कुनै दिन थिए, काभ्रेको भुम्लु गाउँपालिका चौबासकी चेतना कुँवरलाई घरबाट स्कुलसम्म पुग्न एक घण्टा लामो बाटो हिँड्नुपर्थ्यो । गुणदरा टोलबाट सेतीदेवी माविसम्म हरेक दिन जंगलको बाटो हुँदै खोला तरेर पैदल आवतजावत गर्नु उनको दैनिकी थियो । एसएलसीमा स्कुल फर्स्ट भएपछि राजधानी प्रवेश गरेकी चेतनाका दिन केही सहज भए ।
उनले पढाइमा त्योभन्दा बढी गर्न थालिन् । त्रिपुरेश्वरको विश्व निकेतन माविबाट प्लस टु र कुपन्डोलको दिव्यभूमि मल्टिपल कलेजबाट स्नातक उत्तीर्ण गरिन् । पढाइमा आफूलाई अब्बल प्रमाणित गरिन् । स्नातकोत्तर तहमा पत्रकारिता तथा आमसञ्चार विषयमा ३.६८ सीजीपीए ल्याएर यसपटक गोल्ड मेडल हात पारिन् ।
उनी पढाइमा कहिल्यै ओरालो लागिनन् । यो सफलताले विगतका संघर्ष र अभावका दिनहरू बिर्साइदिएको छ । गोल्ड मेडलिस्ट चेतना रातोपाटी टीभी स्टुडियोमा गफिँदा जीवनप्रति आशावादी र करिअरप्रति प्रस्ट सुनिइन् । प्रस्तुत छ, उनै चेतनासँग रातोपाटी टीभीका नरेन्द्र रौलेले गरेको कुराकानी :
छोरीहरू अब्बल हुनुपर्छ । नेपालका लागि छोरीहरू अगाडि बढ्दै गरेको र राम्रो स्थानमा पुगेकोमा सबै जना गौरवान्वित बनेको देख्छु । छोरीहरू अब्बल हुनुमा थुप्रै कारण छन् ।
उच्च शिक्षा नेपालमै गर्ने भएर छोरीहरूलाई बाहिर पठाउने चलन कम छ । बाहिर पठाउँदा बिग्रिन्छन् भन्ने सोच भएर पनि होला । अर्कोतिर छोरीहरूले मिहिनेत बढी गर्न थालेका छन् । मसँग पत्रकारिता पढ्ने ब्याचमा छोरीहरूको संख्या बढी थियो ।
छोराहरूमा पास भए भइहाल्यो नि भन्ने मानसिकता छ । कतिले हेलचेक्र्याइँ पनि गरिरहेका हुन्छन् । तर, छोरीहरूमा मिहिनेत गर्नुपर्छ । राम्रो गर्नुपर्छ भन्ने भावना छ ।
मैले प्लस टुदेखि नै पत्रकारिता पढेँ । स्नातक, स्नातकोत्तरमा पनि त्यही कुरा दोहोरिएको छ । मैले काम गरेको क्षेत्र मिडियासँग नजिक रहेर काम गर्छ । हरेक दिन मिडियाकै अध्ययन–अनुसन्धानकै काममा संलग्न हुन पाइयो । हरेक दिनजसो मिडियाकर्मी, सम्पादकहरूसँग भेटघाट भइरहन्थ्यो ।
त्यसैले पनि म धेरै तयारी गरेर, घोकेर बस्नुपर्दैनथ्यो । मेरो काम र पढाइ सँगै भएकोले धेरै सजिलो भयो । कक्षाकोठामा पढेको कुरा प्राक्टिकल रूपमा गर्न पाइन्थ्यो । पदक लिन त्यसरी पनि मलाई सघायो ।
६ महिनाको सेमेस्टरमा तीन महिना क्लास हुन्थ्यो । क्लासमा इन्टरनल परीक्षा पनि भइरहन्थ्यो । म परीक्षाको रुटिन आएका बेला बिदा बस्थेँ । त्यो बेला पढ्थेँ । फेरि बोर्ड परीक्षाको रुटिन आएका बेला बिदामा बस्थेँ । घरमा काम गर्दै पढ्ने गर्थेँ ।
परीक्षा अगाडि मेरा केही साथीहरू हुन्थे । उनीहरूले नजानेको कुरा म सिकाउँथेँ । हरेक सेमेस्टरमा क्लास रुमकै जसरी म उनीहरूलाई सिकाइदिन्थेँ । आफू पढ्दै साथीहरूलाई पढाउँदै गर्दा मलाई पढेको कुरा सम्झिन, परीक्षामा लेख्न धेरै सजिलो भयो ।
कक्षामा नआउनेहरूलाई सहयोग पनि भयो । मैले बढीजसो बिहानको समयमा पढेँ । बेलुकाको समयमा एकदम कम पढेँ । सानैदेखि बिहानै ४ बजे उठेर पढ्ने मेरो बानी छ । बिहान ४ बजे उठ्ने, काम गर्ने र राति ९ बजे सुतिसक्ने बानी छ । हाम्रो परिवारमै यस्तो संस्कार छ ।
मैले केही त पढ्नुपर्छ । केही त सिक्नुपर्छ । नम्बरभन्दा बढी महत्त्वपूर्ण पढाइ हो भन्ने लाग्थ्यो । केही नसिकी बजारमा जान सकिँदैन भन्ने मनमा थियो । प्लस टु भर्ना गरिसकेपछि मैले पत्रकारितासँगै मेजर अंग्रेजी विषय लिएँ । तर, मेरो कापीको टुप्पामा सरले ‘योर इङ्लिस इज पुअर’ भनेर लेखिदिनुभयो । ह्वाट इज योर एम भन्ने शीर्षकमा क्लास वर्क दिइएको थियो । मैले त्यति राम्रो लेख्न नसकेपछि सरले ‘तिमी नेपालीमा पढ्न जाऊ भन्नुभयो ।’
म घरमा गएर रोएँ । मलाई जसरी पनि अंग्रेजी सिक्नु थियो । गाउँमा नेपाली मिडियममा पढेको थिएँ । मलाई सिक्ने इच्छा भएरै भर्ना भएको थिएँ । दाइसँग सल्लाह गर्दा पनि मैले अंग्रेजी नै विषय रोजेँ । नम्बरको पछाडि नलागी मैले अंग्रेजी पढेँ । मेरो ६०–६१ नम्बर आउन थाल्यो । पछि सरले ‘चेतनाको नोट पढ’ भनेर अरू विद्यार्थीलाई भन्नुभयो ।
यति नै भन्ने छैन । घरमा, अफिसमा पनि पढाइकै काम भइरहेको हुन्छ ।
तपाईंले कस्तो किसिमको जीवनशैली रोज्नुहुन्छ ? साधारण जीवन रोज्नुहुन्छ भने भविष्य छ । अवसरहरू धेरै छन् । धेरै कुरा गर्न सकिन्छ । तर, हाईफाई जीवन रोज्नुहुन्छ भने गाह्रो छ ।
आगामी योजना के छ ?
नेपालमै पीएचडी गर्ने योजना छ । पत्रकारको सुरक्षा, अवस्था के छ भन्नेबारे अध्ययन–अनुसन्धान गर्ने योजना छ । घिउ र किवी बेचेरै म पीएचडी पूरा गर्छु ।
पूरा भिडियो हेर्नका लागि :
प्रतिक्रिया