भुटानी अभिनेत्री छोदेन भन्छिन्– ‘नेपाललाई आफ्नै घर फिल गर्छु’
काठमाडौंँ । भुटानी अभिनेत्री उगेन छोदेनले नेपाल आफ्नो दोस्रो देशजस्तो लाग्ने गरेको बताएकी छन् । अहिलेसम्म १४ पटक आइसकेकी उनले यहाँ आफूलाई आफ्नै घर फिल हुने सुनाएकी छन् ।
‘मलाई नेपाल एकदमै रमाइलो लाग्छ । आउन पाउँदा खुसी लाग्छ । यहाँ बस्दा भुटानमा बसेको जस्तै महसुस हुन्छ,’ उनले शनिबार रातोपाटी कन्क्लेभमा भनिन्, ‘यहाँको बसोबास, यहाँका मानिस, यहाँको खानेकुरा सबै एकदमै राम्रो छ ।’ यहाँको दालभात एकदमै मन पर्ने उनले बताइन् ।
अभिनेत्री छोदेनले नेपालीको स्वागत गर्ने परम्परा एकदमै राम्रो भएको बताइन् । ‘हामीले भुटानमा रहँदा नेपाल एउटा बुद्धिस्ट देश भनेर चिन्छौँ । त्यहाँका मानिसहरू बौद्धको विभिन्न कुराका लागि आउने गरेका छन्,’ उनले भनिन्, ‘हाम्रो देशका धेरै बुद्धिस्ट नेपाल आउने गरेका छन् ।’
आफू भने फोटो सुट, फिल्ममा अभिनय र व्यवसायका लागि पहिलेदेखि नै नेपाल आउने गरेको उनले सुनाइन् । भनिन्, ‘नेपाल भुटानीको लागि एउटा होली प्लेसजस्तो पनि हो ।’
उनले दर्जनभन्दा बढी भुटानी फिल्ममा अभिनय गरेकी छन् । एक नेपाली फिल्ममा उनलाई देख्न सकिन्छ । उनी अभिनीत उक्त नेपाली फिल्म ‘दुई नम्बरी’ केही वर्षअघि प्रदर्शनमा आएको थियो । जसमा छोदेनले अभिनेता दयाहाङ राईको जोडीका रूपमा अभिनय गरेकी थिइन् ।
आफूले अभिनय गरेको फिल्मलाई नेपाली दर्शकले धेरै माया दिएको उनले सुनाइन् । ‘मिडिया तथा पत्रकारबाट पनि राम्रो साथ र सहयोग मिल्यो । त्यो कुरामा पनि धेरै खुसी छु,’ उनले भनिन् । फिल्ममा अभिनय पहिले आफूले पर्यटनमा चार वर्ष काम गरेको उनले सुनाइन् ।
भुटानको एक आर्मी अफिसरले गत वर्ष सगरमाथा आरोहण गरेका थिए । भुटानका राजाले उनलाई मेडलमार्फत सम्मान गरेर हौसला प्रदान गरेको छोदेनको भनाइ छ । उनले नेपालको सगरमाथा पर्यटनका लागि अर्को आकर्षणको केन्द्र भएको बताइन् ।
काठमाडौंँ, पोखरा, घान्द्रुकलगायत धेरै ठाउँ घुमिसकेको र सबै राम्रो लागेको उनले सुनाइन् । अहिले पर्यटक र कलाकारको हिसाबले मुस्ताङलगायत हिमाली भेग पुग्न मन लागेको उनको भनाइ छ । नेपालमा खानेकुराको धेरै भेराइटी पाइने भए पनि दालभात सबैभन्दा बढी मीठो लागेको अभिनेत्री छोदेनले खुलाइन् ।
‘मजस्तो बाहिरबाट आएको मानिसलाई यहाँको बसोबास, अनेक कला, संस्कृतिले लोभ्याउँछ,’ उनले भनिन्, ‘यहाँ धेरै जातजातिका मानिससमेत रहेका छन् । उनीहरूको भेषभूषा, भाषा र कला–संस्कृति झन् आकर्षक छन् ।’
उनले यही कुराले पर्यटक लोभ्याउने धारणा व्यक्त गरिन् । यहाँको इतिहास, मन्दिर लगायतले समेत यो देशप्रति भुटानी पर्यटकलाई लोभ्याउने गरेको उनको भनाइ छ ।
उनलाई एकपटक नेपाल आउँदा ६ महिना बस्न मन भए पनि अहिलेसम्म तीन महिना मात्र बस्न मिलेको रहेछ । नेपाल सरकारले भुटानीलाई एक महिनाको फ्री भिसा दिने गरेकामा उनले खुसी व्यक्त गरिन् ।
- के कुरामा बेखुसी ?
विदेशीका लागि बैंक खाता खोल्न गाह्रो र यात्रा गर्दा नेपालीभन्दा बढी लिने भाडा आफूलाई अस्वाभाविक लागेको उनले सुनाइन् । एउटै फिल्मको सुटिङका लागि काठमाडौंँबाट पोखरा यात्राका क्रममा नेपाली कलाकार र आफूले बेग्लाबेग्लै अनि बढी भाडा तिर्नुपरेको गुनासो उनले पोखिन् । उनले यस्ता कुराले पर्यटनमा नकारात्मक प्रभाव पार्ने भन्दै मिलाउन सुझाइन् ।
‘हाम्रो भुटानमा स्वदेशी हुन् वा विदेशी, यात्राको भाडा एकनास छ,’ उनले भनिन्, ‘युरोपियन देशमा पनि एकनास देख्न सकिन्छ ।’ यस्ता कुरामा ध्यान पुर्याउन सके पर्यटन अझ वृद्धि हुने उनले बताइन् ।
उनी युट्युब, फेसबुकलगायत विभिन्न सामाजिक सञ्जालमा सक्रिय छिन् । जसले नेपाली पहिरन आफ्नो व्यवसायदेखि विभिन्न प्रयोजनमा प्रयोग गरेर प्रवर्द्धन गरिरहेकी छन् । आफूले नेपाली फिल्ममा अभिनय गरेका कारण पनि भुटानका बासिन्दाले धेरैले नेपाल र नेपालीको बारेमा चिन्ने अवसर पाएको उनले बताइन् ।
रातोपाटी डटकमले पर्यटन विषयमा ‘रातोपाटी कन्क्लेभ’ शनिबार ठमेलस्थित होटल यात्रीमा आयोजना गरेको थियो ।