सोमबार, २९ पुस २०८१
ताजा लोकप्रिय

ललितपुर महानगरद्वारा पाटन अस्पतालमा रहेको शवगृहको स्तरोन्नति

आइतबार, २८ पुस २०८१, २२ : ४९
आइतबार, २८ पुस २०८१

पाटन । ललितपुर महानगरले पाटन अस्पतालमा रहेको शवगृहको स्तरोन्नति गरिदिएको छ । विगतमा चारवटा शव राख्न मिल्ने शवगृहको स्तरोन्नतिपश्चात् अब २४ वटा शव राख्न मिल्ने गरी व्यवस्थापन गरिएको महानगरले जनाएको छ ।

नवनिर्मित शवगृह उद्घाटनका लागि आज यहाँ आयोजित कार्यक्रममा महानगरप्रमुख चिरीबाबु महर्जनले अस्पताललाई शव व्यवस्थापनका लागि सहजहोस् भन्ने उद्देश्यले महानगरले आवश्यक सहयोग गरेको बताए । ‘हरेक किसिमबाट मृत्युु भएका व्यक्तिहरूको शव व्यवस्थापनमा पाटन अस्पतालमा समस्या भएको जानकारी पाएपछि हामीले रकम व्यवस्थापन गरेर शव व्यवस्थापन गृह निर्माण गरिदियौँ, यो हाम्रो दायित्व पनि हो, उनले भने ।

कोरोना महाकारीको समयमा पाटन अस्पतालमा अक्सिजन नभएर हम्मेहम्मे पर्दा पनि सहयोग गरेर बिरामीको शय्यामा अक्सिजन पुर्याउन व्यवस्थापन गरिएको महानगरप्रमुख महर्जनले स्मरण गरे । उनले जाउलाखेलस्थित सदर चिडियाखाना र पाटन अस्पताल महानगरको गौरव भएको बताउँदै यी दुवै संस्थामा कुनै पनि समस्या आउनासाथ सहयोग गर्न महानगर तयार रहेको बताए ।

अस्पतालका प्रशासन प्रमुख प्रकाश खड्काले कोरोना महामारीदेखि हालसम्म महानगरले गरेको सहयोगका लागि धन्यवाद ज्ञापन गरे । ‘पाटन अस्पतालले ललितपुर महानगरबाट ठूलो र महत्वपूर्ण सहयोग प्राप्त गरेको छ, यो सहयोगका लागि आभार व्यक्त गर्न चाहन्छु ।  पाटन अस्पताल मात्रै नभई मेडिकल विश्वविद्यालय पनि हो, यसको गौरब बचाउनु हामी सबैको दायित्व हो’, उनले भने ।

अस्पतालका निर्देशक प्राध्यापक डा. रवि शाक्यले व्यवस्थित शवगृहको अभावमा लासमाथि लास खप्ट्यार राख्नुपर्ने अवस्था रहेकामा महानगरको सहयोगपछि अब त्यो अवस्था नआउने बताए । अस्पतालका ‘फरेन्सिक’ विज्ञ डा.सम्झना घिमिरेले मृत्युपछि सम्मान दिनका लागि शवगृहलाई व्यवस्थित बनाउन आवश्यक भएको बताइन् ।

‘लासलाई किन राम्रो ठाउँ चाहियो भन्ने गरिन्छ तर त्यसो हैन, मृत्युपछि सम्मान आवश्यक हुन्छ ।  त्यति मात्रै होइन, व्यवस्थित हुँदा काम गर्ने वातावरण पनि हुन्छ । अझ विपद्का बेला धेरै लास राख्ने ठाउँको आवश्यकता हुन्छ । यहाँको शवगृहको स्तरोन्नतिले धेरै सहज हुनेछ’ उनले भनिन् ।

महानगरले पाटन अस्पतालसँगको सहकार्यमा बीमा कार्यक्रमको प्रथम सेवा केन्द्र सञ्चालन गरिरहेको छ । पुल्चोकमा रहेको प्रथम सेवा केन्द्रमा घुइँचो बढेको बताउँदै महानगरले अर्को उपयुक्त पाँच ठाउँमा पनि सेवा केन्द्र खोल्ने तयारी गरिरहेको महानगरको जनस्वास्थ्य महाशाखा प्रमुख सरिता महर्जनले जानकारी दिइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप