप्रिय
रातोपाटी स्पेसल : नेताको नाममा भवन

‘केही सिर्जनशील काम गरौँ भनेर किसुनजीको नाममा भवन बनाइएको हो’

सोमबार, २९ पुस २०८१, ०९ : १५
सोमबार, २९ पुस २०८१

विराटनगर । विराटनर विमानस्थलको उत्तरतर्फ विराटनगर महानगरपालिका–४, इक्राहीस्थित बस्ता खोलाको पश्चिम किनारमा एउटा ठुलो भवन निर्माणाधीन छ । यो भवन निर्माण गर्न अहिलेसम्म ७ करोडभन्दा बढी रकम लगानी भइसक्यो । भवनको निर्माण सम्पन्न हुँदा १५ करोड लागत पुग्ने अनुमान छ ।

लोकतन्त्रवादी नेता कृष्णप्रसाद भट्टराई (किशुनजी) को नाममा स्थापना भएको ‘श्री सन्त नेता कृष्णप्रसाद भट्टराई फाउण्डेसन’ले यो भवन निर्माण गरिरहेको हो । भवन निर्माणमा नेपाली कांग्रेसको राष्ट्रिय सभा संसदीय दलका पूर्वनेता रमेशजङ्ग रायमाझी दिनरात नभनी खटिरहेका छन् । उनी सो फाउन्डेसनका अध्यक्ष हुन् । उनी जति खटिरहेका छन्, भवन पनि उति नै बडेमानको बनिरहेको छ ।

त्यहाँ पुग्ने जो कोहीलाई पनि भवन निर्माण सम्पन्न भएपछि के गर्ने होला भन्ने प्रश्न उब्जिहाल्छ । त्यस्तै प्रश्न हामीमा पनि उब्जियो । त्यहाँ पुग्दा फाउन्डेसनका अध्यक्ष रायमाझी पनि भेटिए । त्यसपछि उनलाई हामीले सोध्यौँ– ‘यो के बनाएको ? भवन निर्माण हुनुको उद्देश्य के हो ? भवन निर्माण भएपछि के गर्ने ? यस्ता भवन बनाएर देशले के पाउँछ ?’

प्रस्तुत छ– कांग्रेस नेता रमेशजङ्ग रायमाझीसँग गरिएको कुराकानीको सम्पादित अंशः

  • तपाईंले बनाउँदै गर्नुभएको यो भवन कस्तो हो ?

– हाम्रो पार्टी नेपाली कांग्रेसका पूर्वसभापति, पूर्वप्रधानमन्त्री तथा सन्त नेता कृष्णप्रसाद भट्टराईको नाममा हामीले ‘सन्त नेता कृष्णप्रसाद भट्टराई फाउण्डेसन’ भनेर एउटा संस्था दर्ता गरेका छौँ । उहाँको देहावसानपछि उहाँलाई सम्झने खालको कुनै काम गरौँ । सबै नेताहरूको नाममा भवन बने । उहाँको नाममा कसैले बनाएनन् । त्यसकारण हामीले किसुनजी भन्ने मान्छे पनि नेपालको राजनीतिमा हुनुहुँदो रहेछ भन्ने सम्झनाको लागि यो भवन बनाएका हौँ ।

हामीले विराटनगर महानगरपालिकासँग जग्गा मागेर छेकबार गरेर भवन निर्माण गर्न थालेका हौँ । यसमा संघीय सरकार, प्रदेश सरकारको पनि सहयोग छ ।

  • यहाँ कति जग्गा छ ?

यहाँ १४ कट्ठा जति जग्गा छ ।

  • यो भवनमा संघ, प्रदेश र महानगरले कति–कति लगानी गरेका छन् ?

– संघ र प्रदेशबाट अहिलेसम्म ७ करोडजति लगानी भएको छ । विराटनगर महानगरको १० लाख रुपैयाँ जति होला ।

  • छैटौँ तला मै सीमित हुने हो कि अझै अग्लो हुन्छ ? यसको स्टिमेट र लागत कति हो ?

– अब छैटौँ तलामै सीमित हुन्छ । सरकारी स्टिमेट भनेको योभन्दा सानो बिल्डिङ बनाउँदा ३५ करोड लागत लाग्यो भनेर शहरी विकास मन्त्रालय र विभागका मान्छेले भनेका थिए । तर, हामीले यो बिल्डिङलाई १५ करोड रुपैयाँमा निर्माण गरिसक्ने लक्ष्य छ ।

  • अनि यो बिल्डिङबाट के गर्ने हो ?

– यसबाट कुनै सिर्जनशील काम गर्ने । हाम्रा सल्लाहकार र पार्टीका सिनियर नेताहरू हुनुहुन्छ । उहाँहरूसँग बस्छौँ । यसलाई के गर्न सकिन्छ भन्ने विषयमा निर्णय त्यसबेला हुन्छ । यो भवनको नाम ‘सन्त नेता कृष्णप्रसाद भट्टराई’ भन्ने रहन्छ ।

मेरो हिसाबले राज्यले यस्ता संघ–संस्थामा दिएका पैसाहरू, नेताका नाममा, सहिदको नाममा दिएर बनेका संरचनालाई विधि र कानुन बनाएर उहाँहरूकै नाममा भवनको नामकरण गरेर राखिदिने र त्यसलाई राज्यले प्रयोग गर्ने गर्दा हुन्छ । यो बिल्डिङमा प्रदेशका मन्त्रालयहरू राखे हुन्छ । मुख्यमन्त्रीले आफ्नो कार्यालय बनाए हुन्छ । त्यो हुँदा राज्यले प्रयोग गर्‍यो नि त ! तर, बनाउँदा जे भनेर बनाइयो, त्यसरी नै ‘सन्त नेता कृष्णप्रसाद भट्टराई प्रतिष्ठान भवन’ भनेर लेख्नु पर्छ । त्योचाहिँ मेटिनु हुँदैन । हामीले चाहिँ यसलाई रिसर्च सेन्टरको रूपमा विकास गर्न खोजिरहेका छौँ ।

  • के विषयको रिसर्च सेन्टर बनाउने ?

– किसुनजीको बारेमा, बीपीको बारेमा, गणेशमानको बारेमा रिसर्च गर्नुपर्छ । उहाँहरूले बनारसमा बस्दा र नेपालमा जीवन बिताउँदा कसरी बिताउनु भयो ? अनि अहिलेको पुस्ताले के गर्दैछ ? उहाँहरूको इतिहास पढ्ने लगायतका अनुसन्धान केन्द्रको रूपमा विकास गर्ने सोच बनाएका हौँ । अब पार्टीका सिनियर नेताहरूले के गर्ने भन्नुहुन्छ, हेरौँ न !

  • यो बनाउँदै गर्दा के गर्ने भनेर सुरु गरिएको थियो ? कुनै सोच र उद्देश्य त थियो होला नि ?

– हामीले यसलाई टेक्निकल कलेजको रूपमा विकास गर्न खोजेका थियौँ । ६ सय विद्यार्थी पढाउने । ६ सयमा ३ सय विद्यार्थी पैसा लिएर पढाउने र ३ सय गरिब र जेहनदार विद्यार्थीलाई निःशुल्क पढाउने हाम्रो योजना थियो । अहिले विद्यार्थीको संख्या घटिरहेको छ । विद्यार्थी गरिबमात्रै भएर भएन, जेहनदार पनि चाहियो । जेहनदार विद्यार्थी विदेश गइरहेका छन् । त्यसकारण के गर्ने भन्ने विषयमा हामी फाइनलमा पुगेका छैनौँ । तर, कुनै अनुसन्धान केन्द्र नै बनाउनु पर्छ होला ।

  • तपाईं आफू पनि अलिक सिर्जनशील काममा ध्यान दिन चाहन्छु भन्नुहुन्छ । तर, पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले प्रधानमन्त्री निवासबाट बाहिर निस्किँदा एउटा बाकस र लौरो लिएर फर्किनु भएको थियो । त्यो आदर्श जीवनको बारेमा अहिले पनि बेलाबेला चर्चा हुने गरेको छ । त्यस्ता आदर्श व्यक्तिको नाममा यति ठुलो भवन किन चाहियो भन्नेहरू पनि छन् नि ? यस्तै कांग्रेसका नेताहरू गिरिजाप्रसाद कोइराला, बीपी कोइराला, कृष्णप्रसाद कोइराला, शैलजा आचार्य, नोना कोइराला, सुशील कोइरालाको नाममा धमाधम भवन बनिरहेका छन् । तर, प्रयोगमा त्यति छैनन् । कम्युनिस्ट पार्टीहरूले पनि मदन भण्डारी, पुष्पलालजस्ता नेता तथा अरू सहिदको नाममा विभिन्न प्रतिष्ठान बनाइरहेका छन् । यो मोडलले देशमा समृद्धि आउला ?

– मैले अरूको बारेमा केही बोल्न सक्दिनँ । अरू सबै नेताहरूको परिवारका मान्छेले नेतृत्व गरेर भवनहरू बनाए, प्रतिष्ठान बनाए । तर, किसुनजीको परिवारको सदस्य कोही पनि थिएनन् । त्यसकारण म आफूलाई उहाँको परिवारको सदस्य ठान्छु । उहाँले नराम्रो बाटोमा हिँड्न सिकाउनु भएन । हामीले पनि नराम्रो काम गरेको होइन । उहाँले अरूको शरणमा बसेर जीवन बिताउनु भयो, त्यसैमा उहाँ खुसी हुनुभयो । अहिले यो भवनमा उहाँलाई ल्याएर राख्न खोजेको होइन । तर, केही सिर्जनशील काम गरौँ भनेरै भवन बनाएको हो ।

  • तर, के गर्ने भन्ने त अन्योल भयो नि, होइन ?

– अन्योल छैन । अहिले पनि हामी प्राविधिक कुरामै छौँ । अहिले पनि कलेज सञ्चालन गर्नेमै छौँ । छलफल गर्छौं नि त ! मानिसले त कुनै काम गर्दा पनि सकारात्मक, नकारात्मक कुरा गर्छन् । नकारात्मक भन्दा सकारात्मक सोच्ने मानिस ६० प्रतिशत भयो भने त्यसलाई हामीले सकारात्मक नै लिनु पर्छ । मैले अघि पनि भनेँ– राज्यले यो भवन प्रयोग गरे पनि हुन्छ । तर, किसुनजीको नामचाहिँ रहनु पर्छ ।

  • तपाईंले अघिदेखि किसुनजीलाई सम्झन वा स्थापित गर्नका लागि भवन निर्माण गरेको भनिरहनु भएको छ । उहाँलाई स्थापित गर्न भवन नै बनाउनु पर्छ ?

– होइन । उहाँ त्यसै स्थापित हुनुहुन्छ । मेरो अर्थ अर्को हो । आउँदो पुस्ताले त थाहा पाउँदैनन् नि त ! किसुनजी कस्तो हुनुहुन्थ्यो ? उहाँ हुनुहुन्थ्यो कि हुनुहुन्न थियो ? उहाँ त्यागी हुनुहुन्थ्यो कि हुनुहुन्नथ्यो भन्ने कुरा नयाँ पुस्ताले थाहा पाउनु पर्‍यो नि ! हामीले म्युजियम बनाउने सोचेका छौँ । यहाँ डकुमेन्ट्री हल बनाएका छौँ । उहाँलाई हेर्न मानिस आउँछन् र मानिसले किसुनजी भन्ने मान्छे यस्तो भनेर बुझ्छन् नि !

  • भनेपछि किसुनजीको बारेमा थाहा पाउनका लागि त ७ वटै प्रदेशमा यस्तै भवन बनाउनु पर्‍यो होइन ?

– हो । सुर्खेतमा पनि बनिरहेको छ । यहाँ बनिरहेको छ । काठमाडौँमा पनि सरकारले नै बाँडेगाउँमा आश्रमजस्तो बनाएको छ । यहाँ राज्यको पैसा परेको छ । मेरो व्यक्तिगत पनि पैसा परेको छ । शहरी विकासका मानिसलाई ल्याएर यही भवनका बारेमा सोध्नुभयो भने १८ करोडभन्दा बढी लगानी लाग्छ भन्छन् । मैले ७ करोडमा बनाएको छु । मैले त सरकारले सोचेकोभन्दा ५० प्रतिशत कम लागतमा काम गरेको छु । यसलाई प्रदेश सरकारले ‘हामीलाई चाहियो, यसमा मन्त्रालय राख्छौँ, दिनुपर्‍यो’ भनेर निर्णय गरोस्, कानुन बनाओस् । हामी खुसी साथ दिन तयार छौँ ।

मैले भन्न खोजेको प्रतिष्ठानको नाममा भवन बनाउने र प्रयोग नगरी झार जङ्गलले छोप्ने अवस्था छ । यो अवस्थाको अन्त्य कसरी होला ? भवन बनाउने तर त्यसको प्रतिफल नआउने अवस्थाले देशको भविष्य के होला ? कृष्णप्रसाद भट्टराईले कुनै सम्पत्ति जोडेनन् । सानो आश्रममा जीवन बिताए । उनकै नाममा प्रतिष्ठान खडा गरेर राज्यकै स्रोत र साधनको लगानीमा यस्तो दरबार बन्दैछ । यो किन होला भनेर सामाजिक सञ्जालमा पनि केही दिन अघि प्रश्न उठेको थियो । यसबारे के भन्नुहुन्छ ?

– कसले के भन्छन्, के लेख्छन् ! भन्नेको पछि म लाग्दिनँ । यहाँ राम्रो काम गर्दा पनि अपराधी भन्ने कुराको विकास भएको छ । आफू जीवनमा केही पनि नगर्ने । प्रजातन्त्र भनेको आफ्नो लागिमात्रै हो कि अरुको लागि पनि हो ? नेताहरूले लडेर ल्याएको प्रजातन्त्र पञ्चायतका पक्षपातीका लागि पनि भयो कि भएन ? तर, प्रजातन्त्रको कतिचाहिँ प्रयोग गर्ने । आफूले प्रजातन्त्रको प्रयोग गर्दा अरूको मौलिक हकको हनन् पनि हुनु भएन नि ।

  • उहाँहरूको चिन्ता राज्यको लगानी खेर जाने हो कि भन्ने होला नि त ?

– त्यो चिन्ता नै छैन उनीहरूमा । त्यो चिन्ता थियो भने यो बनाउनुभन्दा अगाडि यस्तो भवन नबनाउँ । बरु चिल्ड्रेन पार्क बनाउँ । बच्चाहरू खेल्छन् भनेर या अर्को कुनै सुझाव किन दिएनन् ?

  • भवन बनाउनुभन्दा अगाडि त्यस्तो सार्वजनिक सुनुवाइ गरेर सुझावचाहिँ माग्नु भयो र ?

– यहाँ हामीले बहस गरेका छौँ । यहाँ शिलान्याश गर्दा पत्रकारहरू आएका छन् । अरू आएका छन् । सबै मानिस आएका छन् । बोलाएका सबै आएनन् होला । विवाहको निम्तामा त आउँदैनन् । त्यसकारण यसको दुरुपयोग हुँदैन । आज म जसरी अग्रसरता लिएर आफ्नो घरको कामभन्दा बढी समय दिएर काम गरेको छु, यसरी कसैले पनि काम गर्दैनन् । यो सबै नेतालाई देखाएको पनि छु । हाम्रो पार्टी सभापति शेरबहादुर देउवाले पनि बनाइसकेपछि म उद्घाटन गर्न आउँछु भन्नु भएको छ । कांग्रेसका सबै नेताहरू यहाँ आउनु भएको छ ।

  • यो कहिलेसम्म बनाइसक्नु हुन्छ ?

– अर्को साल फागुन २० गते उद्घाटन हुन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप